कृष्णचन्द्र बञ्जारा
मंगलबार, असार ३, २०७६
615

नेपालमा हरेक वर्ष करिब ५ लाख युवा रोजगारीका लागि तयार हुन्छन् भनेर मानिएको छ । यसरी तयार भएकाहरूमध्ये कति लाख युवा नेपालभित्रकै सरकारी तथा निजी रोजगारदाताहरूसँग रोजगारी गर्नका लागि योग्य ठहरिन्छन् ? कति लाख जनाचाहिँ अयोग्य भएर देशबाट बाहिरिन्छन् ?
लाखको कुरा नगरांै । देशमा अत्यधिक भए हजारको संख्यामा रोजगारी खुल्छ । धेरै भए सयको हाराहारीमा या प्रायः केही जनाको हाराहारीमा हुन्छ । बस त्यसमा आवेदन दिएर ‘मचाहिँ पक्का छनोट हुन्छु होला’ भन्ने अपेक्षा गरेर आवेदन दिनको संख्याचाहिँ लाखौं हुन्छ । सरकारले केही समयअघि मात्रै युवाहरूका लागि भनेर ल्याएको ‘ड्रिम प्रोजेक्ट’ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा ७ सय ५३ पदका लागि खुलाइएको पदमा २४ हजारले आवेदन दिए । जहाँ छनोट नभएका २३ हजार २ सय ४७ जना जुझारु युवा अहिले के गर्दै होलान् ? त्यो भन्दा पनि कम संख्यामा लोकसेवा खुल्दा छनोट नहुने लाखौं युवा कता लागे होलान् ? अथवा हालै लोकसेवाको फारम भरेका करिब एक लाख युवा परिक्षा रोकिए कता लाग्छन् ?

रोजगारी नपाए पनि तिनले सपना देख्न त पक्कै छाडेनन् होला । अयोग्यमध्ये प्रायः सबैले एक दिन त पक्कै हाम्रो पनि दिन फिर्ला भन्ने कामना गरे होलान् । अमेरिका, युरोप, कोरिया या जापान जान नसके खाडी भए पनि पसौंला अनि आफ्नो भाग्यको तारा चम्काउँला भन्ने ठाने होलान् र एक दिन न एक दिन पक्कै धेरैभन्दा धेरै पैसा आर्जन गरौला भन्ने पनि सोचे होलान् । त्यही आशा र अपेक्षा बोकेर घर छाड्नेहरूको संख्या नेपालमा अत्यधिक छ । प्रत्येक घरबाट एक न एक जना युवाले आफ्नो थलो छाडेर अन्यत्र श्रम गर्न गएका छन् । रुपैयाँभन्दा पनि डलर, दिराम, रियाल, पाउन्ड आर्जन गर्ने सोख र रहरले घर र देश सञ्चित गर्न निस्केका छन् । सरकार देशमै रोजगारी सिर्जना गर्ने कि वैदेशिक रोजगारमिा मै प्रोत्साहन गर्ने द्धिबिधामा छ ।
हाम्रो यही सपनाको फाइदा एजेन्ट, ब्रोकर, दलालहरूले उठाइरहेका छन् । ‘फ्री भिसा फ्री टिकेटमा’ जान सकिने देशहरूमा समेत लाखांै पैसा असुलेर कामदाहरूले एक वर्ष या दुई वर्षभरिको कमाइ आफू आउँदको पैसा तिर्दै ठिक्क हुने अवस्थामा अधिकांशलाई पु¥याएका छन् । गलत सेवा सुविधाको आश्वासन दिएर नसोचेको, नभोगेको अवस्थामा पु¥याएका छन् ।
टाढाको घाम सधैं प्यारो लाग्छ । हामी परदेश नपुगी कसैले ‘यस्तो छ, उस्तो छ’ भनेको भरमै ‘ओहो भन्दै अचम्मित र मग्न हुन्छौ । हाम्रो यही स्वभावको फाइदा ठगहरूले लिएका छन् । नियम बनाउने तर कडाइका साथ पालना नगराउने हाम्रो जस्तो देशले तिनै ठगहरूलाई मलजल गरेको छ । उनीहरू वर्षे घाँसजस्तै मौलाएका छन् । त्यही मौलाएका घाँसहरूबाट पाइने चन्दाबाट चल्ने राजनीतिक दल या नेताहरूले उनीहरूलाई झन्–झन् उपयुक्त वातावारण बनाइदिरहेका छन् ।
रोजगारी दिलाउने सबैलाई ठग भन्न मिल्दैन । जब आफंै ठगिएको महसुस हुन्छ तब मात्रै त्यो ठग हो भन्ने कुरा प्रमाणित हुन्छ । या विश्वास लाग्छ । जो रोजगारी खोज्न भौंतारिएको छैन, उसलाई नेपालका सबै म्यानपावरहरू ठग होइनन् भन्ने पनि लाग्दो हो । किनकि म्यानपावरहरूले सरकारी अनुमतिको वैधानिक बाटो अपनाएका छन् । लामबद्ध गराएर सबैलाई एक–एक गर्दै छनोट गरेका छन् । रोजगारी खोज्न ती सबै म्यानपावरमा भौंतारिने हो भने म्यानपावर कम्पनीको पर्यायवाची नै ठग हो भन्ने लाग्छ । सयवटा म्यानपावर घुम्दा दुईवटा पनि नठग्ने भेटिन्न भने उनीहरूलाई के भन्ने ? नेपालका मिडियाहरूमा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर भनेर प्रशंसा गरिएका या अन्य कुनै उपमा दिएर राम्रो भनिएको म्यानपावरमा यदि तपाईं कुनै पनि एजेन्ट नसमाती जानुभयो भने नामै निस्कँदैन । यदि झुक्किएर निस्किएछ भने अन्तिम अन्तर्वार्तासम्म फालिन सक्नुहुन्छ अथवा महिनौं तपार्इंको पासपोर्ट राखेर झुलाएपछि तपार्इं हरायो भन्दै अर्काे बनाउन बाध्य पर्नुहुन्छ । त्यसपछि उसैको एजेन्ट पक्रिन बाध्य पारिन्छ । एजेन्टको हात समातेपछि नाम त निस्कन्छ, तर ‘फ्री भिसा फ्री टिकेटको नारामा हस्ताक्षर गरीवरी, सेवा शुल्क मात्र तिरेको हुँ भन्ने औंठाछाप लगाइवरी, खाली कागजमा हस्ताक्षर गराइवरी, महिनाको २० हजार बच्ने रोजगारीमा ५ लाखभन्दा बढी तिर्न बाध्य पारिन्छ । जुन कमाइ दुई वर्षको भिसाको समय उही एजेन्टले कुम्ल्याएको ऋण तिर्दैमा जान्छ । अब भन्नुस्, वैदेशिक रोजगारीको कमाइ कहाँ गएको छ ? कसलाई फाइदा पुगेको छ ?
यति हुँदाहुँदै पनि कोही न कोही सही एजेन्ट या कम्पनी त पक्कै भेटिएला नि त भन्ने आसले रोजगारी खोज्न निस्किनेहरू धेरै छन् । उसलाई ठम्याउने एउटै पहिले तरिका भनेको उसको व्यवहार बुझ्नु हो । मानांै, तपाईंले कसैलाई रोजगारी खोजी दिनुप¥यो भनेर कागज पत्र बुझाउनुभयो । अथवा पहिल्यै बुझाउन नहुने पासपोर्ट नै बुझाउनु भयो भने अब उसको ठग या नठगको पहिचान कसरी गर्ने ? याद राख्नुस् ः गलत एजेन्ट तबसम्म तपाईंलाई फोन गर्छ जबसम्म पैसा हात लाग्दैन । ऊ मेडिकल गर्नुप¥यो भन्ला, अग्रिम डिपोजिट गर्नुपर्छ भन्ला या यस्ता अनेकौं बहाना बनाएर तपाईंलाई बेलाबेलामा पैसा थुतिरहन्छ । तपाईं त्यो पैसा दिन पनि बाध्य हुनुहुन्छ, किनभने ऊसँग तपार्इंको पासपोर्ट छ । अथवा उसले यति धेरै कुरा गरेको हुन्छ कि तपाईं जान लागेको कम्पनी या काम जस्तो राम्रो संसारमा अरू कुनै छैन । भिजा नलागेसम्म उसले हजारौं उठाइसकेको हुन्छ भने भिसा लागेपछि त झन् लाखांै उसले उठाउने नै छ । सही एजेन्ट तबसम्म फोन गर्दैन जबसम्म तपाईंको भिसा लाग्दैन । भिसा लाग्नुअगावै उसले मेडिकल गराउनुपर्छ भनेर पैसा असुलेको पनि हुँदैन । अग्रिम डिपोजिट पनि मागेको हुँदैन । राम्रो कम्पनी या राम्रो देशमा जानका लागि अन्तर्वार्ताको महŒव धेरै हुन्छ । गलत एजेन्टले कहिले पनि तपाईंलाई अन्तर्वार्ताको तयारी गराउँदैन । बरु उसले भनेको हुन्छ, ‘म भएपछि तपाईलाई केको चिन्ता ?’ सही एजेन्ट तपाईं छनोट हुने आधार उसमा हैन, तपार्इंमा छाड्छ । उसले अन्तर्वार्तामा सोधिने प्रश्न र त्यसको सही उत्तर कसरी दिने भन्ने विषयमा बारम्बार तयारी गराउँछ । यति हुँदाहँुदै पनि यदि तपाईं छनोट हुनुभएन भने तपाईं के कारणले छनोट हुनु भएन भन्ने कुरा उसले स्पष्ट भन्न सक्छ । कसरी फेरि भिसा लाग्न सक्छ ? कसरी लाग्न सक्दैन ? पनि भन्न सक्छ । तपाईंको डिपोजिट पुगेन या त अर्काे एजेन्टकोमा जानुस्, तब लाग्न सक्छ पनि उसले भन्दैन । गलत एजेन्टसँग तपार्इंको भिसा नलाग्नुको स्पष्ट कारण हुँदैन ।
‘रोजगारी दिन्छु भनेर अधिकांशले ठग्दा रहेछन् । त्यसैले केही राम्रो अवसर आएपछि मात्रै खोज्छु’ भनेर प्रतीक्षा गरिरहेकाहरूलाई समेत ठगहरूले जाल फ्याँकिरहेको भेटिन्छ । पोल्यान्ड पठाउँछु, युरोपको यस्तो राम्रो देशमा, यत्तिको राम्रो कम्पनीमा, यत्तिको धेरै कमाइ हुने देशमा रोजगारी खुलेको छ भनेर पत्रिकाको वर्गीकृत डिस्प्ले, अथवा सामाजिक सञ्जालको ग्रुपहरूमा विज्ञापन गरिरहेका हुन्छन् । उनीहरूले यतिसम्म भन्छन् कि तपाईंहरूले भिसा लाग्नुअगावै केही पनि दिनु पर्दैन । मात्र पासपोर्ट दिनुस् अथाव डकुमेन्ट दिनुस् भनेका हुन्छन् । यति सजिलो कुरा गरेपछि कसले दिँदैन ? हजारौले त्यहाँ डकुमेन्ट पठाउँछन् । तीन–चार महिना अथवा ६ महिनासम्म सबैको डकुमेन्ट जम्मा गरेपछि उनीहरूले छिटोभन्दा छिटो सबैलाई पालैपालो मेडिकल गर्नुस्, अप्वाइमेन्ट लेटरको थोरै पैसा दिनुस्, छिटै भिसा आउँदैछ भनेर खबर गर्छन् । बाँकी लाग्ने पैसा तपाईंले भिसा लागेपछि उताको एक महिनाको कमाइ बराबरको दिए पुग्छ या उता गएपछि पठाए हुन्छ सम्मको सजिलो कुरा गर्छन । यति सजिलै मिल्छ भने मेडिकल र अप्वाइमेन्ट लेटर या प्रक्रिया थाल्न चाहिने सेवाको गरी जम्मा जम्मी १० हजार कसले नदेला ? प्रत्येकबाट उसले यसरी नै आफंैले भनेको ठाउँ या त डाक्टरसँग मेडिकल गराउँछ । जहाँ उसको भित्री सेटिङ हुन्छ । सामान्य मेडिकल गर्न यदि ५ सय मात्र लाग्छ भने त्यही सेटिङबाट उसले हजारौं लिएको हुन्छ । यसो गरेबापत उसले रु. ९ हजार एक जनाबाट नाफा ग¥यो र उनीहरू १ हजार ५ सय जना थिए भने कति नाफा निकाल्यो ? तपार्इंको यही समान्य पैसा लिए पछि उसले फोन उठाउन छाडछन् । तीन महिनापछि सोही ठाउँमा के हुँदैछ त ? भनेर जानुभयो भने त्यो कम्पनी या एजेन्ट नै टाप कसिसकेको हुन्छ । ऊ टाप कसिरहँदा उसको गोजीमा करिब ६ महिनाभित्र बेरोजगारहरूबाट उठाएको १ करोडभन्दा बढी पैसा पनि सँगै हुन्छ ।
यसरी देश अहिले बेरोजगार ठग्ने ठगहरूका लागि उर्वर भूमिमा परिणत भएको छ । देशको विकास गर्नु छ भने पहिला युवाहरूलाई अवसर दिनुपर्छ । युवाहरूमाथि लगानी गर्नुपर्छ भन्ने सोचको शासक अहिलेसम्म नपाउनु हामी युवाहरूका लागि सबै भन्दा पीडाको कुरा हो । यदि दक्ष बनाएर पठाउने हो भने नेपाली युवा जापान, अमेरिका, कोरीयानै जानु पर्छ भन्ने छैन । उनीहरूले खाडीमै ती देशको हाराहारीमा कमाई गर्न सक्छन् । अनि केही वर्षभित्र आफ्नो देश फर्कन सक्छन् । उनीहरूमाथि कसले लगानी गरिदिने ? हाल वैदेशिक रोजगारीमा गएकामध्ये जम्मा १ प्रतिशत मात्रै युवा दक्ष छन् भनिन्छ । यसरी हेर्दा नगन्य मात्रामा दक्ष गएका छन् । एउटा सीपै नभएको, क्षमता नै नभएको कामदारलाई कसले हेप्दैन ? कसले ठग्दैन ? कसले राम्रो अवसर दिन्छ ? वैदेशिक लगानी आएपछि मात्रै विभिन्न प्रोजेक्टमा लगानी गर्ने हाम्रो सरकारले के त्यसका लागि पनि विदेशीको ऋण वा उनीहरूको भिजनको प्रतीक्षा त गरिरहेको छैन ? हे सरकार ! तिमीले तिनै वैदेशिक रोजगारीमा गएकाहरूबाट उठाएर जम्मा भएको कल्याणकारी कोषको करोडौं रकम उनीहरूको हितमा लगानी गर्न सक्दैनौ ? यदि विदेश जान होइन, स्वदेशमै काम गर्न प्रोत्साहन गर्ने नीति हो भने खै त उनीहरूमाथि लगानी गरेको ? के लगानी गर्न पैसा छैन ? एनसेलले ठगेको ७३ अर्ब रुपैयाँ उठाऊ र १ लाख युवालाई एक वर्षसम्म मासिक ७३ हजार तलब दिएर स्वदेशमै काममा लगाऊ । वाइड बडी काण्ड भएको ४ अर्बको घोटालाको पैसा उठाएर देशभरका ३५ हजार विद्यालयमा पठाएर श्रमबजारमा रोजगारी खोज्न आउन पूर्व नै दक्ष बनाऊ त, को जान्छ देश छाडेर ? संविधान बनेयताका २ सय ६४ अर्ब घोटाला भएको रकममात्रै युवाहरूमाथि लगानी गर्ने हो भने तिनै युवाहरूको योगदानले देश कहाँ पुग्ला ?
राजनीतिक दलहरू त भन्छन्, हामीले लोकतन्त्र ल्यायौ । तिमीहरूले चिन्ता गर्नु पर्दैन । अब गाउँ–गाउँमा सिंहदरबार पु¥याउँछौं । गाउँहरूले चाहिँ के भनिरहेका छन् त ? भन्ने कुरा उनीहरूले सिंहदरबारको वरिपरि चक्कर लगाउँदा–लगाउँदै भुलिसकेका छन् । कतै मर्दा मलामी नपाएर, कतै ठूलै आपत् पर्दा सहयोग गर्ने लक्का जवान नपाएर छटपटीएको गाउँहरू भन्दैछन्– ‘हामीलाई सिंहदरबार गाउँमा नभएको भन्दा जवानहरू नभएकोमा चिन्ता धेरै छ । त्यसैले हामीलाई गाउँ–गाउँमा रोजगारी दिने व्यवस्था देऊ ।