लक्ष्मीप्रसाद पौडेल
बुधवार, चैत्र २६, २०७६
613

लकडाउन डायरी


तीन दिन पहिले सूचना दिएर लकडाउन घोषणा गर्न सकेको भए हाल अलपत्र परेका नागरिकहरू अधिकांश आफ्नो गन्तव्यमा पुगिसक्थे ।

करिब तीन महिना अघिदेखि छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट संक्रमण सुरु भएको कोरोना भाइरसलाई नेपालमा छिर्न नदिन नेपाल सरकारले गएको चैत ११ गतेदेखि २५ गतेसम्मको लागि देश नै लकडाउन गरेको छ । सबै नागरिकहरूलाई घरभित्रै बस्न अनुरोध गरेको छ । यातायात सबै ठप्प छन् । संक्रमितहरूको संख्या थपिने हो भने लकडाउनको अवधि अँझै लम्बिन पनि सक्छ । सायद यो चैत महिनाभर लकडाउन हुनसक्छ ।
पूर्वसूचनाबिनै सरकारले देश नै लकडाउन गर्दा विभिन्न पेशाको सिलसिलामा देश तथा विदेशका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई आफ्नो गृहइलाकामा पुग्न युद्ध जित्नुसरह जस्तै भएको छ । केही नागरिकहरू सरकारले लकडाउन घोषणा गरेलगत्तै चैत १० गते साँझ नै रातारात गन्तव्यमा पुगे । सात दिनमा लकडाउन समाप्त हुन्छ भन्ने आशामा गाउँ नफर्केका बाँकि नागरिकहरू सरकारले अर्काे एक हप्ताको लागि पुन थप गरेपछि थप चिन्तित पक्कै बने । अझै पनि अवधि थप गर्ने हो भने १४ दिनसम्म नभनेर पर्खिएकाहरू पनि गन्तव्यतिर पैदलयात्रा गर्न बाध्य हुनेछन् । त्यसो त नेपालको जम्मा जनसंख्यामध्ये अधिकांश नागरिकहरू ग्रामिण समुदायका छन् । उनीहरू विभिन्न शिलसिलामा सहरमा बस्ने गर्छन् । आधाआधिजसो त गाउँमै फर्किसकेका छन् । तर हप्ता पन्ध्र दिन भनेर पर्खिएकाहरू लकडाउन अवधि थप भयो भने पक्कैपनि गाउँ फर्किने जमर्काे गर्नेछन् । यात्रा चाहे पैदल होस् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका एक युवक भारतको उत्तराखण्डबाट दश दिनसम्म पैदल यात्रा गरेर केही दिनअघि गाउँ पुगे । देश लकडाउनका कारण साधारण चिया पसलसमेत खुल्ने अवस्थामा छैनन् । बस्नको लागि होटलहरू त खुल्ने कुरै भएन । कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै नेपाल आएका उनले नेपाल प्रवेश गरेसंगै खाना खान पनि पाएनन् । लकडाउनका कारण फाटफुटबाहेक किराना र खाद्यान्न पसलहरू पनि ठप्प छन् । साथमा आफूले प्रयोग गर्ने कपडा र केहि सामानसहितको झोला बोकेर पैदल यात्रा गरेका उनले भोक लागेको ठाउँमा चाउचाउ वा विस्कुटसमेत किन्न पाएनन् । लगातार करिब आठ दश दिनसम्म चाउचाउ ले भोक गुजार्न उनलाई सजिलो थिएन । तर पनि उनलाई आफ्नो गाउँघरमा पुग्नु थियो ।
दैलेख पचिमको चामुण्डाविन्द्रासैनीका गणेश आचार्य प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगरदेखि पैदल यात्रा गरेर करिब तीन दिनमा गाउँ पुगे । सुर्खेतमा लोकसेवा आयोगको तयारी गर्दै गरेका आचार्य र उनका एकजना साथि विभिन्न ठाउँमा प्रहरीलाई छल्दै आफु गन्तब्यमा पुगेको बताए । ‘लकडाउनले सबै बन्द भयो । बन्द हुन्छ भन्ने खबर एक्कासी पाएँ,’ उनले भने, ‘यहाँ पढाई, काम सबै बन्द भयो, घरमा काम पनि धेरै छ । मैले सहरमा बसेर खर्च गर्ने घरमा घाँसदाउरा गर्ने, गहुँ काट्ने कोही थिएनन । जसरी पनि जानु थियो । हिँडेरै भएपनि गाउँमा पुगियो ।’
‘कोरोना त्रास जति सहरमा छ । त्योभन्दा बढि त्रास गाउँमा छ । त्यसो त गाउँका नागरिक बढि सचेत पनि छन् । भने जोखिम पनि उत्तिकै छ । छिमेकि मुलक भारतमा कोरोना भाइरसले ७० जनाभन्दा बढिको ज्यान लिइसकेको छ । हजारौंको संख्यामा भाइरसबाट संक्रमित छन् । यहाँका धेरै नागरिकहरू श्रम गर्न भारत पुग्ने गर्दछन् । उनिहरूसंगै गाउँमा कोरोनाभाइरस भित्रिन सक्ने आशंकासहित गाउँमा नागरिकहरू त्रसित छन्,’ आचार्यले भने, ‘त्यसैल त मैले सुर्खेतदेखि दैलेख आउँदन बाटोमा कतै पसलहरू पनि खुलेको देखिँन । यहाँ नयाँ मान्छे देख्यो कि सबै सतर्क हुन्छन् । न कसैको घरमा बास नै दिन्छन् ।’
सुर्खेतबाट हिँडेपछि दैलेखको भैरवि गाउँपालिकाको घुम्नेखालिमा पुगुन्जेलसम्म दुई दिनमा उनिहरूले करिब सातवटा चाउचाउ खाएर गुजारा गरेको बताए । ‘घुम्नेखालिमा पुगेपछि त्यहाँको एउटा पसलमा चाउचाउ पकाउन लगाएर खायौं ।’ उनले भने, ‘त्यसभन्दा अगाडि दुई दिनसम्म काँचो चाउचाउ खाएरै गुजारा गर्याैं । त्यही काँचो चाउचाउ पनि मुस्किलले पाइयो ।’ उनले एकदिन रुखको छाहारीमा र एकदिन कसैको गोठमा सुतेको बताए । गएको आइतबारमात्रै सुर्खेतको वीरेन्द्रनगरदेखि करिब आठ जना दैलेखको भैरवी गाउँपालिकास्थित आफ्नो घरमा पुगे । उनिहरूलेभने दुई दिनमै उक्त स्थानमा पुगेको बताए ।
उक्त टिममा रहेका तुलाराम पौडेलले आफुहरूको यो यात्राले आफ्ना बाजेले नेपालगंजबाट दैलेखमा नुन लगेको कुरा बताएको सम्झिएको बताए । ‘उहिले हाम्रा बा, बाजेले नेपालगंजमा ‘हाट’ गएर नुन लगायतका आवश्यक सामाग्रिहरू ल्याएको दुःख सुनाउनुहुन्थ्यो । हामीलाई त्योभन्दा कम दुःख भएन । यो जमानामा पनि यस्तो भयो भन्ने कुरा कसैलाई त कहानीजस्तै होला ।’
‘ऊबेला दैलेखबाट हिँडेका १८ दिनमा नेपालगंञ्ज पुगेर नुन लगायतका सामग्री ल्याउँथे रे । यताबाट घ्युका कन्टर बोकेर जान्थे । उताबाट त्यो बेचेर र बाँकि लगेको केहि पैसाले एक वर्षका लागि नुन ल्याउँथे । सियो, धागो, नुन, कपडालगायतका आवश्यक सामानका लागि हरेक वर्षको पुस माघ महिनामा गाउँका सबैजना नेपालगंञ्ज जान्थे रे । अनि त्यसलाई सबैजनाले ‘हाट’ भन्थे ।’ आजभन्दा करिब ३६ वर्षअघि अर्थात वि. सं. २०४० साल तिरको कहानि सुनाउँदै उनले भने ।
उतिबेला ‘हाट’ जाने मान्छेहरू गोठ बनाएर सुत्ने गरेको र आफुहरू रुखको छाहरीमा सुतेको उनले बताए । गाउँगाउँमा सडक र गाडि पुगेको अवस्थामा पनि पैदलयात्रा गर्नुपर्दा ‘हाट’ जानेजस्तै जमाना आएजस्तो अनुभुति गरेको उनले बताए । आफुहरूले खानेकुराहरू घरबाटै तयार गरेर लगेको बताए । जसरी हाट जाने ‘हटारु’ पनि सोहजिस्तै गर्थे ।
‘खै के यस्तो महामारी आयो । मर्याैं भने पनि गाउँमा सबै आफन्तजनहरू संगै मरौंला भन्ने सोचले गाउँ आयौं ।’ पैदलयात्रा गरेर दैलेख पुगेका शान्ति पौडेलले भने । पौडेल र आचार्य त उदाहरणमात्रै हुन् । प्रदेश राजधानीको नजिकको जिल्ला भएकोले सुर्खेतमा बसोबास गर्ने दैलेख जिल्लाका नागरिक धेरै छन् । भौगोकिलक दुरी पनि अन्य जिल्लाभन्दा कम भएकाले अहिले दैलेख जाने पदलयात्रीहरू धेरै छन् । अंझै पनि लकडाउनको अवधि थपिने हो भने बाँकि नागरिकहरू पनि पैदलयात्रा गरि गाउँ जानसक्छन् ।
केहि दिनअघि काठमाण्डौ उपत्यकामा मजदुरी गर्ने केहि जना पैदलयात्रा गर्दै मधेस हिँड्न लागेको भिडियो सार्वजानिक भएको थियो । उनिहरू त प्रतिनिधिमात्रै हुन् । लामो समय काठमाण्डांैमा बस्न नसकेपछि काठमाण्डौंमा मजदुरी गर्नेहरू हुन् या पढाई गर्नेहरू उनिहरू पनि उकालो लाग्नेछन् ।
गएको शनिबारमात्रै दैलेखको आठबिस नगरपालिकाबाट सल्यानका चार जना युवाहरू पैदलयात्रा गर्दै सुर्खेत हुँदै सल्यानतर्फ लागे । सात दिनमा लकडाउन खुल्छ भनेर पर्खिएका उनिहरू सरकारले लकडाउन अवधि थप गरेपछि हिँडेरै सल्यानतर्फ लागेको बताए ।
नेपालबाट धेरै नागरिकहरू भारतमा श्रम गर्न जान्छन् । भारतमा पनि लकडाउन भएका कारण उनिहरूलाई भारत बस्न पनि सहज छैन् । त्यसैले त उनिहरू पनि मातृभुमिमा आउन चाहान्छन् । जसको उदाहरण सिमानाकामा अलपत्र नेपालीहरूको भयाबह अवस्थाले प्रष्ट पार्छ । तर सिमानाकामा अलपत्र भएकाहरूबाहेक चोर बाटो हुँदै सिमा काटेर आउने नेपाली नागरिकहरू पनि छन् । उनिहरू पनि हिँडेरै कहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्छन् । अनि उनिहरूले पनि सम्झिनेछन् बाउ बाजेको हाटको यात्रा, उनहरूले याद गर्नेछन् बाजेले हिँडेरै लामो दुरी पार गरेको कहानी । जुन आफुले भोग्नेछन् । अनि उनिहरूका लागि पनि विंसं २०४० फर्किएको अनुभुति हुनेछ । र भन्नेछन्, ‘जमाना फर्किन्छ भन्थे, साँच्चिकै फर्किएछ ।’
तसर्थ नेपाल सरकारको केटाकेटिपनको कारणले गर्दा धेरै नागरिकहरू अलपत्रमा परेका छन् । केटाकेटीपन यो मानेमा भयो कि पूर्वसूचनाबिनै एक्कासी लकडाउन घोषणा गर्नु । जसले गर्दा नागरिकहरूले यस्तो सास्ती खेप्नुपरेको हो । तीन दिन पहिले सूचना दिएर लकडाउन घोषणा गर्न सकेको भए हाल अलपत्र परेका नागरिकहरू अधिकांश आफ्नो गन्तव्यमा पुगिसक्थे । बाँकी रहेका केही अलपत्र नागरिकहरूलाई व्यवस्थापन गर्न सहज हुने थियो ।

 

सातामा धेरै पढिएको