कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
460

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ । असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पतालमा पुगेका उनको असार १४ गते मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी थिए । मृत्युपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको हो । उपचारका क्रममा बिरामीसँगै रहेका २ जना कुरुवाको भने कोरोना नेगेटिभ आएको छ ।
बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा १७ जना कोरोना संक्रमित भेटिएका छन् । थप भएका संक्रमितमध्ये काठमाडौंका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा काठमाडौंका २ महिला र ४ जना पुरुष तथा धुलिखेल अस्पतालमा धुलिखेलको प्रयोगशालमा गरिएको परिक्षणमा भक्तपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका १ महिला, काठमाडौंका ३ महिला र १ पुरुष, ललितपुरका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार उपत्यकामा १४ जना संक्रमित थपिएका थिए ।
बुधबार देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म कोरोना पुष्टि भएकामध्ये १ हजार ७७४ महिला र १२ हजार २७२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ४८ हजार ३६२ जना बसिरहेका छन् । यस्तै कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिहरुको संख्या ९ हजार ३ सय ६० रहेको छ ।
नेपालमा केरोनामुक्त भएर हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।