विमल सुवेदी
आइतवार, भदौ २९, २०७६
1436

थोरै लगानीमा धेरैभन्दा धेरै सेयर खरिद गर्न साना लगानीकर्ताका लागि म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ ।

विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना तथा सञ्चारमा आएको ठूलो परिवर्तनले वैदेशिक रोजगारी अर्थात् आप्रवासनलाई यति सरल बनाएको छ कि अहिले हरेक देशका नागरिक आफ्नो भूगोल छोडेर अवसरका खोजीमा विभिन्न मुलुकमा जाने प्रवृत्ति बढेको छ । वैदेशिक रोजगार अर्थात् आप्रवासन वर्तमान विश्वको महत्वपूर्ण र चुनौतीपूर्ण विषय बनेको अवस्थामा नेपाल पनि वैदेशिक रोजगारीबाट मुक्त हुन सक्ने कुरा भएन । २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको खुला अर्थनीति र नेपालको वैदेशिक रोजगार ऐनमा गरिएको परिवर्तनसँगै विदेशमा जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको पहिन्छ ।
२०५२ सालबाट सुरु भएको राजनीतिमा हिंसाको प्रयोगले अधिकांश नेपाली गाउँबाट सहर र सहरबाट विदेश पलायन भएको तीतो सत्य हामीबीच छ, जसका कारण आज अधिकांश नेपाली युवा खाडी मुलुक तथा कोरियाका सहर–गाउँमा आफ्नो पसिना चुहाइरहनुभएको छ । विदेशमा जानेबित्तिकै पैसाको बुटो फल्ने हैन, त्यहाँ रगत र पसिनासँग पैसा साटिएको हुन्छ भने अर्कातिर विदेश जानेको सबैको भाग्य चम्कँदैन । बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै भनेझंै पसिनाको कमाइलाई सही सदुपयोग नगरी थप आयको क्षेत्रमा लगानी गर्न नसक्दा वैदेशिक रोजगारीको समाप्तिसँगै चालू पुँजीको अभावमा पुन आर्थिक अभावको अवस्थामा फस्नुपर्ने बाध्यता छ ।

जीवनभरिको कमाइ सहरमा घडेरी किनेर घर बनाउँदै सिध्याएपछि सक्रिय जीवन समाप्त हुँदा–नहुँदै घरगाउँ, परिवारबाट एक्लो भएर बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
वर्तमान अवस्थामा लामो समयको राजनीतिक खिचातानीपछि देशमा राजनीतिक स्थायित्व प्राप्त भएको आवास मिलेको छ । देशले आर्थिक समृद्धिको पथमा अगाडि बढ्नका लागि वैदेशिक लगानीका साथै गैरआवासीय नेपालीमार्फत लगानीको अपेक्षा गरेको छ । गैरआवासीय नेपाली संघले देशको आर्थिक विकासमा एकल लगानी तथा संयुक्त लगानीमार्फत लगानी भित्र्याउन अभियानमा एक कदम अगाडि बढिरहेको अहिलेको अवस्था हो, जस्तो देशको बैंकिङ, जलविद्युत्, होटल हस्पिटल र निजी विद्यालयहरूमा लगानी गरिरहेका छन् । यो लगानी विशेषत: विदेशमा राम्रो जागिर, व्यवसाय भएका व्यक्तिहरूबाट भएको छ भन्नुमा दुईमत छैन । खाडीलगायत मलेसिया, कोरिया बस्ने नेपालीहरूको यस्ता लगानीहरूमा खासै पहुँच छैन, किनकि यो क्षेत्रमा रहने अधिकांशको कमाइ थोरै हुनु र थोरै–थोरै बचेको पैसा कस्तो–कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने ज्ञानको अभावका कारण पनि फजुल खर्चमा सकिएको जगजायर छ ।
तसर्थ हामीले बुझ्नुपर्ने के हो भने आजको बचत नै भोलिको सुनौलो भविस्य हो । यही मूल मन्त्रलाई मध्यनजर गरी हामीजस्ता स–सानो आम्दानी हुनेहरूले लगानीका सही क्षेत्रहरू पहिल्याउन सके प्रवासमै बसी–बसी स्वदेशमा थप आय आर्जन गर्न सकिन्छ । सूचना प्रविधि र संचारको क्षेत्रमा आएको परिवर्तनले हामीलाई सुविधा दिएको छ, प्रविधि र मिडियाले दिएको सुविधालाई सदुपयोग गर्दै थोरै थोरै भए पनि लगानी गर्ने वातावरण सिर्जना गर्न हामीमा इच्छाशक्ति हुनुपर्छ ।
देशको आर्थिक विकासका लागि पुँजीबजारको विकास अपरिहार्य भएजस्तै ब्यक्ती गत आर्थिक सुदृढीकरणका लागि बचतलाई लगानीमा परिणत गर्दै स्वरोजगारीमा प्रवेश नगर्ने हो भने हामीले जागिरे जीवनमा मात्र चित्त बुझाउनुपर्छ, जसबाट परम्परा धान्ने मात्रा काम हुन्छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहने हामी नेपाली श्रमिकहरूलाई लेखमार्मत अनुरोध गर्न चाहन्छु, तपाईंहरूको आम्दानीको बचत जति भए पनि अनुपादक क्षेत्रमा लगानी गर्नुभन्दा केही जोखिम बहन गर्दै उत्पादन मुलक क्षेत्र पुँजीबजारमा लगाउनोस् भन्ने अनुरोध गर्छु । वर्तमान अवस्थामा नेपाली धितोपत्र बजार अर्थात् सेयर बजार पनि अनलाइन प्रणालीमा आइसकेको छ । अनलाइन सेवाको माध्यमबाट तपाईं जहाँ भए पनि मोबाइल तथा कम्युटरको प्रयोगमार्मत सेयर खरिद–बिक्री गर्न सकिने व्यवस्था नेपाली पुँजीबजारमा स्थापित भएको छ, जसलाई सी–आस्बा प्रणाली भनिन्छ, नेपाल सरकार वर्तमान अवस्थामा एनआरएनलाई धितोपत्र बजारमा प्रवेशको कार्यसूची अगाडि बढाउन लागिपरिरहेको छ । यसका लागि वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स निश्चित रूपमा दिने अवस्थामा नेपाल सरकार अगाडि बढिरहेको छ । यदि तपाईं नेपाल छुट्टीमा जाँदै हुनुहुन्छ भने तपाईंहरूले आफ्नो नाउँमा बैंक खाता र सेयरको अभौतिकी खाता डिम्याट खाता खोल्नु र आस्बा प्रणालीमा जोडिनका लागि यो छुट्टीलाई सदुपयोग गर्नुहोस् । एक या दुई दिन मात्र समय दिनुभयो भने सबै काम गर्न सक्नुहुनेछ । त्यसपछि प्रवासमा बसेर सहज रूपमा धितोपत्र बजारमा छिरेर खरिद–बिक्री प्रक्रिया गर्दै थप आय आर्जन गर्न सक्नुहुनेछ । धितोपत्र बजार पैसाको कुवा, पोखरी या ताल नभई समुद्र नै हो । तपाईंले आफ्नो विवेक, ज्ञान प्रयोग गरी आफ्नो हिस्सा बढाउँदै जति सक्नुहुन्छ उघाउँदा हुन्छ, तर यसमा विवेकको प्रयोग र धैर्यता आवश्यक छ । सही कम्पनी छान्न विवेक प्रयोग गर्न र धैर्य गर्न सके समुद्रमा तपाईंको हिस्सा बढ्दै जान्छ र त्यो सुस्त गतिमा नभई द्रुत गतिमा र तपाईं नेपाल फर्कदै गर्दा धेरै कम्पनीको सेयर तपाईंको हातमा हुन सक्छ । त्यसलाई परिचालन गर्ने हो भने प्रवासलाई बिट मारेको दिन नै तपाईं बेरोजगारी भएर हैन, स्वरोजगारी भएर फर्कन सक्नुहुनेछ ।
अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्बा प्रणाली भनिन्छ । सेयर बजारमा प्रवेश गर्नेले धितोपत्र बजारका मुख्यतया निम्न आयामबारे सामान्य जानकारी राख्नु सक्नुपर्छ ।
१. सेयर : साधारणतया कुनै पनि पब्लिक कम्पनीले जारी गरेको हुन्छ । बैंक तथा वित्तीय क्षेत्र उत्पादनमूलक कम्पनीले यसलाई जारी गर्छन् । बजारमा सेयर कारोबार मुख्य तया तीन प्रकारले खरिद गर्न सकिन्छ ।
(क) साधारण सेयर आईपीओ भरेर : पब्लिक कम्पनीले साधारण सेयर जारी गरेको बेलामा सी आस्बा प्रणालीबाट खरिद गर्न सकिन्छ । यसको मूल्य रु. १ सय हुन्छ र मिनिमम माग गर्दा १० वा १० ले भाग जाने संख्यामा माग गर्नुपर्छ । तपाईंले जति अनलाइनबाट माग गर्नुहुन्छ त्यति संख्यालाई १ सयले गुना गर्दा हुने रकम तपाईंको खातामा ब्लक हुन्छ । पछि रिजेल्ट आउँदा तपाईंलाई जति पर्छ त्यति नै रकम तपाईंको खाताबाट झिकिन्छ भने तपाईंका डिम्याट खातामा त्यो कम्पनीको सेयर रजिस्टर हुन्छ । सेयर बजारमा प्रवेश गर्दा सहज तरिका साधारण सेयर खरिद गर्नु हो, तर यो सेयर तपाईंले मागेजति पर्छ भन्ने छैन, पर्न पनि सक्छ, नपर्न पनि सक्छ तर धितोपत्र बोर्डले मागकर्तालाई कम्तीमा १० कित्ता पर्ने गरी नियम बनाएको छ । यदि जारी र मागको अनुपात मिलेमा जारी सेयरभन्दा मागकर्ता बढी भएको अवस्थामा नपर्न पनि सक्छ ।
(ख) प्रिमियम मूल्यसहितको एपीओ : कुनै कुनै कम्पनीले संस्थापक रूपमा रहेको सेयर साधारणमा परिणत गर्नुप¥यो भने साधारण सेयरको मूल्यमा प्रिमियम थपेर पनि बेच्छन्, यो सेयरको मूल्य बडी हुन्छ, तर राम्रा कम्पनी छन् भने माग गर्दा भविष्यमा राम्रो आम्दानी गर्न सकिन्छ ।
(ग) दोस्रो बजारबाट खरिद गरेर : खुला बजारबाट अर्थात् नेप्सेको अनलाइनबाट तपाईंले कुनै पनि कम्पनीको सेयर किन्न सक्नुहुन्छ । यसका लागि अहिलेसम्म व्यवस्था भएअनुसार सेयर दलाल, जसलाई ब्रोकर भनिन्छ, त्यहाँ तपाईंको कारोबारी खाता दर्ता हुनुपर्छ, साथै तपाईंको बैंक खाता र डिम्याट खाताको लिंक हुनुपर्छ र तपाईंमा अनलाइन ट्रेडिङको लिङ जोडिएपछि तपाईंले खरिद बिक्री यही बसी–बसी गर्न सक्नुहुन्छ, खरिदको पैसा तपाईंको बैंक खाताबाट घट्छ भने बिक्रीको आय बैंक खातामा जोडिन्छ । यसको राम्रो पक्ष के छ भने तपाईंले बिहान किनेको सेयर केही छिनमा बढ्यो भने बेचेर नाफा बुक गर्न पनि सक्नुहुनेछ ।
२. डिबेन्चर : विशेषत यो वाणिज्य बैंकहरूले बेच्ने गर्छन्, कम रिक्स लिने र बचत गर्न चाहनेले सी आस्बा प्रणालीमार्मत बैंकहरूले जारी गरेको डिबेन्चर खरिद गर्न सकिन्छ । डिबेन्चरमा निश्चित ब्याज बैंकले दिनेछ । यो पाँच–सात वर्षे निचित अवधिको हुनेछ र बजारको घढबढले डिबेन्चरमा गरेको लगानीले कुनै असर पर्दैन, पछि आफूलाई पैसा चाहिएमा यसलाई धितो राखेर पनि पैसा निकाल्न सकिन्छ । तर, खरिद गर्दा मिनिमम २५ नम्बर खरिद गनुपर्छ र यसको प्रतिएकाइ मूल्य १ हजारका दरले कम्तीमा पनि २५ हजारको लगानी तपाईंले गर्न सक्नुपर्ने हुन्छ । साधारणतया यस्ता डिबेन्चरहरूको आम्दानी बैंकले मुद्दती बा बचतमा दिने ब्याजभन्दा बडी हुन्छ भने डिबेन्चरबाट प्राप्त आम्दानी थप कर लाग्दैन ।
३. म्युचुअल फन्ड : साना तथा नयाँ लगानीकर्ताका लागि पनि म्युचुअल फन्डमा लगानी महत्वपूर्ण मानिन्छ । लगानी गर्न चाहने तर पर्याप्त ज्ञानको अभाव भएकाहरूले पनि म्युचुअल फन्डलाई नै रोज्ने गरेका छन् । यता, म्युचुअल फन्डहरूले समग्र बजारलाई स्थायित्व दिने अपेक्षा पनि गरिएको हुन्छ । तर, नेपाली पुँजीबजारमा अहिलेसम्म यस्ता फन्डहरूको प्रभाव न्यून देखिएको छ, तथापि बैंकहरूले पछिल्लो समयमा निकै प्रश्रय दिएका छन् । सानोभन्दा सानो लगानीलाई समेटेर धेरैभन्दा धेरै प्रतिफल दिने उद्देश्यले म्युचुअल फन्डको व्यवस्था गरिएको हो, जसका साधारण सेयर जारी गर्दाको मूल्य प्रतिएकाइ रु. १० हुन्छ र बजारको स्तरअनुसार यसको मूल्य तलमाथि भइरहनेछ । थोरै लगानीमा धेरैभन्दा धेरै सेयर खरिद गर्न साना लगानीकर्ताका लागि म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ ।
अन्त्यमा सेयर मार्केटको लगानी जोखिमयुक्त हुँदैन भन्न सकिँदैन । साँच्चै भन्नैपर्दा यो लज्जावती झारजस्तै हो । अलिकति विवेक प्रयोग गर्नुभयो भने यसबाट धेरै लाभ लिन सक्नुहुन्छ । यदि सक्नुभएन लगानी बराबरको जोखिम बहन गर्नुपर्छ, तर एउटैमा लगानी नगरी फरक–फरकमा गरिएको छ भने सहज रूपमा नाफा बुकिङ पनि गर्न सक्नुहुनेछ । यसका लागि समाचार पढ्ने धितोपत्र बोर्डले सञ्चालन गरेको रेडियो कार्यक्रम सुन्ने समय मिलेमा नेपाल गएको बेलामा धितोपत्र बोर्डले सञ्चालन गरेको तालिमहरू लिँदा अझ राम्रो हुन्छ । समयमा ध्यान दिएर तालिमहरू लिनुभयो भने एक वा दुई दिनको तालिमको अनुभवले पनि सेयर बजारलाई तपाईंले जीवनभरि पेसाका रूपमा अपनाउन सक्नुहुनेछ, खाली हात बस्नुपर्ने छैन । त्यो भन्दा आफ्नो दैनिकी गुजार गर्न सन्तान–दरसन्तानको मुख ताक्नुपर्ने छैन । मेरो विशेष अनुरोध— आफ्नो ससानो आम्दानीलाई सदुपयोग गरौं, फजुल खर्च नगरौं ।
(लेखक कतारका एनआरएनए आईसीसी सदस्य हुन् ।)