कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६
3221

आजभन्दा दुई–तीन वर्षअघिसम्म विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग भन्ने विषयमा चर्चा–परिचर्चा गर्नु आवश्यक थिएन । तीन वर्षअघिसम्म मुलुक लोडसेडिङले आक्रान्त थियो, तर अब अवस्था फेरिएको छ । विद्युत्को अभाव घटेको छ र बिजुलीको प्रयोग ढुक्कसँग गर्न पाएको छौं । हामी बिस्तारै बिजुलीमा आत्मनिर्भर हुन् सक्छौ भन्ने आशा पलाएको छ । हामीकहाँ बिजुलीको प्रयोग मुख्यतया बत्तीका लागि हुन्छ । सबैभन्दा बढी बिजुलीको प्रयोग हुने दिन लक्ष्मीपूजामा समेत सोचेभन्दा कम जम्मा १ हजार ८० मेगावाट मात्र बिजुलीको माग रह्यो । हाल नेपालीको प्रतिव्यक्ति बिजुलीको प्रयोग २ सय ४५ किलोवाट छ, जुन अन्य देशको तुलनामा निकै कम हो । सबै कुरा योजनाअनुसार अघि बढे हाल निर्माणमा रहेका आयोजनाहरूको प्रगति र लक्ष्यलाई अध्ययन गर्ने हो भने करिब १ हजार मेगावाट बिजुली यो वर्ष राष्ट्रिय प्रणालीमा थप हुनेछ । यस्तो अवस्थामा अब हामीले भारतबाट बिजुली आयात गरिरहनु पर्दैन ।
केही वर्ष अघिसम्म विद्युत्को उत्पादन हाम्रो बहसको मुख्य विषय थियो । अब दोस्रो पुस्ताको बहसका रूपमा विद्युत्को प्रभावकारी व्यवस्थापनका लागि विद्युत्को उत्पादनमूलक क्षेत्रमा यसको प्रयोग, सम्भावना र चुनौतीमा केन्द्रित हुनुपर्छ । हाम्रा नीति, नियम र संरचनालाई सोहीअनुसार परिवर्तन गर्दै जानुपर्ने आवश्यकता छ ।

औद्योगीकरणको विकास, विद्युत्को निर्यात, खाना पकाउन तथा गाडीका लागि विद्युतीय ऊर्जाको प्रयोगको सम्भावनामार्फत आर्थिक विकास गर्न सकिएला, तर विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर कसरी समावेशी आर्थिक विकास गर्ने र ग्रामीण दूरदराजमा कसरी ग्रामीण औद्योगीकरणको विकासमार्फत रोजगारी सिर्जना गर्ने भन्ने कुरा नै मुख्य चासोको विषय हुनुपर्छ ।
बत्ती बाल्न मात्र बिजुलीको प्रयोग गर्नु, स्थानीय सरकारहरूले ग्रामीण औद्योगीकरण अवधारणाको विकास गर्न नसक्नु, नवीनतम मेसिन औजारहरूको जानकारी तथा प्रयोग गराउन र सिकाउने संस्थागत अभ्यास नहुनु, उद्यमशीलताको ज्ञानको कमी, स्थानीय जनसंरचनाहरूमा विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग भन्ने अवधारणाका बारेमा छलफल र यस विषयमा जानकारी नै नहुनु विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोगको मुख्य चुनौती हो ।
लघुजलविद्युत् आयोजनाहरू लगभग बन्दको अवस्थामा हुनु, १० मेगावाटभन्दा कमका आयोजनाहरू घाटामा सञ्चालन हुनु, सबै विद्युत् उत्पादनहरूलाई राष्ट्रिय प्रसारणमा आबद्ध गर्न नसक्नु, खाना पकाउने तथा घरायसी समानहरूको प्रयोगमा विद्युत्को माग बढाउन नसक्नु पनि विद्युत्को प्रभावकारी व्यवस्थापनमा चुनौतीका रूपमा रहेको छ । चुनौतीलाई अवसरका रूपमा परिवर्तन गर्न निम्न कुरामा ध्यान दिन आवश्यक छ :
स्थानीय सरकारसँगको सहकार्य : विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग बढाउन समावेशी आर्थिक विकासका लागि ७५३ वटा स्थानीय सरकारमार्फत प्रत्येक पालिकामा औद्योगिक ग्राम बनाउने, निजी उद्यमीहरूलाई आकर्षण गर्ने गरी विद्युत्को प्रयोग बढाउन विशेष नीति तथा कार्यक्रम बनाउने, मेसिन तथा औजारको प्रयोग बढाउन विशेष छुटको व्यवस्था गर्ने, उधमशीलता बढाउन तथा विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग भन्ने अवधारणालाई बृहत रूपमा जनचेतना जगाउने गरी स्थानीय जनसंरचनाहरूसँग सहकार्य गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
सामुदायिक ग्रामीण विद्युत् संस्थाहरूसँगको सहकार्य : नेपालको ग्रामीण विद्युतीकरणमा सामुदायिक ग्रामीण विद्युत् संस्थाहरूले खेलेको भूमिका अतुलनीय छ । हाल नेपालमा करिब ३ सयवटा सामुदायिक विद्युत् संस्थामा करिब ५ लाख घरधुरी आबद्ध छन् । स्थानीय जनसंरचनामा आधारित यो संस्था तथा यसको संरचनालाई नेपालको एउटा सफल आभ्यासका रूपमा लिन सकिन्छ । सामुदायिक ग्रामीण विद्युत् संस्थाहरूसँगको सहकार्यमार्फत ग्राम उद्यमको स्थापना, व्यावसायिक सेवाहरूको प्रवाह, सहकारीमार्फत कर्जाको पहँुचमा विस्तार, साझा सुविधा केन्द्रहरूको स्थापना, उत्पादन तथा संकलन केन्द्रको स्थापना, बिक्री–वितरणमा सहजीकरण र जनचेतना अभिवृद्धि गरेर सामुदायिक ग्रामिण विद्युत् संस्थाहरूसँगको सहकार्यमा विद्युत्को उत्पादनमूलक प्रयोगमार्फत समावेशी आर्थिक विकासका लागि महŒवपूर्ण कार्य गर्न सकिन्छ ।
सरकारी नीति तथा कार्यकर्ममा विशेष जोड : हाल नेपालमा चौधौं योजना ०७५–०७६ सञ्चालनमा छ भने पन्ध्रौं योजनाको अवधारण तयारीका क्रममा छ । योजनागत रूपमा अध्ययन गर्ने हो भने पनि विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग भन्ने कुराले खासै महत्व पाएको देखिँदैन । अबको हाम्रो प्राथमिकता के हो भन्ने कुरामा बेलैमा ध्यान दिई योजनागत रूपमा विशेष तथा एकीकृत कार्यक्रमहरू तिनै तहको सरकारको समन्वय गरी पन्ध्रौं योजनाको निर्माण गरिनुपर्छ ।
उत्पादित विद्युत्लाई कसरी खपत गर्ने र त्योभन्दा पनि विद्युत्को उत्पादनमूलक प्रयोगमार्फत कसरी समावेशी आर्थिक विकास निर्माण गर्नेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ । सरकारले विद्युत्को आन्तरिक रूपमा खपत बढाउन विद्युत्को उत्पादनमूलक प्रयोग भन्ने अवधारणालाई बृहत रूपमा हृदयंगम गरी एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गर्न ढिलो गर्न हुँदैन ।
—सन्दीप पौडेल