झलनाथ खतिवडा
मंगलबार, असार ३१, २०७६
1164

संसारका सबै नागरिकले बुझेका हुन्छन् कि आफ्नो देशको राजधानी हरेक हिसाबले सुविधासम्पन्न छ । हामी सबै नागरिकले पनि बुझेको कुरा यही हो, राजधानी गुणस्तरीय शिक्षा, सरल प्रक्रिया र कम खर्चमा स्वास्थ्योपचार, आवतजावतका लागि यातायात सेवा, दैनिकी घर सञ्चालन गर्न खानेपानी र उद्योग कलकारखाना चलाउन चाहिने विद्युत् र कुराकानी गर्नका लागि चाहिने सञ्चारका साधनले युक्त हुन्छ, तर नेपालको राजधानीको कुरा गर्दा माथि सोचिएको भन्दा ठीक उल्टो पाउन सकिन्छ । आफ्ना आधारभूत आवश्यकता न्यूनभन्दा न्यून पनि सहज तरिकाले परिपूर्ति गर्न ज्यादै कलालीलाग्दो दैनिकी भोग्न बाध्य छन् यहाँका नागरिक । कसरी काठमाडौं लुटमाडौंमा परिणत हुँदै छ ।
पहिले कुरा गरौं गुणस्तरीय शिक्षाका बारेमा । आफ्ना नानीबाबुलाई राम्रो स्कुल, कलेजमा पढाऊँ भन्ने धारणा सबै बाबुआमाको हुन्छ । काठमाडौंका अधिकांश विद्यालय, स्कुल, कलेजमा दिइने शिक्षा अत्यन्त व्यापारमुखी नै देखिन्छ । गुणस्तरीय शिक्षाका नाममा चर्को शुल्क, विभिन्न शीर्षकमा ढाड सेक्ने गरी विद्यार्थीको पढाइभन्दा बढी अतिरिक्त क्रियाकलाप गराइन्छ भने अभिभावक–अभिभावकबीच प्रतिस्पर्धा हुने र विद्यार्थीको रोजाइलाई नै सही मान्दा र अभिभावकले पनि उपयुक्त कलेज छनोट गर्न नसक्दा आज हजारौ अभिभावक आफ्ना छोराछोरीका लागि तिरिएको मासिक शुल्क के–के कामका लागि खर्च भइरहेको छ, त्यो बुझ्न सक्दैनन् । स्कुल–कलेजको मनोमानी ढंगले गर्दा विचारा अभिभावकहरू सानोतिनो जागिर गरी कमाएको पैसा बुझाएर कंगाल भएका छन् ।

अब स्वास्थ्य क्षेत्रको कुरा गरौं । आजभोलि अस्पतालहरूले स्वास्थ्य चेकअफ गर्ने शैली पनि फेरेका छन् । ज्वरोको बहानामा कल्चर, दिसापिसा चेक अनि ब्लड चेक अनिवार्य गरिन्छ अनि सेवाशुल्क पनि कति–कति ? जबकि बिरामी डक्टरकहाँ गएपछि ७५ प्रतिशत रोग निको हुनुपर्नेमा डाक्टरले देखाउने डरत्रासले झन् बढी बिरामी बनाउँछ । सुविधा दिने नाममा यहाँ आमजनताको स्वास्थ्यमाथि खेलबाड गरिन्छ । अस्पतालमा पर्याप्त उपकरण नहुने अनि निजी क्लिनिकमा महँगो शुल्क तिरे तुरुन्तै उपचार हुने यो लुटमाडौं नभएर के हुन सक्छ ?
यातायात क्षेत्र पनि कमको छैन । सरकारी भाडादर सरकारकै फाइलमा रहन्छ, जब कि न्यूनतम सार्वजनिक बसको भाडादर सरकारले १३ रुपैयाँ तोकेको हुन्छ, सहचालकले रु. १५ का दरले भाडा निर्धारण गर्छ । मारमा यात्रु नै पर्ने हो । एकपटक सार्वजनिक बसमा सवार गर्दा रु. २ ले ठगिँदा वर्षमा कति ठगिन्छन् होला ? सरकारले दिएको विद्यार्थी सहुलियत छुट दिन पनि अन्कनाउँछन् सहचालक । ५ रुपैयाँमा कति किचकिच गरेको होला भन्छन् । सहचालकको बोली भनेर साध्य हँुदैन । यसरी विद्यार्थीको जीवनमा खेलबाड गर्ने अधिकार यी यातायात व्यवसायीलाई कसले दिएको हो ?
काठमाडौंमा खानेपानीको कति हाहाकार छ, कुरा गरेर साध्य छैन । जनसंख्याअनुसारको खानेपानी आपूर्ति हुन नसक्दा आज यहाँका कैयौं नागरिक स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएका छन् । एक जार पानी पाउन पनि घण्टौं लाइन बसेर आफ्नो दैनिकी चलाउन बाध्य पारिएको छ । यही हो राजधानीमा पाइने सेवा–सुविधा ?
नेपाल जलस्रोतको धनी राष्ट्रमध्ये एक हो, तर यहाँ बसोबास गर्ने नागरिकले उपभोग गर्ने विद्युत् महसुल महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ । विद्युत्गृहलाई विद्युत उत्पादन गर्न सम्बन्धन दिने तर सरकारी स्तरबाट त्यसतर्फ अनुगमन नहुने प्रवृत्तिले खर्च दिनानुदिन बढ्दै जाने, लागत बढ्ने अनि उत्पादनका नाममा सर्वसाधारणको पैसा फस्ने प्रवृत्ति बढेर गएको देखिन्छ । कम्तीमा नेपाल सरकारले राजधानीमा सञ्चालन हुने उद्योग–कलकारखानालाई मात्र सहुलियतमा विद्युत्को खपत गर्ने व्यवस्था मिलाउन सकेको छैन, जसका कारण कलकारखानाले उत्पादन गर्ने दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ अनि सधैं मूल्यवृद्धिको मारमा पर्ने हामी नागरिक ? के नागरिकले पाउने सेवा–सुविधा यही नै हो ?
विश्वले सूचना–प्रवृधिमा यति धेरै परिवर्तन गरिसकेको छ, तर नेपालले अन्तरिक्षमा स्याटेलाइट राख्न यतिका वर्ष कुर्नुप¥यो, त्यो पनि विवादास्पद नै छ । टेलिफोन सेवा प्रदायक, इन्टरनेट सेवा दिने कम्पनी र सामाजिक सञ्जाल अरू मित्र राष्ट्रहरूमा भन्दा धेरै महँगो छ । सरकारी तवरबाट गरिएको निःशुल्क इन्टरनेट सेवा खासै प्रभावकारी देखिएको छैन । सरकारले यसको कार्यान्वयन गतिलो हिसाबले गर्न सक्दैन ?
अन्त्यमा, काठमाडौं स्वच्छ, सफा र हराबरा हेर्ने रहर सबैलाई छ । यसतर्फ राज्यको ध्यान जाओस्, राजधानी नेपालको पहिचान हो । यहाँका नागरिक पनि सिङ्गो नेपालको पहिचान हो । यहाँका सांस्कृतिक सम्पदा देशका पर्यटकीय गन्तव्य हुन्, यहाँका प्राचीन संरचना, कला, भाषाले नेपालीलाई मात्र होइन, विदेशीलाई पनि मनमोहित बनाएको छ । त्यसैले सरकार पक्षले नागरिकको दैनिकीलाई आफू नागरिक बनेर हेरिदेओस् र नागरिकको दैनिकीलाई लुटमाण्डूमा परिणत नगरोस् ।
—झलनाथ खतिवडा