कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४
1007

सुभाष पन्थ/ 


‘बेल्ट एन्ड रोड’ संरचनामा नेपाल अघि बढिसकेको अवस्थामा सम्भावनाहरूको खोजी र कार्यान्वयनतर्फ अबको पहल कदमी जरुरी देखिन्छ । जोडसञ्जाल भने पनि यसको अन्तिम लक्ष्य दुईपक्षीय व्यापार प्रवद्र्धन र समृद्धि नै देखिन्छ । त्यसैले हाम्रो नजिकैको बजारमा हाम्रा सम्भावना र अवसरहरूबारे हामी नै तदारूकताका साथ लाग्नुपर्छ । हाम्रा सम्भावनाहरूलाई हाम्रो ढङ्गले झैं अरूले बुझ्न सक्दैन । यसै सन्दर्भमा चिनियाँ उपभोक्ता बजारबाट तत्कालका लागि पर्यटन र दीर्घकालीन रूपमा कृषिका सम्भावनाहरू औंल्याउने प्रयत्न गरिएको छ ।

खर्च र उपभोग गर्न सक्ने क्षमता
ग्लोबल कन्सल्ट्यान्सी फर्म ‘एमसी किन्सी एन्ड कम्पनी’ का अनुसार यदि चिनियाँ मध्यम वर्गको मात्रै नयाँ देश बनाउने हो भने सन् २०२२ मा यो नयाँ देश जनसंख्याका आधारमा विश्वको तेस्रो ठूलो देश बन्नेछ । उसका अनुसार वार्षिक आय ४९ हजारदेखि ४ लाख ३४ हजार भएकालाई मध्यम आयमा राखिन्छ । हाल प्रतिव्यक्ति आय ४८ हजार ५ सय रहेको चीनको सन् २०२१ सम्ममा प्रतिव्यक्ति आय मध्यमस्तरको बनाउने लक्ष्य छ ।
हाल ३० करोड मध्यमवर्गको जनसंख्या रहेको चीनमा सन् २०२१ सम्ममा ४० करोड मध्यमवर्ग पुग्ने अनुमान छ र मध्यम वर्ग त्यही गतिमा बढी रहनेछ ।
एक पुस्ता अघिको चिनियाँ मध्यम वर्गले ६ वटा ठूला वस्तुका लागि बचत गर्ने गथ्र्यो । तीमध्ये टिभी, वासिङ मेसिन, भिडिओ रेकर्ड, विद्युतीय पंखा, क्यामेरा र फ्रिज प्रमुख थिए । तर, अहिले स्मार्ट फोन त्यसमा थपिएको छ । हालको तथ्यांकमा करिब ८० करोड चिनियाँले स्मार्टफोन चलाउँछन्, जसको अधिकतम प्रयोग विद्युतीय व्यापारमा हुन्छ ।
प्रतिदिन प्रतिव्यक्ति खर्च अमेरिकी उपभोक्ताको तुलनामा निकै कम भए पनि कुल ऋण र गार्हस्थ्य उत्पादनको अनुपात अमेरिकाभन्दा निकै कम छ चीनमा ।
न्यून स्तरको घरायसी कर्जाले पनि चिनियाँ उपभोक्ताको खर्च गर्ने क्षमता बढाएको छ । कुल वार्षिक आम्दानीको ३० प्रतिशत बचतसहित ऋण र गार्हस्थ्य उत्पादनको अनुपात कम भएकैले चिनियाँ उपभोक्ताको क्रयशक्ति अत्यधिक रूपमा बढ्दै गइरहेको छ ।
निर्यात खस्किए पनि चिनियाँ उपभोक्ताको यही उच्च खर्च गर्न सक्ने क्षमताले नै चिनियाँ अर्थतन्त्रको मियो सम्हालेको छ । आज चीनको कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत उपभोग हुन्छ जुन एक दशकअघि जम्मा ३० प्रतिशत मात्र हुन्थ्यो । यसले नै चीनलाई आज निर्यातमुखी अर्थतन्त्रबाट उपभोक्ता र सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरेको छ ।

खर्च गर्न सक्ने क्षमता र पर्यटन
एकल सन्तान नीति र परिवारको पृथक संरचनाले पनि चिनियाँ पर्यटन बजारलाई नयाँ आयाम दिएको छ ।
४० वर्षअघिदेखि नै एक सन्तान नीति लागू भएकाले आजको अधिकांश भ्रमणमा निस्किने पुस्ता त्यही एकल सन्तान हुन् । मध्यम र उच्च वर्ग अधिकांश परिवारिक भ्रमणमा नै निस्किए पनि भ्रमण संस्कृति मौलाइरहेको समाजमा एकल सन्तानको वार्षिक घुमफिर मोह पूरा गर्न अधिकांश परिवारलाई आर्थिक कठिनाइ हुने अवस्था छैन । १८ देखि ३५ वर्षको उमेर समूहले चिनियाँ पर्यटकको ६७ प्रतिशतको प्रतिनिधित्व गर्छ ।
गत वर्ष मात्र १ करोड ५० लाखभन्दा बढी पर्यटकले छिमेकी प्रान्त तिब्बतको भ्रमण गरेको तथ्यांक छ । तीमध्ये ९० प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक नै थिए ।
आउँदो सन् २०२५ सम्ममा १० करोड थप नयाँ चिनियाँ पासपोर्ट जारी गरिने अनुमान गरिएको छ । यसरी थपिएको नयाँ पासपोर्टधारी सबै बिदेश भ्रमण गर्न योग्य हुनेछन् । सन् २०३० मा १ अर्ब सहरी जनसंख्या हुनेछ । यो कुल जनसंख्याको ७५ प्रतिशत हुन आउँछ ।
सन् २००० मा १ करोडको हाराहारीमा रहेका चिनियाँ पर्यटक सन २०१४ मा झन्डै १० करोडको संख्यामा विदेश भ्रमणमा निस्केको पाइन्छ । गत वर्ष करिब १३.५ करोडभन्दा बढी चिनियाँ पर्यटक वैदेशिक भ्रमणमा निस्किए । प्रतिवर्ष १० प्रतिशतले यो दर बढिरहेको पाइन्छ । आजकै गतिमा बढ्दै जाने हो भने आउँदो दशकभित्रै यो संख्या झन्डै आजको अमेरिकाको जनसंख्या बराबर हुन आउँछ । आखिर हाम्रो छिमेकबाट कहाँ गइरहेका छ त यतिविघ्न खर्चालु पर्यटक ?
विदेश यात्रामा निस्कने चिनियाँहरूको प्रतिव्यक्ति औसत खर्च गर्ने दर विश्वकै उच्च रहेको छ । यसमध्ये आधा रकम किनमेलमा खर्च हुने पाइएको छ । संयुक्त राष्ट्रसंघीय पर्यटन संस्थाका अनुसार सन् २०१६ मा चिनियाँ पर्यटकले मात्र देशबाहिर २ सय ६१ अर्ब डलर खर्च गरे । (सीएनएन, २०१७ मे १३)
वार्षिक प्रतिव्यक्ति आम्दानी मध्यमस्तरमा पु¥याएर करिब आधा अर्ब जनसंख्या विश्व भ्रमणका लागि तयार हुँदै छ । त्यो पनि नजिकैको छिमेकीमा । हाम्रो अबको लक्ष्य भनेको यो विशाल जनसमूहलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेमा हुनुपर्छ ।
आर्थिक मजबुतीले चिनियाँ कम्पनीहरूले कर्मचारीलाई खुसी पार्न सामूहिक भ्रमणको अवसर दिलाउन थालेको पाइन्छ । चिनियाँ कस्मेटिक कम्पनी पर्फेक्टले सन् २०१५ मा करिब एक अर्ब रुपैयाँ खर्च गरेर आफ्ना ४ हजार ५ सय कर्मचारीलाई सामूहिक नेदरल्यान्ड भ्रमणको अवसर दियो । नेदरल्यान्डमा उनीहरूलाई करिब १ हप्ते भ्रमणमा १ सयवटा बसमा डुलाइएको भने सम्पूर्ण चिनियाँ पर्यटकले करिब ८० करोड रुपैयाँको कारोबार गरेका थिए ।
त्यस्तै सन् २०१५ मा तियन समूहका बोस लि जुनयुअनले कम्पनीको २० औं वार्षिकीमा ६ हजार ४ सय कर्मचारीलाई दर्जनौं बोइङ जहाज चार्टर गरेर पेरिस सहरको भ्रमण गराए । अर्को हर्बल कम्पनी इन्फिनिटुसका बोस लि हुइसेनले १२ हजार ५ सय कर्मचारीलाई ६ दिने बैंकक र पत्तायाको भ्रमण अवसर दिलाए । यस ६ दिने भ्रमणमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । (चाइना मर्केटिङ, २०१७ जनवरी)
समृद्धिले जुराएका यी र यस्ता सामूहिक भ्रमणहरूलाई आकर्षित गर्न सके हाम्रो पर्यटनको बजार नै कायपलट हुनेमा शंकै छैन । यसका लागी हामीले निजी र सरकारी स्तरबाट ठूलो प्रयत्न गर्नुपर्छ ।
हाम्रो देश सुन्दर छ भनेर मात्र चिनियाँ पर्यटक आउँदैनन् । त्यसका लागि चिनियाँ पर्यटकको बजार, पर्यटन संस्कारको अध्ययन र उनीहरूको भ्रमण मनोविज्ञान र चाहना, हाम्रो पर्यटन पूर्वधारको अनुसन्धान गरी त्यसअनुरूपको बजार बिस्तार गर्नु जरुरी देखिन्छ ।

 

उपभोग गर्न सक्ने क्षमता र कृषि
विश्वव्यापी आयातित खाद्यान्न बिक्रीको वार्षिक वृद्धिदर जम्मा ४ प्रतिशत रहेको अवस्थामा चीनमा आयातित खाद्यान्न बिक्रीको वार्षिक वृद्धिदर १५ प्रतिशत रहेको छ ।
बेइजिङस्थित दियनपिङ मैतुवान नामक खाद्य आपूर्ति तथा वितरक संस्थाले हालै प्रकाशित एक समाचारअनुसार चिनियाँ उपभोक्ताले रेस्टुराँमा वार्षिक खर्च गर्ने रकम मात्रै स्वीडेनको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी छ । करिब ५ सय ७० बिलियन डलर गत वर्ष रेस्टुराँहरूमा खर्च भएको अनुमान छ ।
प्रशोधित खाद्यान्नमा अमेरिका, फ्रान्स, न्युजिल्यान्ड, इटली, अस्ट्रेलियाजस्ता देशहरूको बिगबिगी भए पनि अप्रशोधित र अग्र्यानिक खाद्यान्न निर्यातका लागि नेपालले पहल गर्नु बुद्धिमानी ठहरिनेछ । मुख्यतः सुरक्षा र गुणस्तर नै आयातित खाद्यान्नले बजार लिनुका मुख्य कारण हुन् । पश्चिमा जीवनशैलीको अभ्यासका कारण प्रायः पश्चिमा ब्रान्डमा विश्वाश गर्ने भएकाले नेपालले ती देशबाट आयात हुने बाहेकका कृषि वस्तु निर्यातमा जोड दिनुपर्ने हुन्छ ।
न्युजिल्यान्डदेखि भेडाको मासु आयात गर्ने चीनलाई यदि खाद्य सुरक्षामा चिन्ता लाग्छ भने चिनियाँ कम्पनीलाई नै आमन्त्रित गरेर नेपाली हिमाली पाटनहरूमा बृहत् भेडा र चौंरी उत्पादन केन्द्र खोल्न सकिन्छ ।
कफीको संस्कृति मौलाउँदै गएको चीनमा ‘नेस्टल’ र ‘स्टारबक्स’ जस्ता कम्पनीहरूले यहाँको विशाल बजारलाई लक्षित गरेर युनान प्रान्तमा आफ्नै उत्पादन केन्द्र स्थापना गरिसकेका छन् । हाम्रो अग्र्यानिक कफी प्रवद्र्धन गर्न सकियो भने यहाँका उपभोक्तामाझ लोकप्रिय हुनेमा शंकै छैन ।
यसरी चीन सन् २०१२ मा १.६ ट्रिलियन डलरको खाद्यान्न आयात गरेर विश्वको चौथो ठूलो खाद्यान्न आयात गर्ने मुलुक बनेको थियो । सन २०१८ मा आयातित खाद्यान्न उपभोगमा विश्वकै पहिलो हुने चिनियाँ प्रक्षेपण छ । खाद्यान्न संकट टार्न आयात मात्र विकल्प बनाएको छैन, चीनले उपभोग बढ्दै जाँदा चिनियाँ कम्पनीहरू वैदेशिक खाद्य उद्योगमा लगानी गर्न बाहिरिइसकेका छन् । यही अवसरमा चिनियाँ कम्पनीहरूलाई ‘बेल्ट एन्ड रोड’का माध्यमबाट नेपाली कृषिक्षेत्रमा भिœयाउन सक्नुपर्छ ।
ओबीओआर अभियानमा चिनियाँ सरकारका अतिरिक्त राज्यनियन्त्रित ८० प्रतिशतभन्दा बढी कम्पनीको संलग्नता छ । यी सबैको लगानीको पहिलो प्राथमिकता ओबीओआर सम्बद्ध देशहरू नै हुनेछन् । यी कम्पनीहरूलाई उपयुक्त मौसम भएको नेपालमा वैज्ञानिक कृषि विकासमा निम्त्याउन सकियो भने नेपालको कृषिक्षेत्र कायापलट हुनेमा शंकै छैन ।
दक्षिण अमेरिका र अफ्रिकादेखि फलफूल र कृषिजन्य उत्पादन आयात गरिरहेको चीनमा असल छिमेकीका नाताले हाम्रा उत्पादनहरूले बजार नपाउलान् भन्नेमा शंका नरहला । मात्र अवश्यक रहन्छ, गुणस्तरीय उत्पादनमा प्रतिबद्धता, हाम्रो दूरदर्शी नेतृत्व र स्थिर राजनीतिक सत्ता ।
यहाँका केही उदारहणसहित विश्व बजार नै आकर्षित भएको यो विशाल बजारमा हाम्रा सम्भावनाहरूको खोजी गर्ने पहलकदमी हाम्रै तर्फबाट हुनु जरुरी छ । अन्यथा ‘बेल्ट एन्ड रोड’ नेपालका लागि हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुनेछ ।
(लेखक जनगणतन्त्र चीनमा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।)