कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७
1893

नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मी पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर ३० हजार ७२३ जना, आरडिटीबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।
उनका अनुसार पिसिआरबाट फागुनमा ४५६ जना, चैतमा पाँच हजार १८४ जना, वैशाखमा २१ हजार ३४० जना तथा आरडिटी चैतमा तीन हजार ३२१, जनामा वैशाखमा ६० हजार ३१९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर र एक हजार ७५१ जनाको क्यारेन्टिनमा २० हजार ९० जना र आइसोलेशनमा ४१२ जना रहेका छन् ।
यसैगरी कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना संकलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको छ ।