झलनाथ खतिवडा
सोमवार, जेठ ५, २०७७
374

आज कोरोना भाइरसका कारण किसान, उद्योगी–व्यवसायी र आमसर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ ।

हिजोआज नेपाललगायत विश्वका सबै राष्ट्र कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । नेपाल भने अनेकौं राजनीतिक खेल खेलिरहेको देखिएको छ । कोरोनासँग देश जुधिरहेको यस आ.व. २०७७-०७८ को संसद्को बर्खे अधिवेशन चलिरहँदा नेपाल र नेपाली जनताले यस आ.व.को बजेट पाउने निश्चित प्रायः भएको छ ।
आज नेपालमा बहुमतको सरकार रहेको छ । इतिहासको शक्तिशाली प्रधानमन्त्रीले सरकार सञ्चालन गरिरहनुभएको दोस्रो वर्ष व्यतीत भइसकेको छ भने इतिहासको बढी अर्थशास्त्रका ज्ञान भएका र धेरै वर्ष अर्थ, बैंकिङ क्षेत्र र राष्ट्र बैंकको गभर्नर भई नेपाल र नेपालीलाई योगदान पु-याउनुुभएका व्यक्तित्व अर्थमन्त्री भएर यस सरकारका तर्फबाट प्रेषित गरिने आर्थिक वर्षको दोस्रो पटक बजेट आह्वान गर्ने मौकालाई एक अवसरका रूपमा लिई आगामी दिनका लागि एक उदाहरणीय अर्थमन्त्रीका रूपमा चिनाउने र आफ्नो सरकार चिनाउने एक अवसरका रूपमा यस वर्षको बजेट केन्द्रित गर्न हार्दिक आह्वान गर्छौं ।

आज कोरोना भाइरसका कारण किसान, उद्योगी–व्यवसायी र आमसर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । बजारमा खाद्यान्न सामग्रीलगायत दैनिक अत्यावश्यकीय वस्तुको कालोबजारी बढेको र कृत्रिम अभाव देखाउन थालिएको छ । अझ स्वास्थ क्षेत्रअन्तर्गतका निजी फार्मेसी र ज्वरो नाप्ने प्रतिष्ठत उद्योगीले नै कालोबजारी गरेका समाचार बारम्बार प्रकाशन भइरहेका छन् । यसतर्फ पनि सरकारका तर्फबाट कडाभन्दा कडा निर्देशन जारी भई जरिवानाको व्यवस्था हुन जरुरी देखिएको छ ।
सरकार एउटा खम्बा हो र खम्बालाई दर्बिलो, मजबुत बनाउने जिम्मा जनताको हो । आज कैयांै जनता आफैंले सिर्जना गरेका साना तथा मध्यम घरेलु उद्योग, कम्पनी, फर्म र संस्थाहरू बन्द प्रायः भएका छन् । त्यस्ता संगठित एवं असंगठित क्षेत्रमा रोजगारी गरेर आफ्नो दैनिकी गुजारा गरिरहेका मानिसहरूको रोजीरोटी बन्द भएको छ, जसले गर्दा उनीहरू र उनका परिवारको पालनपोषणमा गम्भीर समस्या उत्पन्न भएको सम्बन्धित निकायहरूलाई सर्वविदितै छ । यस्तो अवस्थामा जनताको गाँसको र स्वास्थ्यकोे उचित प्रबन्ध गरिदिन र दैनिक रोजीरोटीको सिर्जना गराई उनीहरूको दैनिकीमा आइपर्ने समस्याको उचित समाधान खोज्न आगामी बजेट केन्द्रित होस् ।
नेपाली जनता रोजगारीका नाममा भारतलगायत अन्य विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका थिए, तर आजको विषम परिस्थितिबाट नेपाल सरकारले केही पाठ लिन जरुरी देखिएको छ, जो–कसैलाई अरबको खाडीमा, अर्काको देशमा र त्यो टन्टलापुर घाममा आफ्नो परिवारबाट टाढा रही रोजगारी गर्न कसैलाई पनि मन छैन । मानिसहरूको आ–आफ्नो बाध्यता र विवशताले गर्दा बिदेसिनु आजको आवश्यकता नै बनिरहेको देखिन्छ, जुन आवश्यकतालाई नेपालमा नै सरकारी स्तरबाट घोषणा भएका रोजगार कार्यक्रमलाई सही र थप गुणस्तरीय बनाउने र निजी क्षेत्रसँग पनि थप समन्वय गर्दै देशमा नै अनेकौं रोजगारी सिर्जना गरी ती बिदेसिएका नेपाली पौरखी हातहरूलाई सरकारको नीति तथा कार्यक्रमअन्तर्गतको आउन लागेको बजेटमार्फत रोक्न भने पक्कै सक्छ ।