प्रा.डा. विकाशराज सत्याल
मंगलबार, चैत्र २५, २०७६
1203

दोस्रो विश्वयुद्धपछि एकैपल्ट यत्रो विपद्, आर्थिक मन्दी र नयाँ परिवर्तन विश्वले पहिलोपटक भोग्दै छ ।

कोरोनाको वर्तमान प्रकोप अहिले बाँचेका विश्व समुदायको लागि आफ्नो जीवनको सबैभन्दा भयावह र अभूतपूर्व अनुभव हो । इतिहासका अनेक कालखण्डमा यस्ता ठूला विपदा मानव सभ्यताले भोगेको वर्णन भेटिन्छ, तर आफैले अनुभव गरेको घटना अहिलेकै हो । हजुरबाले सुनाउनुहुन्थ्यो बिफर र हैजाले साल १९८०—८५ ताका काठमाडौँ र नेपालका अधिकांश भागमा कसरी गाँउकागाँउ सखाप भएका थिए । साल १९८७को जनगणनामा जनसंख्या वृद्धिदर ऋणात्मक छ, ४१ हजार भन्दा बढी मानिस घटेका थिए जसको मुख्य कारण माहामारी थियो । त्यसैगरी सन् १९१८मा अमेरिकामा फैलिएको स्पानिश फ्लुले १ करोड ५० लाखको ज्यानलिएको थियो । तर, भनिन्छ ‘कालो बादलमा चाँदीको घेरापनि हुन्छ’ । हाल सन्त्रास ल्याएको कोरोनाको कारण गरिएको ‘लकडाउन’ले केहि राम्रा कुराहरू पनिल्याएको छ ।
वायुमन्डल सफाः विश्वभरिका यातायात कलकारखाना बन्द हुँदा वायुमंडल ज्यादै सफा भएको छ । विश्वको कुल कार्बन उत्सर्गको सबैभन्दा ठूलो श्रोत चीन नै थियो जसले करिब ३० प्रतिशत उत्सर्ग गथ्र्यो भने, चीन लगायत १० प्रमुख राष्ट्रहरूले ६८ प्रतिशत उत्सर्ग गर्थे । हुवानमा कोरोना देखिएको डिसेम्बरको दोश्रो हप्ता पछी नै चीनका ठूला शहरहरूमा यातायात, कलकारखाना बन्द गरियो । त्यसपछि ईटाली, स्पेन हुदै युरोप र अमेरिकामा सल्केको कोरोनाको कारण करिब तीन महिना देखि वातावरण प्रदुषण ज्यादै घट्दैगएको छ ।

काठमाडौंको वायुमा पीएम २.५ आकारका धुलोको कण प्रायः १८० माइक्रोग्रामसम्म पाइने गरेकोमा अहिले यसको मात्रा घटेर डब्लूएचओले तोकेको २५ माइक्रोग्राम भन्दा कम देखिएको छ । रत्नपार्कमा पीएम २.५को मात्रा २३ माइक्रोग्राम भेटियो । त्यसैगरी, न्यु साइन्टिस्ट पत्रिकामा मार्च २६मा प्रकाशित रिपोर्टमा विश्वको वातावरणमा अहिले ३० प्रतिशतले कार्बनको मात्रा घटेको र ओजोनमा बनेको प्वाल सन् १९७० पछी सबैभन्दा बढी टालिएको देखिएको छ । अनेक नदीनालामा जलचर बढेको भेटिएको छ । भेनिश शहरको ऐडीयाट्रिकतट जो संधै मैलो हुन्थ्यो अहिले सफा भएको र डल्फीन समेत देखिनथालेको छ जो दशकौ पछीको परिवर्तन बताइन्छ । यस्ता सकारात्मक परिवर्तन देखिंदा, यसैगरी वातावरण सफाइको लागि हरेक वर्ष एउटै समयमा ‘विश्व सफाई सप्ताह’ मनाउन राष्ट्रसंघले आह्वान गरे राम्रो हुने देखिन्छ ।
माइक्रोबायोलोजी अबको खोजीकोः ब्याक्टेरिया र भाईरस क्षुद्रकिट हुन् । अझ भाईरस त जीव नै होइन रसायन मात्र हो जो प्राणीको सम्पर्कमा आएपछि सक्रिय हुन्छ । अहिलेको कोभिड–१९, पुरानो सार्स र मार्स कै सहोदर भएपनि आफ्नो गुणमा परिवर्तन गरेर यस्तो आक्रामक स्वाभावको बनेको हो । यस्ता क्षुद्रकिटहरूले नै मानिसको स्वास्थ्यमा संधै नकारात्मक असर पारेका छन् । फेरी अहिलेको कोभिड१९, सम्भवत चाँडै नै पुनः आफूलाई परिवर्तन गरि आर्को रूपमा निस्किने देखिन्छ । अब यसको परिवर्तित रूप के हुनेछ, कति चाडो आउने छ । अरु केकस्ता रोगका आक्रमण मानवलाई हुनसक्छ ? अब विज्ञानको खोजी यस्ता क्षुद्रकिटको अध्यनमा बढी केन्द्रित हुने देखिन्छ, जो मानव अस्तित्वको लागि राम्रो संकेत नै हो ।
हालको कोरोना संक्रमण नियन्त्रणको प्रयासमा दक्षिण कोरिया अहिले उदाहरण मानिन्छ ।दक्षिण कोरियामा चीन भन्दा ९ दिन पछी नै संक्रमण देखियो र १२५को मृत्यु पनि भयो । तर, प्रति लाख जनसंख्यामा स्पेनमा १६५ को मृत्यु भईसकेकोमा कोरियामा ३ मात्र भएको हो । जव कोरियामा संक्रमण सुरु नै भएको थिएन,कोरोनाका शुक्रकिटको संरचना नै थाहा थिएन । सम्भावित संक्रमणलाई विचार गरी, परीक्षण सामग्रीहरू विकास हँुदैथिए । फलस्वरूप, संक्रमण देखा पर्नासाथ व्यापक रूपमा परिक्षण हुनसके र नियन्त्रण गर्न सजिलो भयो । त्यहाँको खोजमा, कृत्रिम वौद्धिकताको ठूलो प्रयोग गरिएको थियो । त्यसैले, कृतिम वौद्धिकता र कम्युटर प्रविधिको विकासमा संसार बढी लाग्ने देखिन्छ ।
वृद्धवृद्धा घट्ने र नयाँ जनसंख्या बढ्नेः यो कोरोनाको बिपद्पछि संसारको, खासगरी विकसित राष्ट्रको जनसांख्यिक संरचनाहरूमा ठूलो फेरबदल हुने देखिन्छ । युरोप र अमेरिकाका विकसीत राष्ट्रहरूमा लगातार केही दशकदेखि बच्चा जन्मिने दर घट्दै गएको छ र वृद्धहरूको जनसंख्या लगातार बढ्दै गएको छ । जनसंख्या पिरामिडको आकार जो तल चौडा र माथि हुदैजादा पातलिदै जानुपर्ने हो, यि विकसित देशको लागि झन्डै उल्टो छ, माथिको भाग जो बुढाबुढीहरूको जनसंख्या देखाउँछ, मोटाउँदै गएको र तलको भाग जसले साना उमेरको जनसंख्या देखाउँछ, पातलिँदै गएको छ । यस्तो परिवर्तनले कमाउने उमेरका युवाहरूमा अत्यधिक भार बढ्दै गएको देखिएको थियो, आर्थिक क्रियाकलापमा सक्रियता कमहुने बुढाबुढीहरूको हेरचार गर्ने खर्चको जोहो गर्नको लागि । अधिकांश विकसित राष्ट्रहरूमा बयोवृद्धहरूले निशुल्क औषधि उपचार र आर्थिक सहायता सामाजिक सुरक्षा अन्तर्गत पाउने गर्छन । यस्ता सामाजिक सुरक्षाको आर्थिक व्यवस्थापन सरकारले स्वाभाविक रूपमा बढी आर्जन गर्ने युवाहरू बाट नै गर्छ । यसैले कतिपय युरोपेली राष्ट्रहरूमा आयकर ५० प्रतिशत भन्दा बढी छ । डेनमार्कमा ५६ प्रतिशत ‘प्रगतिशील कर’ भनेर काटिन्छ । कमाइको आधा भन्दा बढी सरकारलाई तिर्नुपर्ने हुँदा विकसीत राष्ट्रमा बेलाबेलामा विवाद समत निस्किने गरेको छ ।
इटालीको जनसंख्यामा २८.६ प्रतिशत ६० वर्ष माथिका छन् भने, अन्य युरोपियन देशमा पनि त्यहि अनुपातमा वृध्दहरू छन । युरोप अमेरिकी देशहरू ईटाली, स्पेन, फ्रान्स, बेलायत र अमेरिकामा हाल सम्ममा १७ हजार बढीको कोरोनाबाट मृत्यु भइसकेको छ । यी देशमो कोरोना संक्रमण बाट मृत्यु हुनेहरूको उमेर अनुसारको तथ्यांक हेर्नेहो भने ६० वर्ष माथिका वृद्धहरू नै अत्यधिक देखिन्छ, झन्डै ३० प्रतिशत । यो सन्त्रासको अन्त्य हुँदासम्ममा यी देशमा कोरोनालेनै विकसित देशमा ९० हजार देखि १ लाख वृद्धहरू हराउने देखिन्छ । जसले यी देसको जनसंख्या अनुपात र आर्थिक निर्भरतामा असरपार्ने देखिन्छ ।
उता, लामो समय घरमा नै बस्ने बाध्यताले गर्दा अधिकांश दम्पत्तिबाट नयाँ सन्तान जन्माउने दर बढ्ने देखिन्छ । दोश्रो विश्वयुद्ध पछि, सन् १९४६ पछीका केहि वर्ष अमेरिका, जापान, फ्रान्समा जस्ता देशमा यस्तो ‘बेबी बूम’को लक्षण देखापरेको थियो । अमेरिकामा यो अवधिमा जन्मेकाह । नै अहिलेको जनसंख्याको ४० प्रतिशत भएको अनुमान छ । यो अवधिभरि अमेरिकामा वार्षिक २ लाखको पुरानो जन्मदर बाट बढेर साढे ३ लाख बच्चा जन्मेका थिए, २० प्रतिशतको बढोत्तरी गर्दै । अहिलेको घरवास र जनसंख्याको क्षतिले, फेरी ‘बेबी बूम’ ल्याउने सम्भावना देखिन्छ ।
कम्प्युटराइजड विश्वः अब इन्टरनेट, कम्प्युटर र विद्युतीय प्रविधी, ईलर्निंग अझै विकसित हुनेछन् । अहिले अमेरिका र युरोपका देशहरूमा अधिकांश उच्चशिक्षा र अफिसका काम अनलाईन र घरबाटै गरिदै छ । यसले वातावरणीय प्रदूषण घटाएको छ र अफिसकोठा, कलेजकोठाको भार घटाएको छ ।
सामाजिक परिवेश र अन्तर्राष्ट्रिय वानिमा परिवर्तनः लकडाउनले अहिले सबै परिवार संगै बस्दै छन । संधै दौडादौड र परिवार निकट बिरलै बस्ने बानिले फेरिंदै गएको सामाजिक संरचनामा अहिलेको बाध्यताले नयाँ परिवर्त नल्याउने देखिन्छ ।
ईटाली र स्पेनमा कोरोनाको प्रभाव नाटकीय रूपले बढ्न थालेपछि ईयुका सदश्य भएको नाताले यी देशले ईयु संग सहयोग मागे । तर आफै संक्रमणमा अल्झिएका हुनाले यिनीहरूले कुनै सहायता पाएनन् । बरु चीन र क्युवाका डाक्टर र स्वास्थ्य टोलि त्यहा पुगेकाछन ।आउदो दिनमा ईयू, संयुक्त राष्ट्रसंघ जस्ता अवधारणामा नया परिवर्तन हुने देखिन्छ । एक देशको संक्रमण विश्वभर फैलिने देखिएकोले एकलकांटे भएर बस्न नसकिने संदेश यसले दिएको छ । विश्व एउटा ‘ग्लोबल भिलेज’ हो भन्ने चेत विकसित राष्ट्रहरूमा पनि त्यतिकै परेको छ जत्ति विकाससिलमा राष्ट्रहरूमा ।
खानपानको वानिमा परिवर्तनको संकेतः चीनमा चमेरोको मासु खाएकाहरू बाट यो संक्रमण जन्मिएको आशंका गरिन्छ । प्रकृतिको एउटा निश्चित मापदण्ड छ हामी जन्मिनु, हुर्किनु, खानपान देखि उपभोगको सीमामा । यो सिमा उलंघन हुदा यस्ता अहिले नदेखिएका, नसोचेका प्राकृतिक विपदाहरू आउनसक्ने चेतावनी यो घटनाले दिएका छ । केहि दिन अघि मात्र अमेरिकी टेलिभिजन सीएनएनमा, खाद्य प्रविधि विशेसज्ञहरूलाई सोधिदै थियो, के पाश्च्यात खाना र पकाउने विधि कोरोना जस्तो रोग प्रतिरोधको लागि उपयोगी छ ? गरिब राष्ट्रहरू खासगरी ठूलो जनसंख्या भएका भारत र बंगलादेश या नेपाल जसलाई डब्लुएचओले अति सम्बेदनशीलको सुचिमा राखेको पनि छ, यी राष्ट्रहरूमा खानपिनको वस्तु र पकाइने तरिका फरक छ भने यिनीहरू अहिलेसम्म कोरोना बाट ज्यादै कम प्रभावित पनि छन् । जो एउटा आश्चर्यको विषय बन्दैछ । यसबाट पूर्वीय खानपिनबारे नयाँ अनुसन्धान हुनेछ ।
आर्थिक क्रान्ति आउने छः ठूलो मानवीय क्षति बाहेक कोरोनाले अकल्पनीय भयावह आर्थिक क्षति ल्याउने निश्चित छ । करोडौ बेरोजगार बन्ने, यातायात र पर्यटन व्यवसाय तहसनहस हुने प्रष्ट देखिन्छ । हालै, मुद्राकोष प्रमुख क्रिष्टिनाले २५ खर्ब डलर भन्दा बढीको संकुचन हुने आकलन गरेकी छिन ।अमेरिकाका अहिले सम्ममा १ करोड ४० लाख होटेल र पर्यटन संग सम्बन्धितहरूको रोजगारी गुमेको हुनाले बेरोजगारी भत्ता मागिएको छ । आर्थिक संकटमा फस्दैगएको जर्मनका वित्तमंत्रीको आत्महत्याले यस्तै नियति धेरै उद्योगपतिहरूको हुने संकेत दिदैछ ।
उता, युरोप अझै यो संक्रमणबाट उम्किन नसकेको, र अर्थतन्त्रमा पहिलो रहदै आएको अमेरिकामा संक्रमणको स्थिति सुरुवाती र नियन्त्रण बाहिर हुदैगएको तर चीन लगायत पूर्वी एशियामा यो नियन्त्रणमा आईसकेको र आर्थिक क्रियाकलाप शुरुभएको कारणले विश्व अर्थतन्त्रमा नयाँ अग्रणी राष्ट्रहरूमा चीन उदाउने र पूर्वी एशियाको प्रभाव बढ्ने समेत देखिन्छ ।
अन्त्यमाः बेलायती अर्थशास्त्री, थोमस रोवर्ट माल्थसले सन् १७९८मा जनसंख्या र खाधान्न आपूर्ति बारे आफ्नो सिध्दान्त प्रतिपादन गरेका थिए जो अर्थशास्त्रमा त चर्चित छ नै यसमा गरिएको भविष्यबाणीले यसलाई अझ रोचक बनाउनेगरेको छ । माल्थसको भनाईमा “जनसंख्या ज्यामितीय वृद्धि संग आकासिने गर्छ तर खाधान्न आपूर्तिको मानवीय क्षमता भने अंकगणितीय वृद्धिको मन्ददरले मात्र बढ्ने गर्छ । त्यसैले यी दुवैको समायोजनको लागि स्वयम् प्रकृतिले बेलाबेलामा महामारी, रोग, अनिकाल ल्याउने र मानव आफैले लडाई शुन्य गर्दै जनसंख्या नियन्त्रण हुनेछ” । के यो हालको कोरोनाको आक्रमणले उनको यसै भनाईको पुष्टि गर्दैछ ? हुन पनि दोस्रो विश्वयुद्धपछि एकैपल्ट यत्रो विपद्, आर्थिक मन्दी र नयाँ परिवर्तन विश्वले एकैपल्ट भोग्दै छ ।
संसार नै एक जुट बनेकोले यो विपदाको अन्त्य पक्कै चाडै हुनेछ । अमेरिका लगायत बेलायत, डेनमार्क आदिमा यसको खोप बनेको चर्चा छ जसलाई प्रमाणीकरण गर्न भने केहि समय लाग्ने देखिन्छ । कुनै पनि भाईरल संक्रमितह ।मा यसको एन्टीबडी उसको शरीरले नै बनाउने गर्छ । यस्तो एन्टीबडीको प्रयोग गरेर भ्याक्सिन बनाउने प्रयोग अनेक देशमा गरिंदैछ । निदानका यस्ता औषधि बन्नेछन् र विश्वले चांडैनै हालको विपदा बाट मुक्ति पाउने छ भन्ने आशा गरौ ।