दीननाथ बराल
मंगलबार, चैत्र २५, २०७६
580

आमाको कुराले मन चस्किन्छ, कहिलेकाहिँ त हैन कस्तो पेशा अपनाएछु भन्ने पनि लाग्छ तर अर्को पाटोबाट हेर्दा पेशागत जिम्मेवारी ठूलो हो भन्ने लाग्छ ।

रिपोर्टरको डायरी
म २०६० सालदेखि पोखरालाई केन्द्रबिन्दु बनाएर पत्रकारिता गरिरहेको छु । डेढ दशक बढीको पत्रकारिता यात्रामा सबैभन्दा बढी त्रास कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको विश्वव्यापी महामारीमा अनुभव गरिरहेको छु । यसविरुद्ध लड्न नेपाल चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन)को अवस्था छ । लकडाउनमै पनि पेशागत कार्य गरिरहेको अवस्था पनि छ । यसअघिका विभिन्न बन्द, हड्ताल, निषेधज्ञाका बेलामा गरेको पत्रकारिताभन्दा यस समयमा गरिएको पत्रकारिता अझ बढी उच्च जोखिम रहेको महसुस गरेको छु । यद्यपि, मानिसलाई आफ्नो र समाजको स्वास्थ्यको चिन्ता र जोखिम सदैव रहन्छ नै ।

बन्द हड्तालका समयमा चाहिँ पत्रकारको परिचयपत्र लगाएर-देखाएर कार्यक्षेत्रमा हिडडुल गर्न, रिपोर्टिङ गर्न सजिलो हुन्थ्यो । सरकारी निषेधज्ञाको समयमा प्रशासनबाट उपलब्ध गर्ने प्रेस पासले रिपोर्टिङमा सहयोग पुग्थ्यो । त्यस्तो समयमा कसैको भनाइ वा विचार लिन प्रत्यक्ष भेटघाट गरी हात मिलाउँदै नजिकै बसेर, गफिएर काम गर्न सकिन्थ्यो । तर कोरोना भाइरसको संक्रमणको समयमा न त कुनै व्यक्तिसँग नजिकैबाट बोल्न सकिन्छ न त प्रत्यक्ष भेटघाट नै गर्न सकिन्छ । तर प्रविधिले कुनै पनि घटना, सूचना, जानकारी, विवरण, तथ्य, तथ्यांकहरू संकलन गर्न मद्दत गरिरहेको छ । देशमा सूचना तथा सञ्चार प्रविधिको विकासले प्रत्यक्ष भेटघाट सम्भव नभएपनि प्रविधिको सहयोगमा भेटघाट हुने अवसर मिलेको छ । मोबाइल फोनमार्फत् कुराकानी गरी प्रायः समाचार बनाउँदै आएको छु । चाहेर नचाहेर पोखरामा भएका साना ठुला कार्यक्रममा सरिक भएको छु ।
कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा पोखरामा प्रतिष्ठित आहा रारा गोल्ड कप संचालन भयो जुन खेलको फाइनलमा करिब १२ हजार दर्शक सहभागी भएका थिए । त्यो अवस्थामा हामी केहीमा संक्रमण देखिएको भए वा कोही संक्रमित विदेशी पोखरा रंगशाला भित्रिएको भए सायद हाम्रो हाल इटली र स्पेनको जस्तै फुटबल बम हुन्थ्यो । कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कोरोना भाइरसका कारण मेला, महोत्सव र कुनै पनि धेरै मानिसहरू जमघट हुने खेल गतिविधि नगर्न दिएको आदेशविपरित हजारौं दर्शकका बीच चैत १ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यो अवस्थामा पनि म(हामी) डराउँदै रिपोर्टिङ गर्नु पुगेको थिएँ । त्यसै गरी प्रदेशले चैत ११ गतेदेखि प्रदेशका नाकामा प्रतिबन्ध र अत्यावश्यक सेवाबाहेक अन्यमा बन्दको घोषणा गरेको केही घण्टामा संघीय सरकारले नेपाल लकडाउनको घोषणा गरेको थियो ।
लकडाउनको केही दिनपछि प्रादेशिक भाइरस रोकथाम, नियन्त्रण र सचेतनाको लागि प्रदेशको उच्चस्तरीय निर्देशन समितिको भेलामा करिव ५० जनाभन्दा बढी सहभागी भएको अवस्थामा कार्यक्रम भयो, जहाँ हामीमा कसैबाट सर्ने हो की भन्ने त्रास थियो । उता बजारमा मास्क र सेनिटाइजर अभाव भइसकेको थियो । त्यसका बाबजुत कपडाको सामान्य मास्क लगाएर रिपोर्टिङमा खटें । सेनिटाइजरको विकल्पमा पटकपटक साबुनपानीले मिचिमिची हात धुँदै हिडें । मेरो मनोविज्ञान कस्तो भयो भने कुनै कार्यक्रमहरूमा कसैसँग नजिकै बस्दा, नजिकिएर बोल्दा समेत कतै कोरोना भाइरस भएको मान्छे त होइन भन्ने भयो । यस्तै मनोविज्ञानका बीच रिपोर्टिङ गरें । अहिले पनि अवस्था यही नै हो ।
लकडाउन नै विकल्प बनेको छ । मानिसहरू अत्यावश्यकबाहेकका काममा सडकमा निस्केका छैनन् । केही मानिसहरू अझै फाट्टफुट्ट अझैपनि सडकमा देखिन्छन् । मेरो ध्यान भने कहाँ के भइरहेको छ ? मेरो क्षेत्रमा भएको घटनाको सत्य, तथ्य घटनाको समाचार आम पाठक, श्रोतालाई कसरी दिन भन्नेमा खटेको छु ।
श्रीमती (जया), छोरा (वसन्त) र छोरी गंगा दिनभरी पोखरा ३ नदीपुरको कोठामा बसिराख्दा गाउँ पोखरा–२२ पुम्दीभुम्दीबाट आमा श्रीकलाले दैनिक फोन गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘बाबु कहाँ छौ ? जोगिएर हिड्नु धेरै मानिसहरू कोरोनाले गर्दा मरेको समाचार आइरहेको छ ।’ आमाको कुराले मन चस्किन्छ । कहिलेकाही त हैन कस्तो पेशा अपनाएछु भन्ने लाग्छ । तर अर्को पाटोबाट हेर्दा पेशागत जिम्मेवारी ठूलो हो भन्ने लाग्छ । पेशाप्रति इमान्दार हुँदै दैनिक २-४ घण्टा फिल्डमा खटिएर आफू कार्यरत सञ्चार माध्यममा समाचार सम्प्रेषण गरिरहेको छु । काठमाडौंबाट र मोफसलमा निस्कने दैनिक, साप्ताहिकलगायतका केही पत्रिकाहरूले केही बन्द छन् । तैपनि तिनले इपेपेर निकाल्ने, वेब पृष्ठ तथा अनलाइन संस्करण प्रकाशन-प्रसारण गरिरहेका छन् ।
यसै क्रममा गत हप्ता शुक्रबार (२१ गते) प्रदेश सरकारको गलत सूचनाको कारण फस्न पुगें । सायद यो घटनामा म जस्ता अरु पत्रकार साथीहरू पनि फस्न पुग्नुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले पटक पटक गरेको फोन नउठेपछि प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले कास्कीमा एक जनामा संक्रमण भेटिएको पुष्टि गरेसँगै समाचार लेखें । समाचार पत्रिकालाई इमेल गरें र सँगसँगै सम्बन्धित फाँट हेर्ने साथीलाई फोन पनि गरें । उनले अझै प्रमाणिकता खोज्न, नहतारिन र स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन-जानकारी कुर्न भने तर मैले प्रदेश सरकारका प्रवक्ताको भनाइलाई आधार मानें । ब्युरोबाट फवार्ड भएपछि समाचार पत्रिकाको वेभपृष्ठमा प्रकाशित भएपनि समाचारको पुछारमा लेखिएको थियो, ‘..तर स्वास्थ्य मन्त्रालयले पुष्टि नगर्दासम्म संक्रमित भेटिए वा नभेटिएको भन्न सकिन्न ।’ साँच्चै अपराह्सम्म भयो पनि त्यस्तै । कास्कीमा पोजेटिभ भनिएको रिपोर्ट गलत भयो ।
बागलुङकी संक्रमितकी रिपोर्ट पोजेटिभ आएको तर त्यसको आधारमा गलत प्रचार हुन गएको भन्ने कुरा प्रदेश निर्देशनालयबाटै पनि आयो । काठमाडौंमा स्वास्थ्य मन्त्रालयले ४ बजे पत्रकार सम्मेलनमा कास्कीमा कुनै संक्रमण नभेटिएको प्रष्ट पा¥यो । त्यसपछि ढुक्क भएँ । यस्ता संवेदनशील कुरामा हतारो गर्न नहुने र गतिलो पुष्टयाँइ नहुँदासम्म समाचार लेखिहाल्ने, प्रकाशन गरिहाल्ने कार्य भएमा चुकिन्छ भन्ने पनि सिकें ।
झयाप्पै लकडाउन हुँदा जनताले कतिपय तयारी गर्न नपाएको पनि बताउँछन् भने कतिपयले अलि ढिलो गरी मात्रै बुझेको बताउँछन् । नेपाल पत्रकार महासंघ कास्कीले लकडाउनको दोश्रो साताको अन्तिम समयमा भए पनि मास्क, पन्जा र सेनिटाइजर केही पत्रकारलाई वितरण गरेको छ । पत्रकार अझै सुरक्षित रहन सुरक्षित पोशाक पनि चाहिन्छ ।
पोखराका अधिकांश निजी अस्पतालहरू यो विपद्का बेला सामान्य रुघाखोकी लागेको व्यक्तिलाई समेत उपचार गर्न नमान्दा चिकित्सकहरूले आफ्नो दायित्व नै भुलेकामा कताकता दुःख लागेको छ । हुन देशभरका प्रायजसो निजी अस्पतालले यस्तै गरेका छन् । तर अस्पताल खोल्न एक आपसमा प्रतिस्पर्धा गनेर्, सरकारले दिएको निर्देशनलाई पालना नगर्ने त्यस्ता अस्पतालहरू माथि सरकारले चाल्ने कदम सोचनीय हुनुपर्छ । यो अवस्थामा हामीले कतै संक्रमणको जोखिम त निम्ताएका छैनौं भन्ने कताकता भित्रैदेखि शंका लाग्छ । यद्यपि हालसम्मको स्थिति हेर्दा नेपालभित्रै एक व्यक्तिबाट अर्कोमा सरेको एकमात्र उदाहरणले भने म केही अत्तालिएको छु ।
यो अनुभव लेख्दै गर्दा नेपालमा कोरोना भाइरस(कोभिड–१९) ९ जना नेपालीमा देखिएको छ भने १ जना चाहिँ निको भैसकेका छन् । आजसम्मको तथ्यांकमा विश्वव्यापी रूपमा कोरोना संक्रमण फैलिरहँदा विदेशबाट नेपाल आएका नेपालीहरूमा मात्रै देखिएकोमा एकजना नेपालभित्रै संक्रमित भएकि छिन् । यससंगै नेपाल देस्रो चरणमा प्रबेश गरेको छ । देश भित्र वा बाहिर रहेका नेपालीजनको चाहना नेपालमा संक्रमण नफैलियोस् भन्ने छ । विश्वव्यापी रूपमा नै यस भाइरसको संक्रमणलाई युद्धकै संज्ञा दिइएको छ । नेपालले पनि डटेर सामना गरिरहेको छ ।