कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
1117

वुहानबाट यति टाढा भए पनि भगवानपुर कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको छ । यो क्षेत्रमा बस्ने पुतुल बेरा तथा रीता मेतीजस्ता सयौं मानिस कोरोना भाइरसका कारण संकटमा छन् ।

नयाँ दिल्ली : पश्चिम बंगालमा पूर्वी मिदनापुर जिल्लाको भगवनापुर गाउँ चीनको वुहान सहरबाट २ हजार ७ सय ९९ किलोमिटर पर रहेको छ । वुहानबाट यति टाढा भए पनि भगवानपुर कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको छ । यो क्षेत्रमा बस्ने पुतुल बेरा तथा रीता मेतीजस्ता सयौं मानिस कोरोना भाइरसका कारण संकटमा छन् ।
यी मानिसहरू मानिसको कपालका सामग्री बनाउने काम गर्छन् । उनीहरूले महिनामा करिब ५० टनको उत्पादन गर्दै आएका थिए । यसलाई उनीहरूले चीन निर्यात गर्ने गरेका थिए । तर विगत २ सातादेखि उनीहरूको यो काम रोकिएको छ ।

यो कारोबारबाट घर खर्च चलाउँदै आएकी रीता मेदी भन्छिन्, “हामीलाई थाहा थिएन कि कुन भाइरसको आक्रमण हुन्छ भनेर । हामीले हजारौँ रुपैयाँको कपाल किनेका थियौं ।”
रीताकी छिमेकी पुलुब बेरा र उनका पति ४० हजारमा खरिद गरिएको मानिसको कपालका साथ फसेका छन् । उनीहरूलाई ठूला व्यापारी र निर्यातकबाट आफ्नो हजारौं रुपैयाँ भुक्तानी हुने अपेक्षा थियो ।
पुतुल भन्छिन्, “हामीले चीनमा सामग्री बिक्री गर्न पाएका छैनौं । त्यसैले हामीले वक्यौता पैसा तिर्न पाएका छैनौ ।”
यो क्षेत्रका सयौं एजेन्टले मानिसको कपाल संकलन गरेका छन् । कपाल कोर्दाको समयमा कपाल काँधमा झर्छ र यसलाई छोटो–छोटो गुच्छामा एजेन्टलाई बिक्री गरिँदै आएको छ ।
पन्जाब र कश्मीरका पुरुष तथा महिलाको कपाल लम्बाइका कारण राम्रो मानिन्छ र मूल्य पनि बढी हुन्छ ।
भगबानपुर, चण्डीपुर तथा यसको आसपासको क्षेत्रमा ट्रक, रेल तथा एयर कार्गोबाट पनि बोरोमा भरेर मानिसको कपाल आउने गरेको छ ।
कपालको यी गुच्छा मिलाएर धुने गरिन्छ । पछि सुकाएर ५ देखि २६ इन्च सम्म फरक–फरक आकारमा काटिन्छ र पछि यसलाई बन्डल बनाएर चीनमा निर्यात गरिन्छ ।
कपालको यो काम कारखानादेखि लिएर घरमा समेत गरिन्छ । तर, हाल आएर भने यो सबै काम रोकिएको छ । कपालका एक ठूला निर्यात शेष हसीफुर रहमान भन्छन्, “कोरोना भाइरसका कारण चीनका साथै मेरो सारा व्यापारिक कामकाज ठप्प भएको छ । चिनियाँ खरिदकर्ता यहाँ आउन असमर्थ छन् र हामी पनि तयार भइसकेको उत्पादन निर्यात गर्न सक्दैनौ । यहाँका ८० प्रतिशतभन्दा बढी मानिस बेरोजगार भएका छन् ।”
हाल उनीहरूको कारखाना खाली भएको छ, जहाँ केही साता पहिले दैनिक करिब २५–३० मानिस काम गर्दै आएका थिए ।
यहाँ वर्षभरि नै चिनियाँ खरिदकर्ता आउने जाने गर्थे । उनीहरू सबै चिनियाँ नयाँ वर्ष मनाउनका लागि गएका उनीहरूमध्ये कोही पनि फर्केर आएका छैनन् ।
कपालको व्यापार यो क्षेत्रको अर्थव्यवस्थाको मुख्य आधार हो । यो अचानक बन्द हुनाले यसको असर अन्यमा पनि परिरहको छ ।
कोरोना भाइरसले अर्थव्यवस्थामा कसरी असर पारिरहेको छ भन्ने विषयमा प्रज्वल अझै राम्ररी बताउँछन् । उनी एक राष्ट्रिय बैंकका एजेन्ट हुन् । उनले बैंकको काउन्टरले जस्तै मानिसबाट पैसा जम्मा गर्छन् र उनीहरूलाई भुक्तानी पनि दिने गर्छन् ।
आफ्नो काउन्टरबाट दैनिक करिब १० लाख भारुको लेनदेन हुने गरेको तर कोरोना भाइरसका कारण यसमा ९० प्रतिशतले गिरावट आएको उनी बताउँछन् ।
एजेन्सी