कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
1093

नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका पर्यटकहरूका बारेमा भन्नुपर्दा हामीले कहिलेकाहीं पत्रपत्रिकामा पढ्ने गरेका छौं, ‘नेपालमा घुम्न गएका विदेशी पर्यटक यति दिनदेखि हराए-बेपत्ता भए ।’ त्यसरी हराएका पर्यटकका आफन्तहरू नेपाल आएर हराएका आफन्त भेट्टाएमा वा आफन्तको लास वा कुनै चिनो मात्रै पनि भेट्टाएमा हजारौं–लाखौं रकम उपहार दिने भनेर हारगुहार गर्नेदेखि लिएर फोटो र आफन्तको हुलियासहितको सूचना पत्रपत्रिकामा छाप्ने गरेको देख्न-सुन्न-पढ्न पाइन्छ । त्यस्तै गत भदौ अन्तिमदेखि रसुवा जिल्लाको तामाङ हेरिटेज ट्रेलको नागथली–थोङमेन (थुमन) क्षेत्रबाट दुई जना विदेशी पर्यटक दक्षिण कोरियाका ४२ वर्षीय सी सङ र नेदरल्यान्डस्का २७ वर्षीय थोमस याक्स सम्पर्कविहीन भएका वा भनौं हराइरहेका छन् । उनीहरूको अवस्था हालसम्म पनि अज्ञात नै छ ।
यसरी नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका वा बेपत्ता भएका पर्यटकहरूका बारेमा कुरो गर्दा वा त्यसरी नेपाल घुम्न आउँदा हराउने विदेशी पर्यटकहरूको इतिहास हेर्दा सर्वप्रथम वि.सं. २०३७ चैत १ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडीद्वय ओल्फगाग र हेनरिखे सोही वर्षको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छार्काभोट–दुनै–ढोरपाटन–पोखरा घुम्न गएका थिए । तर, ६ महिनासम्म पनि सम्पर्कमा नआएपछि काठमाडौंस्थित जर्मन राजदूतावासले खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा (लास मात्रै) भेटिएको थियो । उनीहरूलाई स्थानीय केही व्यक्तिले पैसा र सरसमानको लोभमा हत्या गरेका थिए । तर, त्यो बेलाको अचम्मलाग्दो कुरो के छ भने त्यो बेला तत्कालीन श्री ५ को सरकारले विदेशीहरूलाई माथिल्लो डोल्पा जौ नपाउने (प्रतिबन्ध लगाएको) अवस्था थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रमा गएका थिए भनी ती दुईको लास भेटिएपछि गोरखापत्रमै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।

त्यस्तै वि.सं. २०६० मा पनि श्रीलंकन मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्फ लागेका थिए । तर, उनी धेरै लामो समयसम्म पनि सम्पर्कमा नआएपछि उनकी दिदी एना नेपाल आई खोजी कार्यमा लागेकी थिइन । तर, उनी भेटिए–नभेटिएको बारेमा कतै कुनै समाचार छापिएन । यता त्यही सेरोफेरोमा राजधानीको मुटुमै रहेको रानीवनमा पनि वि.सं. ०६१-६२ मा फ्रेन्च र जर्मन महिलाद्वय सेलिना र ग्रुन्ची महिनौंसम्म हराएका थिए । पछि फ्रेन्च दूतावासले खोजी गर्दा सेलिनाको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो भने ग्रुन्चीको खोजीका लागि उनको केटा साथी र बहिनी नेपाल आएका थिए । त्यस्तै हराएका पर्यटकका बारेमा कुरो गर्दा, सन् २००९ अप्रिल तेस्रो साता इरानका एक पर्यटककी श्रीमती पनि हराएका आफ्नो श्रीमान् महमुद हरारीको खोजीमा आएकी थिइन्— १ हजार अमेरिकी डलरको पुरस्कार राशि दिने घोषणासहित । तर, उनको पनि अत्तोपत्तो भएन ।
यसरी फेरि पनि हराएकै पर्यटकको कुरो गर्दा, २०१० को सेप्टेम्बरमा पोखराको ड्याम साइडबाट जापनिज पर्यटक पनि हराएका थिए । यसरी ती जापनिज पर्यटक हराएपछि उनका बुवा आएर छोराको सास वा लास भेटेमा १ लाख पुरस्कार दिने घोषणा गरेका थिए, तर अहँ, ती जापनिज पर्यटकको पनि खासै पत्तो लागेन । त्यसैले यो पंक्तिकारले विदेशी पर्यटकको सुरक्षा र नेपालीहरूको रोजगारीका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरिनुपर्छ भनी अहिलेदेखि होइन, प्रकाश राई ‘दीनदुंखी’को नाममा लेख्दादेखि नै उठाउँदै आएको हो ।
यस्तो नीति नियम भुटान र चीनले लागू गरेको पनि छ । अझ त्यति भएर पनि भुटानले त जति भन्यो, त्यति ह्वारह्वार्ती विदेशी पर्यटक भिœयाउँदैन । नेपालमा पनि अनिवार्य गाइडको नियम लागू गर्न सके विदेशी पर्यटक हराउने र कहिल्यै नभेटिने जुन समस्या छ त्यो पूर्णतः हट्छ । तर, यसका विरुद्धमा नेपालमा रहेका दातृ निकायमा कार्यरत व्यक्तिहरू, केही आईएनजीओ-एनजीओहरू र नेपालमा आपूmखुसी ट्रेकिङलगायतका पर्यटकीय प्याकेज बेचेर गैरकानुनी ढंगले आर्जन गरिरहेका विदेशी गाइडहरूले समेत एक स्वरमा मानवअधिकारको कुरो गर्ने गरेका छन् । उनीहरूको भित्री उद्देश्य भने आफूखुसी डलरदाताहरूलाई गाउँ–गाउँ घुमाउनु, ट्रेकिङ गराउनु नै हो ।
–निनाम कुलुङ ‘मंगले’