सागर परियार
सोमवार, जेठ १२, २०७७
860

जुम्ला -कर्णाली प्रदेशमा कोरोना भाईरस संक्रमितको संख्या ११ पुगेको छ । कर्णालीमै पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा सोमबार थप ७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भए संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको हो ।
५ जना अघिल्लो र ७ जना सोमबार गरी ११ जना संक्रमित भएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
डाक्टर तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । त्यस्तै, डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डाक्टर तिवारीले जानकारी दिए ।
यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ ।
हाल सम्म सुर्खेतमा ३ र दैलेमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । यता जुम्लामा गत साता उद्दार गरि ल्याएका २९ जनाको स्वाब संकलन गर्ने तयारी छ । भारतबाट भित्रिएकाहरुबाट कोरोना संक्रमणको डर भएकाले जुम्लामा पिसिआर परिक्षणको दायरालाई पराकिलो बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।