गोविन्द चापागाईं
शुक्रवार, असार २७, २०७६
771

केही समयदेखि विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित हुँदै आइरहेको विषय हो— जडीबुटी र कोटेश्वरको जाम । राजधानीमा ६ वटा ट्राफिक लाइट जडान गर्ने अनि भएको ट्राफिक लाइटको मर्मत–सम्भार प्रक्रियादेखि आमसर्वसाधारणको चासोको विषय बनेकाले यो विषय उठान गर्नुपरेको हो । कार्यालय समयमा विशेष गरी बिहान तथा बेलुका अत्यधिक सवारी जाम हुन्छ । विशेष गरी जडीबुटी, कोटेश्वर, चाबहिल, कौशलटार, लोकन्थलीलगाएतका ठाउँहरूमा जाम हुने समस्याले गर्दा गन्तव्यमा पुग्न निकै समय लागेको र कार्यालयको काममा समस्या परेको सर्वसाधारणको गुनासो छ । त्यसमाथि झन् अहिले कार्यालय समयमा कोटेश्वरको जामले हैरान बनाएको र लामो समयसम्म घाममा जाममा बस्नुपर्दा दिक्क लाग्ने एक स्कुटर चालिकाको भनाइ छ ।
समयमा ट्राफिक लाइटको मर्मत–सम्भार गरे सवारी जाम धेरै न्यून हुने आममानिसको भनाइ छ । त्यसैले ट्राफिक लाइटको समयमै मर्मत–सम्भार गरी राजधानीमा सवारी जाममुक्त बनाउनु जरुरी देखिन्छ । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । विशेष गरी कार्यालय समय, बिहान–बेलुकाको समयमा अत्यधिक जाम हुन्छ । बानेश्वरबाट आउँदा तीनकुनेदेखि कोटेश्वर हुँदै जडीबुट्टीसम्म र कौशलटार, लोकन्थली, जडीबुटी हुँदै उता तीनकुनेसम्म सवारी साधनको जाम हुन्छ भने उता पेप्सीकोलापट्टि छाप्रोदेखि जडीबुटीसम्म जाम हुन्छ ।

जति नै फराकिला सडक भए पनि जाम हुन्छ । साना सवारी साधन सडकको लेन मिचेर आउँछन् । विपरीत दिशाबाट जाने सवारी साधन लेन मिचेर आउने सवारी साधनले गर्दा बाटो साँघुरो भई सवारी साधनको अत्यधिक जाम हुन पुग्छ । सडक अनुशासन मात्र पालना गर्ने भए पनि जाम धेरै कम हुने एक यात्रुले बताए । अचम्म त के छ भने पल्सर, क्रस फायर, बुलेट तथा ठूला सिसीका दुईपांग्रे सवारी साधन अलिकति खाली सडक भयो कि जोडतोडले कुदाउँछन् । एक्सिलेटर बटारेपछि कुद्छ भन्ने कुरा तपाईं–हामी सबैलाई थाहा छ, तर पनि आफ्नो ज्यानको परवाह नगरी बेसरी सवारी हाँक्छन् । यसले गर्दा सवारी अनियन्त्रित भई दुर्घटना हुन पुग्छ र अन्त्यमा मृत्युसमेत हुने गरेको हामी विभिन्न सञ्चारमाध्यमहरूमा सुन्ने गर्छौं ।
केही दिनअघिको मात्रै घटना हो, राजधानीको धोबीघाटमा दुइटा जिप एक–अपसमा ठोक्किँदा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । जिपको गति सीमित भएको भए यस्ता अप्रिय घटना घट्ने थिएनन् । जब घटना घट्छ तब सचेत हुने हाम्रो परिपाटीले गर्दा पनि दुर्घटना न्यूनीकरण हुन सक्दैन । ट्राफिक महाशाखाले गति सीमित गर्न ¥याडर गनको व्यवस्था ग¥यो, केही समयसम्म प्रयोग हुन्छ अनि धेरै लामो समयसम्म थन्किन्छ, लेन पालना गर भन्छ, लेन पालना त्यति गरेको देखिँदैन, हर्न निषेध भन्छन्, तर खोइ हर्न बजाउन छोडेको ? यी सबै कुरा लिखित रूपमा आए पनि कार्यान्वयन गर्न गाह्रो परेको एक मोटरसाइकल चालकको भनाइ छ ।
यो त एउटा उदाहरण मात्र हो । राजधानीका धेरै ठाउँमा ट्राफिक नियम पालना गरेको देखिँदैन । ट्राफिक नियम पालना गर्दै जाने हो भने धेरै जाम न्यूनीकरण हुने देखिन्छ र समयमा ट्राफिक लाइटहरूको पनि मर्मत–सम्भार गर्नु जरुरी देखिन्छ । केही दिन मात्रै एक किशोरी शर्मिला खतिवडा घरबाट नक्साल कार्यालय जान भनेर घरबाट ८ः४५ मा निस्किन्, तर उनी १०ः१५ मा मात्र कार्यालय पुगिन् । कोटेश्वरको जाम, बानेश्वरको जाम, अनामनगरको जाम हुँदै बल्ल कार्यालय पुगेको उनी बताउँछिन् । उनी भन्छिन्, “असारको चर्को घाम, कोटेश्वरमा जाम अनि कहिल्यै हुँदैन समाधान ।” हो, हाम्रो वास्तविक पीडा यही नै छ दिनहुँजसो ।
सबै जनाले ट्राफिकलाई मात्र दोष दिनु हुदैँन , कतिपय कमी–कमजोरी चालक दलको पनि हुन्छ । ट्राफिक महाशाखाले त नियम–कानुन बनाउने हो । त्यो नियम–कानुनमा हिँड्ने त नेपाली जनता नै हुन् । एक सचेत नगारिकले ट्राफिक नियम राम्रोसँग पालना गर्छ भने ऊ दुर्घटनामा पर्ने सम्भावना कम हुन्छ । त्यसैगरी आम सवारीचालकले मन, वचन, कर्मले म जिम्मेवार सवारी चालक, म ट्राफिक नियम सदाझैं पालना गर्छु भन्ने हेतुका साथ अगाडि बढे पक्कै सवारी जाम, दुर्घटनालगायत धेरै कुराबाट छुट्कारा पाउन सकिन्छ । खालि अरूलाई दोषारोपण गर्ने हाम्रो मानसिकता र व्यवहारले ट्राफिक व्यवस्थापनमा चुस्तता आउन नसकेको हो । नियम–कानुन मिच्नेलाई पनि ट्राफिक महाशाखाले कडा कानुनको व्यवस्था गरे अझ व्यवस्थापन गर्न सहज हुने थियो कि ?