सरस्वती ढुङ्गाना
सोमवार, फाल्गुन १२, २०७६
383

 

अनुगमन भए पनि त्यो ज्यादै कमजोर र प्रभावकारी नबनेका कारण जनता कालोबजारी र महँगीको मारमा परेका छन् ।

हिजोआज आमउपभोक्ताको चुलो मूल्यवृद्धिका कारण प्रभावित भएको छ । दैनिक उपभोग्य वस्तुको अप्रत्याशित रूपमा मूल्यवृद्धि भएका कारण जीवनयापनमा ज्यादै समस्या परेको हो । पछिल्लो समय बजारमा विभिन्न उपभोग्य सामानको मूल्य अकासिएको छ भने जताततै बिचौलियाका कारण उपभोक्ता मारमा परेका छन् । बजारमा खुलमखुला लुट मच्चिएको छ । अनुगमन गर्ने निकाय मौन छ । अनुगमन भए पनि त्यो ज्यादै कमजोर र प्रभावकारी नबनेका कारण जनता कालोबजारी र महँगीको मारमा परेका छन् ।
बढ्दो महँगीका कारण सबैको जीवन कष्टकर बनेको छ । डेरा गरेर बस्नेका लागि त घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च, औषधोपचार खर्च आदिले ढाड सेकेको छ । यसरी डेरा गरी बस्ने परिवारको सामान्य गर्जो टार्न ३० हजारले पनि नपुग्ने देखिन्छ । त्यसमा पनि दिनप्रतिदिन उपभोग्य वस्तुको मूल्य बढिरहेका कारण चामल, तरकारी, दाल, तेलको जोहो गर्न पनि समस्या परेको छ । एक जनाको एकसरो कमाइमा राजधानीमा बाँच्न नसकिने अवस्था आएको धेरैको गुनासो छ । यातायात खर्च, मनोरञ्जन र लुगाफाटोसमेत त्यसमा जोड्ने हो भने ४० हजारले पनि नपुग्ने देखिन्छ ।

सरकारको नियन्त्रण र प्रभावकारी अनुगमन नहँुदा दिनप्रतिदिन बजार अराजक बन्दै छ । त्यस्तै, सरकारको अनुगमन नियमित र प्रभावकारी नहुँदा उपभोक्ताले ज्यादै कठिन रूपमा दिन टार्नुपरेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, बिचौलियाका कारण हरेक मालको मूल्य बढेको बढ्यै छ । गत एक महिनायता चामल, तेल, आँटा, दाल, लसुन, अण्डा र मासुमा २ रुपैयाँदेखि ४ सय ७० रुपैयाँसम्म बढेको छ । त्यस्तै निर्माण सामग्रीमा पनि फलामे रडमा ८ रुपैयाँ र सिमेन्ट बोरामा ५० रुपैयाँसम्म बढेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ता भने राहत नपाएको गुनासो गर्छन् । उपभोक्ताहरू सरकारले बजार नियन्त्रण गर्न नसकेको बताउँछन्; तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजार नियन्त्रण गर्न नसक्ने हो भने विभागको स्थापना गर्नु औचित्यहीन भएको आमउपभोक्ताको गुनासो छ ।
बजारमा माग र आपूर्तिको बीचमा समन्वय नहुँदा पनि बजारमा केही सामानको मूल्य अकासिएको छ । बजारमा खानेतेल, चामल, अण्डा, दाल, मासुलगायतका सबै खाद्यान्नको मूल्य बढेको छ । गएको दुई सातादेखि बजारमा खाद्यान्नमा मूल्य बढेकाले सर्वसाधारण ज्यादै मर्कामा परेका छन् भन्े वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराए पनि त्यसको सुनुवाइ भएको पाइन्न । कोरोना भाइरसका कारण चीनबाट लसुन नेपाली बजारमा आउन नसक्दा बजारमा एक्कासि लसुनको मूल्य बढ्न पुगेको छ । नेपाल ह्याचरी संघले केही महिनाअघि ३० लाख जिउँदो चल्ला नष्ट गरेका कारण अहिले बजारमा कुखुराको मासुको मूल्य बढेको हो । संघले १५ करोड बराबरको चल्ला नष्ट गरेको थियो भने ४५ करोड बराबरको अण्डा नष्ट गरेको थियो ।
नेपाली बजारमा दिनहुँ खाद्यान्नको मूल्य परिवर्तन भई नै रहन्छ । त्यतिमात्रा होइन, घण्टैपिच्छे मूल्य फरक–फरक हुन्छ । कालिमाटी तरकारी बजारले पनि वस्तुको मूल्यसूची वैज्ञानिक रूपमा अद्यावधिक गरेको पाइन्न । त्यहाँको मूल्य कसैको पनि नियन्त्रणमा नभएको गुनासो आम उपभोक्ताको रहेको छ । खुद्रा व्यापारीलाई तरकारीको मूल्य के–कस्तो छ भन्दा कालिमाटी बजारका विक्रेता पनि थाहा नभएको बताउँछन्, जसका कारण मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको पाइन्छ, जसलाई तरकारी बजार आम उपभोक्ताप्रति जिम्मेवार नभएको प्रतीत हुन्छ । कालिमाटी तरकारी बजार किसानमुखी र उपभोक्तामुखी हुन नसकेको उपभोक्ताको गुनासो छ । यसबाट प्रस्ट हुन्छ, मूल्य नियन्त्रण गर्न सरकार असफल भएको छ ।
बजारमा एउटै सामानको मूल्य पनि पसलैपिच्छे फरकफरक पाइन्छ । व्यापारीले किसानको खेतबाट नै वा प्रत्यक्ष रूपमा किसानसँग सामान किन्दा र बिचौलियाहरूले बढी नाफा लिँदा उपभोक्ताले उक्त सामान खरिद गर्दा मूल्य बढी पर्नु स्वाभाविकै हो । यसबाट नै उत्पादकले राम्रो मूल्य पाउँछन्, न उपभोक्ताले नै छुट । बिचौलिया र व्यापारीले अनेकौँ निहुँमा मूल्य बढाउँछन् ।
यस समयमा नेपालमा उत्पादन हुने सबै तरकारीको मूल्य कम छ भने भारतमा उत्पादन हुने तर नेपालमा उत्पादन नहुने तरकारीको भाउ बढेको छ । खासगरी नेपाली बजारमा भारतबाट आउने तरकारीहरू भिन्डी, करेला, खुर्सानी, लसुन, कटहरको मूल्य बढेको छ । यी तरकारी अहिले नेपालमा उत्पादन हुने बेला भएको छैन । जसका कारण उपभोक्ताले बढीभन्दा बढी मूूल्य तिर्नुपरेको छ, जसका कारण कालिमाटी तरकारी बजार भारतीय व्यापारीकै कब्जामा रहेझैँ देखिन्छ । नेपाली बजारमा भारतीय तरकारीको आयात बढी नै हुन्छ । नेपालमा उत्पादन गरिएको तरकारीले थोरै मात्रामा मात्र आवश्यकता पूर्ति गर्दछ । नेपाली तरकारी बजारमा भारतीय तरकारी निर्यात प्रतिशत बढी मात्रामा पाइन्छ । भारतबाट आलु ६० प्रतिशत, खुर्सानी ९० प्रतिशत, कागती ९९ प्रतिशत, भिन्डी ४० प्रतिशत, काँक्रो ३० प्रतिशत, करेला शतप्रतिशत आयात गरिने तथ्य नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको रहेको छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा आम जनतामा त्यसको असर परेको छ, तर सम्बन्धित निकाय भने मौन बसेको छ । आज कैयन् नेपालीको भान्सा प्रभावित भएको छ । पुस अन्तिम साताको बजार भाउ र माघको अन्तिम साताको मूल्य ज्यादै अन्तर देखिन्छ । फागुन लागेपछि उक्त मूल्य पनि बढेको देखिन्छ । केही उत्पादन भारतमा पनि नभएका कारण नेपाली बजारमा त्यसको मूल्य बढेको हो । हिजोआज नेपाली बजारमा लसुनको माग बढेको छ र मूल्य पनि अत्यधिक नै बढेको छ । भारतमा लसुन उत्पादन नभएका कारण तथा नयाँ उत्पादन नभएका कारण लसुन धेरै महँङ्गो भएको हो । त्यसो त नेपालमा लसुन उत्पादन कम भएका कारण पनि लसुनमा संकट आएको र मूल्य वृद्धि भएको हो । नेपाल अहिलेसम्म व्यावसायिक रूपमा लसुनलगायत अन्य तरकारीमा पूर्ण रूपमा निर्भर रहन सकेको छैन । नेपालमा पर्याप्त मात्रामा लसुन उत्पादन हुने सम्भावना भएर पनि हामीले त्यसलाई व्यावसायिक रूपमा खेती गरेका छैनौँ । चालू आर्थिक वर्षको ६ महिनामा ६४ करोड बराबरको ५ हजार ७ सय २८ लसुन आयात भएकोमा चीनबाट मात्र ५ हजार ७७ टन र भारतबाट ६ सय ५० टन लसुन भित्रिएको तथ्यांक छ । जबकि गत वर्ष मात्र ८३ करोडभन्दा बढीको लसुन निर्यात भएको थियो ।
यस प्रकार नेपाली जनताले आधारभूत आवश्यकता पूरा गर्न रगत पसिन बगाउँदा पनि नपुग्ने देखिन्छ । एकपेट खान र एकसरो लगाउनका लागि पनि ज्यादै धौधौ परेको छ । अत्यावश्यक खाद्य सामग्रीको उत्पादन नहुँदा अहिले नेपाली गार्हस्थ्य जीवन कष्टकर बन्दै गएको हो । सरकारले दिनहुँ वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई रोक्दै उनीहरूलाई यहाँ नै श्रम पोख्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । विभिन्न उत्पादनमा राज्यले अनुदान दिएर उनीहरूलाई यहीँ नै प्रोत्साहन गर्नु आवश्यक देखिन्छ । आवश्यक तालिम, कृषि अनुदान, औषधि, जेटिए व्यवस्थापन, मल, बीउ–बिजनको व्यवस्था, सिँचाइ, बजार व्यवस्थापन साथै अनुगमन भएमा अवश्य पनि कृषि उत्पादन बढ्नेछ । समय समयमा हुने मूल्यवृद्धिको असर आम नेपाली जनताले भोग्नुपर्ने थिएन । त्यसो गर्न सरकार सफल भएमा अवश्य नै नेपाली जनताले आनन्दको सास फेर्न पाउँछन् । तब मात्र कृषिप्रधान देश हुनु सार्थक र सान्दर्भिक ठहरिनेछ । यदि त्यसो भएमा अनावश्यक मूल्यवृद्धि र कालो बजारियाबाट नेपाली जनताले राहत पाउनेछन् । देशको अर्थतन्त्र पनि मजबुत हुनेछ । बजार भाउमा एकरूपता हुनेछ । त्यसैले बजारभाउ नियन्त्रण गर्न अनुगमन हुनुमात्र महत्वपूर्ण मानिन्न, उत्पादनमा जोड दिनु पनि ज्यादै प्रभावकारी मानिन्छ ।
(लेखिका आईपीएम प्रशिक्षक हुन् ।)