देवराज गुरुङ
बिहिवार, जेठ २२, २०७७
763

ताप्लेजुङ - जेठको महिना, उखरमाउलो गर्मी हुनुपर्ने हो । तर, यो वर्ष न तराई न हिमाल । खासै गर्मी बढेको छैन । सायद चैतदेखि निरन्तर वर्षा भएर होला । जेठमा देखिने धाँजा फाटेका खेत हिलाम्मे छ । लेकाली क्षेत्रको मुख्य बाली आलु भित्र्याउन सकेका छैनन् । बदलिएको मौसमसँगै खेतीपाती गर्न र अन्नबाली थन्क्याउन असहज महसुस हुन थालेको छ । खैर, दिउँसोतिर घरायसी काममा व्यस्त थिए । पत्रकार आनन्द गौतमले सोधे, “पाथीभरा जाने कि ?” जान्छु भनें । प्रश्न गरें, “तर, कसरी ?” गौतमले भने, “काफ्लेपार्टीसम्म गाडीमा । तपाईंसहित ४-५ जना हुनुहुन्छ ।” नजिकको तीर्थ सबैको हेंला भनेझैं पाथीभरा नगएको निकै वर्ष भएको थियो । पशुपतिको दर्शन सिद्राको व्यापार भनेझैं दर्शन र रिपोर्टिङ गर्न तयार बनेँ । पाथीभरा धार्मिक आस्था र प्राकृतिक तथा जैविक विविधताको ‘ड्रिमल्यान्ड’ पनि हो ।
आवश्यक सामग्री तयारी नै थियो । पत्रकार सीताराम गुरागाईं र वसन्त पालुङ्वा पनि जाने भएकाले सामग्री खाँचो हुने कुरै भएन । दिउँसोको ३ बजेको थियो । वर्षा रोकिएको थिएन । घरनजिक आइपुगेको गाडी चढ्यौं । नेपाल सरकारद्वारा गठित पाथीभरा क्षेत्र विकास समिति सदस्य र पूर्वकार्यकारी निर्देशक उदय भट्टराईले यात्रा सेड्युल गाडीमै सुनाए । सदरमुकाम–सुकेटार ८ किलोमिटर । अनि सुकेटार–काफ्लेपार्टीसम्मको ९ किलोमिटर कच्ची सडक । गाडीभित्र घल्च्याक–घुल्चुक हुँदै साँझपख काफ्लेपार्टी पुग्यौं । १२ सिटको गाडीमा ५ जनामात्र थियौं । गाडीभित्र सामाजिक दूरी कायमझैं थियो । यति छोटो दूरीमै मौसम पनि भिन्न बन्दै गयो । काफ्लेपार्टीदेखि साढे ४ किलोमिटर पैदलमार्गमा शरीरले निकै चिसो महसुस ग-यो । ४ वर्षसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका भट्टराईले विगतका बर्खामा यतिका जाडो कहिल्यै नभएको अनुभव सुनाए । साँझपख उकालो यात्रामा उनले भने, “करिब १ सय पटकभन्दा बढी पाथीभरा आएको छु ।

तर, यो पटकको मौसम फरक पाएँ ।”
हुन त शब्दबाट बयान गर्न सकिने कुरा हैन, पाथीभराको सौन्दर्य । किनकि पाथीभरा क्षेत्रको व्याख्या एकै मौसमले पुग्दैन । हिउँदमा सेताम्मे र बर्खामा चारैतिर हरियाली । चैत–वैशाख फुलेका गुराँसले जंगल राताम्मे देखिन्छ । ३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पाथीजस्तै आकारको पाथीभरा साँच्चिकै सुन्दर छ । प्रकतिको सुन्दरता अवलोकन गर्न कि समुद्रको किनार कि पहाडको काखमा पुग्नुपर्छ । ढुङ्गा बिच्छ्याइएका चिटिक्क परेको पैदलमार्ग । दायाँ–बायाँ फलामको रेलिङ । तर, अझै धेरै ठाउँमा रेलिङ लगाउन बाँकी छ । ठाउँ–ठाउँमा चौतारा । खानेपानीका लागि राखिएको फिल्टर र ग्लास । सूचनामूलक बोर्डहरू राखिएका छन् । अस्थायी तथा स्थायी शौचालय । विद्युत्का पोल र बत्ती । साँझपख झिलीमिली हुन्छ । पाथीभरासँग सम्बन्धित विषयवस्तुको छलफल बाटो काट्ने मेलो बन्यो, जुन हामीले प्राप्त गरेको जानकारीमा आधारित थियो । कुनै पनि ठाउँको सहज पहुँच अनिवार्य सर्त हो । भविष्यमा निर्माण हुने केबलकार र लिफ्टिङ प्रविधिबाट खानेपानी मन्दिर पु-याउने योजना मुख्य विषय थियो । चर्चा कमाएजस्तो गरी संरचना निर्माण हुँदो हो त केवलकार निर्माणको काम निकै हुनुपर्ने हो । तर, खानेपानीको योजना कम्तीमा डेढ वर्षभित्र सम्पन्न हुनेमा कुनै शंका छैन । किनकि डीपीआर सकिएको छ । १० करोड बजेट स्वीकृत भएको छ । संघअन्तर्गत खानेपानी कार्यालय इलामसँग सम्झौता भएको छ । बहुवर्षीय योजना भएकाले यो वर्ष ४ करोडको काम हुनेछ । पाथीभरा क्षेत्र विकास समिति सदस्य तथा खानेपानी उपभोक्ता समिति अध्यक्ष न्यौपानेका अनुसार खानेपानीको समस्या सदाका लागि अन्त्य हुन्छ ।
फेदीस्थित पञ्चकन्या होटलमा पुग्यौं । माथिल्लो फेदी अस्थायी प्रहरीचौकीका इन्चार्ज धनराज तुम्बापोसँग धेरै कुरामा चासो राख्यांै । त्यो दिन चौकीमा खानाको सट्टा खीर पाकेको थियो । घर होस् या डेरा । नेपालीको संस्कार नै हो, अतिथि देवो भवः । इन्चार्जको विनम्रतापूर्वक खीर खाऊँ भन्ने अनुरोधलाई हामीले स्वीकार गर्यौं । खीरको स्वाद अझै जिब्रोमा झुन्डिएको छ । चैत महिनामा उत्कृष्ट प्रहरी घोषित इन्चार्ज तुम्बापोको नेतृत्वमा वृक्षरोपण भएको पायौं । लकडाउनमा स्थानीयवासी केही फुर्सदिला छन् । तीर्थयात्रीको सुरक्षामा खटिएका प्रहरी रचनात्मक बनेका छन् । प्रत्येक घर र व्यक्तिले कम्तीमा २० वटा गुराँसको बिरुवा रोप्नुपर्ने नियम बनाएका छन् । यसअघि रोपिएका गुराँस फुल्न थालेका छन् । सुरक्षाकर्मी सुरक्षामा र व्यापारी व्यवसायमा मात्र खटिएका छैनन् । हिउँदमा बाटोको हिउँ पन्छाउन, बाटो मर्मत तथा सरसफाइ गर्न र फुर्सदमा वृक्षरोपण गर्न प्रहरी र समुदाय खटिएका छन् । प्राकृतिक र जैविक विविधताले भरिपूर्ण पाथीभरा क्षेत्र अझ हराभरा बनाउन साझा दायित्व हो । माथिल्लो फेदी होटल व्यवसायी अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार व्यापार डामाडोल बनेको छ । पेय पदार्थ तथा बिस्कुट र चाउचाउ डेट एक्स्पायर हुने भएकाले साहूलाई फिर्ता गर्न थालेका छन् । अध्यक्ष भट्टराइले भने, “लाखांै रुपैयाँका सामान स्टक गरेका छौं । लकडाउनका कारण अब साहूलाई पैसा बुझाउन असम्भव बन्यो ।”
भोलिपल्ट भुइँमा उज्यालो खस्न नपाउँदै दर्शनका लागि यात्रा तय गर्यौं । रातभर परेको पानी बिहानीपख रोकियो । तर, मौसम धुम्मिएको थियो । चारैतिरको हराभरा दृश्य र सुन्दर हिमाल क्यामेरामा कैद गर्न मौसम बाधक बन्यो । चाँदीझैं टल्किने कञ्चनजंघा हिमाल, मनमोहक खोच र खोल्सी अवलोकन गर्न चुक्यौँ । नीलो आकाशमुन्तिर चाँदीझंै टल्कने कञ्चनजंघाबाहेक कुम्भकर्ण, मकालुलगायत दर्जनांै हिमाल आँखा नझिम्क्याई हेरिरहूँझैँ  लाग्ने गरेको हुन्छ । डाँडाबाट देखिने सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिन्छ । तैपनि चिर्रबिर्र चराचुरुङ्गीको आवाजसँगै डाँडाकाँडामा कुहिरोको लुकामारी गज्जबको थियो । भनिन्छ, वन्यजन्तुबिनाको जंगल मान्छे नभएको घरजस्तै हो । विभिन्न प्रजातिका चराचुरुङ्गी, दुर्लभ रेडपान्डा र बँदेलको बासस्थान हो यो क्षेत्र । ९ बजेतिर पाथीभरा धाममा पुग्यौं । सधैं भीडभाड हुने पाथीभरा शान्त थियो । मन्दिरका पुजारी टीका पौडेलको सहजीकरणमा पूजा गर्यौं । आफूले चिताएको कुरा पूरा हुने जनविश्वास छ । कागमात्र यताउता गथ्र्याे । मन्दिरभरि देखिने परेवा एउटा पनि थिएन । पुजारीका अनुसार सबै परेवा कागको सिकार बने । मन्दिर क्षेत्र सफा थियो । मन्दिरनजिक संरचना निर्माणमा खटिएका कामदार व्यस्त देखिन्थे । खुला आकाशमुनिको पाथीभरा साँच्चिकै शान्त थियो ।