युवकध्वज जीसी
सोमवार, आश्विन २७, २०७६
321

भाले र पोथीको विपरीत समन्वयबाट तयार गरिएको सेक्स ल्युर अथवा खाद्य ल्युरहरूमा हानिकारक वयस्क कीराहरूलाई आकर्षण गर्ने रासायनिक तत्व हुन्छ । भाले र पोथीको विपरीत समन्वयबाट तयार गरिएको सेक्स ल्युर अथवा खाद्य ल्युरहरूमा हानिकारक वयस्क कीराहरूलाई आकर्षण गर्ने रासायनिक तत्व हुन्छ । 
कीराहरू आकर्षण गरी क्षति गर्न सकिने विभिन्न प्रकारका पासोहरू यिनीहरू विभिन्न प्रकारका हुन्छन्, जसलाई ट्र्याप (पासो) भनिन्छ । खासगरी बजारमा जे–जस्ता पासोहरू उपलब्ध भए पनि कीराहरूको उपस्थितिलाई सुरुको अवस्थामा जानकारी लिई रोकथाम गर्ने साधनका रूपमा लिइन्छ । पासोमा खासगरी पुतली तथा खपटेका माउहरू पारिन्छ । यस्ता पासोहरूको संख्या बढाएमा कीराहरूको उपस्थितिलाई केही हदसम्म कम गर्न सकिन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने पासोहरू कीराहरूको उपस्थिति मूल्यांकन गर्ने साधन हुन्, तर रोकथाम गर्ने सम्पूर्ण विधिहरू भने होइनन् । विभिन्न प्रकारका पासोमध्ये निम्न पासोहरू प्रचलित छन् :

१. तीनखुट्टे सुलीयुक्त पासोतीनखुट्टेभन्दा दुईखुट्टे पासो बलियो हुनुका साथै धेरै पुतली आकर्षित हुन्छन् । यो पासोमा गोलो आकारको छाताको बीचमा भाले पुतलीलाई आकर्षण गर्न पोथी कीराको गन्धयुक्त रबर अथवा भेनाइल सेप्टा राख्ने ठाउँ हुन्छ । ल्युरयुक्त पासोलाई एक–डेढ मिटरको उचाइमा राख्दा राम्रो हुन्छ वा बालीभन्दा २५ सेमिमाथि राख्दा कीराहरू बढी पर्छन् ।
२. पानी पासो उखु, धान तथा भण्टा बालीको गभारोको पुतलीलाई समाउन यो बढी प्रभावकारी हुन्छ । पिंधमा लठ्ठी अड्काउने ठाउँ हुन्छ भने माथिल्लो भागमा पानी राख्ने प्लास्टिकको भाँडो अड्काउने ठाउँ हुन्छ । पानी राख्ने भाँडोको माथिल्लो भागमा गोलो आकारको सानो छाताको बीचमा भाले पुतलीलाई आकर्षण गर्न पोथी कीराको गन्धयुक्त रबर अथवा भेनाइल सेप्टा राख्ने ठाउँ हुन्छ । भाँडोमा पानी पूरै भरिदिने र ल्युर राखिदिएपछि भालेहरू पासोमा पर्न थाल्छन् ।
३. च्यापच्यापे (डेल्टा स्टिकी) पासो सानो खाले पुतली जस्तै: बन्दाको इँटबु¬ट्टे पुतली, आलुको पुतली, लहरे एवं फलपूmल बालीमा लाग्ने औंसाको वयस्क झिंगाका लागि यो पासो ज्यादै उपयोगी हुन्छ । यसलाई पनि एक–डेढ मिटरको उचाइमा राख्दा वा बालीभन्दा २५ सेमि भन्दा माथि राख्दा कीरा बढी पर्छ ।
४. बोतल पासोलहरेबालीका औंसा कीराहरूको भाले प्रजातिलाई कुनै पोथीयुक्त गन्ध आउने रसायन जस्तै क्यु ल्युर, मेथाइल युजिनोलद्वारा कीरालाई आकर्षण गरिन्छ । सिसीको दुवैतर्फ औंसा कीरा छिर्ने २ सेमिको गोलो प्वाल पारिएको हुन्छ । सिसीको बीचमा मसिनो तार छिर्ने सानो प्वाल हुन्छ । त्यही प्वालबाट तार छिराएर तारको तल्लो भागमा मालाथियनका लागि कपास राख्नुपर्छ भने ठीक कपासकै अर्को साइडमा आकर्षण गर्ने पदार्थ राखिन्छ । प्रतिरोपनी ६ वटा ल्युरयुक्त सिसी पासो राख्न सकिन्छ र प्रत्येक हप्ता मालाथायन राख्दा बढी प्रभावकारी हुन्छ । फल कुहाउने औंसाजस्ता कीराको आकर्षण गरी सुरुको संख्यालाई घटाउन क्यु ल्युरहरू सहायकसिद्व मानिन्छन् भने सुन्तला जातका फलपूmलहरूमा आक्रमण गर्ने औंसाका विरुद्व प्रयोग गरिन्छ ।
५. फेरोमोन ल्युरहरू भाले र पोथीको विपरीत समन्वयबाट तयार गरिएको सेक्स ल्युर अथवा खाद्य ल्युरहरूमा हानिकारक वयस्क कीराहरूलाई आकर्षण गर्ने रासायनिक तत्व हुन्छ । सेक्स ल्युरहरूमा सम्बधित पोथी कीराको गन्ध हुन्छ, जसले गर्दा वयस्क भाले आकर्षित हुन्छ तर खाद्य ल्युरहरूमा भने वयस्क भाले र पोथी दुवै थरी त्यत्तिकै आकर्षित हुन्छन् । यसको प्रयोग गर्न विध्वंसकारी कीराको अग्रिम जानकारी प्राप्त हुनुका साथै व्यवस्थापनमा प्रभावकारी हुन्छ ।विभिन्न प्रकारका ४ सयभन्दा बढी ल्युरहरूको विकास गरिएको भए पनि हाल नेपालमा कृषकहरूले आर्थिक हिसाबले धान्न सकिने मात्र केही ल्युर प्रयोग गरिएका छन् । खाद्य ल्युरहरूमा वेक्ट्रोसेरा कुकुरविटी, ब्याक्ट्रोसेरा डोरसालिस, ब्याट्रासेरा कम्पोजिटी पर्छन् भने अन्य सब सेक्स ल्युरमा पर्छन् । गोलभेंडा, कपास तथा अन्य बालीमा आक्रमण गर्ने नाना थरीका रात्रिचर पुतलीका भाले माउ आकर्षण हेली ल्युर, स्योडो ल्युर, पेक्टीनोफोर ल्युर इत्यादि बजारमा उपलब्ध छन् । सबै प्रकारका ल्युरलाई दुई–तीन हप्ताभित्र बदल्नुपर्छ भने प्रतिरोपनीमा ६ वटा ल्युरको प्रयोग गर्नुपर्छ ।
(क) खाद्य ल्युरब्याक्ट्रोसेरा कुकुरविटी गिचभक काँक्रा–फर्सी समूहका बालीनालीमा लाग्ने मुख्य शत्रु आंैसाको भालेलाई आकर्षण गर्छ । यी ल्युरहरूलाई कुनै पासोमा राख्न सकिन्छ । त्यस्तै ब्याक्ट्रोसेरा डोरसालिस ल्युर, आँप, अनार र अमिलो जातका फलपूmलमा लाग्ने भालेकीराहरू आकर्षण गर्न प्रयोग गरिन्छ । ब्याक्ट्रोसेरा कम्पोजिटीमा भने लहरे र फलपूmल बालीमा लाग्ने औंसाका ६ वटै उपजातिका वयस्क भाले तथा वयस्क पोथीलाई आकर्षण गर्छन् ।
(ख) सेक्स ल्युर १. हेलीकोभर्पा आर्मीजेरा ल्युरकपास, गोलभेंडा, चना, रहर, सूर्यमूखी, बदाम, सुर्ती, तोरी आदि बालीहरू हेलिकोभर्पा आर्मीजेराका लार्भाहरूले टाउकोभित्र र शरीरबाहिर पारी व्यापक क्षति गर्छन् भने तिनका वयस्क भाले पुतलीलाई यही ल्युरको प्रयोगबाट फनेल ट्र्यापमा आकर्षित गरिन्छ ।
२. स्पोडोप्टेरा ल्युर लार्भाहरूले धेरैजसो बालीमा पातलाई छियाछिया पारी खाने गर्छन् र यिनको पनि आकर्षण गर्ने विधि हेलिकोभर्पाको ल्युरको प्रयोग जस्तै हो ।
३. इरियास भिटुला ल्युररामतोरिया तथा अन्य सोलानेसी परिवारका बालीहरूमा लाग्ने लार्भाको माउलाई ल्युरको माध्यमबाट पासोमा पार्न सकिन्छ ।
४. इरियास इन्सुलाना ल्युर यो पनि इरियास भिटुला ल्युरजस्तै हार्मोनहरू जसले सोलानेसी परिवारका तरकारी बालीमा लाग्ने लार्भाका माउहरू (जस्तै काँडे गभारोको लार्भा) आकर्षण गर्छन् ।
५. पेक्टिनोफोरा गोसीपेल्ला ल्युर कपासको गुलाबी गवारोका लार्भाहरूले कपास र रामतोरिया बालीहरूमा कोसाभित्र बसेर खान्छन्, जसका माउहरूलाई यी ल्युर प्रयोग गरी आकर्षित गर्न सकिन्छ ।
६. जाईलोस्टेला ल्युर इँटबुट्टे पुतलीका लार्भाहरूले बन्दा, काउली, ग्याँठकोवी, सलगम, रायो, मुला आदि बालीहरूको पातलाई छियाछिया पारी खाने गर्छन् । यसका वयस्क भाले पुतली डेल्टास्टिकी ट्रयापमा पार्न सकिन्छ ।
७. सर्पोफागा ल्युर धानबालीलगायत सोलानेसी परिवारका विभिन्न तरकारी बालीको डाँडमा लाग्ने पहेंलो गभारोको लार्भाहरूको भाले माउलाई अन्य पासोमा जस्तै यो ल्युर प्रभावकारी हुन्छ ।

        परजीवी कीराहरूद्वारा हानिकारक कीराको रोकथाम 
(क) ट्राइकोग्रामा परजीवी यी अति साना बारुलो जातको राता आँखा भएको ट्राइक्रोग्रामा परजीवी कीराहरूको प्रयोग गर्नाले विध्वंसक कीराहरूका लार्भे अवस्थाले बालीमा गर्ने क्षतिबाट बचाउन सकिन्छ । हानिकारक कीराको फुलमा यिनले आफ्नो फुल पार्छन् । फुलहरू तीन–चार दिनमा कालो रंगमा बदलिन्छन् । विध्वंसक कीराहरूको लार्भा निस्कनुको साटो वयस्क बारुलो ६–७ दिनमा धमाधम निस्कन थाल्छन् । एउटा ट्राइकोग्रामाको पोथी वयस्क परजीवीले हानिकारक पुतली जातका झन्डै १ सयभन्दा बढी कीराका फुलहरूमा आफ्नो फुल पार्न सक्ने क्षमता हुन्छ । कपास, उखु, धान मकै, रहर गोलभेंडा, सूर्यमूखी र अन्य धेरै बालीको हानिकारक गभारो कीराको फुलमा यिनले आफ्नो फुल पार्छन् । यसरी कीराहरूको उपस्थितिलाई कम गर्न सकिन्छ ।
कहिले प्रयोग गर्ने ?हानिकारक कीराका पुतलीहरू यौनजन्य पदार्थ (फेरोमोन ल्युरयुक्त) पासोमा गभारोका भाले पुतलीहरू पर्न थालेपछि पोथी पुतलीले फुल पार्न थालेको संकेत हुन्छ । त्यसपछि ६ पटकसम्म यी परजीवीलाई छाड्दा निकै प्रभावकारी हुन्छ ।
कसरी छाड्ने ?परजीवी निस्कनुअघि ट्रााइकोकार्डलाई ६ भागमा टुक्र्याउनुपर्छ र तिनलाई बालीको चारैतर्फ फिंजिने गरी छाड्नुपर्छ । ट्राइकोर्डको टुक्रालाई तल्लो भागमा स्टेपल गरी अथवा धागोले बाँधी अथवा सेलोटेपले टाँसेर सुरक्षित स्थानमा राख्नुपर्छ । परजीवी निस्कनासाथ हानिकरक पुतली जातका फुलहरूको खोजीमा यी परजीवीहरू लाग्छन् । परजीवी निस्केपछि वयस्क परजीवी कीराहरू बिहानै निस्कन्छन् र निस्कनासाथ खेतबारीमा चारैतर्फ फैलने गरी माथि उल्लेख गरेजस्तै गरी छाड्नुपर्छ ।
कसरी सञ्चित गर्ने ?वयस्क ट्राइकोग्रामा परजीवी निस्कने कार्यलाई ढिलाइ गर्नुपरेमा ५–१० सेमि तापक्रमयुक्त रेफ्रिजेरेटरमा १०–१५ दिनसम्म राख्न सकिन्छ । आवश्यक परेका बखत रेफ्रिजेरेटरबाट झिकी कोठाको तापक्रममा राख्दा साधारण तरिकाबाट यी बाहिर निस्कन्छन् । एउटा कार्डमा २ लाख ट्राइकोग्रामा परजीवी हुन्छन् र यसले एक रोपनीलाई पुग्छ ।ट्राइकोग्रामा परजीवी कम्तीमा ६ पटक प्रत्येक हप्ताको दरले छोड्नुपर्छ । बाली र कीराको घनत्व हेरी बढी परजीवी छाड्नुपर्ने स्थिति पनि आउन सक्छ ।
फाइदा१. हानिकारक कीरालाई फुल अवस्थामै यी परजीवीले मार्ने हुनाले विध्वंसक कीराबाट बालीको क्षति हुन पाउँदैन ।२. ट्राइकोग्रामा एउटा फाइदाजनक परजीवी कीरा हो र जसले आफ्नो सिकार खोजी खोजी आक्रमण गर्छ ।३. यी परजीवीहरू बढ्दै जाँदा हानिकारक कीरालाई सखाप पार्दै जान्छन् ।४. यसले झन्डै २ सय थरीका विध्वंसक लार्भा कीराहरूको नियन्त्रण गर्छ ।५. रासायनिक कीटनाशक विषादीले जस्तो यी परजीवीको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर  पर्दैन ।६. हानिकारक कीराहरूको समयमै व्यवस्थापन गरेमा उत्पादनमा वृद्वि हुनुका साथै वातावरणलाई समेत सुरक्षित राख्नमा मद्दत पुग्छ ।
(ख) ग्रिन लेसविङग्रिन लेसविङका वयस्कहरू ज्यादै राम्रो हुनुका साथै पखेटा हरियो जालीदार हुन्छन् । यी हुनेमा हरियो रंगका राम्रा कीराहरू पर्छन् । यसका लार्भाहरू ज्यादै खन्चुवा परभक्षी हुन् । यसले खासगरी चुसाहा जातका कीराहरू जस्तै : लाही, जेसिड, पाइडेल्ला, सेता झिंगाका बच्चाहरूलाई बढी मन पराउँछन् भने विभिन्न कीराका फुल, लार्भा र कत्ले कीरालाई खोजी–खोजी खान्छन् । ग्रिन लेसविङका वयस्क कीराले आफ्नो डन्डीयुक्त फुल स–साना समुहमा बोटबिरुवाका विभिन्न भागहरू खासगरी पात र डाँठमा पार्छन् । अत्याधुनिक प्रविधिबाट उत्पादित यी ज्यादै खन्चुवा, आक्रमणकारी उच्चकोटिको क्राइसोपर्लाका १ हजारवटा फुल अन्य केही पदार्थसँगै मिसाएर विशेष बोतलमा राखिएको हुन्छ । माथि उल्लेख भएका विभिन्न खाले हानिकारक कीराको विरुद्व यी उपयोगी कीरा सहायकसिद्ध हुन्छन् ।
कहिले प्रयोग गर्ने ?हानिकारक कीराका पुतलीहरू यौनजन्य पदार्थयुक्त पासोमा पर्न थालेपछि यी परभक्षीलाई छाड्नुपर्छ ।
प्रयोग हुने मात्राबाली र हानिकारक कीराको अवस्था हेरी कम्तीमा २५ सय फुल अथवा लार्भा प्रतिहेक्टरका दरले प्रयोग गर्नुपर्छ । हानिकारक कीराको आक्रमण सँगसँगै यी परभक्षीलाई छाड्ने समय मिलाउन सके बढी प्रभावकारी हुन्छ । हानिकरक कीराको संख्या बढी मात्रामा हुनुपर्छ र साथै प्रयोग पनि दोहो-याउनुपर्ने अवस्था हुन जान्छ ।
छोड्ने तरिकाबोतलको बिर्काे खोलेर मलमलको कपडा झिक्ने र फेरि बिर्काे लगाउने । बोतललाई कोल्टे पारेर हलुकासँग हल्लाउने र फुलसँगै मिसिएको पदार्थ पनि झर्छ । बोट–बिरुवामा यसरी परभक्षीको फुल अड्किन्छ र फुलसँग मिसिएको पदार्थ भने तल झर्छ । बिहान सबेरै शीत सुक्नुभन्दा अगावै परभक्षीका फुलहरू प्रयोग गरेमा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।
फाइदा
१. रासायनिक कीटनाशक विषादीको झन्झटपूर्ण प्रयोग गरिराख्नु पर्दैन ।
२. यसको प्रयोगबाट वातावरणमा नकारात्मक प्रभाव पर्दैन । आफुभन्दा कमजोर बराबरका सबै किसिमका कीरालाई यसले आक्रमण गर्छ ।
३. तरकारी एवं फलपूmलहरूमा ग्रीन लेसविङ परभक्षीको प्रयोग भएकै दिनमा पनि बजारमा बिक्री गर्न र खानका लागि उपयुक्त हुन्छ ।
४. प्रयोग गर्ने व्यक्ति सुरक्षित रहन्छ । तसर्थ सुरक्षाका पहिरन वा उपकरण प्रयोग गर्नु पर्दैैन ।