नरेन्द्रमान श्रेष्ठ
बिहिवार, असार २६, २०७६
249

नयाँ–नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न डराइरहेजस्तो देखिएकाले धितोपत्र बोर्डले सेयर बजारका बारेमा जनचेतना जगाउनुपर्ने देखिन्छ ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले पनि सेयर दलालको काम गर्न सक्ने भएका छन् । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न अनुमति दिने चर्चा धेरै पहिलेदेखि भए पनि अब यसबारे व्यवस्था हुने भएपछि विकास बैंकहरू र फाइनान्स कम्पनीहरूले पनि पाउनुपर्ने माग गरेका छन् । अब के विकास बैंक तथा वित्त कम्पनीहरूलाई पनि सेयर दलालको लाइसेन्स दिने हो । त्यसैले वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्ने लाइसेन्स दिने भएपछि केही विवाद पनि सिर्जना भएको छ ।
यस्तै, वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिने निर्णय गरेलगत्तै सेयर ब्रोकर कम्पनीहरूले विरोध गरे । स्टक ब्रोकर एसोसिएसनले त खुलेरै यस व्यवस्थाको विरोध गरेको छ । वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए इन्साइडर ट्रेडिङ हुने बताउँदै आइरहेका छन् ब्रोकर कम्पनीहरू । यसबारेमा कतिपय ब्रोकर कम्पनीको भनाइमा विद्यमान ब्रोकर कम्पनीहरूलाई नै विभिन्न जिल्ला तथा गाउँठाउँमा शाखा खोल्न दिनुपर्छ भन्ने उनीहरूको तर्क छ । विद्यमान ब्रोकर कम्पनीहरूले काम गर्न नसकेमा मात्रै अर्को विकल्प खोज्नुपर्छ वा अरूलाई पनि लाइसेन्स दिनुपर्ने उनीहरूको भनाइ रहेको बुझिन्छ । उनीहरूका अनुसार हामीले विभिन्न जिल्लामा शाखाहरू खोल्छु भन्दा नदिने, नाना थरीको झन्झट दिने अनि झन्झटिलो मापदण्डहरू तेस्र्याउने, तर वाणिज्य बैंकहरूलाई भने सजिलै लाइसेन्स दिने भन्ने हो ।

उनीहरू वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए पनि सेयर बजारको हालको समस्या तथा लगानीकर्ताहरूको सेयर बजारसम्मको पहुँचमा फरक नपर्ने बताउँछन् । उनीहरूका अनुसार वाणिज्य बैंकहरूलाई सेयर ब्रोकर लाइसेन्स दिनु बजारको हालको समस्याको समाधान होेइन ।
वाणिज्य बैंकहरूलाई सेयर ब्रोकर लाइसेन्स दिनुको एउटा कारण उनीहरूको शाखा देशभरि छ भन्ने तर्कमा आधारित छ । तर, के वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानमा सेयर ब्रोकरको काम गर्छन् त ? हुम्ला–जुम्लामा पनि सेयर ब्रोकरको काम गर्छन् त भन्ने पनि केही ब्रोकर कम्पनीको प्रश्न छ । सेयर ब्रोकरको लाइसेन्स लिएका सबै वाणिज्य बैंकले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानबाट ब्रोकरको काम गरे भने सेयर बजारका लागि राम्रो हुने भन्ने तर्कमा उनीहरू सकारात्मक छैनन् ।
धितोपत्र नियमावलीअनुसार प्रक्रिया पुगेपछि मात्र लाइसेन्सका लागि अनुमति प्राप्त गर्न सकिन्छ । त्यसपछि मात्रै वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्नका लागि छुट्टै सहायक कम्पनी खोल्न सक्नेछन्; अर्थात् वाणिज्य बैंकका शाखा मात्र भएर सेयर कारोबार गर्न पाइन्न । सेयर ब्रोकरको काम गर्न बैंकहरूले छुट्टै सहायक कम्पनी खोल्नुपर्छ ।
त्यसो त वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदा विद्यमान ब्रोकरहरू कम्पनीहरू आफ्नो व्यापारमा प्रतिस्पर्धा बढ्ने र नकारात्मक असर पर्ने भन्दै विरोध गरेका हुन् भन्ने पनि छ, तर अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो । लगानीकर्ताले जताबाट सहज, सस्तो र राम्रो सेवा पाउँछ, त्यतै जान्छन् ।
विगतदेखि नै केही सेयर लगानीकर्ताका नेताहरूले वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न दिनुपर्छ भन्ने माग गरिरहेका थिए, जसअनुसार हालै केही वाणिज्य बैंकले ब्रोकरको काम गर्नका लागि लाइसेन्स पनि पाइसकेका छन् । तर, उनीहरूले ब्रोकरको काम गर्न लाइसेन्स पाएको भए पनि सहायक कम्पनी नखोली ब्रोकरको काम गर्न पाउँदैनन् । यस्तै, देशका ७७ वटै जिल्लामा वाणिज्य बैंकहरूको शाखा सञ्जाल रहेका कारण वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्दा देशभरिबाट सेयरको कारोबार गर्न सकिन्छ र यसले सेयर बजारको दायरा बढ्छ भन्ने तर्कमा धेरै दम छैन ।
देशभरका लगानीकर्ताहरूमाझ सेयर ब्रोकर कम्पनी पुग्ने भएकाले लगानीकर्ताहरूलाई सेयरको कारोबार गर्न सहज हुने र सेयर किनबेच गर्नका लागि राजधानी धाउन नपर्ने भन्दै यसअघि नै सेयर ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न दिइएको हो । यसबाट सेयरको कारोबार केही विस्तारित भएको पनि छ, तर वित्तीय साक्षरताबिना भने सेयर बजारको विस्तार घातक पनि हुन सक्छ ।
यस्तै धितोपत्र बजारमा वाणिज्य बैंकहरूको बाहुल्यता रहेको छ । धितोपत्र बजारमा आज पनि बढी सेयरको कारोबार हुने भनेको वाणिज्य बैंकहरूकै हो । वाणिज्य बैंकहरूलाई नै सेयर दलालको काम गर्न दिएपछि यसले इन्साइडर ट्रेडिङ हुन सक्छ भन्ने तर्क पनि कतिपय बजार विश्लेषकको छ । कतिपयको भनाइमा वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनु भनेको दूधको साक्षी बिरालोलाई राख्ने जस्तो हो भनेर पनि भन्नेहरू छन्, तर वाणिज्य बैंकहरूलाई सेयर दलालको काम दिएपछि मात्रै इन्साइडर ट्रेडिङ हुन्छ भन्ने तर्क त्यति पत्यारिलो छैन । किनकि अहिले पनि बेला–बेलामा इन्साइडर कारोबारका समाचारहरू नआएका होइनन् । यसका लागि धितोपत्र बोर्डको नियामकीय क्षमता बढाउने हो । तर, ब्रोकर कम्पनीहरू भने वाणिज्य बैंकहरूलाई सेयर दलालको काम दिएपछि हाल छिटपुट रूपमा रहेको इन्साइडर ट्रेडिङ झन् बढ्ने बताउँछन् ।
अब सेयर बजारको विस्तारको कुरा गरौं । त्यसो त अहिले सेयर कारोबारको दोस्रो बजार धेरैजसो राजधानीकेन्द्रित छ । केही ब्रोकर कम्पनीहरू काठमाडौंबाहिरका जिल्लाहरूमा पनि आफ्ना शाखा कार्यालयहरूमार्फत कारोबार सञ्चालन गरिरहेका भए तापनि हाम्रो बजारको चरित्र हाल केन्द्रीकृत नै छ । आफ्ना कती शाखा कार्यालयहरूबाट सेयर कारोबार भइरहेको बताउने ब्रोकरहरू पनि यसमा सहमत छन् ।
यस कारणले पनि केही लगानीकर्ताले वाणिज्य बैंकहरूलाई पनि ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर मरिहत्ते गरिरहेको भन्दा पनि फरक नपर्ला । त्यसो त पछिल्लो समयमा उपत्यकाबाहिर पनि ब्रोकरको लाइसेन्स दिने प्रक्रियामा रहेको पनि बोर्डले सूचना दिएको छ ।
पछिल्लो समय सेयर कारोबार अनलाइनबाट पनि गर्न सकिन्छ र लगानीकर्ताहरू गरिरहेका पनि छन् । अहिले देश–विदेश जहाँ इन्टरनेटको सुविधा छ, त्यहाँबाट आफ्नै घर–अफिसबाट आफ्नो कम्प्युटर वा ल्यापटपबाट प्रत्यक्ष रूपमा सेयर किनबेच गर्न सकिन्छ, तर अनलाइन कारोबार त्यति प्रभावकारी हुन नसकिरहेको पछिल्ला महिनाका केही उदाहरणले देखाउँछन् । त्यसो त विगतमा सेयर कारोबार अनलाइन नबनाउँदा पनि लगानीकर्ताहरूले सेयर कारोबार अनलाइन हुनुपर्ने माग गरेकै थिए, अर्थात् लगानीकर्ताहरू सेयर बजारको विकास तथा विस्तारका लागि लागेकै थिए तापनि पछिल्लो समय लगानीकर्ताहरूले बेला–बेलामा बोली फेर्ने गरेकाले बजारमा उनीहरू के र कसका लागि बोलिरहेका छन् भन्ने शंका उब्जेको हो ।
पछिल्लो समयमा सेयर बजारमा नयाँ–नयाँ कम्पनीका सेयर धमाधम थपिँदै छन् । बजारमा सेयरको संख्या पनि बढेको बढ्यै छ । सेयरको संख्या बढेको अनुपातमा सेयर बजारको दोस्रो बजारमा लगानीकर्ताहरू भने त्यति बढेको देखिँदैन । त्यसैले पनि सेयर बजारको विस्तार तथा विकास नभएको हो । बजारले गति लिन नसक्नुमा दोस्रो बजारमा लगानीकर्ताको संख्या नबढ्नु भएकाले लगानीकर्ताको संख्या बढाउन के गर्ने, त्यतातिर धितोपत्र बोर्डले सोच्दा ठीक होला ।
नयाँ–नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न डराइरहेजस्तो देखिएकाले धितोपत्र बोर्डले सेयर बजारका बारेमा जनचेतना जगाउनुपर्ने देखिन्छ । साथै, नियमनकारी निकायबीचमा एक–आपसमा सहकार्य भए लगानीकर्ताहरू बढ्ने थिए । तर, नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जजस्ता नियामकीय निकायको एक–आपसको सहकार्यभन्दा प्रतिस्पर्धाले नयाँ–नयाँ लगानीकर्ताहरूको बजार प्रवेश कम भएको देखिन्छ ।
उदाहरणका लागि देशभरिका लगानीकर्ताहरूको पहुँच सेयर बजारसम्म पु-याउन वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ भनिएको हो भने नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्ड तथा सेयर ब्रोकरको संस्थाले एकआपसमा सल्लाह गरी एउटा निचोडमा पुग्नु आवश्यक छ ।
किनकि वाणिज्य बैंकहरूलाई लाइसेन्स दिनेबित्तिकै तत्कालै सेयर बजारले ठूलै फड्को मार्ने होइन । त्यसो गर्नासाथै सेयर लगानीकर्ताहरूले भनेजस्तै नेप्से २५ सय अंक पुग्ने होइन, न त सेयर बजारमा उछाल नै आउने हो । यस्तै, न त नप्से बढेर ३५ सय पुगिहाल्ने हो ।
बजारमा अहिले पनि ५० वटा सेयर ब्रोकर कम्पनीहरूले काम गरिरहेका छन् । देशमा रहेका २८ वटै वाणिज्य बैंकले ब्रोकर लाइसेन्स लिए दोस्रो बजारमा लगानीकर्ताहरू आउन डराइरहेका बेला लगानीकर्ता कम तथा सेयर ब्रोकर बढी हुने त होइन । धेरै सेयर ब्रोकर भए लगानीकर्तालाई के फाइदा वा यसले बजारमा विकृति पो ल्याउँछ कि ? यसबारे पनि सोच्नुपर्छ । कुनै बेला २५ मात्र ब्रोकर भए र साना लगानीकर्तालाई सेयर कारोबार गर्न सहज भएन भनेर ब्रोकरको संख्या दोब्बर अर्थात् ५० बनाइएको हो । हाल सेयर बजार विस्तार तथा विकास गर्न आवश्यकता ब्रोकर बढाउने हो कि लगानीकर्ता बढाउने हो ? यसतर्फ पनि सोच्नुपर्ने देखिन्छ । बजारमा प्रतिस्पर्धा हुनु पनि जरुरी छ, तर प्रतिस्पर्धाले बजारमा लगानीकर्तालाई फाइदा हुनुप-यो । लगानीकर्तालाई फाइदा भए लगानीकर्ताहरू उत्साहित भएर लगानी गर्छन् र बजार बढ्छ । सेयर ब्रोकरको संख्या बढेर सेयर बजारको विस्तार तथा विकास हुन्छ कि लगानीकर्ता बढेर ? त्यसैले वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदा लगानीकर्ताहरूलाई फाइदा तथा कारोबारमा सहजता हुनुप-यो । ब्रोकरको संख्यासँगै सेयर बजारसम्बन्धी जनचेतना, वित्तीय साक्षरता तथा लगानी साक्षरताको पनि विस्तार गर्न नियामक निकायहरूको ध्यान जानु जरुरी छ ।