कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४
726

दक्षिण अमेरिकी महादेशमा अवस्थित ब्राजिल जलस्रोतमा संसारकै सबैभन्दा धनी देश भनेर चिनिएको छ । वर्षको ६० प्रतिशत समय वर्षा हुने यो देशका सबै नदीनाला झरीकै निकास रहेछन्; अर्थात् हाम्रोजस्तो हिमाच्छादित क्षेत्रबाट अविरल बग्ने नदी नभै बर्खे भेलमा निर्भर हुने भएकाले नै होला सायद, जलाशययुक्त आयोजनाहरू बन्ने गरेका ब्राजिलमा ।

कुल १ लाख ८० हजार मेगावाट उत्पादन क्षमता रहेको भए पनि हालसम्म १ लाख मेगावाटमात्रै उत्पादन गरिरहेको ब्राजिलले उसको ६७ प्रतिशत ऊर्जाको स्रोत जलाशययुक्त आयोजनाबाट उत्पादन हुने विद्युत् ऊर्जा नै रहेछ । तर, बिस्तारै उनीहरू नदी प्रवाही आयोजना मात्रै बनाउने र हावाबाट ऊर्जा उत्पादन गर्ने विकल्पतर्फ उन्मुख भइरहेका छन् । उखुको बगास बालेर निकाल्ने ऊर्जा पनि उनीहरूको मिश्रित ऊर्जा प्रणालीको भरपर्दो स्रोत रहिआएको छ ।

पंक्तिकारसहितको एउटा टोलीले यही जुन ३ देखि १४ सम्म मानव सिर्जनाको संसारकै आश्चर्यको रूपमा चिनिने इटाइपु (सिङ्गिङ रक) बाँध र यस वरपरको क्षेत्रको अवलोकन भ्रमण गर्ने अवसर पाएको थियो । यो बाँध पाराग्वे र ब्राजिलको सीमा भएर बग्ने साझा नदी–पारनामा अद्वितीय रूपमा बनेको छ । यसको उज्यालो पाटो थुप्रै छ ।

जस्तै ः चौबीसै घण्टा १४ हजार मेगावाट उत्पादन गर्न सक्षम यो आयोजनामा दुवै देशको आधाआधा रहने गरी २ हजार ८ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रतिटर्बाइन ७ सय मेगावाट क्षमता भएको २० वटा भीमकाय टर्बाइनमा १० वटा ब्राजिलको जनशक्ति र बाँकी १० वटा पाराग्वेको जनशक्तिले रेखदेख गर्दै आएको छ । तर, दुवै देशको जनशक्तिले समन्वयमा सहकार्य गरी कार्यसम्पादन गर्ने गरेको छ । सन् २०१६ मा यसले संसारकै सबैभन्दा ठूलो भनेर चिनिएको चाइनाको थ्री गर्जेज आयोजनाले भन्दा बढी ऊर्जा उत्पादन गर्न सफल भयो ।

औसत दैनिक १ हजार ५ सय जनाले भ्रमण गर्ने यो आयोजनाले सो वर्ष ९ अर्ब डलरको हाराहारीमा आम्दानी ग¥यो र ३ अर्ब ८० करोड डलरभन्दा बढी राजस्व ति¥यो  । रकफिल र कंक्रिट गरी करिब ८ किलोमिटर लामो बाँध बाँधी बनाइएको जलाशय पहिलो पटक भरिन १५ दिन लागेको थियो । वातावरणविद्, वातावरणवादी वा अभियन्ताहरूको विरोध गर्दागर्दै पनि ब्राजिलको सातवटा ठूला प्राकृतिक एवं मनमोहक झरनाहरू विलय गराएको भनिएको यो जलाशय १३ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसको लम्बाइ १ सय ७० किलोमिटर छ भने १ सय ८० मिटर गहिरो छ यो मानवनिर्मित ताल । पर्यटक लोभ्याउने गरी यो तालमा अहिले क्रुज चल्ने गरेको छ ।४० हजार कुशल सिल्पी र कालिगढहरूको श्रमको उपज अनि ब्राजिल र पाराग्वेको मित्रताको सुन्दर प्रतीकका रूपमा रहेको यो आयोजना निर्माणका लागि सन् १९७३ मा दुई देशका राष्ट्रपतिबीच एउटा सम्झौता भयो ।

२ सय वर्ष आयु मानिएको यो आयोजनाको विकास, निर्माण र सञ्चालनको कडी बनेको छ आजपर्यन्त उक्त सम्झौता । सम्झौतामा उल्लेख भएका सर्त–बन्देजबाहेक अन्य कुनै पनि ऐनकानुन, नीतिनियम, रणनीति वा कार्यनीतिले यसलाई छुँदैन । तर, हाम्रोमा भने क्षेत्रगत नीतिनियमको भाँजो हाल्ने अभ्यासमात्रै होइन, संस्कार नै बसेको छ । तिनै ४० हजार जनशक्तिको सम्झनामा ४० हजार बिरुवा रोपी उद्यान निर्माण भएको छ बाँध क्षेत्रमा, जसमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान्की मुनले समेत वृक्षारोपण गरेका छन् । 

सम्झौताअनुसार दुवै देशको लागत अनुपातमा आयोजना निर्माण गर्ने गरी इटाइपु बाइन्यासनल अर्थात् ज्वाइन्ट भेन्चरका रूपमा इलेट्रोब्रास नामक कम्पनी खडा गरी आयोजना विकास गर्ने निर्णयअनुरूप विकास भएको यो आयोजनामा सुरुमा बीउ पुँजीका रूपमा दुवै देशले ५०–५० हजार अमेरिकी डलर हालेर आयोजना निर्माणको कार्यारम्भ गरे ।

समयको अन्तरालसँगै ब्राजिलले आफ्नो भागमा परेको रकम जुटाउन नसकेपछि पाराग्वेले ८० प्रतिशत र ब्राजिलले २० प्रतिशत रकम जुटाएर सन् १९८४ मा ७०० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याउन सफल भयो । लागत अनुपातअनुसार ८० प्रतिशत बिजुली पाराग्वे जाने प्रबन्ध गरियो भने २० प्रतिशत ऊर्जामात्रै ब्राजिलतर्फ लगियो । तर, अहिले पाराग्वेको भन्दा ब्राजिलतर्फ ऊर्जाको माग बढी भएकाले पाराग्वेले आफ्नो भागको ३९ प्रतिशत हिस्सा ब्राजिलतर्फ बेचिरहेको छ । प्राविधिक हिसाबले पाराग्वेतर्फ ५० र ब्राजिलतर्फ ६० हर्जमा उत्पादन भइरहेको यो आयोजनाको निर्माण सन् २००७ मा मात्रै पूरा भयो । 

आयोजनाको बाँध बाँध्न उपयुक्त स्थानको पहिचान गर्दै जाँदा ब्राजिलको भूभाग छनोट भएकाले बाँधक्षेत्र ब्राजिलतर्फ बनेको भए पनि सम्झौताअनुसार यो क्षेत्र इटाइपुको अधीनस्थ रहेको छ । यसमा न ब्राजिलको दाबी रहन्छ, न पाराग्वेको नै । यो क्षेत्र कसैको होइन, इटाइपु बाइन्यासनलको हो, अर्थात् दुवैको हो । नेपालमा भएको भए सार्वभौमिकताको राग अलाप्नेहरूको स्वर कत्रो र कस्तो हुन्थ्यो होला ?

कल्पना गर्नसम्म पनि डर लाग्छ ! केही नगुमाई केही पाइँदैन भन्ने ज्वलन्त दृष्टान्त पनि हो यो । मुलुकवासीको सुखसुविधाका लागि कत्रो अदम्य साहस र अटल विश्वास बटुलेर हस्ताक्षर गरी बाजी मारे होलान् ब्राजिलका राष्ट्रपतिले तत्कालीन समयमा, नमन गर्न मन लाग्छ । कुनै बेला पोर्चुगलले राज गरेको ब्राजिलमा त्यतिबेला हाम्रोजस्तै कट्टर अनि प्रखर राष्ट्रवादीहरूको लहर त पक्कै थियो होला ! त्यही मोडलको अनुसरण गरी नेपालमा पनि कुनै एउटा आयोजना बनाउन पाए कस्तो हुन्थ्यो होला? 

निर्माण अवधिको ब्याज गणना गर्दा २७ मिलियन डलर पुगेको यो आयोजनाभन्दा माथिल्लो तटमा ७५ वटा साना–ठूला आयोजना रहेको ब्राजिलमा हाम्रोजस्तो तल्लो तटीय र माथिल्लो तटीय फाइदाको बखेडा निकाली आयोजना नै अवरुद्ध गर्ने खेल खेलिँदैन । हामी भने सीमाबाट कैयन् किलोमिटर दूरीमा अवस्थित बूढीगण्डकी आयोजना बन्यो भने भारतलाई यति र उति फाइदा पुग्छ भन्दै सोबापत ऊसँग रकम असुल्न पर्छ भन्ने हिसाबकिताबमै अल्झिने गरेका छौं ।

बरु इटाइपुले आफ्नो जलाशयको आयु नघटोस् भनेर जलाधार क्षेत्रमा २१७ वटा सूक्ष्म जलाधार पहिचान गरी संरक्षणको कार्य गर्दै आएको छ । त्यहाँको वन तथा वातावरण प्रशासनले हाम्रोजस्तो आयोजना नै बन्न नदिने खेल खेल्न सकेन, त्यही एउटा सम्झौताका कारण । हामी भने लगानीकर्तै हतोत्साही हुने गरी वन वातावरणका सवाल उठाई आयोजना बन्न नदिनेतर्फ अघि बढिरहेका छौं ।

वन वातावरणको चिन्ताले भन्दा पनि आफ्नो २ सय वर्षे आयु कायम गर्नका लागि आयोजनाले जलाधार संरक्षणमा जोड दिँदै आएकाले अहिलेसम्म तालक्षेत्रको जम्मा २ प्रतिशत भूभागमात्रै पुरिएको छ । हाम्रोमा पनि प्रत्येक जलविद्युत् आयोजनाले क्याच्मेण्ट एरिया ट्रिटमेन्ट (क्याट) को योजना त बुनेका हुन्छन्, तर सोहीअनुसारको काम गर्छन् कि गर्दैनन् कुन्नि ? 

नाम, दाम र कामका लागि संसारभर ख्याति कमाएको यति ठूलो आयोजनाको अँध्यारो पाटो पनि छ भनेर सुन्नुपर्दा मनै कुँडिएर आयो । धेरै जनासँग औपचारिक–अनौपचारिक कुराकानी गर्दा थाहा भयो, पाराना नदीवारिपारि छरिएर रहेका ४० हजार जनसंख्यालाई एकपटक जग्गाको मुआब्जा वितरण गरी हटाइयो र तत्पश्चात् उनीहरू कहाँ गए, अहिले के गर्छन्, कसरी बसेका छन्, कोही–कसैलाई चासो छैन । थाहै नभएजस्तो गरी भन्न पनि रुचाउँदैनन् इटाइपियनहरू । सैनिक शासन भएकैले होला सायद, तत्कालीन समयमा बस्ती उठाउन सहज भएको ।

आजभोलि भने जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग हदैसम्म लचकता अपनाउने तर केही सीप नलागे अदालतको शरण लिने गर्दा रहेछन् । अदालतले एउटा सिलिङ तोकिदिने र सोही अनुसार कायम हुने प्रचलन सुरु भएको रहेछ । गरिबै भए पनि हामी पो अगाडि रहेछौं यस पाटोमा भन्ने लागेर मन केही हलुङ्गो भयो । हामी जग्गाधनीको पुनर्वास तथा पुनःस्थापनाको व्यवस्थामा लागेका छौं । धेरथोर सामुदायिक विकासमा पनि सघाउँदै आएका छन् प्रायः सबै आयोजनाले । स्थानीयलाई सेयरको बन्दोबस्त गरेका छौं ।

तर जलाधार क्षेत्रमा बसोबास गर्दै आएको समुदायलाई भने जैविक खेती प्रणाली, स्वास्थ्य सुविधाको प्रबन्धलगायत जलचर मूलतः माछा प्रजातिको ओहोरदोहोरका लागि १० किलोमिटर लामो छुट्टै च्यानल खनी ‘फिस ल्याडर’ निर्माण गरेको र उक्त ल्याडरको सफलता ८३ प्रतिशत रहेको छ । सो ल्याडर जलचरले मात्र प्रयोग नगरी पर्यटकले समेत ¥याफ्टिङका लागि उपयोग गर्ने गरेका रहेछन् । केही अँध्यारो पाटो भए पनि उज्यालो पक्षले सबैको मन जित्न सफल छ इटाइपु बाँध यतिबेला । हामी त्यत्रो र त्यस्तो बाँध कहिले बनाउन सक्छौं होला ! मन कल्पिरह्यो एकोहोरो !
(लेखक हरिकृष्ण उप्रेती लगानी बोर्डमा कार्यरत छन् ।)