दिलीपकुमार मुनंकर्मी
आइतवार, भदौ २२, २०७६
3324

आव ०७४-७५ मा बैंकहरूले औसतमा ६.६३ बोनस र ८.३२ नगदसहित कुल १४.९५ प्रतिशत लाभांश वितरण गरेका थिए

बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ०७५-७६ वित्तीय विवरणमा ६५ अर्ब रुपैयाँ मुनाफा देखाएपछि बैंकले बढी नाफा कमाउन थालेका नियन्त्रण गर्नुपर्छ भन्ने सर्वत्र आवाज उठ्यो । तर, बैंकहरूको मुनाफाका लागि परिचालित रकम, सञ्चालन तथा कर्मचारी खर्च र आयकर कटाएर बाँकी रहेको खुद मुनाफाबाट नियामकीय कोष छुट्याउँदा सेयरधनीको हातमा पर्ने लाभांशको दर मुद्रास्फीतिलाई समेत नधान्नेतर्फ कसैको ध्यान पुगेको देखिन्न ।

मुनाफाहरू
एनएफआरएससँगै खुद मुनाफा, वितरणयोग्य मुनाफा र सञ्चित मुनाफाको स्पष्ट जानकारीसहितको वित्तीय विवरणहरूबाट लाभांश र प्रतिफल आकलन अनि लगानी व्यवस्थापन सहज भएको छ ।
सामान्यतः कम्पनीहरूको वर्षभरीको व्यावसायिक गतिविधिबाट सञ्चालन तथा कर्मचारी खर्च कटाएपछि देखिने रकमलाई सञ्चालन मुनाफा भनिन्छ । आव ०७५-७६ मा बैंकहरूले करिब ९२ अर्ब २६ करोड रुपैयाँ हाराहारी सञ्चालन मुनाफा गर्दा सबैभन्दा बढी राष्ट्रिय वाणिज्यले ६.९३ अर्ब, नबिलले ६.०८ र कम सिभिलले १.२१ अर्ब रुपैयाँ कमाए ।
सञ्चालन मुनाफाबाट विभिन्न खर्च, दायित्व र कर कटाएर बैंकहरूले खुद मुनाफा ६५ अर्ब ४० करोड रुपैयाँ कमाए, जसका लागि सेयरधनीहरूले चुक्ता गरेको २४६.७५ अर्ब रुपैयाँसहित कुल ४३६.१० अर्ब रुपैयाँ परिचालन गरे । खुद मुनाफाबाट गणना गरिने प्रतिसेयर मुनाफा (ईपीएस) सबैभन्दा कम सिभिलको ९.५० र सबैभन्दा बढी नविलको ४७.६५ पैसा र औसतमा २६.२३ रुपैयाँ छ । तर, सेयरधनीको कोष (कुल इक्विटी) का आधारमा इक्विटीमा प्रतिफल (आरओई) प्रतिसेयर औसतमा १४.६३ प्रतिशत मात्र छ । यसमा सबैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकको २२.६३ र सबैभन्दा काम सिभिलको ७.४२ प्रतिशत छ ।
खुद मुनाफाबाट नियामकीय कोषमा रकम व्यवस्था र फिर्ता मिलान पछि कायम खुद वितरणयोग्य मुनाफा ४७ अर्ब ५९ करोड रुपैयाँ मात्रैछ । प्रतिसेयरसबैभन्दा बढी राष्ट्रिय वाणिज्यको ४०.१७ र सबैभन्दा कम सेन्चुरीको ६.३६ र औसतमा १९.१० प्रतिशत हुन्छ । लगानीकर्ताहरूले वास्तवमा हेर्नुपर्ने र प्राप्त गर्न सक्ने मुनाफा भने वितरणयोग्य मुनाफा नै हो ।
यस्तै, विगतको मुनाफाबाट सेयरधनीलाई बाँडेर बाँकी तथा यस वर्षको बाँड्न मिल्नेसहितको कुल सञ्चित मुनाफाले बैंकहरूसँग यथार्थमा बाँड्न उपलब्ध रकम देखाउँछ । हुन त ‘तातै खाऊँ जल्दी मरुँ’ भने जसरी मिल्ने जति रकम लाभांशका रुपमा बाँड्दा बैंकहरूसँग ७४-७५ को करिब ३ अर्ब २८ करोड रुपैयाँसहित केवल रु. ५० अर्ब ८७ करोड रुपैयाँ मात्र सञ्चित मुनाफा देखिन्छ । यसरी लाभांश क्षमताको अधिकतम दोहन हुँदा जोखिमसँग लड्ने क्षमता भने कमजोर भएको छ ।

लाभांश
मूलतः वार्षिक खुद मुनाफाबाट उपलब्ध वितरणयोग्य र सञ्चित मुनाफाका आधारमा निर्धारण हुने लाभांश क्षमता सेयर प्रिमियमका साथै पुँजीमा परिणत गर्न सकिने डिबेन्चर रिडेम्पसन रिजर्भ समेतमा निर्भर रहन्छ । कति लाभांश अनि नगद र बोनसको हिस्सा भने बैंकहरूको व्यवसायिक आवश्यकता, नियामकीय प्रावधान र सञ्चालकले लिने नीतिमा भर पर्छ । केन्द्रीय बैंकको सर्कुलरअनुसार बैंकहरूले आव ०७६-७७ को अन्त्यसम्ममा जोखिम भारित एक्सपोजरको २ प्रतिशत काउन्टर साइक्लिकल बफरसहित करिब १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने र नियमनका आधारमा गरिएको २ देखि १० प्रतिशतको क्यापिटल चार्जले पुँजीगत क्षमता बढाउन दबाबसँगै लाभांश नीतिमा फरक पर्नेछ ।
आव ०७४-७५ मा बैंकहरूले औसतमा ६.६३ बोनस र ८.३२ नगदसहित कुल १४.९५ प्रतिशत लाभांश वितरण गरेका थिए । आव ०७५-७६ मा बैंकहरूको वितरणयोग्य मुनाफा मात्र हेर्दा सेन्चुरीले ६.३६ देखि नविलले ३५.३४ प्रतिशतको लाभांश क्षमता देखिँदै गर्दा सञ्चित मुनाफाले सिभिलको ७.८५ देखि नबिलले ५४.५१ प्रतिशतको लाभांश क्षमता देखिन्छ । यसको साथै ११ बैंकसँग उपलब्ध सेयर प्रिमियम समेत हेर्दा नेपाल बैंकले ६४.०२ र एनएमबीले ४४.७७ को उच्च लाभांश क्षमता राख्छन् । अझ डिबेन्चर रिडेम्पसनको रकम उपलब्ध कृषि, सिद्धार्थ र ग्लोबल आईएमईको लाभांश क्षमता केही प्रतिशतले बढी नै हुनेछ । हालसम्म घोषित एनआईसी एसिया र सानिमा बैंकको २१.५, बैंक अफ काठमाण्डुको १७, माछापुछ्रेको १६, सिटिजन्सको १५ र कुमारीका १०.५३ प्रतिशत लाभांशले बैंकहरू सकेसम्म बढी लाभांश वितरण गरेर सेयरधनीलाई तत्काल खुसी राख्न लागिपरेका देखिन्छन् । सिटिजन्सले लाभांशका लागि सञ्चित रकम परिचालन गर्दा सानिमाले सञ्चित मुनाफाभन्दा बढी लाभांश घोषणा गरेको छ ।

प्रतिफल दर
प्रायः लगानीकर्तालाई कम्पनीले वितरण गर्ने लाभांश नै लगानीमा प्रतिफल भन्ने भ्रम पनि रहेको देखिन्छ । तर, लाभांश अंकित मूल्यका आधारमा घोषणा हुने तर सेयर बजारबाट सेयर किन्दा वास्तविक लगानी फरक हुने अवस्थामा लगानीमा प्राप्त हुने प्रतिफल दर (रेट अफ रिर्टन) निकै फरक हुनेछ । आव ७४-७५ मा बैंकहरूको औसत लाभांश १४.९५ प्रतिशत रहँदा बुक क्लोजको कारोबार मूल्यका आधारमा वास्तविक प्रतिफल दर सबैभन्दा कम सिटिजन्समा २.४१ देखि बढी सिभिलमा ८.३६ रहेको थियो । यहाँ बिओके, कुमारी, सिभिल, एनसीसीले ०७३-७४ को समेत मिसाएर दिएको हुँदा प्रतिफल दर बढेको बिर्सनु हुन्न ।
आव ०७५-७६ का लागि ६ बैंकहरूले लाभांश घोषण गरेका छन् । घोषित दरमै लाभांश पाए अन्तिम कारोबार मूल्यका आधारमा सिटिजन्समा ६.८५, बिओकेमा ६.५१, माछापुछ्रेमा ६.२५, सानिमामा ५.९३, कुमारीमा ५.१९ र एनआईसी एसियामा ४.६९ प्रतिशतले प्रतिफल प्राप्त हुनेछ । घोषणा हुन बाँकी बैंकहरूले कस्तो लाभांश दिन्छ भन्न सकिन्न, तर सञ्चित मुनाफाको सबै रकम नै लाभांश बाँड्दा समेत बैंकहरूको लगानीमा ३ देखि ९.९ अर्थात् औसतमा ६.२ प्रतिशतप्रतिफल प्राप्त हुनेछ । यस्तो प्रतिफल दर पनि मूल्य आम्दानी अनुपात (पिई) जस्तै प्रत्येक कारोबार र औसत लागतको आधारमा प्रत्येक लगानीकर्ताको फरक हुने हुँदा सबैले एकै दरमा प्रतिफल पाउँदैनन् ।

निचोड
लगानीकर्ताहरूले लगानी निर्णय र व्यवस्थापन गर्दा मुनाफा रकम र प्रतिसेयर आयसँगै वास्तवमा वितरणयोग्य र सञ्चित मुनाफा अनि सेयर प्रिमियम र रिडेम्पसन समेतका आधारमा बाँड्न सक्ने उच्चतम र सम्भावित लाभांश, बजार मूल्य र आफ्नो औसत लागतका आधारमा प्राप्त हुने वास्तविक प्रतिफल दरलाई ध्यान दिनैपर्छ । सेयर लगानीमा प्रतिफल ४–५ प्रतिशत मात्र देखिए पनि लगानी निर्णय गर्दा लाभांशको मिश्रण, कम्पनीको ग्रोथ, ख्याति अनि पुँजीगत लाभको अवसरलाई समेत ध्यान दिनुपर्छ ।