कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
475

कालिकोटका १७ जना र बाजुराका एक जना दैलेखका एक जना गरी १९ जना कोरोना संक्रमितलाई तिलागुफा नगरपालिकामा रहेको क्वारेन्टाइनबाट उपचारका लागि जिल्ला सदरमुकाम मान्म ल्याइएको छ । जिल्ला सदरमुकामस्थित निर्माणाधीन एकीकृत भवनमा सुरक्षित राखेर उपचार गर्नका लागि उनीहरूको तिलागुफाबाट सदरमुकाम मान्म ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला सदरमुकामस्थित निर्माणाधिन एकीकृत भवनमा सुरक्षित राखेर उनीहरूको उपचार गर्ने तयारी गरिएको हो । शनिबार मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर जाँच गर्दा जिल्लाको शुभकालिका गाउँपालिकाका १२ जना र महाँवै गाँउपालिकाका ५ जना र एक जना बाजुराका व्यक्तिमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । उनीहरू सबै तिलागुफा नगरपालिकास्थित सत्यदेवी माविमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएका थिए ।
उनीहरू सबै भारतबाट एउटै गाडीमा आएका थिए । कोरोना पुष्टि हुनेहरूमा कालिकोटको शुभकालिका गाउँपालिका–५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै हाल तिलागुफा नगरपालिकाको सत्यादेवी माविमा क्वारेन्टाइनमा रहेका बाजुराको जगनाथ गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । जिल्लामा हालसम्म जम्मा १ हजार ४ सय ८ जनाको कोरोना संखास्पत मानिसहरूको स्वाब संकलन गरिएको छ । जिल्लाको ९ वटै स्थानीय तहबाट शनिबारसम्म कोरोना परीक्षणका लागि १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतका अनुसार स्वाब संकलन गरिएकामध्ये ७ सय ३५ जनाको कोरोना शंकास्पद मानिसहरूको पिसिआर रिपोर्ट नेगेटिभ आईसकेको छ । सूचना अधिकारी महतका अनुसार १८ जनामा कोरोना पुष्टि भएको छ । बाकीको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण को लागि पठाइएको छ । जिल्लामा हालसम्म भारतबाट आएका मात्र १ हजार ६ सय ९४ मानिसहरू क्वारेन्टाइनमा राखिएका छन् । करिब ४ सय जना बीच बाटोमा आइरहेका छन् । उनीहरू सबैको स्वाब संकलन गर्नका लागि भिटीमको अभाव छ ।सूचना अधिकारी महतका अनुसार जिल्ला अस्पतालमा चार बेडको मात्र आइसोलेसन छ । प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाँउमा ५ बेडको छ । रास्कोट सामुदायीक अस्पतालमा ४ बेड र महाँवै गाँउपालिकामा २ बेड गरी १५ बेडको आईसोलेशन छ । जिल्ला सदरमुकामस्थित एकीकृत भवनमा ५० बेडको आइसोलेसन बनाउने तयारी छ । प्रदेश सरकारले एक करोड बजेट पनि उपलब्ध गराई सकेको छ । यति बजेटले पुग्दैन । बजेट थप गर्नुपर्ने अवस्था छ ।

 

किरण अधिकारी