रवीन्द्र भट्टराई
सोमवार, भदौ ३०, २०७६
1595

 
अहिले सेयर बजारमा लगानीकर्तामा जुन प्रकारको छटपटी देखिएको छ, त्यो मूल्य नबढ्दाका कारण उत्पन्न छटपटी हो, जुन कसैको नियन्त्रणमा छैन ।

हामीलाई लागेको छ, सेयरको मूल्य बढे मात्र फाइदा हुन्छ । सेयर किनबेचमा होस् वा अन्य कुनै पनि व्यापारमा दुईवटा मूल्य हुन्छन्— खरिद मूल्य र बिक्री मूल्य । नाफा वा घाटा हुनमा दुवै मूल्यको भूमिका महत्वपूर्ण हुन्छ । किनेको मूल्यभन्दा बिक्री मूल्य बढी भए नाफा हुन्छ, तर नाफा गर्ने यो मात्र तरिका होइन । यदि हामीले खरिद वा लागत मूल्यलाई नै कम गर्न सक्यौं भने पनि नाफा कमाउन सकिन्छ । यसको अर्थ हो— मूल्य बढेर वा लागत घटाएर नाफा कमाउने भन्ने । सेयर बजारमा चाहेअनुसार मूल्य बढाउने भन्ने हाम्रो हातमा छैन । कसैले त्यो गर्न खोजे क्षणिक मात्र हुन्छ । यसैले सेयर बजारमा भनिन्छ, ‘अल्पकालमा कसैले बजार वा मूल्यलाई प्रभावित गर्न खोजे पनि दीर्घकालमा सम्भव छैन ।’ यसको अर्थ एक–दुई दिन वा हप्ता दिन कसैले वा कुनै समूहले सेयरको मूल्यलाई प्रभावित गर्न सक्ला तर सधैंभरि प्रभावित गर्न सक्दैन । बजारले आफ्नो दिशा आफैं निर्धारण गर्छ, जसरी पानीले आफ्नो आकार आफैं निर्धारण गर्छ ।
अहिले सेयर बजारमा लगानीकर्तामा जुन प्रकारको छटपटी देखिएको छ, त्यो मूल्य नबढ्दाका कारण उत्पन्न छटपटी हो, जुन कसैको नियन्त्रणमा छैन । तर, कतिपयलाई लागेको छ, यो कसैको नियन्त्रणमा छ । जस्तो— नियामक निकाय धितोपत्र बोर्ड, अर्थ मन्त्रालय वा अर्थमन्त्री । त्यही भएर कतिपय अर्थमन्त्रीलाई गाली गरेर थाकेका देखिँदैनन् । मलाई लाग्छ, अर्थमन्त्रीले मूल्य बढाउनकै लागि गर्ने काम केही पनि छैन । तर, बजारको विकासका लागि केही पहल भने अवश्य गर्न सक्छन् ।

सम्बन्धित निकाय जस्तो धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई सक्रिय गराउन सक्छन्, तर म सेयरको मूल्य बढाउनकै लागि केही गरून् भन्ने पक्षमा छैन । किनकि यसका प्रयास यसअघि नै भइसकेजस्तो सेयर धितो कर्जामा लचकताको कुरा, पुँजीगत लाभ कर घटाउने कुरा, राष्ट्र बैंकले बैंकिग क्षेत्रमा तरलता कायम गर्न लचकता ल्याउने कुरा आदि । त्यसपछि बजारमा केही प्रभाव देखियो, जस्तो नेप्से परिसूचक केही माथि गयो । हुन त त्यसको केही भाग सिजनल प्रभाव पनि हुन सक्छ । दुवै काम एकै पटक भएका हुन पनि सक्छन् । विश्लेषण जसरी गरे पनि हुन्छ, तर बजारमा पुनः गिरावट आयो । नेप्से परिसूचक १२ सय तल झरेर कारोबार भइरहेको छ ।
यसबारेमा अर्थमन्त्री जानकार नभएका भने होइनन् भन्ने उनका पछिल्ला दुईवटा कार्यक्रमका अभिव्यक्तिले प्रस्ट हुन्छ । जस्तो उनले भनेका छन्, मलाई समग्र अर्थतन्त्र उकास्ने चिन्ता छ, तपाईंलाई त्यसको एउटा हिस्साको चिन्ता छ । यस्तै उनले भनेका छन्, सेयर जारी  गरेर पुँजीनै संकलन गर्न नसक्ने अवस्था सेयर बजारमा आउनु हुँदैन । यसको अर्थ सेयर बजारमा लगानीकर्ता आकर्षित हुन सक्ने न्यूनतम अवस्था कायम हुनुपर्छ । त्यो पूर्वाधारले होस्, सेवा–सुविधाले होस् वा प्रतिफलका हिसाबले होस् । उनले भन्न खोजेको यही हुनुपर्छ । यदि यो हो भने अर्थमन्त्री पूरै नकारात्मक छन् वा पुँजीबजारलाई रुचाउँदैनन् भन्नेचाहिँ देखिँदैन । यस्तै अर्को कार्यक्रममा उनले भनेका छन्, सेयरमा हुने कारोबार लागतलाई कम गर्नुपर्छ जसले सेयर बजारलाई चलायमान बनाइरहन सक्छ ।
बजारमा तरलता बढेर जान्छ । कारोबार बढ्छ । यसको अर्थ सेयर कारोबारमा खरिद मूल्यबाहेकको महत्वपूर्ण लागत भनेको ब्रोकर कमिसन र राफसाफको लागत हुन् । सेयर कारोबारमै अर्को अदृश्य लागत पनि छ, जसको हामी कमै मात्र कुरा गरिरहेका हुन्छौं । त्यो लागतका बारेमा अर्थमन्त्रीले पनि बोलेका छैनन् । त्यो लागत हो, विक्रेताले बेच्न राखेको मूल्य र क्रेताले किन्न बसेको मूल्यको न्यूनतम फरक । अहिले यो फरक प्रतिसेयर ५० रुपैयाँ र त्योभन्दा बढी मूल्यको कारोबारमा कम्तीमा १ रुपैयाँ छ भने ५० रुपैयाँभन्दा तल पैसामा पनि खरिद मूल्य र बिक्री मूल्य राख्न पाउने व्यवस्था छ । जस्तो ४७ रुपैयाँ २० पैसामा किन्छु भनेर खरिद आदेश दिन वा राख्न सकिन्छ भने बिक्री गर्नेले पनि ४७ रुपैयाँ ५० पैसामा बेच्छु भनेर कम्प्युटरमा आदेश राख्न सक्छ । तर, ५० रुपैयाँभन्दा माथि पैसामा जस्तो ६० रुपैयाँ ३० पैसामा किन्छु भन्न पाइँदैन । खरिद मूल्य कि त ६० रुपैयाँ राख्नुप-यो कि ६१ मा किन्छु भन्नुप-यो । सेयर बजारमा कारोबारलाई प्रभावित गर्ने र लागत बढाउने कारक यो पनि हो । किनकि ठूला कारोबारमा एक रुपैयाँले ठूलो भिन्नता राख्छ । जस्तो १० हजार कित्ता कारोबार गर्दा १० हजार रुपैयाँको फरक पर्छ । त्यही १ रुपैयाँका कारण किन्नेले बढेर किन्न सकिरहेको हुँदैन, बेच्ने घट्न सकिरहेको हुँदैन ।
तर, यसलाई कम गर्न सकियो भने क्रेता र विक्रेतालाई अझ नजिक ल्याउन सकिन्छ र कारोबार बढाउन सकिन्छ । खरिद मूल्य र बिक्री मूल्य राख्दा जुनसुकै मूल्यको सेयर भए पनि अनुपात (फ्य्राक्सन) मा पनि राख्न पाउने व्यवस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तत्काल गर्नुपर्छ । नेप्से कति यथास्थितिवादी छ भन्ने यो एउटा राम्रो उदाहरण पनि हो । २०६४ बाटै सेयरको कारोबार कम्प्युटरबाट भइसक्दा पनि त्यसअघि ब्रोकरले कराएर सेतोपाटीमा लेखेर कारोबार गर्दा सजिलोका लागि बनाइएको नियम अझै परिवर्तन गर्न सकेको छैन, न त यो कुरा सडकमा उफ्रनेहरूले देखेका छन् ।
सेयर बजारमा सबैभन्दा माथिल्लो निकायले लागत घटाउनुपर्छ भनिरहँदा उक्त कुरालाई किन व्यापक नबनाउने वा त्यसलाई समातेर किन अघि नबढ्ने भन्ने हुन्छ । जस्तो सेयर मूल्य बढेर नाफा हुन नसक्दा लागत घटाएर नाफा गर्ने दोस्रो विकल्पमा किन नजाने ? भन्ने प्रश्न हो । यदि अर्थमन्त्रालय लागत घटाउनुपर्छ भन्ने पक्षमा छ भने त्यसको स्वागत गरेर लगानीकर्त एक जुट हुन आवश्यक छ र नेप्से र बोर्डलाई झकझक्याउन आवश्यक छ, तर राीजनामा माग, धर्ना, जुलुसले समस्या समाधान हुनेवाला छैन । सेयर बजार दूषित राजनीतिक प्रवृत्तिको अखडा बन्नु हुन्न ।
हामीले सेयर बजारमा पेन किलर चाहेको हो कि रोग निको हुने औषधि भन्ने छुट्ट्याउनुपर्छ । जस्तो सेयर कारोबारमा लाग्ने अत्यधिक लागत घटाउनु भनेको कुनै पेनकिलर होइन । एकपटक घटाएपछि यस्ता लागत बढाउन गा-हो हुन्छ । तर सेयर धितो कर्जाका प्रतिशत, अनिवार्य नगद मौज्दातको प्रतिशत यी पेनकिलरजस्ता मात्र हुन । हरेक पटक पेनकिलरबाट समाधान खोज्यौं भने रोग कहिल्यै निको हुँदैन ।
सेयर राफसाफमा लाग्दै आएकोे लागत जस्तो नामसारी शुल्क (डिम्याट खाताबाट घटाउँदा र जोड्दाको शुल्क), डिम्याट खाता खोल्दा र नवीकरण गर्दाको शुल्क घटाउनुपर्छ । यी देख्दा कमजस्तो देखिए पनि लगानीमा लागतको ठूलो हिस्सा ओगटेका हुन्छ, जसको बेवास्ता गर्नु हुँदैन । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, “साना खर्चहरूलाई बेवास्ता नगर, किनकि सानो प्वालका कारण नै ठूला जहाजहरू डुब्ने गर्छन् ।” लगानीकर्तालाई डुबाउने पनि यस्तै लागतले नै हो । अर्थमन्त्रीले नै अप्रत्यक्ष रूपमा भनिसके, सेयरको मूल्य बढ्न सकेन, अब हामीले लागत घटाउनुपर्छ ।
अर्थमन्त्रीले यो भनिसकेपछि नेप्से वा धितोपत्र बोर्डले नकारात्मक कुरा गर्न सक्दैनन् । जस्तो यसअघि २३ वटा सेयर ब्रोकरबाट २७ थपेर ५० पु-याउँदा रामेश्वर खनाल अर्थसचिव थिए । उनी सेयर ब्रोकर थप्नै नहुने अडानमा थिए । कारण ब्रोकर व्यवसायमा उनको आफ्नै पारिवारिक स्वार्थ पनि हुन सक्छ । यसै अवस्थामा नयाँ सेयर ब्रोकरका लागि आवेदन दिएका समूहले दबाबमूलक विभिन्न कार्यक्रम गर्न थाले, जसका बारेमा प्रतिक्रिया दिने क्रममा एक दिन उनले नयाँ ब्रोकरको लाइसेन्स दिन्छौं समस्या छैन भने । यसो भने पनि काम अघि बढाउन आनाकानी गरिरहे । तर, मिडियाले उनले अगाडि भनेको भनाइलाई समातेर कहिलेसम्म नयाँ लाइसेन्स वितरण गर्नुहुन्छ भनेर पिछा लाग्न छाडेनन् । अन्ततः उनी गले र प्रक्रिया अघि बढ्यो । नयाँ लाइसेन्स पनि वितरण भयो ।
यसैगरी अर्थमन्त्रीको भनाइलाई समातेर लागत कम गर्ने प्रयास गर्नु नै सेयर बजारमा दोस्रो विकल्पको प्रयोग गर्नु हो । धितोपत्र बोर्डले सेयर ब्रोकर कमिसन घटाउने कुरा समय–समयमा गर्छ, तर अघि बढाउँदैन । यसमा पनि उसको आफ्नै स्वार्थ छ । यसअघि ब्रोकरले धितोपत्र बोर्डका अध्यक्षको राजीनामा मागलगायतका विभिन्न माग तेस्र्याएर अघि सर्दा उनले ब्रोकर कमिसन घटाउने तयारी भएको अस्त्र ब्रोकरलाई फ्याँके र आफूविरुद्ध लागेका ब्रोकरलाई शान्त नपारेका होइनन् । अहिले उनले त्यो कुरा अगाडि बढाउन चाहेका छैनन् । अर्को बोर्ड आफैं व्यापारी हो । कमिसन घटाउने कुरा हुँदा बोर्डले लिने अवैध कमिसनको कुरा पनि उठ्छ । त्यही कमिसनका कारण अहिले बोर्ड निकै धनी बनेको छ । कर्मचारी सुविधाका विभिन्न कोष बनेका छन् । विदेश भ्रमणमा कर्मचारी लर्को लाग्न पाएका छन् ।
ब्रोकर कमिसन घटाउँदा विभिन्न विकल्पमा गएर घटाउन सकिन्छ । जस्तो अनलाइनमार्फत आफैं कारोबार गर्ने र ब्रोकरलाई आदेश दिएर कारोबार गराउने लगानीकर्ताको कमिसन दर फरक बनाउन सकिन्छ । आफैं कारोबार गर्नेको दर कम र ब्रोकरलाई आदेश दिएर कारोबार गर्नेको कमिसन यथावत् राख्न पनि सकिन्छ । यसो गर्दा लगानीकतालाई अनलाइनतर्फ आकर्षित गर्न सकिन्छ । अर्को विकल्प ब्रोकरको कमिसनभित्रबाट नेप्सेले लिँदै आएको २५ प्रतिशतको हिस्सा घटाएर र धितोपत्र बोर्डले खरिद र बिक्री दुवैमा लिँदै आएको शुल्कमा एउटामा मात्र लिएर हुन सक्छ ।
तेस्रो समग्र ब्रोकर कमिसन नै घटाएर नियामक र ब्रोकरको हिस्सा परिवर्तन गरेर पनि लागत घटाउन सकिन्छ ।
मूल्य नबढे लागत कम गर्न सके पनि फाइदा गर्न सकिन्छ भन्ने व्यवसायको सिद्धान्तमा हामीले अब पहल गर्न जरुरी देखिन्छ । हामी सबैले एकपटक आफैं प्रश्न गर्ने बेला आएको छ, के हामीले सेयर कारोबारमा तिरेका वा बेहोरेका सबै लागत वैज्ञानिक वा न्यायोचित छन् ?
कारोबारमा हामीले तिरेका साना–साना खर्चहरूका कारण नै हामीले ठूलो लागत बेहोर्नुपरिरहेको हुन्छ । हामीले मूल्य घटेर मात्र गुमाएका छैनौं, बढी लागत तिरेर पनि गुमाएका छौं । बढी लागतका कारण सेयर बजारमा लगानीकर्ताले खर्बौं गुमाउनुपरेको अवस्था पनि छ । सेयर बजारमा मूल्य बढ्नुप-यो भनेर चर्का कुरा गरेर वा नारा जुलुस, धर्ना गरेर मूल्य बढ्दैन, बरु हामीले बजारलाई दीर्घकालीन रूपमा दिगो र लगानीकर्ताका लागि आकर्षक बनाउनका लागि केही फरक पहल गर्न आवश्यक छ । जसमा अहिलेका अर्थमन्त्रीको पछिल्ला सकारात्मक अभिव्यक्तिलाई समाएर परिवर्तन गर्न सकिन्छ र जुन सम्भव पनि छ । लागत समायोजन सेयर बजारमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने महत्वपूर्ण आधार बन्न सक्छ ।
(लेखक सेयर बजार विश्लेषक हुन् ।)