समीर रेग्मी
मंगलबार, भदौ २४, २०७६
1265

एक वर्षअगाडिदेखि अमेरिका र चीन व्यापारयुद्धमा होमिएका छन्, तर यसले अमेरिका होस् वा चीन कसैलाई पनि फाइदा पुगेको छैन । पहिलेदेखि नै ओरालो लाग्न थालेको चिनियाँ अर्थतन्त्रमा थप गिरावट आएको छ । चाइना इन्टरनेसनल क्यापिटल कर्पको आँकडाअनुसार २०१८ को जुलाईदेखि २०१९ को मेसम्मको अवधिमा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा १९ लाख रोजगारी गुमेको देखिएको छ ।
ट्रम्प प्रशासनले चीनको यो दुर्गतिको श्रेय आफुले लिन सक्छन् । यो उनकै कारण भएको पनि हो । तर, व्यापारयुद्धले अमेरिकाको हालत पनि ठीकठाक अवस्थामा रहेको छैन । किनकि ह्वाइट हाउसले पनि मन्दीसँग जुझ्नका लागि उपायको तयारी सुरु गर्नुपरेको छ ।

यो समय भनेको अमेरिकाले पटक–पटक चिनियाँ उत्पादनमा अमेरिकामा आयात शुल्क बढाउँदै लगेको छ । तर पनि चीनमा रोजगारी घट्नुलाई अमेरिकाले आयात शुल्क लगाएकै कारण हो भन्न मुस्किल परेको छ । चीनमा रोजगारी कटौती हुनु व्यापारयुद्ध हो वा अन्य केही कारण पनि छ ? यसको खोजी गर्ने बेला आएको छ ।
अमेरिकी थिंक ट्यांक पिटरसन इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्सका अनुसार चीनको रोजगारीमा कटौती त आएको छ, तर यो गिरावट व्यापारयुद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै आउन थालिसकेको थियो । यसको कारणमा चीन सेवा आधारित अर्थव्यवस्थातर्फ बढ्नाले हो । यसैले परिवर्तनको यो प्रक्रिया पहिलेदेखि नै सुरु भइसकेको थियो, तर पनि चीनको रोजगारीको अवस्था अत्यन्त खराब भएको विषय साँचो हो ।
सार्वजनिक ऋण प्रणालीमा शंकाको बादल : चीन सरकारले विकास गरेको सामाजिक ऋण प्रणालीको सफलतामा पनि शंकाको बादल मडारिन थालेको छ । २०२० सम्म लागू हुने यो प्रणाली अधिकारीका लागि उपयुक्त वा अनुपयुक्त व्यवहार परिभाषित गर्ने क्षमता बनाउन सक्ने आलोचकहरूले बताएका छन् । यसको लागू हुनाले नागरिकलाई उनीहरूको जीवनको अभूतपूर्व नियन्त्रणको अनुमति पनि मिल्छ । यसैले यसको प्रभावकारी ढंगबाट लागु हुने विषयमा शंका छ ।
अमेरिकामा महँगी बढ्ने, अर्थतन्त्र पनि संकटमा : ट्रम्प प्रशासनले चीनबाट आयात हुने ११२ अर्ब डलरको सामग्रीमा १५ प्रतिशतको शुल्क लगाउनाले अमेरिकामा कपडा, जुत्ता, खेलकुदका सामग्री तथा अन्य केही उपभोक्ता सामग्री महँगो हुन जान्छ । यो शुल्क वृद्धिपछि अमेरिकामा चीनबाट आयात हुने लगभग दुईतिहाइ उपभोक्ता सामग्री अब महँगो हुन जान्छ । योभन्दा पहिले चिनियाँ वस्तुमा आयात शुल्क बढाउने समयमा उपभोक्ता सामग्रीलाई छुट दिइएको थियो ।
यो वृद्धिपछि अमेरिकामा खुद्रा सामानको मूल्य बढ्नाले अमृरिकी अर्थतन्त्रमा झट्का लाग्ने खतरा पनि त्यत्तिकै छ । कैयौं अमेरिकी कम्पनीले सरकारलाई यो विषयमा सचेत गराइसकेका छन् । उनीहरूले बढेको लागत ग्राहकबाटै असुल्न आफुहरू बाध्य हुने बताइसकेका छन् । यसले उपभोक्ताले चीनबाट आयात गरिएको सामग्री महँगोमा किन्नुपर्ने बाध्यता आउन सक्छ । शुल्क वृद्धिसँगै चीनबाट आयातीत कपडामा ८७ प्रतिशत र जुत्तामा ५२ प्रतिशत पुगेको छ ।
व्यापारयुद्धले म्यानुफ्याक्चरिङको मागमा गिरावट : अमेरिकासँग चलेको व्यापारयुद्धका बीच चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा माग घटेको छ । दुई सर्भेमा यो तथ्य खुलासा भएको हो । आर्थिक पत्रिका काइजिनका अनुसार नयाँ अर्डरको आदेश यो वर्ष सबैभन्दा तल्लो स्तरम पुगेको छ । औद्योगिक समूले शनिबार जारी गरेको सर्भेमा पनि मागमा गिरावट आएको उल्लेख छ ।
अमेरिकामा शुल्कमा भएको वृद्धिपछि चिनियाँ निर्यातले पनि अप्ठेरोको सामना गरिरहेको छ । चीनका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो । अमेरिकामा हुने निर्यात यो वर्षको जुलाईमा ६.५ प्रतिशतमा झरेको छ ।