सरस्वती ढकाल
सोमवार, जेठ १९, २०७७
734

ठूला स्टोरमा कोरोना संक्रमण नहुने तर सानोमा भइहाल्ने भन्ने हुँदैन । सुरक्षा र सतर्कता अपनाएर सबैखाले पसल दिनभरि नै सञ्चालनको व्यवस्था गरिनुपर्छ ।

मानव सभ्यताको विकासलाई नै चुनौती दिने गरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला सम्पूर्ण विश्व ठप्प छ । भाइरससँग जोगिन मानव जाति जस्तोसुकै सम्झौता गर्न पनि तयार छ । संक्रमण न्यूनीकरण गर्न पहिलो सावधानीका रूपमा अपनाइएको लकडाउनका कारण अहिले पनि विश्वको एकतिहाइ जनसंख्या घरभित्रै छन् भने बाँकी पनि ढुक्क भएर बाहिर निस्किन सकेका छ्रैनन् । कोरोना नियन्त्रण गरिसकेको दाबी  गर्ने चीन अझै पनि सशंकित छ भने दोस्रो बढी जनसंख्या भएको भारत चुनौतीपूर्ण अवस्थामा छ । राजनीतिक, आर्थिक र सामरिक शक्तिका आधारमा संसारकै शक्तिशाली मुलुक अमेरिकाले बाहिरी दुनियाँसामु कमजोर नदेखिनकै लागि मानवीय तथा आर्थिक गतिविधि बढाए पनि उसको अवस्था भित्रभित्रै निकै भयावह नै छ ।
नेपालजस्ता मुलुकका लागि कोरोना भाइरस नियन्त्रणका लागि सीमा बन्द गर्ने तथा आन्तरिक रूपमा लकडाउन गर्ने बाध्यतालाई सबै नागरिकले सहज रूपमा स्विकारेका हुन् । काम गर्ने पौरखी र सिर्जनशील हातहरू घरभित्रै बस्नु भनेको छटपटी र बैचनीमात्रै नभएर शारीरिक र मानसिक समस्या थपिनु पनि हो । यहाँसम्म कि लकडाउन अवधिमा साधारण समयका तुलनामा धेरै भोक लाग्छ भन्नेसमेत विभिन्न अध्ययनहरूबाट देखिएको अवस्था छ । यसैले कोरोना नियन्त्रणका लागि लकडाउन प्रभावकारी नै दैखिए पनि यसले सिर्जना गरेका सामाजिक, आर्थिक, मानसिक समस्या तथा कोभिड–१९ बाहेकका अन्यखाले स्वास्थ्यसम्बन्धी समस्याका विषयमा भने त्यति चर्चा हुन सकेको छैन । अर्थतन्त्रको मेरुदण्ड मानिएका साना–मझौला व्यवसायअन्तर्गत स्वरोजगारमूलक खुद्रा पसलको व्यवस्थापनका सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

लकडाउनले हुनेखानेलाई भन्दा पनि हुँदाखानेलाई धेरै पीडा दिएको छ । हुनेखानेहरूले यतिबेला आफू र आफ्नो परिवारलाई महिनौंलाई पुग्ने खाद्यान्न जुवाड गरिसकेका छन् । अर्कातर्फ त्यस्ता केही वर्ग हाम्रो समाजमा छन्, उनीहरूलाई दैनिक ताजा दूध, तरकारीलगायत चाहिन्छ तर बजार जान उनीहरू नै डराउँछन् । उनीहरूको गेटसम्मै डेलिभरी हुन्छ र गेटबाट माथि डोरीबाट तानेर लगी सेनिटाइज गरेर मात्र भित्र राखिन्छ । उनीहरूले भुक्तानी पनि विद्युतीय माध्यमबाटै गर्छन् । आफ्नो सुरक्षाका लागि यो गर्नु राम्रो कुरा हो तर सबैको यो हैसियत छैन । अधिकांशलाई कसरी पेट भरौं भन्ने नै ठूलो चिन्ता छ । पेटभरी खान नपाएर बाटोमै मृत्यु हुनु परेको कीर्तिपुरको घटना यहाँनेर स्मरणीय छ भने लकडाउन अवधिमै ८ सयभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् र यसको कारण खोजी गर्नु आवश्यक छ । धेरैको समस्या भनेकै भोको पेट हो । लकडाउनको अवधि बढ्दै जाँदा तल्लो वर्गमात्रै होइन, अब अलिअलि कमाएर बचाएर राखेका र त्यसैले गुजारा गरेकाहरूलाई समेत भोलि के खाने भन्ने चिन्ताले पिरोलेको छ ।
अहिले भएको लकडाउन बराबर नै अर्काे लकडाउन थपिने हो भने देशमा तल्लो र मध्यम वर्गको घरमा खानेकुरा किन्ने पैसा सकिन्छ भने बाँकी रहेका माथिल्लो वर्गले मात्रै जीवनयापन चलाउन सक्छन् । बलियो सरकारका प्रधानमन्त्री केपी ओलीको पदवहालीको समयमा होस् वा समयसमयमा राष्ट्रका नाममा हुने सम्बोधनमा कहिल्यै नछुट्ने शब्द हुन्— ‘कोही भोकले मर्नु पर्दैन’ । प्रधानमन्त्रीले भनेका कुरा यदि अक्षरशः लागू हुन्थे भने विश्वमा नेपाली जनता सबैभन्दा भाग्यमानी हुन्थे, तर विडम्बना ठीक उल्टो भइरहेको छ । सामान्य अवस्थामा त रोजीरोटी राम्रैसँग चलाउन हम्मे परेकाहरूले लकडाउनमा परिवार कसरी पालिरहेका होलान् भनेर सोच्नु आवश्यक छ । बचत नभएका तथा लकडाउनले कुनै कामसमेत नपाएकाका लागि स्थानीय तह र केही दाताले दिएको १० किलो चामलले कति दिनको भोक टार्न सकिएला र ? सहरमा खुसीका सपना बुन्न आएका धेरै नेपाली खाली खुट्टै हिँडेर घर फर्के, जुन सामाजिक सञ्जाल र मिडियामा उजागर भएको विषय हो । कतिपयले अहिले पनि कहिले घर फर्किन पाइएला भनेर सरकारको मुख हरेर बसेका छन् । विदेशबाट फर्किन चाहने पनि उत्तिकै छन् ।
यतिबेला देशमा लकडाउन छ, प्रशासनले अत्यावश्यक सेवाका बाहेक अरूलाई घरभित्र बस्न भनेको छ । घरभित्र बस्न पाउनु भनेको खुसीको कुरा हो, तर त्यो परिवार जसको घरमा बिहान पकाएपछि बेलुकालाई के पकाउने भन्ने चिन्ता छ भने उसलाई रोग ठूलो कि भोक ? मानिसलाई रोगको पीडाले भन्दा भोकको पीडाले छिटो गलाउँछ । मानसिक रूपमा गल्नु भनेको कडा रोगसँग जुध्नभन्दा जटिल छ । भोकसँगै जोडिएर आउँछ किराना पसल । सरकारले वैशाख पहिलो सातादेखि भाटभटेनी, बिगमार्ट तथा सेल्सवेरीलगायतका ठूला स्टोरलाई खुला गर्न अनुमति दियो । भाटभटेनीले पनि स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला ग¥यो । तर, यस्ता ठूला स्टोरमा कति नेपालीको पहुँच छ ? के सबै नेपाली यस्ता स्टोरमा किन्न सक्ने हैसियत बनाइसकेका छन् त ? भाटभटेनीमा सामान किन्दैमा कोरोना नसर्ने तर घरअगाडिको किराना पसलबाट किन्दा सर्ने भन्ने होइन । भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गरेपछि मात्रै प्रवेश दिने, पसलअगाडि दूरी कायम गर्न गोलो घेरा लगाउने, सामान दिँदा एकले अर्काेलाई नछुने हो भने ठूला स्टोरभन्दा किराना पसल बढी सुरक्षित छन् । ठूला स्टोरमा ग्राहकले आफैँ सामान छान्छन् र मूल्य ओर्काइफर्काइ हेर्छन्, चित्त नबुझे त्यहीँ छोड्छन्, अर्काे सामान त्यसरी नै छाम्दै हिँड्छन् । अर्काे व्यक्ति पनि त्यसैगरी आउँछ र छाम्दै, उचाल्दै, छोड्दै हिँड्छ । अर्थात् एउटै सामान दिनमा पचासौँ जनाले छुने र राख्ने हुन्छ । तर, किराना पसलमा त्यसरी भित्रै गएर सामान उठाउने प्रचलन छैन । ग्राहकले बाहिरबाटै मूल्य सोध्छन्, सामान माग्छन्, पसलले भित्रबाट सामान देखाउँछन् र मन परे किन्छन् अन्यथा ग्राहकको हातसम्म सामान आइपुग्दैन । यहाँ एक जना पसलेले राम्रो सुरक्षा व्यवस्था अपनाए भने धेरैलाई जोगाउन सकिन्छ । तर, ठूला स्टोरमा त्यो सम्भव छैन ।
सरकारले लकडाउन अवधिभर बिहान ३-४ घण्टा दैनिक उपभोग्य वस्तु खरिद गर्न समय दिएको छ । यही समयमा सबैले आफूलाई चाहिने सामानको जोहो गर्न हतार गर्छन्, परिणामस्वरूप किराना पसलमा यही समयमा भीडभाड बढ्छ । यदि दिनभर पसल खोल्न दिने हो भने ग्राहकले आफूलाई चाहिने सामान आफ्नो समयअनुसार किन्न सक्छन्, भीडभाड हुँदैन । यसले ग्राहक र पसले दुवैलाई संक्रमणबाट बचाउन सहज हुन्छ । यतिबेला सामान किन्ने होस् या अत्यावश्यक काममा निस्कने सबै काममा एक्लै हिँड्नु लाभदायक हुन्छ । कोरोना भाइरसले विश्वलाई यतिबेला समूहबाट एकलतातर्फ धकेलेको छ । सामाजिक दूरी कायम गरी उच्च सतर्कता अपनाउन सकियो भने कोरोनामाथि मानवजातिको जित हासिल हुनेछ, अन्यथा हामीले आफ्नै ढिपी गरेर समूहमा जाने सावधानीमा ख्याल गरिएन भने हामीमाथि कोरानाले राज अवश्य गर्नेछ ।
सरकारले कालीमाटीको तरकारी पसलमा कोरोना परीक्षण गरिसकेको छ । अब दैनिक उपभोग्य सामग्री बिक्री गर्ने खाद्यान्न पसल सञ्चालकको पनि नमूना परीक्षण गरिनुपर्छ । गाउँको तरकारी बिक्री भएको छैन, सडकमा यात्रुको चाप नभएको अवस्थामा सडक किनारामै पनि तरकारी बेच्न दिन सकिन्छ । मूल्यसूची, बजार अनुमगन, हिजोको जस्तो मूल्य र गुणस्तर मात्रै होइन; सुरक्षा र सावधानीका सम्बन्धमा स्वास्थ्यका प्रतिनिधि पनि राखेर छड्के अनुगमन गरिनुपर्छ । जसरी ‘आज नगद भोलि उधारो’ सूचना लेखेजस्तै सामान किनेपछि गइहालौँ भनेर लेख्न जरुरी छ । एउटा पसलमा भीड भएमा अर्काे पसलमा जाने बानी उपभोक्ताले गर्नुपर्छ । खुद्रा विक्रेता संघका अनुसार देशभर ३ लाखको हाराहारीमा खुद्रा पसल छन् भने झन्डै ३५ हजार काठमाडौं उपत्यकामा मात्रै छन् । त्यसैगरी देशभर होलसेल पसलहरू ३० हजारभन्दा धेरै छन् । यी पसललाई पूर्ण अवधि चल्न दिएर पनि कोरोना नियन्त्रणमा प्रभावकारी कदम अगाडि बढाउन सकिन्छ । ठूला स्टोरमा कोरोना संक्रमण नहुने तर सानोमा भइहाल्ने भन्ने हुँदैन । सुरक्षा र सतर्कता अपनाएर सबैखाले पसल दिनभरि नै सञ्चालनको व्यवस्था गरिनुपर्छ ।