सागर परियार
मंगलबार, भदौ २४, २०७६
310

जुम्लाका साढे १६ हजार घरधुरी स्याउमा आत्मनिर्भर छन् भने झन्डै ३ हजार हेक्टर क्षेत्रफल जमिनमा स्याउखेती भइरहेको छ ।

कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीतिअनुरूप जुम्लाका किसानहरू व्यावसायिक कृषिमा जुटेका छन् । जुम्ला ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनका रूपमा अथाह सम्भावना बोकेको जिल्ला हो, तथापि नेपालकै पहिलो अर्गानिक जुम्लाका कृषि सम्भावनालाई पर्यटनसँग जोड्नका लागि जुम्लाका किसान तथा सरोकारवाला जुटेका छन् ।
एग्रो टुरिजमका रूपमा विकास गर्न जुम्लाका विभिन्न ठाउँमा व्यावसायिक कृषि गरिएको छ । तिला–७ का प्रेम बस्नेत, तिला–३ का कर्णबहादुर हमाल, तिला–३ कै कर्णबहादुर राउत र तातोपानी–१ का परान धरालाले व्यावसायिक तरकारी, नर्सरी, स्याउ, च्याउ तथा केसर खेती गरेका छन् भने पातारासी गाउँपालिका–२ की पुतली बोहोराले विगत एक वर्षदेखि व्यावसायिक रूपमा रैथाने बाली कोदा र कागुनो खेती गरेकी छन् । साथै, चैतु बोहोराले पनि झन्डै १० रोपनी जग्गामा सिमी फलाउँदै आएकी छन् भने तल्फीकै फुर्के सल्ला सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती भइरहेको छ । यी सबै कृषि खेतीबाट एकातर्फ रैथाने अन्न जोगाई आयआर्जन हुनेछ र अर्कातर्फ यसले एग्रो टुरिजमको सम्भावनालाई देखाएको छ ।
तर प्रचार–प्रसारको अभावमा अर्गानिक कृषि व्यवसायलाई पर्यटनसँग जोड्न नसकिएको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । करोडौंको स्याउ, सिमी, आलु, कोदोे, फापर जडीबुटी निर्यात भए पनि उनले कहिल्यै एग्रो टुरिजमसँग जोडेर थप आम्दानी गर्ने सोच र योजना बनाउन नसकेको उल्लेख गरे । आठवटै स्थानीय तह मिलेर एग्रो टुरिजमको गुरुयोजना निर्माण गरी अघि बढ्ने उनको भनाइ छ ।
सिंजा, पाँचसय र चौधबीस गरी तिन भेगमा विभाजित जुम्लामा कृषि अन्नबाली उत्पादन पनि भेगअनुसारकै फरक हुन्छ । यतिबेला पूर्वको पातारासीमा कोदो, मकै, कागुनो, मार्सी धान र सिमीले खेतहरू भरिएका छन् । घुम्न जानेहरू फोटो नखिचाई फर्कंदैनन् । त्यस्तै, पश्चिम तिला तातोपानीमा भने स्याउ, सिमी, फापर उत्पादन हुन्छ । यो जुम्लाको व्यापारिक सिजन पनि हो ।
तर, यही बेला कृषि खेती प्रणालीलाई मात्र देखाउन आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान केन्द्रित गर्न सकेको खण्डमा आम्दानी मनग्य हुने डोटी जिल्ला सिलगुडी नगरपालिकाकी मेयर मन्जु मरासिनीले बताइन् । साउन–भदौमा युरोप जानुभन्दा जुम्ला घुम्न आउँदा अर्गानिक आनन्द प्राप्त हुने उनले उल्लेख गरिन् ।
फेकोफनको केन्द्रीय बैठकमा जुम्ला पुगेकी उनले मात्र होइन, ७७ वटै जिल्लाका प्रतिनिधिहरूले जुुम्ला एग्रो टुरिजमको हब भएको बताए । यो सिजनमा आइसकेपछि फर्किन पनि मन नलाग्ने रहेछ । फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले भनिन्, यहाँको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष–२०२० लाई सफल पार्न जुम्लामा बैठक बसेका हौं । साँच्चिकै काठमाडौँ बसेर कल्पना गरेको जुम्ला र यथार्थ जुम्लामा आकाश–पातलको फरक पाएको समेत उनले उल्लेख गरिन् । उनले एग्रो टुरिजममा लगानी गर्न आठै स्थानीय तहका प्रमुखलाई सुझाव पनि दिइन् ।

स्याउ पकेट क्षेत्र तातोपानी
जुम्लाको अर्गानिक स्याउ सबैलाई मन पर्छ । अर्गानिक स्याउ भन्नेबित्तिकै सबैको मुखमा -याल आउँछ । प्रमुख नगदेबालीका रूपमा रहेको यो स्याउ खेतीलाई एग्रो टुरिजमसँग जोड्न सकेको खण्डमा यहाँका किसानको जीवनस्तर उठ्दै जाने कृषि अर्थविद् बालकराम देवकोटाले बताए । जुम्लाका साढे १६ हजार घरधुरी स्याउमा आत्मनिर्भर छन् भने जुम्लाको झन्डै ३ हजार हेक्टर क्षेत्रफल जमिनमा स्याउखेती भइरहेको छ ।
साउन–भदौमा राताम्मे हुने स्याउ बगैंचाको दृश्यले व्यापारीसँगै पर्यटकहरूको पनि मन झट्टै तान्छ । तर, कृषि र पर्यटनको कुुरा बुझ्न नसक्दा जुम्लाका किसानले दोहोरो लाभ लिन सकेका छैनन् । यो वर्ष जुम्लामा झन्डै ६ हजार क्विन्टल स्याउ उत्पादन भएको छ भने १६ करोडभन्दा बढीको आम्दानी हुने अनुमान छ । तर, दोहोरा लाभ अर्थात् एग्रो टुरिजमसँग जोड्नका लागि स्याउ पकेट क्षेत्र निर्धारण गरिएका तातोपानी, गुठीचौर, हिमालगातका पालिकाहरूले नमुना बगैंचा निर्माणमा जोड दिन आवश्यक रहेको कृषि अर्थविद् देवकोटाले बताए । यतिबेला स्याउ खरिद गर्नेहरूदेखि रारा हुँदै जुम्ला आउने आन्तरिक बाह्य पर्यटकहरू धेरै छन् ।

तिलामा व्यावसायिक फापर खेती
व्यावसायिक कृषि उत्पादन र तिनै कृषिउपजबाट पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ तिला गाउँपालिकाका प्रेम बस्नेत, नर शाही, काइँलो राउतलगायत चार जनाको युवा समूहले व्यावसायिक रूपमा फापर खेती गरेका छन् । करिब ५ हजार हेक्टर जमिनमा उनीहरूले फापर लगाएका छन् । गाउँपालिकाको कृषि व्यावसायिक योजनामा नमुना योजना गरेपछि उनले १० लाखभन्दा बढी निब्र्याजी ऋण लिएका थिए । साथै सिमीखेती पनि उत्तिकै गरेका छन् । विगत दुई वर्षदेखि गरिएको फापर, सिमी र केसर खेतीले उनीहरूको दैनिकी बदलिएको छ । फापरको मागअनुसार पु-याउन नसकिएको प्रेम बस्नेतले बताए । सीधै जुम्लाबाट काठमाडौँ पठाउँछौं । यसको व्यावसायिक खेती बढाएर अन्यलाई रोजगारीसँगै पर्यटनका हिसाबले घुम्न लायक क्षेत्र बनाएको उनले दाबी गरे । कृषिमा आधारित पर्यटन ‘एग्रो टुरिजम’ व्यवसाय गर्न तथा सयौं युवालाई रोजगारी दिनका लागि झन्डै ५ हजार रोपनी जग्गामा व्यावसायिक खेती, माछापालन, स्याउ, सिमी, फापर लगाउने योजना तातोपानी–३ का अध्यक्ष डिल्ली रावलले सार्वजनिक गरेका छन् ।

व्यावसायिक तरकारी खेती
तिला–३ का कर्ण हमाल, दीपेन्द्र हमाललगायत चार जना युवाले विगत ४ वर्षदेखि ३० रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेतीको तयारी गरिएका छन् । उनी पश्चिमको नाग्मदेखि पूर्वको खलंगासम्म तरकारी पुु-याउँछन् । मासिक १ लाखभन्दा बढीको आम्दानी पनि गर्छन् । तर, एउटै समस्या भनेको पूर्वाधार निर्माणको अभावले गर्दा व्यावसायिक तरकारी खेती फस्टाउन सकेको छैन, तर चारै जनाको घरपरिवारदेखि छोराछोरीको पढाइ तरकारी व्यवसायबाटै भएको छ । बाहिरबाट आउने ‘पर्यटक पाहुना’ दैनिक रूपमा आउँछन् । अर्गानिक तरकारी लिएर जान्छन् ।

पातारासीबाटै एग्रो टुरिजम
पातारासी गाउँपालिकाका कृषि व्यवसायीहरूले एग्रो टुरिजमको योजनालाई सफल बनाउन उत्पादनदेखि खेती गर्न थालेका छन् । विभिन्न व्यवसायमा आबद्ध व्यवसायीले करोडौंको लगानीमा ग्रामीण भेगमा एग्रो टुरिजमको काम थालेका हुन् । जडीबुटी व्यवसायी, स्याउ किसान, आलु, मकैलगायतको खेती गरी व्यापार गर्ने स्थानीयले पातारासीलाई जुम्लाकै पहिलो एग्रो टुरिजमको क्षेत्र बनाउने समेत दाबी गरेका छन् ।
स्थानीय मानबहादुर विकले भने, कर्णालीकै पहिलो जडीबुीट प्रशोधन उद्योग स्थापना गरेका छौं । यहाँ वार्षिक ५० क्विन्टलभन्दा बढी मकै उत्पादन गर्ने स्थानीय छन् । घरघरमा कागुनोदेखि कोदो खेतीलाई व्यावसायिक खेतीका रूपमा विकास गरिएको छ । आफूले खानुका साथै बिक्रीसमेत गर्छन् । विश्वकै उच्च स्थानमा धान फल्ने स्थान छुमचौर ज्युलोे भएकाले पनि यहाँ दैनिक सयौँको संख्यामा पर्यटकहरू आउँछन् ।
करोडांैको लगानीमा मध्यपश्चिमकै ठूलो हाईअल्टिच्युट सेन्टर निर्माण हुँदैछ । यसले गर्दा पनि यहाँक सयौँको संख्यामा बाहिरबाट खेलाडी अभ्यास गर्न आउँछन्, जसका कारण यहाँको कृषि उत्पादनले पनि बजार पाउने आशा गरिएको छ । जुम्लाका आठै स्थानीय तहका प्रमुखहरूले एग्रो टुरिजमका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि कृषि उत्पादनमा जोड दिन बृहत् छलफल गरिने जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले बताए ।
उनले जुम्लाको कृषि उत्पादनलाई पर्यटनसँग नजोडेसम्म आर्थिक समृद्धि पनि सम्भव नरहेको उल्लेख गरे । पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले एग्रो टुरिजमका लागि पूर्वाधार निर्माणमा जोड दिइने बताए ।