कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
648

लकडाउनका कारण अस्तव्यस्त, उकुसमुकुस अवस्थालाई सहज र खुकुलो पार्न लकडाउनका स्वरूपहरूमा परिवर्तन गर्नुपर्छ भन्ने धारणाहरू पनि व्यक्त भएका छन् ।


वैश्विक महामारी कोभिड–१९ सँग जुध्नका लागि नेपालले चैत ११ गतेबाट सुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि यस रोगबाट संक्रमित हुनेको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ । चीनमा लकडाउन सुरु भएको ७६ औं दिनपछि जनजीवन सामान्य भएको थियो, जसअनुसार नेपालको जनजीवन सामान्य हुनुपर्नेमा कोरोना संक्रमण मिटर उल्टो दिन–प्रतिदिन बढिरहेको छ । सरकार कोरोनाको पहिचान, रोकथाम, उपचार र नियन्त्रणमा संवेदनशील नदेखिएको आरोप स्वास्थ्यसँग सम्बन्धित जानकारहरूलगायत विपक्षी राजनीतिक दलहरूले समेत लगाएका छन ।

मापदण्डअनुसारका क्वारेन्टाइनहरू नभएको, क्वारेन्टाइनहरूमा अत्यधिक चाप, परीक्षण, किटको अभावमा समयमा परीक्षण नभएको, उपचारका लागि पर्याप्त आइसोलेसन बेडहरूको व्यवस्थापन नभएको लगायतका यावत् समस्याहरू देखिन्छन् । पछिल्ला दिनहरूमा परीक्षण गर्ने किटको अभावले परीक्षण गर्न नपाउँदै मृत्यु भएको, क्वारेन्टाइनबाट भागेका, भाग्न खोजेका, बस्न नमान्ने जस्ता तीता घटनाहरू पनि देखिए । यी यावत् समस्यालाई तिनै तहका सरकारहरूबाट समाधान गर्दै महामारीको विरुद्धमा युद्धस्तरमा लाग्नुपर्ने देखिन्छ ।नेपालको सन्दर्भमा कोभिड–१९ को प्रभाव कहिलेसम्म रहने भन्ने यकिन गर्न सक्ने अवस्था छैन । छिमेकी राष्ट्र भारतमा संक्रमणको सङ्ख्या करिब २ लाख पुग्न थालेको देखिन्छ । भारतमा रोजगारीका लागि गएका नेपाली दाजुभाइहरू फर्कने क्रम बन्द नहुँदासम्म संक्रमितको सङ्ख्या घट्ने सम्भावना देखिँदैन । पछिल्ला दिनहरूमा भारतसँग सीमा जोडिएका जिल्लाहरूको क्वारेन्टाइनहरूमा अत्याधिक चाप बढिरहेको देखिन्छ ।
बढ्दो चापलाई न्यूनीकरण गर्ने एकमात्र उपाय भनेको क्वारेन्टाइनमा ल्याउनेबित्तिकै सबैको पीसीआर चेक गर्ने, नतिजाका आधारमा पोजेटिभ भएमा उपचारका लागि तुरुन्त पठाउने, नेगेटिभ छ भने सम्बन्धित व्यक्तिहरूलाई सम्बन्धित पालिकाहरूले घरमा पु-याउने व्यवस्था गर्ने । समयमा परीक्षण नभएका कारण भारतबाट आउने नेपालीहरू नेपालको सीमा नजिकका क्वारेन्टाइनहरूमा केही समय बस्नुपर्ने, त्यसपछि सम्बन्धित व्यक्तिको पालिकाका क्वारेन्टाइनमा बस्नुपर्ने पीडा पनि भोग्नुपरेको अवस्था छ । नेपाल सरकारले जेठ २० गतेसम्म गरेको बन्दाबन्दीको समय पुनः जेष्ठ ३२ गते सम्मलाई थपेको छ । बन्दाबन्दीको समय बढिरहँदा स–साना उद्यमीहरू, दैनिक ज्यालादारी गर्ने मजदुरहरू, विपन्न वर्गहरू आक्रान्त भएका छन् । उद्योग–व्यवसायहरू, होटल, पर्यटनलगायत आर्थिक उपार्जनका सबै क्षेत्रहरू ठप्प छन्, जसको प्रभाव नेपालको अर्थतन्त्रमा नराम्रोसँग परेको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रह्यो भने नेपालको कुल गार्हस्थ्य उत्पादनको १३.६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने एडीबीको अनुमान छ ।
राष्ट्र बैङ्कले पनि बन्दाबन्दीबाट नेपालको अर्थतन्त्रमा १ खर्बभन्दा बढी रकमको क्षति भइसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । लकडाउनका कारण अस्तव्यस्त, उकुसमुकुस अवस्थालाई सहज र खुकुलो पार्न लकडाउनका स्वरूपहरूमा परिवर्तन गर्नुपर्छ भन्ने धारणाहरू पनि व्यक्त भएका छन् । यद्यपि सरकार स्वयं पनि लकडाउन खुकुलो बनाउनेमा सकारात्मक देखिएको छ । छिमेकी राष्ट्र भारतले पनि श्रमिकहरूलाई पठाउन रेल्वे सेवा, लामो दूरीका बससेवा खोलेको अवस्था छ भने आन्तरिक हवाई उडान पनि खोलिएको छ । भारतले जुन ८ देखि धार्मिक स्थल, होटल, रेस्टुराँ तथा सपिङ मलहरू खोल्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को प्रभाव ९ महिनादेखि ३६ महिनासम्म जानसक्ने जानकारी दिइसकेको छ । नेपालको परिप्रेक्ष्यमा यो महामारी कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । अतः विषम परिस्थितसँग जुध्न लकडाउन अनिवार्य छ । यससँगसँगै यसका स्वरूपहरूमा निम्नअनुसार परिवर्तन गर्ने कि ?१. हालसम्म कोरोना संक्रमण नदेखिएका जिल्लाहरूलाई ग्रिन एरियामा, थोरै संक्रमण देखिएका जिल्लाहरूलाई पहेंलो एरिया र संक्रमितको सङ्ख्या धेरै देखिएका तथा भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई रेड एरियामा राख्ने । यदि कुनै ठाउँमा संक्रमणको सङ्ख्या उदयपुरको भुल्के, बाँकेको नरेनापुरमा जस्तै अत्यधिक बढ्न गएमा त्यो एरियालाई हटस्पट एरिया तोक्ने ।
सरकारले एरियाअनुसार कुन–कुन सेवा सञ्चालन गर्ने-नगर्ने सम्बन्धमा निर्देशन जारी गर्ने । कोरोना संक्रमितको सङ्ख्याका आधारमा एरियाहरूमा थपघट गर्दै जाने ।
२. निजी सामुदायिक स्कुल, कलेज, फिल्महल, फिटनेस सेन्टर, स्वीमिङ पुल, सैलुन, स्पा सेन्टर, होटलहरू सबै जोनहरूमा पूर्ण रूपमा बन्द गर्ने । तर, ग्रिन एरियामा स्वास्थ्य सतर्कता तथा सामाजिक दूरी कायम गरी ससाना चमेनागृह, होटलहरू सञ्चालन गर्न सकिने ।
३. लामो दूरीका सवारी साधनहरू जनजीवन सामान्य नहुन्जेलसम्म सबै एरियामा बन्द गर्ने । तर, उद्योग–व्यवसायमा काम गर्ने मजदुरहरू ओसारपोसार गर्नुपर्ने भएमा आवश्यक सतर्कता अपनाई, दूरी कायम गरी सेवा प्रयोग गर्न सकिने ।
४. कृषि कार्यसँग सम्बन्धित प्रयोग हुने यातायातका साधनहरू, एग्रो सेन्टर, कृषि सामग्री बिक्री गर्ने व्यवसायहरू जुनसुकै एरियामा पनि आवश्यक स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाई सुचारु राख्ने ।
५. मालवाहक सवारी साधनहरूलाई सवारी चालक र सहयोगीलाई आवश्यक सुरक्षा सतर्कता अपनाई सबै एरियाहरूमा सञ्चालन गर्न दिने ।
६. बैंक तथा वित्तीय संस्थाहरूको सम्बन्धमा ग्रिन जोनमा पूर्ण रूपमा सञ्चालन गर्ने, अन्य जोनमा भने हप्तामा निश्चित दिन तोकी सञ्चालनमा ल्याउने ।
७. ग्रिन एरियाभित्र मात्रै सवारी साधनहरू, उद्योग–व्यवसायहरू निर्वाध रूपमा आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने ।
८. चालू वर्षको अन्त्यमा बजेट कार्यान्वयनलगायतका कामहरू गर्नुपर्ने भएकाले ग्रिन तथा पहेंलो एरियाका सबै सरकारी कार्यालय पूर्ण रूपमा खोल्ने । रेड एरियाका लागि कुल कर्मचारीको ५० प्रतिशतमा नबढ्ने गरी कर्मचारीहरूको रोटेसन मिलाई कार्यालय सञ्चालन गर्ने ।
९. निजी सवारी साधनहरू (मोटरबाइकमा एक जना मात्रै ) जिप तथा कारहरूमा आवश्यक दूरी तथा सुरक्षा सतर्कता अपनाई ग्रिन तथा पहेंलो एरियामा चलाउन दिने । रेड एरियामा सुरक्षा सतर्कता अपनाई जोर–बिजोर प्रणाली लागू गर्ने ।
१०. उद्योग व्यवसायहरूलाई आवश्यक सुरक्षा सावधानी अपनाई दूरी कायम राखी निर्वाध रूपमा सञ्चालनमा ल्याउने । यस्ता उद्योगहरूमा काम गर्ने मजदुरहरू घरमा गएको अवस्थामा सम्बन्धित जि.प्र.का.को समन्वयमा ल्याउन पहल गर्ने व्यवस्था मिलाउने ।
११. जुनसुकै एरियाका सपिङ मल, डिपार्टमेन्टल स्टोरहरू भीडभाड नहुने गरी आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्ने दिने । 
१२. संक्रमितको सङ्ख्या नघटुन्जेल आन्तरिक हवाई उडान बन्द गर्ने तर परिस्थितिको सही आकलन गरेर अवस्था हेरी आन्तरिक उडान सेवा सुचारु गर्न सकिने ।
१३. बाह्य हवाई उडानहरू तत्काललाई पूर्ण रूपमा बन्द गर्नुपर्ने ।
१४. काठमाण्डौ उपत्यकालाई हाललाई पहेलो एरियामा राख्ने । उपत्यकाका सम्पूर्ण नाकाहरूलाई सिल गर्नुपर्ने, प्रत्येक नाकामा चेकजाँच, क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने । काठमाडौँ जानका लागि दिइने पासमा कडाइ गर्ने ।
१५. काठमाडौँ मा सवारी साधनको हकमा ठूला बसहरूमात्र आवश्यक सतर्कता तथा दूरी कायम राखी सञ्चालन गर्ने । स–साना सवारी अटो, टेम्पो, टेक्सी, पूर्ण रूपमा बन्द गर्ने, निजी सवारी साधनहरूलाई (मोटरबाइकमा एकजना मात्रै) जोर–बिजोर प्रणालीमार्फत सञ्चालन गर्न दिने ।
१६. विकास पूर्वाधारसम्बन्धी निर्माणका कार्यहरू जस्तै बाटो, पुल, ढल, खानेपानी आयोजनाहरू, नहर आदि जुनुसुकै एरियाहरूमा पनि निर्वाध रूपमा आवश्यक सतर्कता अपनाई सञ्चालन गर्ने ।
१७. पहेंलो तथा रेड एरियाहरूमा भीडभाड नहुने गरी निश्चित रोटेसन मिलाएर व्यापार, व्यवसायहरू सञ्चालन गर्नका लगि सम्बन्धित उद्योग–व्यापार संघ–संगठनलाई जिम्मा दिने ।
१८. भीडभाड गराए-नगराएको आवश्यक सतर्कता अपनाए-नअपनाएको अनुगमन तथा नियन्त्रण, कारबाही गर्न अनुगमन टोली गठन गरिनुपर्ने । उपर्युक्त सल्लाह–सुझावहरू पंक्तिकारका नितान्त व्यक्तिगत विचारहरू हुन । खास गरी यो लेख लकडाउन कस्तो मोडलमा गर्ने भन्ने शीर्षक भएकाले पनि सल्लाह–सुझावका लागि उल्लेख गरिएको हो । संक्रमण बढिरहेको अवस्थामा लकडाउन नथप्नुको विकल्प छैन, तर यसलाई कसरी प्रभावकारी गराउन सकिन्छ, जसले गर्दा अर्थतन्त्र पनि बिस्तारै चलायमान होस् । यद्यपि सरकारले पनि गृहकार्य गरिरहेको छ । कोभिड–१९ को पहिचान, उपचार, नियन्त्रणका सम्बन्धमा हालसम्म भए–गरेका कार्यहरूबाट तीनवटै सरकारले पृष्ठपोषण लिनुपर्ने देखिन्छ । पछिल्ला दिनहरूमा सीमा क्षेत्रसँग जोडिएका जिल्लाहरूका क्वारेन्टाइनहरूमा अत्यधिक चाप देखिएको छ । यो क्रम कहिलेसम्म चलिरहन्छ भन्न सक्ने अवस्था छैन । समयमा परीक्षण नभएर परीक्षण अगावै मृत्यु भएका तीता उदाहरण छन् । राज्यले परीक्षणको दायरा ठूलो बनाउनुप-यो । क्वारेन्टाइनमा बसेका सबैलाई पीसीआर प्रविधिबाट नै परीक्षण गर्ने व्यवस्था अवलम्बन गर्नु पर्छ । होइन भने बिरामी पहिचान नहुँदै मृत्यु हुनुपर्ने अर्को लज्जित अवस्था देखिन सक्छ । यद्यपि सरकारले आरडीटी परीक्षणमा होइन, पीसीआर परीक्षणमा मात्रै जोड दिनुपर्नेमा जनस्वास्थ्यविद्हरूले पनि भनिरहेको अवस्था छ । वर्षायाम सुरु हुन लागेको छ, क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन, गराउन तीनवटै सरकारहरू सक्रिय हुनुपर्ने देखिन्छ । संक्रमित बिरामीको सङ्ख्या बढेसँगै उपचारका लागि बेडहरूको सङ्ख्या थप्नेतर्फ पनि ध्यान जानु जरुरी छ । अर्को ठूलो समस्या कोरोनाभन्दा अन्य रोगबाट धेरै मानिस मर्न सक्ने सम्भावना रहेको जानकारहरू बताउँछन्, जसका लागि सहज उपचारको व्यवस्था गराउनुपर्ने देखिन्छ । बालबच्चा, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती सुत्केरी महिलाहरूको उपचारमा पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ । आमनागरिक पनि सजग र संयमित हुन जरुरी छ । भारतबाट आउँदा तोकिएको सीमा नाकामात्र प्रयोग गर्ने, परीक्षणको नतिजा नआउन्जेल क्वारेन्टाइनमा अनुशासित भएर बस्ने, आवश्यक कामका लागि मात्र घरबाट एक जना मात्रै निस्कने, अनावश्यक काममा बाहिर ननिस्कने, दैनिक प्रयोगका लागि चाहिने सामान कम्तीमा एक हप्ताका लागि व्यवस्थापन गर्ने, बाहिर निस्कँदा मास्क अनिवार्य लगाउने, भीडभाडमा नजाने, महामारी पहिचान, रोकथाम, उपचारमा प्रत्यक्ष संलग्न हुने सबैलाई सहयोग, उत्प्रेरणा दिने अदि । अन्त्यमा वैश्विक रोगबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं ।

(लेखक व्यवस्थापन विषयसँग सम्बन्धित छन् ।)