देवेन्द्र अर्याल ‘आँसु’
मंगलबार, जेठ २०, २०७७
420

कोरोनाले हामीलाई शैक्षिक क्षेत्रमा गम्भीर भएर सोच्न बाध्य बनाएको मात्र छैन, केही नयाँ शैक्षिक सुधार गर्न पनि झकझकाएको छ ।

कोरोना कहरका कारण विश्व नै त्रसित छ । यसका कारण आममानिसको जनजीवनका साथै कलकारखाना, उद्योग, यातायात, कृषि, शिक्षण, पर्यटनलगायतका सबै क्षेत्र यसबाट प्रभावित बनेका छन् । वैश्विक महामारीका रूपमा कोरोनाले विश्वको अर्थतन्त्र नै धराशायी बनाएको छ । यदि यो महामारी धेरै समयसम्म लम्बिने हो भने शैक्षिक क्षेत्र पनि धराशायी नबन्ला भन्न सकिन्न ।
तर पटक¬–पटक आउने यस्ता महामारीले मानव समुदायलाई धेरै पाठ सिकाएर गएको पाइन्छ । हामी नेपालीलाई विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पले केही पाठ सिकाएर गए पनि त्योभन्दा बढी ठूलो पाठ अहिलेको कोरोनाले सिकाएर गएको छ । कोरोनाले हाम्रो शिक्षा प्रणाली र हाम्रो शिक्षण पद्धतिलाई पनि समयसापेक्ष परिवर्तन गर्नुपर्ने कुुरामा समेत सङ्केत गरेको प्रतीत हुन्छ । बेला–बेलामा महामारी कुन र कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन, त्यसैले त्यसको विकल्पका रूपमा कुनै न कुनै उपाय सोच्नुपर्छ । यो नै उत्तम समय हो । त्यसैले विद्यमान शैक्षिक पाठ्यक्रम र शिक्षण प्रणालीमा नै अब हामीले सुधार गर्नुपर्ने देखिन्छ ।
कोरोना कहरका कारण भारत, अमेरिकालगायतका देशका विद्यालय बन्द छन् । हाम्रो देशमा पनि विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन् । दसैँअगाडिसम्म विद्यालय स्वतःस्फूर्त रूपमा सञ्चालन हुन नसक्ने अवस्था पनि देखिइसकेको छ । अहिले हाम्रा विद्यार्थीमा दुई प्रकारको मानसिक त्रास बढेको छ । एकातिर कक्षा १०, ११ र १२ का विद्यार्थीमा परीक्षाको भय र अर्कातिर कोरोनाको भय । यसरी डर र त्रासका बीचमा कसरी परीक्षा दिने भन्ने चिन्ता पनि विद्यार्थी वर्गमा छाएको छ । अभिभावकहरूमा आफ्ना छोराछोरीको पढाइप्रति थप चिन्ता बढेको छ । तर, समग्र देशको शैक्षिक समस्या समाधान तथा न्यूनीकरण गर्नका लागि सरकारले अहिलेसम्म कुनै विकल्प खुला गर्न सकेको छैन । यसबाट सरकार पर्ख र हेरको स्थितिमा पुगेको देखिन्छ ।
कोरोना कहरका कारण अहिले ७० लाखभन्दा बढी विद्यार्थी घरमा नै रहन बाध्य भएका छन् । कोरोना महामारीपछि उनीहरूको दिनचर्या र विषय रुचिमा पनि परिवर्तन आएको छ । अहिले उनीहरू आफ्ना अभिभावकसँग रहेर घर, समाज, वातावरण, भूगोलका बारेमा केही सिकिरहेका छन् । यो उनीहरूका लागि सबैभन्दा ठूलो शिक्षण हो । विद्यार्थीले विद्यालयमा मात्र सिक्ने होइन । सिक्ने त घर परिवारबाट नै हो । त्यसैले घर परिवारलाई नै पहिलो पाठशाला भनिएको हो । भूकम्पबाट केही सिकेका विद्यार्थीले कोरोनाबाट निकै कुरा जान्न र बुझ्न पाए । कैयन् अभिभावकले यस लकडाउनको अवधिमा आफ्ना छोराछोरीलाई घरमा नै पाठ्यपुस्तक पढाएका छन् । कतिले त स्वतन्त्र लेखनमा सक्रिय गराएर उनीहरूलाई थप सिर्जनशील बनाएका छन् । कतिले त उनीहरूको रुचि बुझेर नृत्य, सङ्गीत, चित्रकला, फोटोग्राफी वा कम्प्युटर तालिम वा अन्य किसिमका तालिम वा सीप सिकाएका पनि छन् । यस्तै केही विद्यार्थीले यस अवधिमा आफ्ना अभिभावकसँग पाक् शिक्षा वा कृषि शिक्षा पनि ग्रहण गरेका छन् । कतिले त अर्को भाषासमेत सिकेका छन् । कमसे कम यस अवधिमा विद्यार्थीले कुनै न कुनै विषयमा केही ज्ञान वा सीप ग्रहण गरेको देखिन्छ ।
कोरोना महामारीले हाम्रो शैक्षिक प्रणाली र पद्धतिमा सुधार गर्न आवश्यक भएको देखाएको छ ।
महामारी कुन रूपमा कहिले र कसरी आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले अबको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने देखिन्छ । यसका लागि शिक्षकले पनि आफूलाई त्यसअनुकूल बनाउनुपर्ने देखिन्छ । यस प्रकारका महामारीमा पनि सहजै विद्यालय र विद्यार्थीसँग पुग्ने वातावरणको सिर्जना प्रविधिमार्फत हुनुपर्ने देखिन्छ । त्यसका लागि विद्यालय र शिक्षक स्वयम् पनि तयार रहनुपर्छ भने सरकारले आगामी बजेटमा त्यसका लागि विशेष ध्यान दिनुपर्छ ।
हाम्रा विद्यालयहरूमा अडियो भिज्युअल कक्षा त सञ्चालन हुँदै आएका नै छन् तर कोरोना महामारीपछि त्यस प्रकारको पद्धतिलाई झन बढी व्यवस्थित र परिमार्जित गर्नुपर्ने देखिन्छ । अब अनलाइन लर्निङ, भिडियो कक्षामार्फत पठनपाठनमा जोड दिनुपर्ने बेला आएको छ । त्यसका लागि स्थानीय निकायले आफ्ना विद्यालय र विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सूचना प्रविधिमा पहुँच भएको वा नभएको पहिचान गर्नुपर्छ । यदि त्यसमा उनीहरूको पहुँच नभएमा रेडियो तथा टेलिभिजनमार्फत् उनीहरूका लागि सोहीअनुरूप कक्षाबाट पनि पठनपाठन गर्न सकिन्छ । यस्तै, इन्टरनेट पहुँच भएका विद्यार्थीका लागि सोहीअनुरूप पठन–पाठन गर्न सकिने हुँदा त्यसलाई पहिचान गर्न स्थानीय निकायले शीघ्र रूपमा त्यसतर्फ कदम चाल्नु आवश्यक देखिन्छ । महामारीको त्रासबाट मुक्त नहुन्जेलसम्म वा वातावरण सहज नहुन्जेलसम्म त विद्यार्थीलाई इ–लर्निङ, भर्चुअल कक्षा, रेडियो एफ एमद्वारा दूरशिक्षाको व्यवस्था पनि गर्न सकिन्छ । त्यसैले सबैले आजैदेखि यसतर्फ सोच्नु जरुरी भइसकेको छ । अनलाइन लर्निङका लागि पूर्वाधार व्यवस्थापन र शिक्षकको पनि समस्या देखिन्छ । त्यसलाई पनि सहजै व्यवस्थापन गर्दै लैजानु पर्छ । यो थप चुनौतीको विषय हो, यसलाई सरकारले सहज रूपमा समाधान गर्ने उपाय खोज्नुपर्ने देखिन्छ ।
यसै सन्दर्भमा केही निजी विद्यालयले इ–लर्निङ कक्षा सञ्चालन गरिसकेका छन् भने केही विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । देशमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या ७८ प्रतिशत छ भने बाँकी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी छन् । त्यसैले विद्यार्थीको वास्तविक अवस्था पहिचान गरेर अब शैक्षिक रणनीति तयार गर्नुपर्ने अवस्था आइसकेको छ । यसमा विलम्ब गर्ने बेला छैन, तर अहिलेसम्मको हाम्रो सुस्तताले हामी शिक्षाप्रति त्यति गम्भीर र सोचनीय रहेका छैनौँ कि भन्ने पनि भान हुन्छ । अहिले हामीले केही तयारी ग¥यौँ भने आगामी दिनमा फरक खालका यस्तै महामारी आएमा शैक्षिक क्षेत्रमा हामी थप चिन्तित हुनुपर्ने देखिन्न । महामारीको पूर्वतयारीमा रहनुचाहिँ ठूलो चुनौती हो । त्यसैले कोरोनाले हामीलाई शैक्षिक क्षेत्रमा गम्भीर भएर सोच्न बाध्य बनाएको मात्र छैन, केही नयाँ शैक्षिक सुधार गर्न पनि झकझकाएको छ ।
कोरोना कहरले अबको पाठ्यक्रम र शिक्षकलाई पनि परिमार्जित गर्न खोजेको छ ।
हाम्रा पाठ्यक्रम र शिक्षक दुवै परिमार्जित हुनु आवश्यक देखिन्छ । अबका शिक्षक पुस्तककेन्द्रितभन्दा पनि प्रविधिकेन्द्रित हुनुपर्ने समय आएको छ । यदि यसो भएमा हामी आधुनिक प्रविधिको प्रयोगमा समेत अगाडि हुन्छौँ । सूचना–प्रविधिको प्रयोगमा जोड दिन शिक्षकले आफूलाई परिवर्तन गर्नु अत्यावश्यक छ । त्यसैले हाम्रा शिक्षकले आजैदेखि आफूलाई रूपान्तरण गर्नुपर्ने देखिन्छ । शिक्षामन्त्रीले भदौभन्दा यता विद्यालयमा पठनपाठनको व्यवस्था नहुने तर त्यसले शैक्षिक प्रणालीमा कुनै असर नपुग्ने कुरा बताउनुभएको छ । त्यसैले यस्ता विपत्तिमा नआत्तिइकन सामना गर्न र सचेत रहन अभिभावकबाट नै विद्यार्थीले सिक्ने गर्छन् । मानव जीवनमा सिद्धान्तमुखीभन्दा बढी प्रयोगमुखी शिक्षा र शिक्षण पद्धतिको आवश्यकता रहेको छ भन्ने कुरालाई हामी सबैले बुझ्नु जरुरी छ ।