कारोबार संवाददाता
शुक्रवार, जेठ १६, २०७७
707

सामान्यतः तिनीहरू उमेरसँगै स्वाभाविक र नियमित किसिमले बढ्छन् । जब शरीरमा अर्बुदरोगले प्रवेश गर्न सुरु गर्छ, तब शरीरका कोशिकाहरू गुणात्मक सङ्ख्यामा अस्वाभाविक किसिमले बढ्छन् र शरीरमा एक किसिमका गिर्खा बनाइदिन्छन् । त्यस्ता गिर्खालाई नै ट्युमर भनिन्छ ।
सामान्यतः ट्युमर दुई किसिमका हुन्छन् । पहिलो प्रवृत्तिको ट्युमर घातक र सरुवा प्रवृत्तिको हुन्छ । दोस्रो प्रवृत्तिको ट्युमर नम्र प्रवृत्तिको हुन्छ । घातक र सरुवा प्रवृत्तिको ट्युमर कस्तो खतरनाक हुन्छ भने जबसम्म शल्यक्रिया या अन्य कुनै माध्यमले यसलाई हटाइँदैन, तबसम्म यो ट्युमर बढेर शरीरको अन्य भागमा फैलिरहन्छ । यही उग्र स्वभावको वृद्धिकै कारण यो ट्युमरलाई अर्बुदरोगको नाम दिइएको हो । नम्र प्रवृत्तिको ट्युमरचाहिँ सामान्यतया हानिकारक हुँदैन र शरीरको अन्य भागमा पनि फैलिँदैन । प्रायः यो ट्युमर अर्बुदरोगमा परिणत हुँदैन ।

केही व्यक्तिलाई अर्बुदरोग सरुवा या सङ्क्रामक रोग हो कि भन्ने पनि लाग्न सक्छ, तर त्यस्तो शङ्का गर्नु पर्दै पर्दैन । अर्बुदरोग त्यस्तो प्रकारको रोग होइन, किनभने यो रोग कुनै जीवाणुका कारणबाट हुने होइन । त्यसैले यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना नै हुँदैन ।
अर्बुदरोग लागे–नलागेको कसरी थाहा पाउने त ? यो महत्वपूर्ण प्रश्न हो । यस सम्बन्धमा सबै जनाले केही विचार गर्नुपर्ने हुन्छ । साधारण उपचारद्वारा निको नहुने घाउ शरीरमा देखियो भने, शरीरको कुनै भागमा नदुख्ने तर बढ्दै जाने गिर्खा देखियो भने, शरीरको विभिन्न मार्गबाट रगत या पीप बगिरह्यो भने र खाना निल्न गाह«ो भयो या एकाएक अपच भयो भने अर्बुदरोग लागेको छ कि भनेर जचाउन गइहाल्नुपर्छ । किनभने यी लक्षणहरू अर्बुदरोगका हुन् ।
यीबाहेक दिसा या पिसाबको आदतमा परिवर्तन भयो भने, खोकी लागिरह्यो भने, खकारमा रगत आइरह्यो भने, बोली धोद्रो हुँदै गयो भने, कालो कोठीको आकारमा परिवर्तन भयो भने र बिनाकारण शरीरको तौल घट्तै गयो या रक्तअल्पता भयो भने अर्बुदरोगको शङ्का गर्नुपर्छ र चिकित्सककहाँ जचाउन गइहाल्नुपर्छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुन्छ । त्यसैले अर्बुदरोगबाट बच्नका लागि पहिल्यैदेखि होसियारी अपनाउने हो भने अर्बुदरोगले शरीरमा आक्रमण गर्न नै पाउँदैन । रोग लाग्यो भने आफूले पाउने दुःख त छँदैछ, परिवार र नातागोताका व्यक्तिले पनि दुःख पाउँछन् र धनसम्पत्तिको हानिनोक्सानी पनि हुन्छ ।
अर्बुदरोगबाट बच्न चाहने व्यक्तिले चिल्लो, पिरो, मसलादार खानाको प्रयोग एकदमै कम गर्नुपर्छ, धूमपान गर्नु हुँदैन, पान, खैनी, चुरोट, गुट्खा, सुर्ती र पानपराग आदि पनि खानु हुँदैन, नियमित रूपमा स्वास्थ्यपरीक्षण गराइरहनुपर्छ, खानामा हरियो सागपात, फलफूल, दूध र दहीको प्रयोग अत्यधिक मात्रामा गर्नुपर्छ, ३० वर्ष उमेर पुगिसकेका सबै महिलाले प्रत्येक वर्ष आफ्नो पाठेघरको जाँच गराइरहनुपर्छ, दाँत र मुखको सरसफाइ नियमित रूपमा गर्नुपर्छ, मदिरासेवन गर्नु हुँदैन, विकिरणबाट जोगिनुपर्छ र कडा घाममा धेरै बेर बस्नु हुँदैन । यति कुराबाट जोगिन सकियो भने अर्बुदरोगबाट प्रत्येक व्यक्ति मुक्त हुन्छ ।
अर्बुदरोगको रोकथामका लागि सन्तुलित भोजनको सबभन्दा बढी महत्व छ । भोजन शाकाहारी प्रकृतिको हुनुपर्छ । मांसाहारी भोजन भयो भने छिटै अर्बुदरोगले समात्छ । मूल रूपमा हामीले गेडागेडी, सुप–सुरुवा, आलु, रोटी, दालभात र तरकारीका साथै प्रशस्त मात्रामा सागपात र फलफूल खानुपर्छ । मासु खानैपर्ने हो भने पनि रातो मासुचाहिँ खानै हुँदैन । तर, मासुलाई नै मूल आहाराका रूपमा खानु हुँदैन । हरेक दिन कम्तीमा पनि ४ सय ग्राम फलफूल र सागपात खानु आवश्यक छ । फलफूलमा भिटामिन तथा खनिज पदार्थ एवं रेसायुक्त वस्तुहरू हुन्छन्, जसले हामीमा हुने धेरै प्रकारका अर्बुदरोगहरूबाट बचाउँछ । हामीलाई फलफूलको झोलले भन्दा पूर फलफूल खानाले बढी फाइदा गर्छ ।
हाम्रो दैनिक खानामा दालभातलगायत गेडागुडी पनि घटीमा ५ सय ६० ग्रामसम्म समावेश भएको हुनैपर्छ । खाना छान्दा पाएसम्म पालिस कम भएका पोषणयुक्त गेडागुडीमै बढी ध्यान दिनुपर्छ । यो खाद्यपदार्थहरू प्रोटिनका लागि राम्रा स्रोतहरू हुन् । यसका साथै यिनीहरूभित्र धेरै प्रकारका तत्वहरू पनि हुन्छन् । तिनीहरूले क्यान्सरको रोकथाम गर्नमा सघाउ पु-याउँछन् । रातो मासु सकेसम्म खानै हुँदैन, त्यसको सट्टामा बरू माछा या कुखुराको मासु खाए हुन्छ । रातो मासु भन्नाले राँगा या बिफ, भेडा र बङ्गुरको मासु भन्ने सम्झनुपर्छ । यी परिकार दिनमा ६० ग्रामभन्दा बढी खानु हुँदैन । रातो मासु बढी खानेहरूलाई अर्बुदरोग लाग्ने सम्भावना सबैभन्दा बढी हुन्छ । खाना सन्तुलित भयो भने अर्बुदरोगको डर रहँदैन ।
—हरिगोपाल प्रधान
पूर्वसभापति, काठमाडौं शाखा
नेपाल अर्बुदरोग निवारण संस्था