कारोबार संवाददाता
बिहिवार, आश्विन २६, २०७४
877

बिदेसिने नेपालीको संख्यामा बढोत्तरी भएसँगै सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघको १२ वर्षमा ७७ देशमा सञ्जाल विस्तार भइसकेको छ । सानो देश, सानो जनसंख्याका आधारमा यो ठूलो उपलब्धि नै मान्नुपर्छ ।

व्यक्तिगत रूपमा स्थापित हुने रहरले विदेश पुगेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूले थोरै समयलाई उपयोग गर्दै अगाडि बढिरहेको यो संस्था अहिले आएर ७० हजारभन्दा बढी सदस्यसहित आफू जन्मे–हुर्केको देशका लागि केही गर्न सकिन्छ कि भनी गोलबद्ध भएर आफ्नो ८ औं अधिवेशन गर्न गइरहेको छ ।

यसको संस्थापन कालदेखि आठौं अधिवेशनसम्म आइपुग्दा धेरै राम्रा र गहकिला नारा सुनिए पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एआरएनए अभियानले भूकम्पमा गरेको सहयोगभन्दा अरू उपलब्धिपूर्ण कार्यको समीक्षा गर्ने ठाउँमा आइपुग्न सकेको छैन । सन् १९९० को दशकबाट बिदेसिन लागेको अधिकांश नेपालीमा नगन्य व्यक्तिहरू मात्र सफल त भएका छन् भने बाँकी अझै संघर्षशील रहेको अवस्थाका कारण पनि यस अभियानलाई असर परेको हुन सक्छ । 

नेपाल र नेपालीको हितका लागि सुरु गरिएको अभियान पछिल्लो पटक राजनीतिक हस्तक्षेपसहित धमिलो पानीमा माछा मार्नेहरूको चलखेल बढिरहेको महसुस गरिएको छ । अबको ८ औं अधिवेशनमा चुनिने नेतृत्वले अलि बढी मेहनतका साथ सफा गर्नुपर्ने देखिन्छ ।

गलत प्रवृत्ति त नभनौँ, तर टिपेर नेतृत्व ल्याउने प्रवृत्तिले कुनै पनि संघसंस्थालाई अहिलेसम्म राम्रो गरेको देखिँदैन । यो अभियानमा सुरुदेखि नै लागेका र यसको कार्यदिशा तय गरेका अग्रज र बीचबीचबाट फुत्त आउने नेतृत्वबीचको लडाइँमा एनआरएनए अभियान अलि धमिलिन पुगेको महसुस गरेको आभास यस संस्थामा आबद्ध धेरै सदस्यले अनुभव गरेको अवस्था छ । 

पछिल्लो पटक विभिन्न समाचारमा आएजस्तो एकलौटी ढगले संगठन चलाउन खोज्नु अग्रजसँगको दूरीले एनआरएनए अभियानको उद्देश्य प्राप्तिबाट टाढा जाँदै गरेको भन्ने आवाजहरू बढ्दै गरेको देखिन्छ । नेपालीले भोगेको ठूलो विपत्ति भूकम्पमा सराहनीय काम गरेर वाहवाही पाएको एनआरएन नेतृत्वले पुनर्निर्माणमा गरेका गल्तीका कारण नेतृत्व नै असफल देखिइसकेको छ ।

लाप्राक नमुना बस्ती भूकम्पको दुई वर्ष बितिसक्दा पनि सम्पन्न गर्न नसक्नु यो अभियानको सबैभन्दा ठूलो कमजोरी देखिएको छ । म आफैं पनि त्यस क्षेत्रमा पुगेको र बस्ती निर्माणका लागि छानेको लोकेसन, स्थानीयसँगको सहकार्यमा ढिलाइजस्ता कारणले पनि यो नमुना बस्ती आजको दिनमा यस अभियानलाई निल्नु न ओकल्नुको दोधारमा पु¥याएको भान हुन्छ ।

हुन त यसमा सरकारी तवरबाट आउनुपर्ने स्पष्ट धारण समयमै नआउनु पनि एउटा कारण छ, तर तपाईं–आफैं सोच्नुस्, दुई वर्ष बितिसकेको छ, पीडितहरूले आफैं आफ्नो व्यवस्था गरिसकेको अवस्थामा यो पूर्ण रूपमा एनआरएनले सोचेजस्तो सफल होला त ? पछिल्लो पटक एनआरएनको आफ्नै भवन पनि विवादमा छ । जग्गा खरिद प्रक्रियामा चनाखो नहुनु सरकारी मापदण्डलाई पेलेर काम गर्न सकिन्छ भन्ने सोच हावी भएको देखिएकाले यो भवन निर्माण प्रक्रियाले सम्पूर्ण एनआरएन अभियन्ताहरूकै छविमा समेत असर पारिरहेको छ । 

के एनआरएनको नेतृत्व लिनु भनेको सरकारसँग सोझै सम्बन्ध बढाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्ने मात्र हो ? यो प्रश्नको गम्भीर उत्तर खोज्नुपर्ने बेला आएको छ । यसको स्थापनाको उद्देश्यविपरीत एनआर एन अगाडि बढ्न खोजेको हो त ? हो, सामाजिक अभियान सञ्चालन गर्दा कमी–कमजोरीहरू हुने गर्छन् । यो आठांै अधिवेशनले पक्कै पनि एनआरएन अभियानलाई नयाँ कार्यदिशासहित यसको स्थापनाका उद्देश्यहरूलाई कार्यान्वयनको बाटोमा लाग्नेछ भन्ने आशा गरौं । 

संसारभरि छरिएर रहेका अन्दाजी ७० लाख नेपाली मध्ये जम्मा १ प्रतिशत नेपालीलाई समेटेको यस अभियानले अझ बढी नेपालीलाई समेट्नुपर्ने देखिन्छ । यो संस्थालाई आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूलाई व्यावसायिक तथा राजनीतिक पहँुच बनाउने साधनका रूपमा प्रयोग हुन नदिन सम्पूर्ण सदस्यले सोच्ने बेला आएको छ ।

अबको नेतृत्वले सामूहिक लगानी र यो धनी वा पैसावालाको मात्र अभियान हो भन्ने भ्रमलाई चिर्नु जरुरी छ । संसारभरि छरिएर रहेका नेपालीहरूलाई अनुभूत गराई यो अभियान तपाईं–हामी सबै विदेशमा बस्ने नेपाली र नेपालको हितका लागि भन्ने कुरामा विश्वस्त पार्न जरुरी देखिन्छ । हामी विदेशमा छौं, तैपनि हाम्रा आफन्तसँग समस्या, अप्ठ्याराहरू छन् । ती सबैका बाबजुद पनि हामी यो अभियानलाई ७७ वटा देशमा फैलाउन सफल भएका छौं । अब रिजल्ट दिने बेला पनि आएको छ । 

नेपालमा बढ्दो बेरोजगारीको समाधान खाडी मुलुकमा रहेका नेपालीमाथि भएको श्रमशोषण, भारतमा रहेका नेपालीहरूका समस्याहरूलाई अब आउने नेतृत्वले यधाशीघ्र सम्बोधन गर्नुपर्ने देखिन्छ । नेतृत्वमा आउनेले एकलभन्दा सामूहिक नेतृत्वलाई बढी महत्व दिनुपर्ने देखिन्छ, किनकि हामी विभिन्न देशमा छरिएर रहेका छौं । एकल नेतृत्वले यस अभियानलाई फाइदा कहीं–कतै गर्दैन ।

अब अभियन्ताहरूले पनि नेतृत्व चयन गर्दा सोच्नुपर्ने बेला आएको छ । हामीले यस अभियानलाई सहयोग गर्ने यसको स्थापनाको उद्देश्यलाई स्थापित गर्न सक्ने व्यक्तिलाई मात्र नेतृत्वमा पु¥याउनु जरुरी छ । बीच–बीचमा एनआरएनएमा राजनीति भयो, यो संस्थालाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने आवाज आउँछ, यो सही कुरा पनि हो ।

तर, हामी यस्तो देशका बासिन्दा हौं जुन देश अझ पनि राजनीतिक रूपमा स्थिर हुन सकेको छैन । र, हामीमध्ये धेरै बिदेसिनुको कारण पनि राजनीतिक अस्थिरता हो । त्यसैले यो अभियानबाट राजनीतिलाई नै टाढा राख्नु असम्भव प्रायः नै छ । तर, त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । विदेशमा राजनीतिक संगठनसँग आबद्ध साथीहरूले यो अभियानलाई समर्थन मात्र गर्ने तर पदको आकांक्षी नहुने हो भने यो समस्या सामाधान गर्न सजिलो हुन्छ । 

अब आउने नेतृत्वले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । हामीले यस अभियानमा पैसा वा आर्थिक रूपमा सम्पन्न मात्र होइन, विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई समेट्नु जरुरी छ । अबको नेतृत्वले लाख लगानी गर्ने होइन, हजार लगानी गर्ने लगानीकर्तालाई पनि अभियानमा समावेश गरी ठूलो लगानी नेपाल भिœयाउने अभियान सञ्चालन गर्न जरुरी देखिन्छ ।

आमजनमानसमा एनआरएनले खासै केही गरेको छैन भन्ने भावना चिर्न पनि जरुरी देखिन्छ । तपाईं–हामी विदेश बस्ने नेपालीहरूले नेपालमा लगानी गरेका धेरै उदाहरण छन् । ती सबै आआफ्नै तरिकाले भइरहेका छन् । त्यसलाई एनआरएनले अद्यावधिक गर्न सकेको देखिँदैन । यदि अबको नेतृत्वले एनआरएनसँग सहकार्य गरेर नेपालमा लगानी गर्दा केही फाइदा हुन व्यवस्था गर्न सके सम्पूर्ण नेपाल भित्रिएको लगानी र यसले सिर्जना गरेको रोजगारीको अवसरलाई अद्यावधिक गर्न सकिन्छ र यो अभियानको साख पनि बढ्नेछ ।

साथै, धेरै लगानी पनि भित्रिनेछ । विभिन्न कमी–कमजोरीका बाबजुत पनि एनआरएनए र यसको अभियान आंशिक रूपमा सफल नै छ भन्ने कामनासहित अब आउने नेतृत्वले यस अभियानलाई आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूको व्यक्तिगत तथा राजनीतिक पहुँच बनाउने साधनका रूपमा होइन, विदेशमा रहेका सम्पूर्ण ७० लाख नेपालीको साझा संस्था बनाउनुपर्छ ।

(लेखक जापानमा बसोबास गर्छन् ।)