झलनाथ खतिवडा
शुक्रवार, जेठ २३, २०७७
550

आमजनतालाई सरकारप्रतिको विश्वास दिन–प्रतिदिन कमजोर भएको आभास भइरहेको छ ।

आज विश्वका विभिन्न देशमा रहेका ६५ लाखभन्दा बढी मानिसमा फैलिसकेको कोरोना भाइरसले दिन¬–प्रतिदिन नेपालमा पनि संक्रमित बिरामीको दर नयाँ उचाइमा पुग्दै गइरहेको छ । सोमध्ये मृत्युुदर पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । त्यस्तै अघिल्ला वर्षहरूदेखि नेपालमा बर्सेनि फैलिन थालेको विभिन्न सरुवा रोगको प्रकोप पनि दिनानुदिन बढ्दै गएको छ ।
आजको यस विषम कोरोना भाइरसको विपत्ति सामना गरिरहेको यस अवस्थामा नेपालका विभिन्न भूभागमा डेंगु, झाडापखाला, मलेरिया, स्क्रपट्राफाइटजस्ता सरुवा रोगको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ । वर्षादको समय सुरु हुँदै गर्दा नेपालमा बाढीपहिरोको उच्च जोखिम हुने भएकाले खानेपानीका स्रोत–साधनहरू दूषित हुने र सो पानी मानिसले प्रसोधन नगरी प्रयोग गर्ने गरेकाले मानिसहरूमा झाडापखालाको प्रकोप फैलिने र ती संक्रमितले उचित औषधोपचार नपाउँदा र खानपान समुचित व्यवस्था नहुँदा बिरामीको अकालमा मृत्युुसम्म हुने गरेको अघिल्ला वर्षको समाचारले पुष्टि गरेको छ, तसर्थ यो वर्ष यस्ता किसिमका घटना नघट्नका लागि यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रीकृत गर्न चाहन्छांै ।

हाल नेपालमा तीन तहका सरकार रहेको भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि ती तीन तहका सरकारले जिम्मेवारपूर्ण काम नगर्दा आज यस कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न असफल भएको हामीले बुझेका छौं । आज कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न बनाइएका क्वारेन्टाइन स्थल व्यवस्थित नहुँदा विभिन्न क्षेत्रका मानिसहरू र सानी दुई वर्षीया बालिकाको निधन भएको घटनाले हामी आमजनतालाई सरकारप्रतिको विश्वास दिन–प्रतिदिन कमजोर भएको आभास भइरहेको छ ।
नेपालमा भएका तीनै तहका सरकारले चाहना र इच्छाशक्तिलाई भरपुर उपयोग गर्न आवश्यक देखिएको छ । एउटै सरकारको उपस्थिति हुन नसकेका स्थानीय तहमा प्रदेश सरकारसँग समन्वय गरी त्यस क्षेत्रको समस्या पहिचान र हल गर्ने काम गरिए यस्ता बर्सेनि हुने विभिन्न सरुवा रोगमुक्त देश बन्न सक्थ्यो कि ?
गर्मी मौसम सुरु भएसँगै काठमाडौं उपत्यकालगायत पूर्वी तराईका जिल्लादेखि पश्चिम तराईका जिल्लाहरूमा डेंगु, झाडापखाला, मलेरिया तथा स्क्रपट्राफाइटको प्रकोप बढ्दै गइरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूले कोरोना भाइरसको सन्त्रासका बीच यी विभिन्न प्रकोपहरू पनि झेल्नुपरेको छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले अघिल्लो वर्ष मात्र नेपालमा धेरै मानिसले उपचारको अभावमा ज्यान गुमाउनुपरेको थियो ।
मलेरिया, कालाजार र झाडापखालाबाट संक्रमित बिरामीहरूले पनि त्यत्तिकै मात्रामा रोगको सिकार भई औषधि–उपचारको अभावमा मृत्युवरण गरिरहेका छन्, त्यसैले संक्रमित क्षेत्र पहिचान गरी उचित औषधि–उपचार र कीटनाशक औषधि र झुलको उचित व्यवस्थापन गरिदिन अनुरोध गर्छौं  ।
गठ्ठाघर, भक्तपुर