भगवान खनाल
आइतवार, भदौ २२, २०७६
2615

आज निजामती दिवस । अपराह्न ४ बजे सिंहदरबारभित्र विविध कार्यक्रम पनि गरिँदैछ । हरेक वर्षका निजामती दिवसका नारा भने त्यसले प्रवाह गरेको सेवाले कुरीकुरी बनाइरहेको प्रतीत हुन्छ ।
संसारभर सार्वजनिक प्रशासन त्यहाँका जनताको सेवाप्रवाहको कार्यका लागि बनेको सार्वजनिक निकाय हो । यसलाई देशको सार्वजनिक प्रशासन हाँक्ने एक मियो मानिन्छ । स्थायी सरकारको मान्यता राख्ने यस मियोमा बाँधिन आउने व्यक्ति साँच्चै राष्ट्रसेवाको भावनाले ओतप्रोत भएर आएको हुन्छ ? उसमा राष्ट्रसेवकको दायित्वबोध कहिले हुन्छ ? काम गर्दै जाँदा राष्ट्रसेवकको असली भावना जागृत हुने हो ? वा सेवा प्रवेश गर्नुभन्दा अध्ययन गर्दा नै वा जागिरे बन्नुभन्दा अघिका प्रक्रियामा अन्तर्मनबाट राष्ट्रसेवक बन्छु भन्ने उत्प्रेरणा जागृत हुने हो ? यसलाई तीन चरणमा बाँडेर व्याख्या गर्नु श्रेयस्कर हुन्छ । पहिलो चरणमा भर्ती हुनुभन्दा अघि पूर्वसेवाकालीन (प्रि–सर्भिस मोटिभ) जागृतिको चरण, भर्तीपछि जागिर सुरु गर्नुभन्दा अघि (बिफोर जब–ज्वाइनिङ) जागृतिको चरण र बहालअवधिको सेवाकालीन (इन–सर्भिस) जागृतिको चरण ।

पहिलो चरणअन्तर्गतको पूर्वसेवाकालीन जागृति राष्ट्र सेवकको भावना वा उत्प्रेरणामा मानिसले कसैको अनुकरण गर्न सक्छ । मानिसलाई जीवनमा सफलता प्राप्त गर्न कसैको अनुकरण आवश्यक पर्छ । किनकि अनुकरण र पुनर्बल सकारात्मक कार्य गर्नका लागि अत्यावश्यक छ । त्यसैले काम, जागिर, पेसा, व्यवसाय वा अध्ययनका लागि परिवारभित्रको व्यक्ति, आफन्त, छिमेकी वा चिनेजानेका कोही व्यक्ति वा सूचना तथा सञ्चार प्रविधिको सहयोग लिएर राष्ट्रिय÷अन्तराष्ट्रिय क्षेत्रबाट अनुकरण पनि गरिन्छ । अब प्रश्न उठ्छ, के नेपालका राष्ट्रसेवकमा यसरी राष्ट्र सेवाको भावना जागृत भएको होला ? यसलाई अर्को रूपमा पनि भन्न सकिन्छ । जस्तो कि मानिसका जीवनमा आफ्नै गन्तव्य हुन्छ । गन्तव्यमा पुग्नका लागि पनि अनुकरण आवश्यक पर्छ । सुरुमा त व्यक्ति पेट वा परिवार पाल्नका लागि, भविष्य निर्माण गर्नका लागि वा केही पैसा कमाउनका लागि कुनै पनि सेवामा आकर्षित हुन सक्छ ।
दोस्रो चरणमा जागिरमा भर्ती भएपछि उसलाई सम्बन्धित क्षेत्रमा काम गर्नका लागि सम्बन्धित निकायले तालिम दिन्छ । यो तालिमपछि कार्य क्षेत्रमा चाहिने आवश्यक ज्ञान र सीप सिक्छ । एक कोरा नवप्रवेशी सरकारी कारिन्दालाई सार्वजनिक सेवा प्रवाहका लागि चाहिने पाठ्यक्रमदेखि उसले कार्य गर्ने विषय क्षेत्रअनुसारका पाठ्यक्रममा दीक्षित गराइन्छ । अब उसमा तहअनुसारको विज्ञता आर्जन हुन्छ ।
तेस्रो चरणमा सेवाकालीन तालिम हो । सेवामा प्रवेश गरेपछि देश, काल र परिस्थितिअनुसार उसलाई सेवाकालमा विविध पुनर्ताजगी तालिमको आवश्यकता पर्छ । तिनले यस्तो तालिम देश वा विदेशमा समेत लिने गर्छन् । सेवाकालीन तालिम–अवधिमा अध्ययनको समेत अवसर प्राप्त हुन्छ ।
नेपाल सरकारले कर्मचारीको तालिमको लागिका लागि कुनै कसर बाँकी राखेको पाइँदैन । तर, कर्मचारी भइसकेपछिको व्यवहारमा पनि के जनता, के नेता कसैले पनि अपेक्षा गरेबमोजिमको छैन । सार्वजनिक सेवा प्रवाहले सुशासन दिन नसकेको प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले बेलाबखत बताउँदै आएका छन् । जागिरमा भर्तीपछिको र सेवाकालीन तालिमको समयमा के सिकाइन्छ भन्ने प्रश्न उठेको छ ? विदेशमा विख्यात मोडलमा आधारित भएर नेपालका सरकारी कारिन्दालाई तालिम दिने गरेको बताइए पनि तिनले प्रवाह गर्ने सार्वजनिक सेवामा भने जुनसुकै शासन प्रणालीमा पनि प्रश्न उठ्दै आएको छ । पढेलेखेका शिक्षित जमात नै जागिरे बन्छन् । उसैले तालिममा पनि ज्ञान, सीप आर्जन गर्छ । जति अनुभवि हुँदै गयो उति नै पदलोलुप, भ्रष्ट आचरण भएको, अल्छी, कामचोर पनि बन्दै जान्छ ।
पक्कै पनि जागिरे हुनु भनेको अपवादबाहेक भैपरी आउने अवस्था होइन । यो अध्ययन, मेहनत, लगाव, परिश्रम, अनुशासन, लक्ष्य र आवश्यकताले सिर्जना गर्ने जीवन अवधिभित्रको ऊर्जाशील समयको उत्पादनमूलक अवस्था वा कार्य हो, जसमा मानिसको प्रगति, अवन्नति, नाम, इनाम-बेइनाम प्राप्त हुन्छ ।