बाबुकाजी कार्की
आइतवार, माघ ५, २०७६
357

 

शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्छ ।

नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्र भन्दा बाहिर रहेको तथ्यांक छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १५ वर्षमाथिका जनशक्तिलाई काम गर्ने उमेर समूह मानेको छ ।

समृद्धिको गति तीव्र बनाउन निर्वाहमुखी कामबाट व्यावसायिकमुखी रोजगारतिर फड्को मार्नुको विकल्प छैन । समृद्धिको सपना साकार पार्न सर्वसुलभ व्यावसायिकमुखी शिक्षा पहिलो सर्त हो । मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य–मान्यता, पहिचान र समायानुकूल परिमार्जन तथा परिष्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्छ । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्छ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्य केन्द्रित शिक्षा नीति तथा कार्यक्रमको खाँचो खट्किएको छ ।
नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्र भन्दा बाहिर रहेको तथ्यांक छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १५ वर्षमाथिका जनशक्तिलाई काम गर्ने उमेर समूह मानेको छ । देशमा काम गर्ने उमेर समूहका कुल जनसंख्या २ करोड ७ लाख ४४ हजार छ, जसमध्ये १ करोड २७ लाख ५० हजार जनसंख्या निर्वाहमुखी श्रमशक्तिका रूपमा रहेका छन् । काम गर्ने जनसंख्यामध्ये ३९ प्रतिशत अर्थात ७९ लाख ८४ हजार मात्र श्रमबजारमा सक्रिय छन्, केन्द्रीय तथ्यांक विभागका अनुसार श्रमबजारमा उपलब्ध जनसंख्यामध्ये ७० लाख ८६ हजार मात्रै रोजगार छन् भने ९ लाख ८ हजार बेरोजगार छन् ।
सक्रिय जनसंख्याको ९ लाख ८ हजार अथवा ११ दशमलव ३५ प्रतिशत बेरोजगार छन् । नेपालको बेरोजगार दरअनुसार कुल जनसंख्याको ३४ प्रतिशत मात्र रोजगारीमा रहेको पुष्टि हुन्छ । श्रमशक्ति बाहिरको जनसंख्या ठूलो छ । समृद्धिको संवाहक मानिएको यस जनशक्तिलाई यथाशक्य छिटो रोजगारीमा लैजाने नीति तथा रणनीति अविलम्ब चालिनुपर्छ ।
निर्वाहमुखी कामबाट समृद्धिको सपना साकार हुन सक्दैन् । आफ्नो दैनिक जीवनचर्या टार्नका लागि आवश्यक समित आम्दानी मात्र हुने कामलाई निर्वाहमुखी भनिन्छ । कृषिमा आधारित वा आफ्नै उपभोगका लागि परम्परागत रूपमा गरिने कृषिजन्य वा अन्य सीमित आम्दानीका काम लाई निर्वाहमुखी श्रमका रूपमा लिइन्छ । परिवर्तित श्रम तथ्यांकसम्बन्धी परिभाषाले रोजगारीको क्षेत्रमा रहेको जनसंख्यामा नसमेटेको देखिन्छ । श्रम तथ्यांकमा एकरूपता, स्तरीयता र अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य बनाउन अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेको श्रम तथ्यांकको अवधारणा, परिभाषा, मापन विधिलगायत विषयमा परिमार्जन गरिनु समसामयिक काम ठहर्छ ।
नेपालमा रोजगारको संकटले गर्दा ऊर्जाशील युवाहरू विदेश पलायन तीव्र गतिमा भइराखेको जगजाहेर नै छ । पछिल्लो परिभाषाअनुसार रोजगारीमा रहेको व्यक्ति हुन सन्दर्भ अवधीमा कम्तीमा १ घन्टा तलब ज्याला पाउने काम गरेको वा नाफा नोक्सान आफैं बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न हुनुपर्छ । रोजगारसम्बन्धी विवरणका लागि गणना दिनभन्दा ठीक अघिका सात दिनलाई सन्दर्भ अवधि मानिएको छ । सन्दर्भ अवधिमा तलब ज्याला पाउने काम वा नाफा नोक्सान आफैं बेहोर्ने गरी सञ्चालित कुने व्यवसायमा संलग्न नभएका तर विगत ३० दिनमा तलब ज्याला पाउने काम सक्रियतापूर्वक खोजेका र त्यस्तो काम गर्न उपलब्ध भएका व्यक्तिलाई बेराजगारको परिभाषा भित्र पारिएको छ ।
कृषिप्रधान भनेर चिनिएको देश नेपालमा परम्परागत कृषि प्रणालीलाई त्यागी आधुनिकीकरणका साथै व्यावसायिकीकरण गर्न विलम्ब भइसकेको छ । ठूलो जनसंख्या कृषिमा निर्भर रहेकाले कृषिक्षेत्रलाई वैज्ञानिक प्रणालीमा लान सरकार र सरोकार पक्षले तदारुकता देखाउनु बुद्धिमानी ठहर्छ । नेपालमै सामान्य श्रम र प्रविधिको प्रयोगबाट नेपालमा नै उत्पादन गर्न सकिने कृषि उपजहरू विदेशबाट आयात गर्नुपर्ने वाध्यतालाई निरुत्साहित नगरुन्जेल समृद्धिको नारा कोरा साबित नहोला भन्न सकिन्न । बर्सेनि बेरोजगारको संख्या बढ्दो क्रममा छ । सन् २००८ मा गरिएको श्रमशक्ति सर्वेक्षणले २ दशमलव १ प्रतिशत मात्रै बेरोजगार दर देखाएको थियो । तर सन् २०१८ मा बेरोजगारी दर ११ दशमलव ३५ प्रतिशत पुगेको छ । रोजगारीलाई उन्नत बनाएर विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने दायित्व राज्यले अवलम्बन गर्ने शिक्षा नीतिको हो ।
अहिले नेपाली युवाहरू आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिचकिचाउँदै हजारौँ, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कातर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ?
आफ्नो देशमा रोजगारी नपाएर चारैतिर अभावैअभावबाट छटपटिँदै निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ, जसको कारणबाट आमाबुबाको अर्थ नबुझने तर ड्याड–ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाईभैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिका बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने-गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन र चरित्रका आधारमा गुणस्तरिय शिक्षा परिभाषित हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यासका लागि विद्यालयमा आयोजना गरिने क्रियाकलाप विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ ।
(लेखक पूर्व जिल्ला शिक्षा अधिकारी एवं विश्लेषक हुन् ।)