झलनाथ खतिवडा
बुधवार, श्रावण २९, २०७६
401

यातायात क्षेत्रलाई व्यवसायमुखी नभएर सेवामुखी बनाउनतर्फ सरकारले ध्यान दिनु जरुरी देखिन्छ ।

हामी नेपाली गोर्खालीका सन्तान भनेर विश्वमै चिनिएका छौं । हाम्रो आफ्नै पहिचान छ । हामीले अनेकौं भाषा, धर्म, संस्कृति, रीतिरिवाज र रहनसहन रहेको देशमा बसोबास गर्नेहरूमा हामीलाई चिनाउँदै आइरहेका छौं, तर हामीले हामीमध्ये कसैलाई गर्ने बानी–व्यवहार भने गोर्खालीका सन्तान भन्न लायकको देखिँदैन । किनकि यहाँभित्र पसेर नियाल्दा हामीले हाम्रा बानी–व्यवहारलाई परिवर्तन गर्न जरुरी देखिन्छ, ताकि हामीले खुलेर भन्न सकौं— ममा एक नेपाली गोर्खालीको सन्तानमा हुनुपर्ने सबै गुण छ । त्यसैले म यहाँ हाम्रा सुधार गरिनुपर्ने बानी–व्यवहारलाई क्रमैसँग विस्तार गर्न चाहन्छु ।
हामी नेपालीहरूको बानीमध्ये पहिलो सुधार गर्नुपर्ने बानी सार्वजनिक क्षेत्रमा धूम्रपान, मद्यपान गर्न मनाही छ भनिएको हुन्छ । तर, त्यो नियम–कानुनको धज्जी उडाइन्छ । हामी खुलेआम सार्वजनिक क्षेत्रमा धूम्रपान, मद्यपान गरिरहेका हुन्छौं । यो खराब बानी सुधार गर्नु जरुरी छ । दोस्रो कुरा, जहाँतहीँ फोहोरमैला फाल्न हुँदैन, थुक्न हुँदैन, प्लास्टिकजन्य खोल भएका सामग्री कम प्रयोग गर्नुपर्छ ।
अर्को कुरा, सडक यातायातको सन्दर्भ जोडौं । जेब्रा क्रसिङ गर्ने ठाउँमा हाम्रो धैर्यता हुँदैन, ट्राफिक प्रहरीलाई नै कुटेर हिडौं कि भन्ने धारणा राखिन्छ, जबकि यो बानी गलत छ ।
अव्यवस्थित सहरीकरणले राजधानी काठमाडौंलगायत नेपालका प्रमुख सहरहरूमा सवारी साधनको चाप एकदमै धेरै छ । उक्त स्थानहरूमा सवारी जामका कारण गन्तव्यमा जान र आउन कठिन हुने भएकाले ट्राफिक प्रहरीले यात्रुलाई सुरक्षित गन्तव्यसम्म जान सेवा प्रदान गरिरहेको हुन्छ । हामीचाहिँ उनैलाई गलत र असभ्य व्यवहार गरिरहेका हुन्छौं, त्यसैले ट्राफिक प्रहरीलाई सम्मान गरौँ ।
अब कुरा गरौं, सार्वजनिक यातायातको दौडधूपका बारेमा । गाडीहरू प्रत्येक दुई–दुई मिनेटमा आफ्नो गन्तव्यबाट छुट्ने गर्छन्, तर यात्रुको सुरक्षालाई दाउमा राखेर उछिन्नैपर्ने प्रवृत्ति छ, जसले गर्दा सडकमा हिँड्ने मानिस, पशुचौपाया, खाल्डाखुल्डीबाट ठूलो दुर्घटना हुने गरेको पाईन्छ । उदाहरणका लागि काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातलाई लिन सकिन्छ । यहाँ हुने दुर्घटनाका कारणहरूमध्ये सार्वजनिक यातायात पनि एउटा प्रमुख कारण मानिन्छ ।
यातायातकै अर्को महत्वपूर्ण कुरा के भने सार्वजनिक यातायात चढ्दा वा ओर्लंदा महिला दिदी–बहिनीहरूलाई विशेषतः सहचालकले गर्ने बानी सुधार गर्नु एकदम जरुरी छ । यात्रुलाई पछाडि सार्ने बहानामा गिद्दे दृष्टि लगाउने, आँखा झिम्क्याउने, संवेदनशील ठाउँमा हात पु-याउने र यात्रा गर्ने यात्रुले पनि युवती, महिलाप्रति अनैतिक व्यवहार गर्ने गरेको पाइन्छ, जसले महिला हिंसालाई दिनप्रतिदिन बढावा दिइरहेको छ ।
त्यसैले यातायात क्षेत्रमा देखिएका असभ्य व्यवहारलाई हटाउनु जरुरी छ । नेपाल सरकारले सार्वजनिक यातायातभित्र हुने क्रियाकलापको निगरानी गर्नु जरुरी छ । सवारी साधनको क्षमता कति हो, कति यात्रु बोक्दा सवारी साधनको सुरक्षा हुन्छ, यातायातका क्षेत्रलाई व्यवसायमुखी नभएर सेवामुखी बनाउनतर्फ सरकारले ध्यान दिनु जरुरी देखिन्छ । नभए सार्वजनिक यातायातमा महिलाहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हिंसाको सिकार हुन बाध्य रहिरहनेछन् ।