दीपेन्द्र थापा
मंगलबार, भदौ ३१, २०७६
406

नेपाल भिजिट–२०२० को सम्मुखमा छ । मुलुकले लिएको लक्ष्य पूरा गर्न र भ्रमण वर्ष मनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित क्रियाशिल संस्थाहरूले भिजिट नेपाल–२०२० लाई सफल बनाउन विशेष कार्यक्रम ल्याउन सकेका छैनन् ।
पर्यटन क्षेत्रमा अहिले राष्ट्रिय तथा क्षेत्रीय स्तरका संघसंस्था भए पनि पर्यटन विकासका लागि प्रादेशिक र स्थानीय स्तरमा पर्यटनका लागि देशको संरचनाअनुरूप कार्य गरेको पाइँदैन । अझै पनि केन्द्रीकृत रूपमै कार्यक्रम सञ्चालन गरेको देखिन्छ । पर्यटनसँग सम्बन्धित केही संस्थाले संघीयताअनुरूप कार्यालय स्थापना गरेका छन्, तर कार्यान्वयन तहमा भने हुन सकेको छैन ।

देश संघीयतामा गइसके पनि उनीहरूका लक्षित कार्यक्रमहरू पनि केन्द्रबाटै सञ्चालित छन् । स्थानीय स्तरसम्म वा भनौं गाउँगाउँसम्म जान नसके पनि पर्यटकीय स्थल भएका र हुन सक्ने सम्भावना बोकेका स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न सकिन्छ, तर त्यो पनि गरेको पाइँदैन । केही क्रियाशील संघसंस्थाहरूका विधान हेर्ने हो भने अझै पनि केन्द्रीकृत नै देखिन्छन् । तर, बिस्तार संघीयतामा जाने प्रयास भनेका छन् ।
ती समयानुकूल संशोधन वा परिमार्जन हुन नसक्दा तिनीहरूले गर्ने कार्य पनि केन्द्रबाट नै परिचालन हुने हुँदा संघीयताको मर्मअनुरूप प्रादेशिक र स्थानीय स्तरसँग समन्वय सहकार्य भए गरेको पाइँदैन । राष्ट्रिय स्तरमा रहेका संघसंस्थाहरूले आफ्ना शाखा प्रशाखा वा सम्पर्क कार्यालयहरू प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खोल्न सकेको खण्डमा पर्यटन व्यवसायमा दुवैलाई फाइदा हुने देखिन्छ ।
एकातर्फ संघीयताको कार्यान्वयन र अर्कातर्फ पब्लिक प्राइभेट पार्टनरसिप पनि हुने हुँदा पर्यटन व्यवसायमा पनि सघाउ पुग्छ । यसको प्रत्यक्ष फाइदा भनेको स्थानीय स्तरमा रहेका साना तथा मझौला पर्यटन व्यवसायीलाई पुग्ने निश्चित हुन्छ, जसले पर्यटन विकाससँगै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्छ । केन्द्रबाट गरिने कार्यक्रमभन्दा स्थानीय स्तरबाट गरिने कार्यक्रमको प्रभावकारिता पनि बढी हुन्छ ।
पर्यटकहरूले उत्कृष्ट सेवा तथा सत्कार एवं आतिथ्यता पाउँछन् । सेवाक्षेत्रमा मानिसले ठूला कुराको भन्दा स–साना कुराको बढी ख्याल गर्ने भएको हुँदा पनि यी विषय ठूला होइन, तर महŒवपूर्ण हुन् ।
हामीले ससाना तर विदेशी पर्यटकलाई नौलो लाग्ने हाम्रा मौलिक संस्कारलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु जरुरी छ । यस्ता कार्यक्रमहरू राष्ट्रिय स्तरबाट भन्दा स्थानीय पर्यटकीय गाउँपालिका वा नगरपालिकाको समन्वयमा पनि गर्न सकिन्छ । स्थानीय स्तरमा बढ्ने पर्यटकीय गतिविधिले हाम्रा ग्रामीण बस्ती–बस्तीहरूमा रोजगारी र व्यवसायका गतिविधिले अर्थोपार्जनका लागि सहज वातावरण सिर्जना गर्छ ।
यसले राष्ट्रिय स्तरमा रहेका संघसंस्था, व्यवसायीसँगै स्थानीय स्तरका मानिस पनि लाभान्वित हुन्छन् । नेपालमा अहिले पर्यटन व्यवसायसँग सम्बन्धित धेरै ट्राभल तथा टुर व्यवसायीहरू क्रियाशील छन् । टान, नारा र सोट्टोजस्ता पर्यटनसँग सम्बन्धित व्यवसायीहरू अझै प्रादेशिक र स्थानीय स्तरमा क्रियाशील हुन सकेका छैनन् । सबै केन्द्रमा मात्र सीमित देखिन्छन् । होटल संघ नेपाल (हान), नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) जस्ता पर्यटकसँग सम्बन्धित संस्था प्रादेशिक संरचनामा गएका छन्, तर प्रभावकारी रूपमा स्थानीय सरकारसँग समन्वय हुन सकेका छैनन् । यसका लागि केन्द्रीकृत मानसिकताबाट संघ माथि उठ्नु जरुरी छ ।
दिगो अर्थतन्त्रका लागि नेपालको एउटा महŒवपूर्ण आधारका रूपमा पर्यटन उद्योगलाई लिन सकिन्छ । यसका लागि सरकारी तवरबाट सम्भव छैन । यस उद्योग सम्बद्ध संघ–संगठन तथा व्यवसायीहरू पनि उत्तिकै क्रियाशील हुनु र प्रादेशिक तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिनु आवश्यक छ । देशमा रहेका पर्यटकीय क्षेत्र र सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसको प्रचारप्रसारमा स्थानीय तहसँगको सहकार्य अपरिहार्य हुने गर्छ । यसका लागि यी व्यवसायीहरूले सहकार्यको माध्यमबाट स्थानीय स्तरमा पर्यटकीय गतिविधिमा जोड दिनु आवश्यक छ ।
ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूमा लाभान्वित समूहको सहकार्यमा न्यूनतम पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्न सकिन्छ, जसले गर्दा पर्यटन क्षेत्रको उत्थान गर्न टेवा पुग्ने देखिन्छ । प्रादेशिक संरचनामा पर्यटन पनि पुनर्संरचना हुनु आवश्यक हुन्छ । यदि देशको भैगोलिक संरचनाअनुसार संघसंस्थाहरूको अर्गनाइजेसनस्वरूप पनि परिवर्तन गर्न सकेको खण्डमा सरकारसँग समन्वय गर्न सहज र सहजीकरण हुन्छ, जसले गर्दा सरकार र निजी क्षेत्रले समन्वय गरी कुनै पनि कार्यक्रम सफल गर्न सक्छन् । संघ सरकारले संघस्तरको र प्रदेश सरकारले प्रदेशस्तरको संस्थासँग समन्वय गरेको खण्डमा कुनै पनि कार्यक्रम स्थानीय स्तरसम्म पु¥याउन, कार्यान्वयन गर्न सहज हुनेछ । यसले गर्दा सरकारले लिएको लक्ष्य प्राप्तिमा पनि सहयोग पुग्नेछ भने प्रभावकारितासमेत बढेर जानेछ ।
—दीपेन्द्र थापा


सातामा धेरै पढिएको