कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
564

नेपालमा मंगलबार कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन् ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष ।

संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।
त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ । हालसम्म पीसीआर विधिबाट ७५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४४० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ जनाको परीक्षण भएको छ । अहिले देशभर १ लाख ४५ हजार ३७५ जना क्वारेन्टिनमा छन् । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।
त्यसैगरी देशका विभिन्न अस्पतालमा १ हजार ८२५ जना आइसोलेसनमा छन् । कोरोना संक्रमणबाट २६६ जना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।