सागर परियार
बिहिवार, जेठ ८, २०७७
221

जुम्ला -फैलिदो कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण रोकथाम गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ठुलो भुमिका खेल्दै आएको छ । संघीय सरकारदेखि कर्णाली प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि जुम्ला अस्पताललाई महत्वपूर्ण जिम्मेवारी पनि दिएको छ ।
 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राज्यको बोझ नभई गौरवको स्वास्थ्य हब भएको भनेर चिनाउने अवसर पनि जुम्ला अस्पतालले पाएको छ  । प्रदेश सरकारले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लाको कोभिड नियन्त्रण गर्न जिम्मेवारी दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको जिम्मेवारी सँगसँगै प्रदेश सरकारले सुरक्षित स्वास्थ्य सामग्रीदेखि एक करोड ७५ लाख बजेट दिएको छ ।

कोरोना भाइरस नियन्त्रण  गर्नका लागि प्रतिष्ठान एकबद्ध रुपमा लागी परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए । माथिल्लो कर्णालीका पाँच जिल्लामा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचालन गरी स्वाब संकलन गरेर तिव्र गतिमा पिसिआर परीक्षणलाई पनि अघि बढाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले उल्लेख गरे । उनले बताए ,“प्रतिष्ठानको लगानीमा आरडीटी पिसिआर उपकरण खरिद गरि दुई सातादेखि कोरोना परीक्षणको थालनी गरेको हो ।
प्रतिष्ठानले पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि हाल सम्म एक हजार ८ सय ८१ जना नागरिको स्वाब परीक्षण गरि रिपोर्ट सार्वजनिक गरेको छ ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हाल सम्म १८ सय बढीको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जसमा जुम्लाका एक हजार ३ सय ६० जना, कालिकोटा ३ सय ८८ जना, हुम्लाका १ सय ३३ जना, मुगुका ३९ जना गरी गरी एक हजार ८ सय ८१ जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठनका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
प्रतिष्ठानले आइसियू भेण्टिलेटर सहित १२० बेडको आइसोलेसन बेड तयार गरेको छ । चीनमा कोरोना भाइरस देखिएदेखि प्रतिष्ठानले आफ्नो तयारी गर्दै आएको उनको भनाइ छ । प्रतिष्ठानमा आरटी पिसिआर परीक्षण उपकरण सञ्चालन अघि जुम्लाका ३ सय ३९ जनाको सुर्खेत र काठमाडौँमा पिसिआर परीक्षण गरिएकोमा सवै जनाएको रिपोर्ट नेगेटिभ आएको थियो ।
साथै, हुम्ला र मुगुमा आरडिटि परीक्षण पोजेटिभ देखिएका तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडिटि पोजेटिभ देखिएको थियो । आरडिटी पोजेटिभ देखिएका व्यक्तिको पिसिआर रिपोट नेगेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख पुनमगरले बताए ।