प्रकाश शर्मा 
सोमवार, भदौ २३, २०७६
542

भौगोलिक विषमताका हिसाबले हेर्दा वायुसेवा वास्तवमै भरपर्दो सेवा बन्नुपर्ने अवश्य हो, यद्यपि यो हुन सकिरहेको छैन ।

जम्मा ५५ वटा एयर स्ट्रिप छन्, जसमध्ये ३३ वटा मात्रै सञ्चालनमा छन् । यीमध्ये प्रायः दुर्गमका एयरपोर्टहरू सञ्चालनमा आएका छैनन् । कुनै समय टिकट पाउन हम्मे–हम्मे हुने कतिपय विमानस्थल एक्कासि निकम्मा भए भने कतिपय निर्माण भएर चौरमा मात्रै सीमित भए । यो विडम्बनापूर्ण अवस्था आउनुका कारण धेरै होलान्, तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ । दुर्गममा सेवाको दौरान हासिल गरेका यात्रु तथा सज्जनवृन्दहरूको भनाइलाई आधार मानेर केही समस्या केलाउने प्रयास गरिएको छ । हाम्रो जस्तो मुलुक जहाँ भौगोलिक विषमताका हिसाबले हेर्दा वायुसेवा वास्तवमै भरपर्दो सेवा बन्नुपर्ने अवश्य हो, यद्यपि यो हुन सकिरहेको छैन ।
दुर्गम एयरपोर्टमा जाने प्रायः कम्पनीहरूको एउटै कथन हुन्छ, यात्रु पाइँदैनन् । नियमित तथा भरपर्दो सवारीका रूपमा सेवा दिन नसकेकाले यो समस्या आएको भन्ने कुरा सायद उनीहरूको आकलनभन्दा बाहिर छ । वायुसेवा वास्तवमै यहाँको संस्कृति बन्नुपर्ने हो । पुराना गाथाहरू सुन्दा वायुसेवाको अकिञ्चन सेवाहरूको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यो अवस्थाको वायु सेवामा एक्कासि कमी आउनु भनेको व्यावसायिकताको कमी वा परिस्थिति अनुकूल सेवाको प्रवाह भएन कि भन्ने सोच्न हिचकिचाउनु पर्दैन । सो अभावमा वायुसेवाका नियमित ग्राहक सडक यातायातका अन्धग्राहक भए ।

संख्यात्मक हिसाबले धेरै रहेका वा हुने क्रममा रहेका नेपालका एयरपोर्टहरू सबै चल्न सक्षम छन् वा छैनन् भन्ने कुरा बहसको विषय बन्न सक्ला । भौतिक संरचना मात्रै नहेरे पनि त्यो क्षेत्रको आवश्यकता, त्यो क्षेत्रको क्रयशक्तिे त्यहाँको एयरपोर्ट चलाउने हो कि हैन, त्यहाँका जनता एफोर्ड गर्न सक्षम छन् कि छैनन् भन्ने मूल्यांकन वा त्यो एयरपोर्टको व्यावसायिक योजनाभित्र के कुरा समेटिन्छ भन्ने कुरा निर्माणपूर्व नै अध्ययन गरिनुपर्ने हो, यद्यपि यो हुन सकेको अवस्था छैन, जसका कारणले लगानीअनुरूप वा सोचेअनुरूप हामी चल्न नसकेको यथार्थ हामीसामु छ । राजनीतिक नेतृत्व आफ्नो भोट हेरेर निर्णयमा दबाब दिन्छ, यो उनीहरूको धर्म नै हो, सकेसम्म त्यहाँका जनतालाई सबै सुविधाले भरिपूर्ण गराऊ, तर प्राविधिकलगायत त्यहाँको सम्भाव्यता अध्ययन गर्न खटाइने विज्ञहरूले राजनीतिक निर्णयलाई सदर गर्ने गरी कागज तयार पार्छन्, यतिसम्म कि सम्भावित लगानी जोखिमको भारी, तिनीहरूले आफ्नो राय पेस गर्दैनन् । बन्न सक्ने वा नसक्ने विषय मात्रै प्राथमिकतामा पर्ने तर यसको लगानी सुरक्षणलाई नजरअन्दाज गर्दै गर्दा यी एयरपोर्ट चल्नै नसक्ने अवस्थामा पुगेका हुन्छन् । हामीले हरेक निर्णय गर्दै गयौं, तर आफ्नो लगानी सुरक्षणको समीक्षा कहिल्यै गरेनौं । अन्ततः योग्य जमिन अधिकरण गरेर एयरपोर्टको फेन्सिङ बन्यो, तारबार भयो, तर मुख्य चिज जहाज आएन । न रह्यो बाँस न बज्यो बाँसुरी चरितार्थ भइरह्यो ।
विमानस्थलहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्नुपर्छ । सुविधाका हिसाबले हाम्रो अवस्था कस्तो छ ? एयरपोर्ट सञ्चालन भएको अवस्थामा पनि यात्रु तथा सज्जनवृन्दहरूले पाउनुपर्ने सेवाको स्तर अहिले पनि कहालीलाग्दो छ । बिरामी, अशक्तलगायत फरक क्षमताका मानिसहरूका लागि ती उपयुक्त छन्–छैनन् ? भूगोलले साथ नदिँदा ती भएनन् कि हाम्रो योजना निर्माणमै त्रुटि छ ? यो समीक्षा गर्न अब ढिला भइसकेको छ । कनिकाजसरी छरिने बजेटहरूले खास चाहेर पनि अन्तरिक विमानस्थलहरूले उल्लेख्य परिवर्तन गर्न सक्ने अवस्था नरहेको जनाकारहरू बताउँछन् । नयाँ–नयाँ मेगा तथा साना प्रोजेक्टहरूमा लगानी बढाए पनि चालू भइरहेका तथा हुनुपर्ने विमानस्थलको सेवामा स्थर वृद्धिको अवस्था अत्यन्तै जीर्ण छ । यो क्षेत्रप्रति आकर्षण बढाउनपर्ने बेलामा हाम्रो ध्यान कता छ ? ट्वाइलेट सरसफाइजस्ता न्यूनतम आवश्यकतामा बहसमा रुमल्लिँदै गर्दाको हाम्रो अवस्था छर्लंग हुन्छ नै, तर हाम्रो स्तरवृद्धिप्रतिको हाम्रो लगानी कस्तो छ ? यो सोचनीय विषय हो । राजनीतिका अनुपयोगी एजेन्डामार्फत नयाँ–नयाँ बारीका पाटाहरूमा डोजर चलाउन हामी हरेक प्रयत्न गर्न तयार हुँदै गर्दा ती लगानी गरेका क्षेत्रको उत्पादकत्व वा यो लगानीले दिने प्रतिफलको त परकै कुरा, खनिसकिएका तिनै बारीका पाटाहरूको अवस्था कस्तो छ ? यो समीक्षा नहुनु दुर्भाग्यपूर्ण छ ।
पर्यटनलाई विकास र समृद्धिको आधार भन्ने एजेन्डा हरेक नेतृत्वको प्रमुखतामा पर्छ । नयाँ–नयाँ गन्तव्य पहिचान गरी पर्यटकीय क्षेत्र विस्तार तथा पर्यटन प्रवद्र्धन गर्ने योजना सुनिन्छ । तारा यिनैका लागि उपयोगी हुने दुर्गम तथा सुगमका विमानस्थलमा पर्यटकमैत्री व्यवहार भन्ने पट्टक्कै देखिँदैन । अरू त अरू, एयर फेयर (हवाई भाडा) मा धरि भेदभाव कायम छ । समान सुविधाका लागि समान चार्ज गर्नुपर्नेमा पर्यटकलाई धेरै तिर्न बाध्य पारिन्छ । दूरी वा सेवाप्रवाहको ख्यालै नगरी डलर वा आम्दानीको हिसाब गरिन्छ । यसले यो क्षेत्रको व्यावसायिकतामा गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो । यो न नियमन हुन सकेको छ, न गम्भीर बहस नै ! दुगर्मतर्फको पर्यटनको सवालमा होस् या एयरपोर्ट सञ्चालनको सवालमा, यो निर्णयको खास अर्थ हुन्छ ।
काठमाडांै वा पोखराजस्ता हबहरूबाट दुर्गममा धेरै पटक यात्रा गर्दाको अनुभव गर्दा दुर्गम स्टेसनमा त्यहाँ कार्यरत एयरलाइन्स कर्मचारीको व्यवहार, उनीहरूले आफ्नो क्लाइन्ट्सलाई गर्ने बोल्ने शब्दको यो क्षेत्रको भविष्य कस्तो छ भन्ने जनाउँछ । हस्पिटालिटीलाई प्राथमिकतामा नराख्दा यो क्षेत्रप्रति व्याप्त नराम्रा मानसिकताहरूले झन् प्रश्रय पाउने सम्भावना रहन्छ नै । शिष्टता र मर्यादित व्यवहारपछाडिको असर अनन्तसम्म कायम रहन्छ । सही सूचना सही समयमा प्रवाह वा सेवामा प्राथमिकताअनुसार सेवा प्रदान मात्रैलाई ध्यान दिन सकियो भने पनि वायुसेवा बिजनेसको भविष्य उज्ज्वल हुन्छ, यद्यपि हामीकहाँ यो अभाव छ । एयरपोर्टहरू नचल्नुको प्रमुख कारण यो होइन भन्न सकिन्न ।
एयरलाइन्सतर्फबाट सही समयमा उडान गर्न नसक्ने परिपाटीले गर्दा यो क्षेत्र अस्तव्यस्त देखिन्छ । बिहान ७ बजेको उडान भर्नुपर्ने जहाज दिउँसो ३ बजेसम्म नउड्दा पनि विमान कम्पनीहरू पानीसम्म लिएर पुग्दैनन्, प्यासेन्जरको अरू अवस्थाको कुरा नगरौं । एयर ट्राफिक होल्ड वा मौसमलाई दोष दिँदै पन्छिने प्रवृत्तिले उनीहरूको व्यावसायिकतामा स्वाभावतः प्रश्न उठाउँछ । पूर्वानुमान गर्ने नसके पनि सम्भावित अवस्थाबारे एयरलाइन्स कम्पनी जानकार नहुने भने पक्कै होइनन्, तर सो अवस्थामा उनीहरूको आवश्यक रणनीति के त ? जीवा लामिछानेले आफ्नो पुस्तक ‘सरसर्ती संसार’ मा लेखेका छन्, “उडान ढिला भयो भनेर कम्प्लेन फाइल गरियो, घर पुग्दा हामीले लेखेकै ठेगानामा ‘सरी’सहित केही रकम पुगेको थियो ।”
हामी कहाँ यस्तो नियम वा चरित्र कहिले देखा पर्ला ? जवाफदेहिता हरेक बिजनेसको प्रमुख अंग हो, हामी यो मानेमा चुकेका छौं । वायुसेवा कम्पनीहरू यो कुरामा जानकार छैनन् भन्न मिल्दैन, तर जानकार हुँदाहुँदै पनि यो क्षेत्रको पछौटेपनले हामीलाई यो स्थितिमा पु-याइरहेको छ ! एयरपोर्टहरूप्रतिको विश्वसनीयतामा बारम्बार प्रश्न आउँछ । हामी सुनेर पनि सुन्दैनौं ,देखेर पनि देख्दैनौं । यसले सर्वसाधारणको एयरपोर्टप्रति नकारात्मक दृष्टिकोण पैदा हुन गयो कि ?
अन्त्यमा रेमिट्यान्सले भए पनि हाम्रो सोखहरू बढ्दै छन् । प्रतिव्यक्ति आयमा आएको सकारात्मक वृद्धिले गर्दा हामी हल्का महँगो भए पनि छिटो–छरितो माध्यमबाटै चढ्ने अवस्था सिर्जना हुँदैछ । दुर्गम–सुगम जता भए पनि हरेक एयरपोर्ट चल्ने अवस्था सिर्जना हुनका लागि यहाँभन्दा उपयुक्त वातावरण नबन्न सक्छ, त्यसैले जनचाहनाअनुरूप परिष्कृत सेवा दिएर बेलैमा सेवाको विशिष्टता कायम गर्न ढिला भएको छैन, जसले गर्दा दुर्गममा हरेक विमानस्थलमा जहाज जाऊन् र जनताको सेवा गरून् ।