घनेन्द्रबहादुर श्रेष्ठ
बुधवार, आश्विन २९, २०७६
397

 
नेपालजस्तो अनेकौं सम्भावना बोकेको मुलुकमा उत्पादित सामानलाई विश्व बजारमा लैजान ओबोर महत्वपूर्ण हुन सक्ने कुरामा दुईमत छैन ।


पर्यटन भन्ने विषय व्यवसाय हो, जसमा हरेक प्रकारका वादहरूलाई अटाउन सक्ने क्षमता हुन्छ ।

विश्वमा अपनाइएका कुनै प्रकारका विचार, सिद्धान्त, विकास, मानवीय व्यवहार र क्रियाकलापहरूले पर्यटनसँग सम्बन्ध राख्न सक्छन् । यो व्यावसायिक चरित्र भएका कारण रोजगारीको सिर्जना गर्ने मानव सम्बन्धलाई स्थापित गर्ने र एकअर्काको बीचमा समझदारी तथा सौहार्दता कायम गर्ने गर्छ । पर्यटनको माध्यामबाट आज विश्वका मानिसहरू एकअर्काका बीचमा परिचित हुने अवसर प्राप्त गर्न सकेका छन् र एकअर्काका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सकिरहेका छन् ।
विश्वमा पर्यटकहरूको संख्या दिनानुदिन वृद्धि भइरहेका आँकडाहरू आइरहेका छन्, विश्व पर्यटन संगठनका अनुसार १ अर्ब ३० करोडको हारारहरीमा पर्यटकहरू भ्रमणमा निस्कन थालेका छन् र यो वर्षको नारा नै पर्यटनद्वारा रोजगारीको सिर्जना र मानिसहरूको समृद्धिको परिकल्पना गरिएकोले यो व्यवसायलाई निरन्तर प्रवद्र्धन गरिनु आवश्यक देखिन्छ ।
विश्वका महाशक्ति राष्ट्रहरूले अपनाउने क्षेत्रीय सन्तुलन, शान्ति, सुरक्षा तथा विकासका अवधारणाहरूमा मुलुकको सार्वभौमसत्तामा कुनै असर नपर्ने गरी तथा नागरिकको आर्थिक उन्नतिलाई प्रभावकारी बनाउन सक्ने गरी राज्यले त्यस्ता सिद्धान्तहरूको अपनत्व गरेर पर्यटनको विकास तथा प्रवद्र्धन गर्न सक्नुपर्छ । यी अवधारणाहरू पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण औजार हुन सक्छ, जसले एक–अर्काबीचमा सहज सम्पर्कको आधारशिला निर्माण गरेको हुन्छ । ‘वान बेल्ट वान’ रोड अर्थात् ओबोर जुन आधुनिक एक्काइसौं शताब्दीमा सिर्जना गरिएको चाइनिज अवधारणा जसले विश्वका जनतासँगको सहज सम्बन्ध र समृद्धिको परिकल्पना गरिएको छ । विश्वलाई जोड्न स्थापित गरिएको सिल्क रोडले चिनियाँ व्यवसायी तथा पश्चिमाहरूको बीचमा व्यावसायिक सम्बन्धहरू स्थापित गरिएका थिए, तर यो सम्बन्ध निरन्तर रहन सकेको थिएन ।
सिल्क रोडले मानिसको जीवनमा स्थायी प्रगति तथा समृद्धि स्थापित गर्न सकेन, बरु यो रोडको माध्यामबाट राज्यहरूले एकआपसमा युद्ध गर्नलाई सहज बनाएका थिए । चीनका राष्ट्रपति सी चिनफिङले ओबोरको सम्मेलन उद्घाटन भाषणमा अभिव्यक्त गर्नुभएको छ कि अब यो ओबोरको अवधारणाले संसारका मानिसहरूमा समृद्धि छाउनेछ र एकअर्काको सार्वभौमसत्तामा कुनै हस्तक्षेप र असर नपर्ने गरी चीनले विकासका सम्बन्धहरूलाई विस्तार गरी स्थायी शान्ति, समृद्धि र सहकार्यका बाटाहरू खोल्नेछ भन्ने अभिव्यक्ति दिएका छन् ।
 वास्तवमा यो अवधारणाले साकार पायो भने र नेपालमा समेत यो अवधारणाको जालोले छोएमा अथाह पर्यटनको सम्भावना देखिन्छ । ओबोरको अवधारणा अनुरूप बन्ने सञ्जाल र संरचनाले एक–अर्का देशहरूसँगको सम्बन्ध र सम्पर्कलाई सहज र सरल बनाउन मद्दत पुग्छ, साथै मानिसहरूले न्यूनतम खर्चमा लामो दूरीको यात्रा तय गर्न सक्नेछन्, जसले युरोपदेखिका सम्पूर्ण वर्गका व्यक्तिहरूले सस्तो मूल्यमा नेपालसम्मको यात्रा तय गर्न सक्नेछन् । चीनले अगाडि सारेको यो प्रस्तावलाई ६ वर्षको दौरानमा १ सय ६२ भन्दा बढी मुलुकहरूले समर्थन र चासो जाहेर गरिसकेका छन् ।विशेष गरी यो अवधारणाले चीनको आफ्नो शक्ति विस्तारीकरणको माध्यम बनाउन खोजेको आरोपसमेत केही मुलुकले लगाउने गरेका छन्, तर चीनले यसलाई विशुद्ध विकास–निर्माण, व्यक्तिहरूको समृद्धि, नागरिक–नागरिक बीचमा भाइचाराको सम्बन्ध, मुलुकहरूको सार्वभौमसत्ताको रक्षा, आतंकवादको अन्त्य र विश्वका मानिसहरूका बीचमा सम्बन्ध हो भन्ने तर्क अगाडि सारेको छ । यदि चीनले भनेजस्तै हो भने नेपालले यस अवधारणामा तदारुकताका साथ सहकार्य गर्न आवश्यक देखिन्छ र भावी पुस्ताका लागि नेपालको विकास–निर्माण र समृद्धि बनाइनु आवश्यक छ । 
चीनले राखेको यो आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण्को अवधारणालाई भारतले भने समर्थन गरिसकेको अवस्था छैन र भारतले एसिया अफ्रिका ग्रोर्थ करिडोरको नाउँमा एसियादेखि अफ्रिकासम्मको सञ्जाल विस्तार गरी सोही अनुरूपको सडक सञ्जालहरूको विकास–निर्माण गर्न जापानसँग प्रस्ताव राखेको अवस्था छ, जसमा जापानले २ सय बिलियन डलर लगानी गर्न सहमतिसमेत जनाइसकेको र केही वर्षअगाडि भारतको अहमदावादमा भएको सम्मेलनले एसिया–अफ्रिकाका राष्ट्रहरूबीचका एकअर्काका क्षमता तथा सीपमा अभिवृद्धि गर्ने, गुणस्तरीय सम्बन्ध र संस्थागत सम्बन्धको विकास गर्ने, एक–अर्काका मुलुकमा हुने विकास र सहयोगको योजना बनाउने र नागरिक–नागरिकबीचमा साझेदारी विकास गर्ने भन्ने मुख्य प्रस्तावहरू पारित गरिएका थिए । यो भारत तथा जापानले परिकल्पना गरेको योजनालाई हालै संयुक्त राज्य अमेरिकाले इन्डोप्यासिफिक रणनीतिको नेतृत्व लिएको अवस्था छ । खासगरी अमेरिकाले इन्डोप्यासिफिक क्षेत्रको शान्ति तथा सुरक्षा र विकासका लागि अपरिहार्य योजना भनिएको छ । यसरी दुई ठूला मुलुकहरूले अघि सारेका अवधारणाहरूले हामीलाई कति हदसम्म फाइदा दिन सक्छ भन्ने बहस र छलफलको प्राज्ञिक अध्यययन हुन आवश्यक छ ।
समयमै हाम्रो मुलुकले चीनको अवधारणालाई हस्ताक्षर गरी सहकार्यको सुरुवात गरिसकेको भए पनि हालसम्म भारतले यो अवधारणालाई नजरअन्दाज गर्नुले चीनको यो अवधारणाको प्रवेश नेपालमा भएन भने वास्तवमै हामीले परिकल्पना गरेका विकास प्रवद्र्धन नहुने हुन् कि भन्ने आशंका त्यत्तिकै छ । जे होस्, नेपाल सरकारले ओबोरमा हस्ताक्षर गरेर आफ्नो रुचिलाई प्रमाणित गरिसकेको हुनाले भविष्यमा पर्यटन क्षेत्रमा लगानीहरू भित्रिने र पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि हुने कुरामा अपेक्षाकृत रहन सकिन्छ ।
 नेपालको प्राकृतिक भूबनोट तथा अथाह खनिजका सम्भावनाहरूलाई नजिकबाट नियालेका छिमेकीहरूले यस्ता अवधारणाबाट लाभ प्राप्त गर्न सक्छन् । ओबोरको माध्यामबाट सामाजिक तथा सांस्कृतिक रूपान्तरण मात्र नभएर नेपालमा प्रशस्त मात्रामा विद्युत् उत्पादन गरेर छिमेकीहरूलाई निर्यात गर्न सक्ने सम्भावनाहरूका ढोका खुल्न सक्छन्, तर यी सम्पूर्ण उपलब्धिहरूका सपनालाई साकार पार्न दुवै छिमेकीले यो अवधारणालाई आत्मसात् गर्नु आवश्यक छ । केवल एकातिर मात्रको सम्बन्ध र सम्पर्कले हामीले परिकल्पना गरेको उपलब्धि हासिल गर्न अप्ठेरो पर्न सक्छ । केही वर्ष अगाडिसम्मको अवस्थामा छिमेकी भारतले ओबोरको मान्यतालाई स्वीकार गरिसकेको अवस्था छैन, साथै चीनले आफ्ना सिमानामा निर्माण गर्दै गरेको सडक सञ्जाललाई अवरोध गर्ने गरी भारतले चीनको डोक्लाममा सैनिक पठाएपछिको एकअर्काबीचको तनाव कायम रहेको अवस्था छ, जसको समाधान वैज्ञानिक ढंगले अन्तर्राष्ट्रिय कानुन, प्रचलन तथा परम्पराबमोजिम हुनुपर्छ, दुस्मनी र क्षतिद्वारा हुनु हुँदैन ।
 ओबोरलाई आत्मासात् गर्ने हो भने केवल चीनले मात्र आफ्ना व्यापार–व्यवसाय बढाउने र फाइदा गर्ने भन्ने होइन, यो संसारका सबै मुलुकले सहजताका साथ आफ्ना उत्पादनलाई सही र आवश्यकीय उपभोक्तामाझ लैजान सक्ने वातावरणको सिर्जना गर्नु हो । नेपालजस्तो अनेकौं सम्भावना बोकेको मुलुकमा उत्पादित सामानलाई विश्व बजारमा लैजान ओबोर महत्वपूर्ण हुन सक्ने कुरामा दुईमत छैन । त्यसैगरी नेपालमा सहजै तरिकाबाट विदेशी पर्यटकहरूलाई भित्र्याउन सकिने हुन्छ ।
हालको चीनको तिब्बतमा लाखौंको संख्यामा भ्रमणमा आउने पर्यटकहरूलाई हाम्रा सडक सञ्जालले सहजीकरण गर्न सकेको भए आजकै दिनमा लाखौं पर्यटक ल्याउन सकिने थियो । त्यसकारण समेत यो अवधारणालाई हाम्रो जस्तो मुलुकको कायापलट गर्न सक्ने महत्वपूर्ण माध्यम बनाउने कुरालाई चुक्न दिन हुन्न ।नेपालमा ओबोरको अवधारणालाई नागरिक स्तरमा समेत बहस र छलफलको वातावरण स्थापित भएको देखिन्छ, तीन वर्षअघि सम्पन्न ओबोर सम्मेलनले पारित गरेको काठमाडौं घोषणापत्रमा समेत यो अवधारणालाई अंगिकृत गर्न सके त्रिपक्षीय सम्बन्ध स्थापित भई नेपालले आर्थिक क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सक्ने धारणा राखेको पाइन्छ ।
विशेष गरी पर्यटन उद्योगलाई प्राथमिकताका साथ भविष्य भएको यो छलफलबाट स्थापित भएको देखिन्छ । नेपालको भौगोलिक स्थिति र गौतमबुद्धको जन्मस्थान लुम्बिनी भएको कारणले चीनबाट ठूलो संख्यामा बौद्ध धर्मप्रति आस्था राख्ने व्यक्तिहरूलाई भ्रमण गराएर पर्यटनको विकास गर्न सकिन्छ ।नेपाल भारत संयुक्त पर्यटन प्रवद्र्धन गर्ने अवधारणाको समेत हालसालै विकास भएको छ, जसले गर्दा धार्मिक पर्यटकहरूको संख्या उल्लेख्य वृद्धि गर्न सहयोग पुग्ने देखिन्छ । भारतबाट आउने हिन्दू सर्किटका गन्तव्य स्थलहरूमा नेपाल हँुदैै चीनको तिब्बतसम्मको कैलाश मानसरोवर र चीनबाट नेपालको लुम्बिनी हुँदै भारतको गया तथा सारनाथजस्ता स्थानहरूसम्म जान सक्ने बुद्धिष्ट सर्किट अवधारणालाई अगाडि लैजान सके नेपाल, भारत र चीनको त्रिपक्षिय पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्न सक्ने देखिन्छ, जुन ओबोरको अवधारणाबमोजिम त्रिपक्षीय लाभ प्राप्त हुन सक्ने विषय हो ।
त्यसैगरी भारतले अगाडि सारेको बंगलादेश, भुटान, इन्डिया र नेपाल जसलाई (बीबीआईएन) भन्ने गरिन्छ यस अवधारणालाई सही कार्यान्वयन गर्ने हो भने नेपालले पर्यटकहरू भित्र्याउने माध्यम बन्न सक्छ, तर यी सबै कार्य सम्पन्न गर्न एक–अर्का मुलुकहरूबीचमा समझदारी बन्नु आवश्यक छ । यदि ओबोरको अवधारणामा उल्लेख भएजस्तै एक–अर्काको सार्वभौमिकतालाई सम्मान गरी अगाडि बढ्ने राष्ट्रहरूले प्रतिबद्धता जनाएमा नेपालले आर्थिक रूपमा विशेष गरी पर्यटनको माध्यमद्वारा कायलपलट गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।
तर, यी महान् कार्यका लागि राज्यहरूका बीचमा सुमधुर सम्बन्ध र स्थायित्व कायम रहन आवश्यक छ ।
एक–अर्काका अवधारणाहरूलाई शंकाको दृष्टिले हेर्ने र कार्यान्वयन हुन नसक्ने भयो भने नेपालीहरूले परिकल्पना गरेको समृद्धिलाई लामो समय लाग्न सक्छ, त्यसकारण हामी पर्यटन–व्यवसायीहरूले थप प्राज्ञिक बहस र छलफल गरी यस्ता अवधारणाहरूलाई सार्थक रूप दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकार, नागरिक समाज तथा संघसंस्थाहरूलाई घचघच्याइरहन आवश्यक छ, जसले पर्यटन व्यवसायीहरूले गर्न खोज्नुभएको लगानीलाई समेत सुरक्षित गर्छ र यो ओबोरको सार्थकता हुनेछ ।