राजेन्द्र बस्नेत
बुधवार, जेठ २१, २०७७
556

धादिङकी एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रमितको संख्या चार पुगेको छ । ती संक्रमित महिलाको गाउँ सिद्धलेक गाउँपालिका–५ को चिपिलिडाँडालाई बुधबार सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जेठ २४ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको छ । पूर्वमा गनगने चौतारो पश्चिममा चिप्लेडाँडा उत्तरमा सुकौरा खोला र दक्षिणमा आखले चौतारो चारकिल्ला तोकी सिल गरिएको छ ।
वडा अध्यक्ष दिलबहादुर घलेको सयोजकत्वमा ती महिलाको सम्पर्कमा आएका र यात्रामा रहेकोहरूको विवरण बनाउन समिति गठनसमेत गरिएको छ । २३ वर्षीय गर्भवती महिला गत १४ गते गाउँकै गाडीमा धादिङ अस्पताल आएको बताइएको छ । सोही दिन ती महिला, उनका श्रीमान् र जेठानी दिदीसहित एम्बुलेन्समा प्रसूति अस्पताल थापाथली लगेका थिए । थापाथलीमा भर्ना भएर पीसीआर गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइसंक्रमण देखिएपछि उनका परिवार र गाउँलेहरूले अचम्म मानेका छन् । बुहारी गाउँघर तिर घुमफिर नगरेकी उसका काम धाराबाट पानी ल्याएर खाना बनाएर खाने मात्र थियो कसरी कोरोना लाग्यो हामी त अचम्ममा परेका छौं ती महिलाका ससुरा सोमबहादुर श्रेष्ठले बताए । गाउँमै बसेकी महिलामा कोरोना संक्रमण देखिएपछि गाउँलेहरू आफूहरूको पनि पीसीआर गरिदनुपर्ने रामकुमार श्रेष्ठले बताए ।

धादिङमा यसअघि दुबईबाट फर्केका एक जना पुरुषलाई काठमाडांैमै बसेका बेलामा, अर्की महिला घरबाट काठमाडांै गएपछि र अर्को एक पुरुषलाई पनि काठमाडांै गएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरू तीनै जना निको भएर घर फर्कि सकेका छन् । लमजुङबाट धादिङ आएर लामो समय बसेर काठमाडांै फर्केका एक बालकमा कोरोना संक्रमण देखिएको थियो ।