कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
483

 

हरेक वर्ष प्रविधिमा भइरहेको तीव्र विकास र त्यसलाई पछ्याएर अघि बढ्न कम्पनीहरूले उच्च क्षमताको युवा जनशक्ति चाहिराखेका छन् ।

सरकार बढाउने पक्षमा, उद्योगहरू घटाउने पक्षमा

टोकियो : जापानका ठूला कम्पनीहरू आफ्ना कामदारलाई हाल लागू उमेरहदअघि नै अवकाश दिने पक्षमा देखिएका छन् ।
जापान सरकारले कामदारको अवकाश उमेर हदलाई ६५ बाट बढाएर न्यूनतम ७० बनाउने तयारी गरिरहँदा ठूला उद्योगहरू भने त्यसको विपक्षमा देखिएका छन् ।
टोकियो सोको रिसर्चले जापानका ठूला ३६ उद्योगहरूमा गरेको अनुसन्धानका क्रममा उद्योगहरूले कामदारको अवकाश उमेर घटाउने पक्षमा आफूहरूलाई उभ्याएका छन् ।
सन् २०१८ को तुलनामा तीन गुणा बढी उद्योगले कामदारको अवकाश उमेर घटाउने पक्षमा आफ्नो मत व्यक्त गरेका छन् । तोसिबा, जापान डिस्प्ले जस्ता ठूला इलेक्ट्रोनिक्स कम्पनीसहित क्यासियो कम्प्युटर, अस्टेल्लास फर्मा लगायत कम्पनीहरू कामदारलाई छिटो अवकाश दिन तयार देखिएका छन् ।
कामदारलाई छिटो अवकाश दिने पक्षमा रहेका १२ कम्पनी मध्ये ९ कम्पनीले यसै वर्षबाट छिटो अवकाश लिन चाहनेहरूका लागि आकर्षक प्याकेज दिने तयारीसमेत गरेका छन् ।
प्रविधिका कारण कम्पनीहरू कामदारलाई कम उमेरमै अवकाश दिन बाध्य बन्दै खोजी–अनुसन्धान गर्ने कम्पनी टोकियो सोकोका अनुसार कामदार छिटो अवकाश दिने कम्पनीहरूको चाहना र यसको संख्यामा बर्सेनि वृद्धि हुनुको कारण प्रविधि मुख्य कारण रहेको छ ।
हरेक वर्ष प्रविधिमा भइरहेको तीव्र विकास र त्यसलाई पछ्याएर अघि बढ्न कम्पनीहरूले उच्च क्षमताको युवा जनशक्ति चाहिराखेका छन् ।
यस्तो अवस्थामा अवकाशको उमेर पुग्न लागेका कामदारका कारण कम्पनीले सोचे र चाहेअनुसार लाभ र गति लिन नसकेको पाइएपछि कम्पनीहरू उनीहरूलाई छिटै अवकाश दिन तयार भएका हुन् ।
यसका लागि केही त्याग गरेर भए पनि कम्पनीहरूले पुराना कर्मचारी हटाउँदै नयाँ युवा जनशक्ति राख्न चाहेको अनुसन्धानबाट खुलेको छ ।
नयाँ जनशक्ति राखेर व्यापारलाई वृद्धि गर्ने र बचाइराख्ने कि यथावस्थामा चलाएर कम्पनीले जोखिम मोल्ने त्यसकै लडाइँमा अधिकांश कम्पनी अवकाश उमेर हदअघि नै कर्मचारीहरूलाई स्वेच्छिक अवकाश दिन तयार पाइएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
जापानमा हाल दुई खालको अवकाश उमेर रहेको छ । पहिलो ६० वर्ष उमेर पुगेकाले अवकाश लिन पाउँछन् । तर, उनीहरूले कामलाई निरन्तरता दिने स्वेच्छिक इच्छा व्यक्त गरेमा ६५ वर्षसम्म सेवालाई निरन्तरता दिन सक्नेछन् । तर जापान सरकारले यसलाई बढाएर ७० वर्ष उमेरलाई न्यूनतम स्वेच्छिक अवकाश उमेर र ७५ वर्षलाई अनिवार्य अवकाश उमेर बनाउने योजना अघि सारेको छ ।
जापानमा १ सय वर्ष उमेर नाघेका वृद्धहरूको जनसंख्या नै करिब ८० हजार छ । औसत आयु नै ८५ वर्ष रहेका जापानीहरू लामो आयु बाँच्ने नागरिकमध्येमा पर्छन् । केही वर्षयता जापानमा बढेको कामदार अभावलाई केही हदसम्म टार्नसमेत कर्मचारी अवकाश उमेर बढाउनु आवश्यक रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
—गोकर्ण अधिकारी