सरस्वती ढुङ्गाना
बुधवार, जेठ ७, २०७७
365

विश्वमा बेलाबेलामा महामारी फैलन्छ, महामारीपछि त्यसमा राजनीतीकरण पनि हुने गर्छ, जसले आपसी सम्बन्धमा कटुतासम्म पनि ल्याउने गरेको पाइन्छ । कहिलेकाहीं त महामारीका कारण ध्रुवीकरण र शीतयुद्ध पनि बढ्ने गरेको पाइन्छ । वर्तमान सन्दर्भमा पनि कोरोना भाइरसका कारण चीन–अमेरिकाबीच ठूलै वादविवाद र आरोप–प्रत्यारोप चलेको छ । कोरोना भाइरसको नामकरण, उत्पत्ति, फैलावट, सूचना सम्प्रेषणमा भएको लापरवाही आदि विषयमा अमेरिका र चीनका बीचमा शीतयुद्ध जारी नै छ ।
चीनको वुहानबाट फैलिएको कोभिड–१९ बाट मर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यसले विश्वका थुप्रै देशमा ठूलो असर पु¥याएको छ । दैनिक जनजीवन ठप्प छ । संक्रमितको संख्या पनि बढ्दै छ । विश्वमा ४३ लाखभन्दा बढी यस भाइरसबाट संक्रमित छन् भने २ लाख ९३ हजारले यसका कारण मृत्युवरण गर्न पुगेका छन् । तर, अमेरिकी राष्ट्रपतिको संकेत चीनप्रति नै लक्षित भएको पाइन्छ । उनको मुख्य आरोप नै चीनले कोरोनाबाट मर्नेको संख्यामा राजनीति गरेको भन्ने रहेको छ । चीनमा थुप्रै मानिस मर्दा पनि उसले उनीहरूको सङ्ख्या पारदर्शी नगरेको ट्रम्पको आरोप छ, जहाँ यो भाइरसको उत्पत्ति भयो त्यहाँ यति न्यून मृतक संख्या हुन नसक्ने धारणा अमेरिकाले राख्दै आएको छ । खासगरी अमेरिकाले चीनको कम्युनिस्ट पार्टीले मृतकको सङ्ख्यामा पारदर्शिता कायम नगरी उल्टै राजनीति गरिरहेको बताएको छ । त्यहाँको चिनियाँ कम्युनिस्ट पार्टीले महासंकटको असर लुकाउने प्रयास गरेको छ भन्ने अमेरिकाको आरोप छ ।

चीनको पक्षमा लागेर विश्व स्वास्थ्य संगठनले सूचना सम्प्रेषणमा गम्भीर लापरवाही गरेका कारण राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिने अनुदान रोक्ने बताए पनि बिल गेट्स र संयुक्त राष्ट्र संघका महासचिव गुटरेसले अनुदान रोक्न नहुने बताएका छन् । विश्व स्वास्थ्य संगठनले चीनको विश्वास गर्दा आज विश्व स्वास्थ्य संगठनजस्तो स्वतन्त्र विश्वव्यापी संस्थाको साख घट्न पुगेको भन्ने ट्रम्पको नजर हरेकपल बेइजिङतिर नै केन्द्रित छ । अमेरिका भाइरसको स्रोत जाँच गरिरहेको छ । उसको भनाइ रहँदै आएको छ– यो चिनियाँ भाइरस वुहानको एउटा प्रयोगशालाबाट फैलिएको हो, वुहानको मासु बजारबाट फैलिएको होइन ।
यसैगरी सन् २०१८ मा चिकित्सा विज्ञानमा नोबेल पुरस्कार विजेता जापानका प्रा.डा.तासुकु होन्जोले कोरोना भाइरस प्राकृतिक नभएको खुलासा गरेका छन् । यो प्राकृतिक भाइरस भएको भए विश्वभरि नै एकै प्रकारले फैलन सम्भव छैन । साथै, यसको प्रभाव पनि समान तरहले विश्वभरि नै नहुने उनको दाबी छ । विश्वमा विभिन्न देशमा फरक–फरक तापक्रम छ, भूगोग छ । यसको असर पनि सोहीअनुरूप हुनुपर्नेमा अहिले कोरोनाको लक्षण र असर हेर्दा यो प्राकृतिक नभएर कृत्रिम भएको अनुमान गर्न सकिन्छ ।
चीनको गैरकदमप्रति अमेरिकाली जनताले अमेरिकाको मिसोरी अदालतमा मुद्दासमेत दर्ता गरेका छन् । त्यसो त विश्वमा आफ्नो प्रभाव कायम राख्न चीन र अमेरिका दुवै आ–आफ्नै ठाउँमा तत्पर छन् । यस महामारीपछि विश्वव्यापी नेतृत्व कसको हातमा आउनेछ ? वा शक्तिशाली राष्ट्रका रूपमा कुन देशको पकड रहनेछ भन्ने प्रश्नले पनि दुवै देशबीच द्वन्द्व बढेको हो । एकतिर यो महामारीपछि चीन उदाउनेछ वा प्रभावशाली बन्नेछ भन्ने आशंकाले अमेरिकाले चीनप्रति आरोप–प्रत्यारोप लगाएको हो भन्ने अनुमान लगाएको पाइन्छ, जसका कारण चीनप्रति अमेरिकी राष्ट्रपति बढी आक्रोशित हुनुका कारण अरू केही नभएर यही नै हो भन्न सकिन्छ । चीनले कोरोना भाइरसको खबरमा गरेको लापरवाहीका बारेमा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले लोकतन्त्रजस्तो स्पष्ट र खुला समाज भएको अन्य देश र सत्यता लुकाउने समाजबीच कुनै तुलना हुन सक्दैन भन्दै चीनप्रति आरोप लगाएका छन् । त्यस्तै, बेलायतका विदेशमन्त्री डामिनिक रोवले पनि दुनियाँमा यस्तो महामारी फैलाउने चीनसँग यसको जवाफ माग्नु आवश्यक छ भनेका छन् ।
विश्वभरिका केही शक्तिशाली राष्ट्र चीनको आर्थिक वृद्धिदर कम गर्न वा प्रभाव न्यूनीकरण गर्न लागिपरेको देखिन्छन् । अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स, भारतसमेत विश्वव्यापी रूपमा चीनको सफलताप्रति सन्तुष्ट छैनन् । पछिल्लो समयमा चीनले गरेको यो विकासप्रति अमेरिका पनि अचम्म भएको छ । आज चीनको वर्चस्ववादी सोच अन्त्य गर्न केही राष्ट्रहरू रातदिन लागिपरेका छन् । त्यसैले, अमेरिकी राष्टपति ट्रम्प चीनप्रति ज्यादै रुष्ट भएका हुन् । ह्वाइट हाउसले बेइजिङलाई हेर्ने दृष्टिकोणमा फरक पाइनुमा चीनको सफलता र उसका बढ्दो विश्वव्यापी लोकप्रियता वा प्रभाव नै मूल कारण हो भन्न सकिन्छ । कुनै पनि पत्रकार सम्मेलन होस्, त्यहाँ ट्रम्पको कटाक्ष चीनतिर नै हुन्छ । कुनै पत्रकारलाई मसँग होइन, यसको जवाफ चीनसँग माग्नुहोस् भन्ने र अमेरिकाले कोरोनाको औषधी बनाउँदै रहेको र त्यो पनि चीनले ह्याक गरेको वा चोरेको आरोप लगाउनुले चीन र अमेरिकाको विवादका कारण विश्वमा ध्रुवीकरणको खाडल झन् बढेको देखिन्छ; जसको परिणाम नराम्रो पनि हुन सक्छ ।