झलनाथ खतिवडा
मंगलबार, असार १६, २०७७
597

हिजो जमिन बाँझो छोडी बिदेसिएका नेपालीहरूलाई कोरोना भाइरसका कारण मातृभूमिको ममता र मायाले एकपटक झस्काएको छ ।

वर्षायाम प्रारम्भ भएको छ । कृषक तथा संगठित कृषि कर्म गर्ने आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले आफ्नो खेतबारीमा मानो रोपेर मुरी उब्जाउने समयले ढपक्कै ढाकेको छ । काठमाडौं उपत्यकालगायत देशका तराई भेग र पहाडका तल्लो उब्जाउशील भूमिमा धान रोप्ने कार्य पनि सँगसँगै सुरु भइरहेको छ । यस समयको मज्जा र सदुपयोग जो–कसैले गर्नु आवश्यक छ ।
नेपाल एक कृषिप्रधान देश भएकाले यहाँका अधिकांश स्थानका जमिनहरू खेतीबाली लगाउनका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । अघिल्लो सालको अन्तिम महिनाबाट मुलुक र विश्वले कोरोना भाइरसको सन्त्रासमा बाँच्नुपर्ने र करिब ८०–८५ दिन लकडाउनको सामनासमेत गर्नुप-यो । यसबीचमा नेपालका कैयौ आन्तरिक रोजगारीहरू गुम्नेसम्मको स्थिति रहेको छ । अझ यस महामारीको सामना कति समयसम्म गर्नुपर्ने हो, यकिन हुन सकेको छैन ।

समयले मानिसलाई ज्ञानी, परिश्रमी र जिज्ञासु बनाउँछ अनि परिवर्तनको पथमा हिँड्न सिकाउँछ । आज मानिससँग प्रशस्त सुन, चाँदी, मणि, माणिक्य भएर पनि मानिसहरू भोकभोकै रहने अवस्था सिजना हुन सक्ने र विश्वमा यस महामारीको चपेटामा परी कैयौं मानिस भोकभोकै पर्ने, बालबालिकाहरू कुपोषणको सिकार हुने र कैयौं मानिस र विभिन्न विकासोन्मुख देशहरू गरिबीको भुमरीमा फस्ने निश्चित नै छ । त्यसैले तपाईं–हामीले माटोको महत्व बुझ्नु जरुरी छ ।
आज कोरोना भाइरसका कारण नेपालीहरू भारतलगायतका अन्य मुलुकबाट फर्किनुभएको छ । हिजो बाँझो छोडी बिदेसिएका उनीहरूलाई कोरोना भाइरसका कारण मातृभूमिको ममता र मायाले एकपटक झस्काएको छ । असारे परिवेश, उकालीओराली, पर्म–परेली, मेलापात गरेर असारे सुरिलो भाकामा भाका मिलाएर खेती लगाउने बेलामा बिदेसिएका नेपालीहरूलाई आआफ्नो गाउँमा भेला हुने मौका मिलेको छ, त्यसैले यस मौकालाई एक अवसरका रूपमा स्वीकार गरी आफ्नो माटो, जमिनलाई स्याहारसुसार गरौं, हेरचाह अनि रेखदेख गरांै । आफ्नै घरपरिवारसँग मेलापात गरौं अनि सुखदुःख साटासाट गरौं । सधैंभरि घरपरिवारका निम्ति समय बिताउने प्रयत्न गरौं र यो सम्भव पनि छ ।
सरकार र सम्बन्धित निकायहरूले पनि किसानहरूलाई मानो रोपेर मुरी फलाउने यस समयमा देखिएका बीउबिजन, मलखाद, कृषि उपकरणहरू सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय र त्यसमातहतका अन्य विभाग, जिल्ला कृषि सहकारीलाई ध्यानाकर्षण गर्न चाहन्छांै । आजको रोपाइँ भोलिको कमाइ पनि हो । आजको दिनमा कृषकले कृषि सामग्री पर्याप्त पाए र बाँझो जमिनमा खेती र अन्नबाली लगाउन पाइएमा भोलिका दिनमा आजको कोरोनाले पारेको विषम परिस्थितिले सिर्जना हुन लागेको भोकमरीको समस्यालाई केही हदसम्म टार्न मद्दत पक्कै पनि पुग्नेछ भने बेरोजगार युवाहरूले रोजगार प्राप्त गर्छन्, अनि खाद्यान्न आयात कम गरी खाद्यान्नमा नेपाल आत्मनिर्भर समेत बन्छ ।
 
गठ्ठाघर, भक्तपुर