कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
490

महेन्द्रनगर-कोरोना भाइरसको महामारीले विश्व त्रसित भएको अवस्था छ । नेपाल सरकारले कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण हुन नदिन लगाएको लकडाउन केही महिनापछि खुकुलो गरेर खोलिएको छ । देशव्यवपी रूपमा लकडाउन खुकुलो भएपछि आम सर्वसाधारण भने पुरानै शैलीमा फर्किन थालेका छन् । लकडाउन खुकुलो भएपछि आम सर्वसाधारणमा भने कोरोनाको क्रास हटिसकेको छ । तर, भाइरसको क्रास हटे पनि आम सर्वसाधारणको कोरोना भाइरसको भने उच्च जोखिम बढ्न थालेको छ । दैनिकजसो कञ्चनपुरको सदमुकाम महेन्द्रनगर बजार क्षेत्रमा आउने सर्वसाधारण तथा व्यापारीले कोरोना भाइरसको जाखिमबाट बच्न कुनै पनि सावधानी अपनाएका छैन ।
लकडाउनलाई सरकारले सामान्य रूपले खोलिएको भने पनि बजारमा चहलपहल भने बढ्दै गएको छ । चहलपहल बढेसँगै महेन्द्रनगर बजारमा कोरोनाको जोखिम पनि बढ्ने सम्भावना छ । स्थानीय व्यापारी इन्द्रबहादुर बमका अनुसार बजार क्षेत्रमा कोरोनाको अत्याधिक जोखिम बढेको बताए ।

“बजारमा मानिसहरू पुरानै शैलीमा आउन थालेका छन्, सुरुको समयमा कोरोनाको क्रास भए पनि अहिले भने हटिसक्यो ।” स्थानीय व्यापारी इन्द्रबहादुर बमले भने, “स्थानीय व्यापारी र सर्वसाधारणले सामान्य रूपमा मास्क पनि लगाउन छाडेका छन्, सावधानीको भन्ने कुरामा केही कसैको ध्यान पुगेको छैन ।” जिल्लाभर प्रत्येक दिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको उनले बताए ।
कोरोना संक्रमण सदरमुकाम केन्द्रित मात्र नभएर समुदाय केन्द्रित पनि भएको कतिपय स्थानीयको अनुमान छ । जिल्लाभर अहिलेसम्म ३ सय बढी कोरोना संक्रमित भएका छन् । दैनिक रूपमा बढिरहेको बजारको भीड नियन्त्रणमा नआएपछि कोरोना महामारीको निश्चित रूपमा बढी जोखिम हुने स्थानीय व्यापारी बमले बताए ।
“दैनिकजसो बजारमा भीड बढिरहेको छ, भीडको मूल्यांकन गरेर हेर्दा दैनिक कोरोना भाइरसको जोखिम पनि बढिरहेको छ ।” बमले भने, “दैनिक उल्लेख्य रूपमा कोरोना संक्रमितको संख्या बढ्दै जानुमा स्थानीय व्यापारी तथा सर्वसाधारणको लापरवाही तथा असावधानी हो ।” लापरवाही बढ्दै जाने हो कोरोना भाइरसले समुदाय स्थरमा पसेर धेरै असर गर्न सक्ने उनले बताए ।
महेन्द्रनगर बजारको विशेष गरी चाउमिन पसल, कपाल काट्ने ठाउँ, फलफूल तथा तरकारी बेच्ने ठेलाहरूबाट कोरोनाको संक्रमण बढ्ने सम्भावना छ । आम रूपमा सर्वसाधारणको धेरै भीड हुने ठाउँ भएकाले पनि फुटपातका ठाउँबाट कोरोनाको ठूलो जोखिम छ ।
“बजारमा व्यापार सञ्चालन गर्ने व्यापारीहरूलाई नै कोरोना महामारीको चिन्ता धेरै कम छ । जिल्ला गत रूपमा दैनिक संक्रमणको दर बढ्दै गए पनि स्थानीय व्यापारीलाई आफ्नै व्यापारको चासो बढी छ, मुख्य रूपमा भन्ने हो भने कोरोना महामारीलाई समान्य रूपले हेरेर व्यापार सञ्चालन गरिरहेका छन्,” उनले भने ।
सामान्य रूपमा लकडाउन खुल्ने भनिए पनि पछिल्लो दिनमा बजार पूर्णतया खुलेको छ । ठेलागाडालगायत फुटपातका व्यापार गर्नेमध्ये धेरैजसो भारतीय नागरिक छन् । बजारमा व्यापार गरिरहेका भारतीय व्यापारीहरूले कोरोनो सबैभन्दा बढी लापरवाही गरेर व्यापार सञ्चालन गरेको अवस्था छ ।
“बजारमा व्यापार गर्नेमध्ये अधिकांश व्यापारी भारतीय नागरिक हुन् । मास्कलगायत सेनिटाइजरकोे प्रयोग नगर्ने बढीजसो ठेलागाढा चलाउने कपाल काट्ने ठाउँका भारतीय व्यापारीबाट बढी लापरवाही भएको छ ।” स्थानीय व्यापारी बमले भने । स्थानीय प्रशासनले केही दिनमा बजारको भीड नियन्त्रण नगरे समस्या भयावह हुन सक्ने व्यापारी बमले बताए ।
यस्तै उनी जस्तै महेन्द्रनगर बजारमा होटल सञ्चालन गरेर होटल सञ्चालन गरिरहेका परमानन्द भण्डारीले पनि बजारमा अस्तव्यस्त भएको बताए । “बजारमा जताततै भीड बढेको छ, कोरोना महामारीमा विश्व क्रसित भए पनि यहाँका स्थानीय व्यापारी तथा सर्वसाधारण भने क्रसितको साटो तिहार जस्तो भीड लगाउन बजार आइपुगेका हुन्छन् ।” होटल व्यवसायी परमानन्द भण्डारीले भने, “स्थानीय प्रशासनले पनि अनुगमन गरेको अवस्था छैन, कोरोनाको कहर समुदाय स्थरमा पुग्ने जोखिम अत्याधिक बढेको छ ।”
सरकारले लकडाउन खुकुलो पार्नु राम्रो भएको भन्दै उनले खुकुलो गरिए पनि व्यवस्थित तरिकाले खुकुलो नगरिएको बताए । बजारमा दैनिक उपभोग्य गर्ने सरसमानलाई व्यवस्थित गराउन स्थानीय व्यापारीको सरोकारको विषय भए पनि कसैले चासो देखाएको अवस्था छैन ।
“बजारमा प्रयोग हुने र सर्वसाधारणले उपभोग गर्ने वस्तुहरूलाई डिस्पोजल तरिकाले व्यवस्थापन गर्ने तरिकारले मात्रै स्थानीय व्यापारीले व्यापार सञ्चालन गर्न दिनुपर्छ ।” भण्डारीले भने, “यस्तै हो भने खुकुलो पारिएको लबडाउनको पनि अर्थ हुँदैन, देशको अर्थतन्त्र गुमेको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गरेर खुकुलो गरिए कोरोना भाइरसको संक्रमणबाट बच्न सम्भव पनि हुन्छ ।” सुरक्षाको अनेक उपायमध्ये बजारमा एउटा उपाय पनि अवलम्बन नगरिएको उनले बताए ।
दैनिकजसो बजारमा कोरोना भाइरसको क्रास घटिरहेको छ, व्यवस्थापन तरिकाले बजार सञ्चालन गर्नु पर्ने भए पनि बजार क्षेत्रमा आम मानिसहरूको रोजाइ सुरु भएको छ ।
“कोरोना भाइरसबाट बाँच्ने जति पनि उपाय छन् ती सबैलाई अवलम्बन गरेर खुकुलो मात्रै होइन खोल्नुपर्ने आवश्यकता छ । अनुगमन गर्ने निकायले अनुगमन गर्ने र नमान्ने पक्षलाई भने कडा कारबाही गरेर कोरोना संक्रमणको संभावित जोखिमलाई कम गर्न सकिन्छ,” उनले भने ।
 

चन्द्रकान्त जोशी