मेगराज खड्का
बुधवार, असार १७, २०७७
436

रुकुम पश्चिमका थप ८ जनाका कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभागले प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । विज्ञप्तिअनुसार कोरोना भाइरस संक्रमण हुनेमा ८ जनानै रुकुम पश्चिम चौरजहारी नगरपालिकाका छन् ।
उनीहरू नगरपालिकाको वडा नम्बर १,३ र ९ का ८ देखि ५० वर्ष उमेर समूहका छन् । जसमा एकजना महिला छिन् । उनीहरू सबैलाई चौरजहारी अस्पतालको आइसोलेसनमा राखिएको छ । तर, कोरोना पोजेटिभ सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । यो संख्या सगै रुकुम पश्चिमका १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ११ जना रुकुम पश्चिमबाटै स्वाब संकलन गरेर पठाएकोमा संक्रमण पुष्टि भएको हो भने एकजनामा नेपालगन्जस्थित एक अस्पतालमा उपचारको क्रममा गएको बेला संक्रमण भएको पुष्टि भएको थियो । १२ जनामध्ये ९ जना जुम्ला, १ जनाको सुर्खेत, १ जना बाँके र १ जनाको दाङको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
उनका अनुसार रुकुम पश्चिममा पीसीआर मेसिन नहुँदा बाहिरी जिल्लाका ल्यावहरूमा स्वाब पठाइँदै आइरहेको हो । तर, रुकुम पश्चिमको चौरजहारीमा पीसीआर मेसिन आइसकेका कारण अबको केही दिनपछि जिल्लाबाटै कोरोना परीक्षण हुने र बाहिर स्वाब पठाउनुपर्ने समस्या टर्ने बताइएको छ ।