कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
587

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले विश्वको अर्थतन्त्र नै खस्किसकेको अवस्था रहेको छ । लाखौं मानिसले रोजगारीमा फर्कन नसक्दा लाखौंको रोजीरोटी गुमिसकेको अवस्था छ । यसले विकास–निर्माणको काम मात्र होइन, राष्ट्रिय गौरवका आयोजामा पनि निकै प्रभाव पारेको देखिन्छ भने मुलुकको पुँजीबजारमा पनि त्यत्तिकै असर गरिरहेको हामी अनुमान लगाउन सक्छौं ।
विशेष गरी मानिसहरूको दैनिकीलाई मध्यनजर गर्दै अहिलेको मुख्य प्रभावित क्षेत्रमध्ये कृषि क्षेत्रलाई लिन सकिन्छ । लाखौं मानिसले कृषिबाट उत्पादन गरेको विभिन्न खाद्य वस्तुहरू सरल रूपमा बजारीकरण हुन नसक्दा धेरै हेक्टर जमिनमा लगाएको बाली त्यसै जमिनमा नै कुहिएर खेर गइरहेको हामी देख्न सक्छौं ।

कृषकले आफ्नो घाटा बेहोर्नु त छँदै छ, बजारमा खाद्यवस्तुको उचित मूल्य नहुनाले धेरै कृषकले आफूले लगाएको अन्न, तरकारी त्यत्तिकै खेर गइरहेको अवस्था रहेको छ । कृषिक्षेत्रअन्तर्गत मुख्य तया प्रभावित पारेका क्षेत्रहरूमा तरकारी बाली नै हो । सरकारले कृषिमा आत्मनिर्भरतालाई प्राथमिकता दिइरहँदा आत्मनिर्भर भइसकेको र आत्मनिर्भरउन्मुख कृषिका मुख्य दुई क्षेत्रले भने लकडाउनयता दैनिक ३५ करोड रुपैयाँ क्षति बेहोरिरहेको पाइएको छ ।
“पोल्ट्री र दुग्ध क्षेत्रको तथ्यांकीय हिसाब सहज भए पनि तरकारी उत्पादनको क्षेत्रमा पनि करोडौंको क्षति भएको अनुमान रहेको छ । कुखुरा र अन्डा उत्पादनको क्षेत्र बजार चलेन भने सबैभन्दा बढी क्षति हुने क्षेत्र हो । हामीले दैनिक २२ देखि २५ करोड रुपैयाँ क्षति बेहोरिरहेका छौं,” पोल्ट्री फर्म नेपालका अध्यक्ष गुणचन्द्र विष्टले भने । यो क्षतिले कृषक तथा उत्पादकमा मार परेकाले आगामी वर्ष आत्मनिर्भर उद्योगका रूपमा नहुन सक्ने जोखिम बढेको उनको भनाइ छ ।
दुई महिनाको अवधि जोड्ने हो भने हालसम्म ३३ अर्ब रुपैयाँको क्षति भइसकेको छ । हो, यी त भए सरकारले गरेको तथ्याङ्कका आधारमा कृषिक्षेत्रमा भएका नोक्सानीहरू । तर, मुलुकको अधिकांश भागमा अध्ययन गर्ने हो भने ससाना कृषकदेखि ठूलाठूला कृषकहरूको अवस्थासमेत नाजुक रहेको देख्न सकिन्छ ।
उदाहरणका लागि केही दिनअगाडि लकडाउनको समयमा राजधानी उपत्यकाको पूर्वी मनहरा खोलाको छेउछाउमा थुप्रै सागसब्जी त्यत्तिकै फालिरहेका छन् । त्यहाँका कृषकलाई सोध्दा लकडाउन छ, बजार कुनै खुला छैन । सबै घरघरमा बसेका छन्, यो तरकारी कहाँ लगेर बेच्नु ? फेरि तरकारीले पनि बजार पाएको छैन, अति नै सस्तो मूल्य पाएपछि केही बिके, केही नबिकेर सबै फिर्ता ल्याउनुपरेको हो भन्ने जस्ता जवाफ पाइन्छ ।
त्यस्तै गरी कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीय मूलपानीनिवासी श्रीकृष्ण कार्कीको पनि त्यस्तै अवस्था छ । ४–५ लाखमा लगानी गरेको गाजर उचित मूल्य र बजारीकरणको व्यवस्था नहुँदा त्यत्तिकै खेर गएको र कतिलाई सित्तैमा  पनि दिएर पठाएको उहाँले बताउनुभयो । “तर, समग्रमा भन्दा आफ्नो केही लगानीचाहिँ उठेको छ, तर अधिकांश व्यवसायीहरूको तरकारी व्यवसाय चुर्लुम्म डुबेका हामीले देखेका छौं,” उहाँले भन्नुभयो ।
हो, अहिले मुलुक लकडाउनको अवस्थामा छ । अझै कति मुलुकले कृषिक्षेत्रमा नोक्सानी बेहोर्नुपर्ने हो, त्यो भने अझै देख्न बाँकी नै छ ।
कोराना नियन्त्रणको उपाय लकडाउन नै हो । तर, व्यवसायीहरूको व्यवसायलाई मध्यनजर गर्दै कृषिक्षेत्रको पाटोलाई पनि केही सहज र बजार व्यवस्थापन प्रणालीलाई मध्यनजर गर्दै संक्रमित नभएको ठाउँमा, जिल्लामा लकडाउन खुकुलो बनाउँदै लानुपर्ने हुन्छ । तब मात्र केही कृषकको पनि जीवनयापन सरल बन्दै जान्थ्यो कि ?
गोविन्द चापागाईं