अरुण जिसी
बुधवार, चैत्र २६, २०७६
1025

 

लकडाउनको अवधिमा न्यून आर्थिकस्तरका व्यक्तिहरूले अन्य कुनै पनि तहको भन्दा कठिनतम् समयको सामना गर्नुपर्ने हुन्छ ।

कोरोनाभाइरस (कोभिड १९) २१ औं शताब्दीको सबैभन्दा खतरनाक महामारी बन्न पुगेको छ । जसले संसारभरिबाट ७० हजारभन्दा बढी व्यक्तिको जीवन लिइसकेको छ । मृतकहरू मध्ये आधा जति युरोपबाट मात्रै छन्, विशेष गरी इटाली र स्पेनबाट । संक्रमित मानिसको संख्या १३ लाख माथि पुगिसकेको छ । जनवरीदेखि संक्रमणको वृद्धिदर प्रतिमहिना ६५० प्रतिशत भन्दा बढी छ ।
कोभिड–१९ को पहिलो केन्द्रबिन्दु चीनको वुहानले कठोर लकडाउन र अन्य चिकित्सा हस्तक्षेपद्वारा नयाँ संक्रमण करिव नियन्त्रणमा लिन सफल भएको छ । तर, पछिल्लो समय इटाली कोभिड १९ को नयाँ केन्द्रबिन्दु बन्न पुग्यो र अब अमेरिका नयाँ केन्द्रको रूपमा विकास हुदैछ जहाँ प्रत्येक दिन हजारौं नयाँ संक्रमितहरु थपिइरहेका छन् भने ज्यान गुमाउनेहरूको संख्या पनि बृद्धि भइरहेको छ । यस्तो देखिन्छ कि कोभिड १९ लाई पूर्ण रूपमा नियन्त्रणमा लिनको लागि विश्वले अझै केही समयको प्रतिक्षा गर्नुको विकल्प नै छैन ।
यस अवधिमा विश्वभरिका सरकारहरू चिकित्सा सुविधाहरूमा अत्यधिक केन्द्रित छन् । जुन निस्सन्देह पहिलो प्राथमिकता नै हो । यद्यपि, संसारले खाद्यान्नको बारेमा सोच्न बिर्सिएको छ । एक हप्ता वा केही हप्ताको लागि खाना गम्भीर मुद्दा नहुन सक्छ । तर, यदि संकट महिनौंसम्म लाम्बिएको खण्डमा के हुन्छ भन्ने प्रश्न गम्भीर छ । दुःखका साथ भन्नु पर्छ जुन सम्भावना असम्भव देखिँदैन ।
विश्वव्यापी तहमा पर्याप्त खाद्यान्न रहेको भन्दै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले अहिलेको समयमा खाद्यान्नको समस्या हुने छैन भनेको छ । यद्यपि खाद्य सुरक्षा भनेको विश्व वा राष्ट्रस्तरमा खानाको उपलब्धता मात्र होईन जुन तरिकाबाट हामी केही दशक अघिसम्म खाद्य सुरक्षाको मापन गर्दथौ । खाद्य सुरक्षा उपलब्धता, पहुँच, उपयोगिता (युटिलाइजेसन) र स्थिरताद्वारा परिभाषित गरिन्छ आजकाल । चलिरहेको कोभिड–१९ संकटको समयमा, खाद्य आपूर्ति श्रृंखला अवरुद्ध भएको छस पहुँच कमी आएको छ र उपयोगितामा संसय गर्ने ठाउ छ । यसबाहेक, घरपरिवारतहको खाद्य सुरक्षा बुझ्नको लागि जटिल छ । अझ घरभित्रकै सदस्यहरुबीचको खाद्य सुरक्षाको पृथकीकरण बुझ्न अधिक जटिल छ । यस्तो संकटको अवस्थामा, यिनै दुइ प्रकारका खाद्य सुरक्षा चिन्ताको विषय हो न कि विश्वव्यापी वा राष्ट्रियस्तरमा खाद्यान्नको उपलब्धता ।
खाद्य सुरक्षामा कोभिड–१९ संकटको असर धेरै आयामहरुबाट हेर्न सकिन्छ। पहिलो आयाम भनेको संकटको तत्कालिन प्रभाव नै हो । हामीले यस अघि नै लकडाउन सुरु हुनुभन्दा अगाडि उपभोक्ताहरू द्वारा गरिएको भागदौडपैर्ण खरिद (प्यानिक(खरानी) देखिसकेका छौं । यसले खाद्य सुरक्षाको पहुँच आयामको सन्तुलनलाई खलल पु-याएको थियो । हुनेखाने वर्गहरु अधिक भन्दा अधिक खाद्यान्न भण्डार गर्न तर्फ लागे जसका कारण माग ह्वात्तै बृद्धि भयो। फलस्वरूप खुल्ला बजारले मूल्य बृद्धि मार्फत यसको प्रतिक्रिया जनायो । यसले अन्ततः गरिब र कमजोर समूहहरूलाई तिनीहरूको क्रयशक्तिमा असर ग-यो ।
प्रभावको दोस्रो आयाम लकडाउन अवधिको हो जुन हामीले अनुभव गरिरहेका छौं । लकडाउन कोभिड–१९ लाई द्रुततर फैलानबाट रोक्न उपयोगि उपाय देखिएको छ । त्यसैकारण विश्वभरका सरकारहरूले यसलाई कार्यान्वयन गरिरहेका छन् । यद्यपि यसका धेरै गम्भीर आर्थिक परिणामहरूलाई भने नजरअन्दाज गर्न सकिन्न । ती मध्ये खाद्य असुरक्षा एक महत्त्वपूर्ण पक्ष हो । लकडाउनको क्रममा आपूर्ति श्रृंखला अवरुद्ध भइरहेको छ । किसानहरूले आफ्नो उत्पादन बेच्न कठिनाइ भोगिरहेका छन् । मुख्यतः छिट्टै नाश हुने ताजा उत्पादनहरू उपभोक्ताहरुसम्म पुग्न नसक्दा उनीहरूको आर्थिक मूल्यहरू गुमाइरहेका छन् ।
हामीले बजार मूल्य वस्तुको वास्तविक मूल्य भन्ने ठान्द छौं । यद्यपि यो सधैं सही हुँदैन। यदि हामीले कुनै पनि उपज उत्पादन गर्न खपत हुने सीमित श्रोतहरू विचार गर्यौं भने, बजार मूल्य यसको यथार्थ मूल्यको तुलनामा नगन्य हुन्छ । उदाहरण को लागी, एक किलो दुध उत्पादन गर्न हामीले १,०२० लिटर पानी खर्चनु पर्छ जसलाई हामी पानीको पदचाप (वाटर फुटप्रिन्ट) भन्छौं । त्यस्तै, एक किलो कुखुराको मासु उत्पादन गर्न हामीले ४३३० लिटर पानी लगानी गर्नुपर्नेछ । त्यस्तै, एक किलो मकै, बन्दकोबी र लेट्युस उत्पादन गर्न, हामीले क्रमशः १,२२०, २८० र २४० लिटर पानी खर्चनु पर्छ । यो त केवल एउट उत्पादनको संसाधन मात्र हो । ती वस्तुहरू उत्पादन गर्न हामीले अन्य थुप्रै दुर्लभ उत्पादनका साधनहरुको प्रयोग गर्नु पर्ने हुन्छ । त्यसकारण हामी त्यी मूल्यवान उत्पादनलाई उचित रूपमा उपयोग गर्न नसक्नु चिन्ताको विषय हो ।
लकडाउनको अवधिमा न्यून आर्थिक स्तरका व्यक्तिहरूले अन्य कुनै पनि तहको भन्दा कठिनतम् समयको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै भर्खरै गरीबीको रेखा पार गरेका मानिसहरु पनि जोखिममा हुन्छन् र लामो समय लकडाउन भएको खण्डमा यो भर्खरै गरीबीको रेखा पार गरेका वर्ग पुन गरीबीको रेखामूनी पर्न सक्छन् । छोटै समयको लागि नै किन नहोस् धेरै रोजगारहरू गुम्नेछन् ।
एकातर्फ, दैनिक मजदुरी गर्नेहरु लकडाउनको समयमा कमाई गर्न सक्दैनन् जसका कारण उनीहरूले अन्य उभोगका साथसाथै आफ्नो खाना उपभोग पनि कम गर्न बाध्य हुन्छन् । खाद्यान्नको खपतमा कमि भयो भने स्वभावतः खाद्य असुरक्षा र भोकमरी बढाउँदछ जुन निस्सन्देह यस्तो कोभिड–१९ को महामारी व्याप्त भएको समयमा निकै गम्भीर हुनेछ । तथ्यले देखाएको के हो भने पोषणको कमीले मानव प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ र कम्जोर प्रतिरक्षा प्रणाली भएका मानिसहरुलाई कोभिड–१९ जस्ता स्वास्थ्य समस्यासँग जुद्धनको लागि कठिनाई हुन्छ । अर्कोतर्फ, किसानहरू आफ्नो उत्पादन बेच्न सकेन भने उनीहरूको आय गुमाउछन् । धेरै जसो किसानहरूले अझै बाली र पशु बीमामा आवद्ध भइसकेका छैनन् । फलतः तिनीहरूले सबै घाँट आफै वहन गर्नु पर्ने हुन्छ । जसका कारण गरीबीको जालो किसान समुदायमा पनि जकडिनेछ ।
तेस्रो आयाम हो बृहतर खाद्य असुरक्षा । यदि किसानहरू बालीनाली लगाउने मौसमहरूको उपयोग गर्न असफल भए भने आगामी वर्ष खाद्य असुरक्षा अझ बढ्ने छ । अधिकांश खेतहरू अझै पनि सघनश्रम प्रणालीमा आधारित छन् । तर लकडाउनको कारण श्रमिक अभाव हुने देखिन्छ जसले खेतीपाती सामान्य अवस्थामा टिकाइ राख्न सम्भव देखिन्न र सीमित क्षेत्रफलमा सीमित बाली मात्र हुने सम्भावन रहन्छ । यी सबै कारकहरूले उत्पादनमा कमी ल्याउने भूमिका खेल्ने छन् जुन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रूपमा खाद्य असुरक्षा पैदा गर्दछ । कोभिड–१९ एक विश्वव्यापी महामारी भएका कारण यहाँ चर्चा गरिएको नियति नेपालमा मात्र नभइ विश्वभरकै कृषि पद्दतिमा करिब समान हुन्छ यदि यान्त्रीकरण र प्रविधिको प्रयोग हाम्रै जस्तो छ भने । जहाँ यन्त्रिकरण र प्रविधिको प्रयोग उच्चतम तहमा भएको छ त्यस्तो अवस्थामा यसको उत्पादनमा पर्ने नकारात्मक प्रभाव कम पर्न सक्छ ।
विश्वभरका सरकारले विभिन्न आर्थिक प्याकेजको घोषणा गरिरहेको बेलामा नेपाल सरकारले पनि आर्थिक प्याकेज घोषणा गरेको छ । यद्यपि यो अझै स्पष्ट छैन कि कसरी राहतले सबैभन्दा तल्लो आर्थिक तहमा रहेका र कोभिड–१९ को अधिक प्रभाव परेका मानिसहरूसम्म यसलाई कसरी पु-याउन सक्छ । कृषकहरूलाई राहत दिन पनि सजिलो काम होइन किनभने हामीसँग दर्ता प्रणाली नै छैन । त्यसकारण, प्रत्येक व्यक्तिको आर्थिक क्रियाकलापको साथ दर्ता गराउनु स्वयम् व्यक्तिहरूको लागि पनि अधिक महत्वपूर्ण हुन्छ । यदि राम्रोसँग प्रयोग गर्न सके यो व्यक्तिगत दर्ता प्रणाली आर्थिक समृद्धिमा पनि योगदान पु-याउन सक्छ र यस्तो संकटको बखत व्यक्ति स्वयमलाई नै फाइदा पु-याउनेछ ।
यसबाहेक, यदि कोभिड–१९को महामारी केही समय पश्चात पनि यथोचित नियन्त्रणमा नआएको खण्डमा ला‘कडाउनको मोडललाई पुनर्विचार पनि गर्नु पर्ने हुन सक्छ । यद्दपी सामाजिक दुरीबाट विचलन भने हुनुहुँदैन । परिवर्तित मोडालिटिले किसानहरूलाई खेतीको मौसमलाई सहज बनाउनु पर्नेछ । यसबाहेक, समयमा गुणस्तरीय उत्पादनका समाग्रीहरुको उपलब्धता सूनिश्चितता अति महत्वपूर्ण छ खाद्य असुरक्षताको दुस्चक्रबाट बच्नको लागि ।

अरुण जिसी