सुदर्शन अधिकारी
शुक्रवार, आश्विन १७, २०७६
651

 

घनाबस्ती, साँगुरो सडक, पानीको अभाव, धूलो–धूवाँ, अभाव, महँगी तथा स्वार्थी मानवको जमात सहरको पर्याय भएको छ ।

नेपालको राजधानी काठमाडौँ सहर यति धेरै अस्तव्यस्त छ कि यस्तो त अन्त कतै छैन होला । देशको मुख्य सहर सबै प्रशासनिक निकाय भएको महत्वपूर्ण अनि सबै नागरिकको आकर्षणको स्थल राजधानीमा असहजताहरू अनगिन्ती छन् । सडकको अवस्था दयनीय जीर्ण र खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुलाई समेत सास्ती नै छ । सडकपेटीको अभावले ज्यानै जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हुँदैछ । सवारी साधन पनि जथाभावी पार्किङ गर्ने ट्र्याफिक नियमको पालना नगर्ने तीव्र गतिमा हाँक्ने गर्दा दुर्घटना वृद्धि भएर गएको छ । माओवादी जनयुद्ध हुँदा दस वर्षमा मृत्यु भएका भन्दा बढी दस वर्षमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या रहेको छ । यसरी सडक असुरक्षित हुँदै गएको प्रति सम्बन्धित निकाय गम्भीर भई दुर्घटना न्यून गर्ने दिशामा अगाडि देखिन्छ ।
पुराना मठमन्दिरले सुन्दर हुन सक्ने सहर जथाभावी भौतिक संरचना निर्माण गरी आफ्नो मौलिकता गुमाउँदै छ । घनाबस्ती, साँगुरो सडक, पानीको अभाव, धूलो–धूवाँ, अभाव, महँगी तथा स्वार्थी मानवको जमात सहरको पर्याय भएको छ । सहर वास्तवमा सहर बन्न सकेको छैन । अवसरको खोजी गर्दै मजदुरदेखि प्राध्यापक सबैको रोजाइ र बाध्यता बनेको राजधानी झनै कुरूप बन्दै गएको छ । निश्चित मापदण्डभित्र भौतिक संरचना निर्माण नगर्दा सहरी सौन्दर्य बिग्रिएर गएको छ ।

मन्दिर, मूर्ति, स्तूप, चैत्य, गुम्बा आदिको अवस्था पनि कम्ता दुःखद् छैन । भूकम्पपश्चात् जसरी जुन गतिमा पुनर्निर्माण गर्नुपर्ने थियो त्यो नहुँदा पर्यटन व्यवसायमा समेत नकारात्मक प्रभाव पर्न गएको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउँदै वर्षभरि २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित अगाडि बढेको छ ।
१०–१२ लाख जनसंख्यालाई उपयुक्त हुने काठमाडौँ त्यसको चार गुणा बढी जनसंख्या व्यवस्थापन गर्न आफैंमा चुनौती हुँदैछ । १५–१७ लाख लिटर मुस्किलले वितरण गर्न सकिनेमा आज ४० करोड लिटरको माग छ । मेलम्ची आकाशको ‘फल आँखा तरी मर’ भनेझैं भइरहेको छ । एकातर्फ मागअनुरूपको पानी नपाउँदा राजधानीवासी काकाकुलको नियति भोग्दैछन् भने राज्यलाई पनि पटक–पटक निर्माण अवधि थप गर्दा ठूलो धनराशि खर्च भएर लागत तीन गुणा वृद्धि भइरहेको छ । राष्ट्रिय गौरवका आयोजना भनेर व्यापक चर्चा गरिए पनि कार्य भने सामान्य सडकलाई जति पनि ध्यान नदिएको स्पष्ट नै छ । ठूलो रकम विनियोजन गरी स–साना आयोजनालाई थाँती राखेरै भए पनि दृढतापूर्वक लाग्ने हो भने मेलम्ची छिट्टै ल्याउन नसकिने पनि होइन । इच्छाशक्ति र राष्ट्र जनता र इमानप्रति ज्यादा गम्भीर हुनु जरुरी छ । पानी उद्योगसँग मिलेर आयोजना विलम्ब त गरेको होइन ? भन्ने आशंका पनि उत्तिकै रहेकै अवस्था छ ।
सहरमा खुला स्थलको अभाव उस्तै छ । भएका स्थलमा पनि अनेकौं बहानामा अतिक्रमण गर्ने, भौतिक संरचना निर्माण गर्ने कार्यले सहरी सौन्दर्यता हरियो छैन नै, त्यसले वातावरणीय क्षति पनि उत्तिकै मात्रामा गराएको छ । सार्वजनिक स्थलको अभावमा अनेकांै समस्याको सामना गरिरहनुपरेको छ । अर्को महत्वपूर्ण स्थान सार्वजनिक शौचालय हुनुपर्ने हो, तर सार्वजनिक शौचालय हुँदाहँुदै भने पनि हुने अवस्था छ । एउटा भएको खुलामञ्चको उत्तरतर्फ र पश्चिमतर्फका सार्वजनिक शौचालय पनि अव्यवस्थित छ र शौच गरेको मात्र १० रुपैयाँ भन्ने गरिन्छ । राज्यले स्वेच्छिक रूपमा १–२ रुपैयाँ दिएर शौचालयको प्रयोग गर्ने व्यवस्था मिलाउन सक्दैन ।
नागरिकले हरेक प्रकारका कर त तिरिरहेकै हुन्छ नि ! अप्ठ्यारो अवस्था भएपछि मात्रै सर्वजनिक शौचालयको प्रयोग गर्ने भएकाले त्यसलाई महत्व दिनुपर्ने हुन्छ ।
हरेक ३ किमि दूरीपश्चात् एउटा सार्वजनिक शौचालयको व्यवस्था गरी त्यसलाई व्यवस्थित रूपले सञ्चालन गराउनेतर्फ सोच्नुपर्छ ताकि नागरिकले सहज ढङगले दिसापिसाब गर्न सकोस् । राज्यले यसतर्फ कत्ति पनि चासो राखेको पाइँदैन । भएका खुला स्थानलाई संरक्षण गरेर त्यहाँ उद्यान, पार्क बनाएर न्यूनतम शुल्क राखी सामान्य आयको बाटोसमेत बनाउन सकिन्छ, तर यसतर्फ राज्य सञ्चालकसँग सम्बन्धित निकाय र नगरपालिका कुनैको ध्यान पुगेको देखिँदैन । विपत्का बेला त्यस्ता स्थल झनै महत्वका हुन्छन् । यी स्थान आगलागी, बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक र दैवी विपत्तिका बेला ज्यादै महत्वपूर्ण हुन्छन् । ०७२ सालको भूकम्पपश्चात् ठूलो संख्याले खुला मञ्च र टुँडिखेलको उपयोग गरेका थिए ।
सडक पेटीमा बलिया र होचा खालका वृक्ष हुर्काएर त्यसको उचित संरक्षण गर्न सके सहरी सौन्दर्य पनि वृद्घि हुने थियो भने वातावरणसमेत केही मानव अनुकूल हुने थियो । नेपालमा सार्क सम्मेलन भएका बेला रातारात सडक निर्माण गरी फूल तथा वृक्षरोपण गरी सिँगरिएको थियो । बबरमहल–बानेश्वर खण्ड सडकमा अहिले पनि बीचमा केही हरियाली देख्न पाइन्छ । हरेक सडकमा त्यसैगरी वृक्षलाई संरक्षण गर्न सक्नुपर्छ । चक्रपथ अतिक्रमणमा पारेर मानवलाई गिजाउँदै छ, तर कसैको ध्यान त्यसतर्फ छैन ।
घरायसी प्रयोजन, व्यापारिक प्रयोजन र पार्किङ स्थलमै प्रयोगमा ल्याइरहेको हुन्छ । एउटा रूख हुर्काउन २०–३० वर्ष लाग्छ, तर कुनै पनि बहानामा काटिने प्रवृत्ति भने उचित भएन । विकास गर्नुपर्छ, संरचना निर्माण गर्नुपर्छ तर त्यसका नाममा ठूला वनक्षेत्र बिगार्नु हुँदैन । सहरमा समेत ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।
न त सडक बत्ती, न त जेब्राक्रसिङ । यात्रु पनि उस्तै छन् । जथाभावी सडक पार गर्ने, ओभरहेड ब्रिज तलबाट निर्धक्कै हिँडिरहने, नजिकै जेब्राक्रसिङ भएर पनि त्यसको प्रयोग नगर्ने हाम्रो बानी नै बसेको छ । नियमको पालना नगर्ने प्रवृत्ति पहिलादेखिकै हो । हामीमा सामान्य मानवीय गुणको पनि प्रस्तुति गर्ने स्वभाव नै छैन । सडक कर भनेर वार्षिक तोकिएको रकम सवारीधनीबाट असुल्ने गरिन्छ । त्यसबापत राज्यबाट पाउनुपर्ने सुविधा भने शून्य नै छ । बसभाडा र ट्याक्सी चालकको चलाखीबाट समग्र यात्रु पीडित छन् । १३ रुपैयाँ मात्र तिर्नुुपर्ने भाडाबापत १५ रुपैयाँ लिइरहँदा पनि कोही बोल्दैन, संगठित भएर आवाज उठाउँदैन, न त यातायात व्यवस्था विभाग नै कुनै कदम चाल्छ । आज यात्रु ठगीको मारमा निरन्तर परिरहन्छन् ।
ट्याक्सी चालकको मनोमानी उत्तिकै कहालीलाग्दो छ, मिटरमा कतै जान मान्दैनन् । ग्राहकमा सचेतनाको कमी छ, यो जान्ने–बुझ्नेले किन गर्ने भनेर प्र्रतिकार ग-यो भने उल्टै दुव्र्यवहारको सामना गर्नुपर्छ । हरेक क्षेत्रभित्र सिन्डिकेट नराम्ररी फस्टाउँदै छ अनि कसरी संस्थागत ठगी गर्ने भन्नेहरू केन्द्रित देखिन्छन् । शिक्षामा निःशुल्क भनिने सामुदायिक विद्यालयमा पनि आफूखुसी शुल्क असुलेकै छन् । भर्ना, परीक्षा, पुस्तकालय आदिका नाममा चर्को शुल्क असुल्ने विद्यालयको गुणस्तर भने बर्सेनि खस्कँदो देखिन्छ । सर्वत्र अनियमितता र गैरकानुनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ । कार्यालयमा सेवाग्राही पुग्यो भने सहजै हुनुपर्ने कार्य पनि अनेकौं हैरानीको सामनापश्चात् बल्लबल्ल दिनै माया पारेपछि मात्रै मुस्किलले हुने अवस्था छ ।
स्वार्थले पूर्ण सहरी जीवन, महँगीको मार, प्रदूषणयुक्त वातावरण, चोरी, ठगी, डकैती, बलात्कार, लागूपदार्थको दुव्र्यसनीजस्ता विशेषताले युक्त राजधानीमा सबै मानिसलाई आकर्षित गर्ने क्षमता भएकै कारण चर्चित र लोकप्रियसमेत बनेको छ । सरसापटी, सहयोग, समझदारी, ऐंचोपैंचोजस्ता शब्दावली कागजमै सीमित हुन्छन् । सहरी जनजीवनमा आ–आफ्ना पेसा–व्यवसाय र रोजगारीका लागि हतारको दैनिकी बिताउने हाम्रो सहरी जीवन जानेर पनि जानिनसक्नुको छ । ग्रामीण क्षेत्रलाई सहर बनाउनुपर्नेमा सहरमा नै थप जनघनत्वको चाप बढ्दा झनै चुलिँदो छ ।