बाबुकाजी कार्की
सोमवार, कार्तिक १८, २०७६
351

समृद्धिका लागि सक्षम जनशक्ति पहिलो सर्त हो । साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिष्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन आउँछ । व्यक्तिमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भै एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम भूमिका खेल्छ । साथै साक्षरता आधुनिक जीवनको कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो ।
मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्त स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त हो । राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्येक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक अर्काका परिपूरक हुन् । सहज र सफल जीवन जिउन कम्तीमा साक्षरताको विकल्प छैन ।

विज्ञान र प्रविधिमा द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन्, जसमा करिब हरेक तीन निरक्षरमध्ये दुई जना महिला पर्छन् । नेपालको साक्षरता प्रतिशत ५३.७४ प्रतिशत छ, जसमध्ये पुरुष ६५.०८ र महिला ४२.४७ प्रतिशत साक्षर भएको वि.सं. २०५८ को जनगणनाले पुष्टि गरेको छ । महिला–पुरुषबीचको साक्षरताको खाडल २२ प्रतिशत रहेको देखिन्छ । अशिक्षाका कारण विपन्नता, अन्धविश्वास, बेरोजगार, परावलम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहु“च उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो ।
त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई समृद्ध बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्येक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरी समृद्ध समाजको अपेक्षा गर्न सकिन्न । युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस महिला र सशक्तीकरणका लागि साक्षरतामा केन्द्रित गरेको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ । भनिन्छ, एक जना पुरुष शिक्षित भए आफूमा मात्रै सिमित हुन्छ, तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भै स्वाभिमानीपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।
नेपालमा महिला साक्षर र सशक्तीकरणका कार्येक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् ।
उदाहरणार्थ महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अँगालेका र सम्भाव्य पेशाहरूलाई परिष्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुरा निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्येक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ, हाल यस्ता २ हजार ५ सय ५० समूह सञ्चालनमा छन् । त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्येक्रमहरू पनि सञ्चालन गरेको छ ।
विगत दुई वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ । साक्षरता कक्षा केन्द्र तोक्ने स्वयम्सेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ, जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता, सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने व्रmममा छन्, जहाँ महिलाले एसएलसीसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै ९ सय ३१ सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिक रूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।
सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन । साक्षरता सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात् गरेर अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्येक्रम सञ्चालन गर्दे आएको छ । साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ, जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्येक्रममा महिलाको पहुँच क्रमिक रूपमा बढेको छ । साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाईको स्तर स्वभावैले बढ्न जान्छ ।
उल्लिखित कार्येक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्येक्रमको सफलताका लागि पर्याप्त साधनस्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं ।