कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
487

कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी नगरपालिका ४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

देशभर ४७३ जना संक्रमित थपिए
बिहीबार देशका विभिन्न ठाउँमा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ।
योसहित हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५१९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आइसोलेसनमा रहेका व्यक्तिको संख्या १० हजार १३७ छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३२० रहेको छ ।

काठमाडौं उपत्यकामा ३२ जना थपिए
काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंका ११ महिला र १७ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसैगरी ललितपुरमा २ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा हिजो बुधबार १७ र अस्ति मंगलबार १४ जनामा कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १५६ पुगेको छ ।